News Summary
Generated by OK AI. Editorially reviewed.- ६ घण्टाभन्दा कम निद्रा लिने पुरुषहरूको शुक्रकीट संख्या २५–३० प्रतिशतले घट्छ र टेस्टोस्टेरोन स्तर १०–१५ प्रतिशतले कम हुन्छ।
राति अबेरसम्म मोबाइल चलाउने, फिल्म हेर्ने, अफिसको तनाव, पार्टी गर्ने बानी । यी सबैले गर्दा धेरैजसो मानिसको निद्रा बिग्रिएको हुन्छ । उनीहरू ५–६ घण्टाभन्दा बढी सुत्दैनन् ।
फलस्वरुप, शरीरलाई आवश्यक निद्रा पुग्दैन । हामी सबैलाई थाहा छ, निद्रा कम भयो भने तौल बढ्छ, मधुमेहको जोखिम बढ्छ, स्मरणशक्ति कमजोर हुन्छ, तर के तपाईंलाई थाहा छ ? निद्राको कमीले पुरुषको शुक्रकीटको संख्या र गुणस्तरमा पनि असर पार्छ ।
लामो समयसम्म ६ घण्टाभन्दा कम सुत्ने पुरुषहरूको शुक्रकीट संख्या २५ देखि ३० प्रतिशतसम्म घट्छ । ‘टेस्टोस्टेरोन’ हर्मोनको स्तर हप्तैपिच्छे १०–१५ प्रतिशतले घट्दै जान्छ । यसले वीर्यको संख्या घटाउने मात्रै नभएर त्यसको गुणस्तर र गतिशीलता पनि बिग्रन्छ ।
निद्राको कमीले शुक्रकीट घट्छ ?
१.टेस्टोस्टेरोन हर्मोनको कमी
शरीरले राति गहिरो निद्रामा सबैभन्दा बढी टेस्टोस्टेरोन हर्मोन बनाउँछ । टेस्टोस्टेरोनले नै शुक्रकीट बनाउन सहयोग गर्छ । अण्डकोषमा टेस्टोस्टेरोनले कोषलाई वीर्य बनाउन, हुर्काउन आदेश दिन्छ ।
टेस्टोस्टेरोन कम भयो भने कोष सुस्त हुन्छन्, शुक्रकीटको संख्या, आकार, गति सबैमा असर पर्छ । यस्तोमा दैनिकजसो अवेर सुत्ने वा रातभर मोबाइल चलाएर बस्ने बानीले गर्दा टेस्टोस्टेरोन उत्पादनमा कमी आउँछ । फलस्वरूप, शुक्रकीटको संख्या र विकास घटाउँछ ।
२०११ मा यूनिर्भसिटी अफ सिकागोले गरेको अध्ययनअनुसार एक हप्तासम्म दिनमा ५ घण्टा मात्र सुत्ने युवाहरूको टेस्टोस्टेरोन स्तर १०–१५ ले घट्यो । टेस्टोस्टेरोन कम भयो भने अण्डकोषमा शुक्रकीट बनाउने कोषहरू सुस्त हुन्छन् ।
२.‘अक्सिडेटिभ’ स्ट्रेस बढ्छ
अक्सिडेटिभ स्ट्रेस भन्नाले शरीरमा फ्री रेडिकल्स र एन्टिअक्सिडेन्टको असन्तुलनले कोषिकामा नोक्सानी पुर्याउने अवस्था हो । निद्रा कम हुँदा शरीरमा फ्रि र्याडिकल बढ्छन् । यो भनेको शरीरभित्र बन्ने यस्तो अस्थिर अणु हो, जसले स्वस्थ कोषिकालाई नोक्सान गर्छ । छिटो बुढयौली ल्याउँछ । धमनी, क्यान्सर, मधुमेहजस्ता रोगको जोखिम बढाउन सक्छ । यो समस्याले गर्दा शुक्रकीटको डीएनए नै खराब हुन्छन्
२०१७ मा अमेरिकन अफ इपेडिमियोलोजीमा प्रकाशित डेनमार्कको अध्ययन अनुसार ६ घण्टाभन्दा कम सुत्नेहरूमा तिनको शुक्रकीटमा डीएनए फ्राग्मेन्टेसन ३० प्रतिशतले बढी हुन्छ । डीएनए फ्राग्मेन्टेसन झन्नाले शुक्रकीटको डीएनए साना टुत्रामा विभाजन हुनु हो, जसले गर्भधारण क्षमता र गुणस्तरमा असर पुर्याउन सक्छ ।
३.शुक्रकीटको आकार र गति बिग्रिन्छ
२०१३ मा फर्टिलिटी एण्ड स्टेरिलिटी जर्नलमा प्रकाशित दक्षिण कोरियाली अध्ययनअनुसार, ७ घण्टाभन्दा कम सुत्ने पुरुषहरूको शुक्रकीटको सामान्य आकार २० प्रतिशतले कम र गतिशीलता २५ प्रतिशत कम पाइयो ।
४.प्रोल्याक्टिन र कोर्टीसोल हर्मोनको असन्तुलन
निद्रा कम हुँदा तनाव हर्मोन ‘कोर्टिसोल’ बढ्छ, जसले टेस्टोस्टेरोनलाई दबाउछ । प्रोल्याक्टिन हर्मोन पनि बढ्छ, जसले शुक्रकीट उत्पादनलाई रोक्छ ।
कति हुनुफर्छ शुक्रकीटको संख्या ?
वीर्यको गुणस्तर विश्लेषण गर्दा शुक्रकीट संख्या डेढ कराेडभन्दा माथि हुनु सामान्य मानिन्छ । योभन्दा धेरै संख्या हुनु प्रजनन् स्वास्थ्यका लागि राम्रो सूचक हो । तर केवल संख्या मात्रै पर्याप्त हुँदैन, शुक्रकीटको गति र आकार पनि उत्तिकै महत्वपूर्ण हुन्छ । गतिशील, सही दिशामा अगाडि बढ्ने र स्वस्थ आकार भएको शुक्राणुलाई नै उच्च गुणस्तरको मानिन्छ ।
उच्च शुक्रकीट संख्यासँगै राम्रो गति र संरचना भएको वीर्यलाई नै समग्र रूपमा गुणस्तरयुक्त मानिन्छ । शुत्रकीटको संख्या कम भएमा प्राकृतिक रूपमा बच्चा हुने सम्भावना ७० प्रतिशतले कम हुनसक्छ । आईभीएफ र ईक्सी (कृत्रिम गर्भाधान) गर्नुपर्ने बाध्यता आउँछ ।
कति निद्रा आवश्यक छ ?
१८–४० वर्षका पुरुषलाई रातमा कम्तीमा ७ देखि ९ घण्टा निद्रा अनिवार्य छ । राति १० बजेदेखि २ बजेसम्मको निद्रा सबैभन्दा महत्वपूर्ण हुन्छ किनभने यही समयमा टेस्टोस्टेरोनको स्तर उच्च हुन्छ ।
तनावले पनि घटाउँछ, शुक्रकीटको गुणस्तर
अनिन्द्रा, मोबाइल चलाउने वा ढिलासम्म काम गर्ने अभ्यासले मात्र होइन, तनावले पनि हुनसक्छ । कसैलाई अनिद्राकै कारणले पनि तनाव महसुस भइराख्ने हुनसक्छ ।
अनिद्रा र तनाव एक–अर्कालाई बढाउने दोहोरो चक्रजस्तै हुन्छन् । जब मानिस तनावमा हुन्छ, शरीरले कोर्टिसोलजस्ता तनाव हर्मोन बढी उत्पादन गर्छ, जसले दिमागलाई सतर्क राख्छ र निद्राको प्रक्रिया अवरुद्ध गर्छ । यसले रातभर छटपट गराउने, धेरै बेर जागिरहने वा बारम्बार व्यूँझिने समस्या पैदा गर्छ ।
अनिन्द्राले फेरि शरीरलाई थकाइ, झर्कोपन र मानसिक दबाब थप बढाउँछ, जसले तनाव अझ तीव्र बनाउँछ । तनावले दिमागलाई शान्त हुन नदिँदा गहिरो निद्रा पाउन कठिन हुन्छ । यस्तो अवस्थाले दीर्घकालीन रूपमा निद्राको गुणस्तर कमजोर बनाउँछ र स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
शुक्रकीटको गुणस्तर कसरी सुधार्ने ?
– हरेक रात ७ देखि ९ घण्टा सुत्ने ।
– सधैं सुत्ने र ब्यूँझने समय एकै बनाउने ।
– सुत्नुभन्दा १ घण्टा अगाडि मोबाइल, ल्यापटप, टीभी बन्द गर्ने (निलो प्रकाशले निद्रा लगाउने मेलाटोनिन हर्मोन दबाउँछ) ।
– कोठामा पूरै अँध्यारो बनाउने, तापक्रम १८–२० डिग्री राख्ने ।
– सुत्नुभन्दा ३ घण्टा अगाडि खाना खाइसक्ने, क्याफिन १२ बजेदेखि बन्द गर्ने ।
– नियमित व्यायाम गर्ने तर राति ८ बजेभन्दा पछि भारी व्यायाम नगर्ने ।
– म्याग्नेसियम, जिङ्क र भिटामिनयुक्त खाना खाने ।
– धूम्रपान र रक्सी पूरै बन्द गर्ने ।
– तनाव कम गर्न ध्यान, योग वा गहिरो सास फेर्ने अभ्यास गर्ने ।
प्रतिक्रिया 4