News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको फेवाताल किनारमा चिया बेच्दै गरेको किशोरीले लोकसेवा आयोगको परीक्षा पास गरी सरकारी जागिरे भइ।
- रोशन नामक सरकारी जागिरेले किशोरीलाई परीक्षा तयारीमा सहयोग गरे, जसले ती किशोरीलाई प्रेम पनि गर्थे ।
‘चिया पिउनुस् सर ।’
रोशन टक्क अडियो । मिठो स्वर आएको तिर पुलुक्क हेर्यो । पेटीको छेउमा, सलक्क परेको जीउ, स्कूले सेतो सर्ट, कालो कोट-पाइन्ट, कालै जुत्ता लगाएर उभिएकी किशोरी मुस्कुराई । कालो, लामो कपाल लरक्क पिठयुँसम्म झरेको । ढाडमा स्कूले झोला । अर्धमुदित यौवन । छेउमा दुईवटा थर्मस । हातमा कागजका गिलासहरू ।
‘हुन्छ, देऊ ।’ रोशनले किशोरीको चिया पिउने अनुरोध टाल्न सकेन् ।
किशोरीले थर्मस खोली ।कपमा चिया राखी । रोशन हेरिरहयो ।
‘सर, चिया लिनुस् ।’ किशोरीका मृदु मुस्कान र लजालु अनुरोधको छिटा छचल्किएर रोशनसम्म पुगे ।
‘धन्यवाद ।’ रोशनले कप समाउँदै भन्यो ।
किशोरी अर्को ग्राहकको सेवामा लागी । छेऊमा उभिएर चिया पिउँदै रोशनले किशोरीका गतिविधि नियालिरह्यो । पुलुक्क रोशनका आँखामा किशोरीका नशालु आँखा परे । नशाको मादकताले मिठो आलिङ्गन गर्यो । दुवै झसङ्ग भए ।
ताल बाराही देवीको मन्दिरलाई काखमा लिई उत्तर सिरान हालेर लमतन्न सुतेको फेवाताल, पोखराको धरोहर । फेवा छ र त पोखरा छ । माछापुच्छ्रे हिमश्रृंखलाको सुन्दर मादकतामा लेकसाइडको साँझ रङ्गीन बनेको थियो । हरेक साँझ रङ्गिनु फेवातालको कर्म हो, धर्म हो । तालको पूर्वपट्टी किनार । पैदलमार्गमा स्वदेशी, विदेश पर्यटकहरू खचाखच थिए । घुमालुहरू ओहोर-दोहोर गरिरहेका थिए । पदमार्ग जीवन्त बनेको थियो ।
साँझसँगै भीड बाक्लिदै गयो । हतार भएझैं गरी चिसो बतास आयो । स्पर्श गर्यो र कतै दौडियो । वत्तिहरू झलमल्ल बल्न थाले । चम्किलो उज्यालोले आकाश देखिन छोड्यो । ताराहरू लाजले लुकेझैं भयो । अंग्रेजी गीतहरू चर्को स्वरमा गुन्जिन थाले । रेस्टुराँहरू जवानीमा मस्त हुँदै गए । ड्रिङक्ससँग स्न्याक्सको मज्जा लिनेहरू ठहक्का लगाउँदै हाँसिरहेका थिए । भानुभक्तका चपला अवला फेवाकिनारमा आ–आफनै सुरमा रमाइरहेका थिए । एक हुल केटाहरू आए । किशोरीको वरिपरी झुम्मिए । चियाको अडर दिए । एक-एक गरेर कप निकाल्दै किशोरीले चिया राखी । पालैपालो सबै केटाहरूलाई दिई ।
‘आहा, क्या मिठो चिया ।’ एउटा केटाले प्रशंसाको पुल बाँध्यो ।
‘राम्रो मान्छेको मिठो चिया’ अर्को केटाले जिस्कँदै भन्यो । किशोरी निस्पृह ग्राहकहरूलाई सेवा दिइरही ।
‘चिया थपीथपी खान नमिल्ने ।’ रित्तो गिलास डस्टबिनमा फाल्दै एउटा केटो किशोरीसँग जिस्कियो ।
खान्छस् । म मागिदिन्छु । अर्को केटाले हाँस्दै चिया मगायो । केटाहरूले दोहोर्याएर चिया पिए र हिडेँ ।
एक, दुई, तीन गर्दै सातआठ हुल केटाहरू आए । जिस्कँदै चिया पिए, गए । किशोरी आफनै सुरमा चिया बेचिरही । रोशनले पनि थपीथपी चियासँगै किशोरीको रुप पिउँदै रमायो । मादकतामा लठ्ठिदै गयो । साँझ रात हुँदै गयो । किशोरी अलिपर सेल रोटी पकाइरहेकी महिला छेऊ गई र फर्की । वरिपरीका कागजका टुक्रा टिपेर डस्टबिनमा राखी । थर्मस उठाएर बोकी ।
‘जाने वेला भयो, तिम्रो ?’ रोशनले सोध्यो ।
‘हजुर । चिया सकियो । घरमा भाइ एक्लै छ ।’ किशोरीसँग उही मुस्कान थियो ।
रोशनले पैसा दियो । किशोरीले पैसा थैलीमा राखी । थर्मस बोकी र हिँडी । रोशन रेलिङमा बसेर किशोरी गएको हेरिरहयो । अध्याँरोले किशोरीलाई लुकाएपछि सम्झना बोकेर ऊ मान्छेको हुलमा मिसियो ।
+++
किशोरीकहाँ चिया पिउने रोशनका दिनहरू दोहोरिँदै तेहरिँदै गए । त्यसदिन, बादल लागेर पानी पर्ला जस्तो थियो । तालकिनारमा धेरै मानिस थिएनन् । किशोरी थर्मस बोकेर ग्राहक पर्खिरहेकी थिइ । रोशन किशोरीको छेउमा पुग्यो । दुवैको मनमा आत्मीयता फक्रक्क फक्रियो ।
‘सर !’ किशोरीसँग उही मुस्कान थियो ।
‘एक कप चिया लेऊ न ।’ रोशनले रेलिङमा बस्दै भन्यो ।
‘हस् ।’ किशोरीले यताउता हेर्दै कपमा राखेर चिया दिई ।
चिया पिउने ग्राहक आउने र जाने क्रम बढदै गयो । किशोरी निमग्न चिया बेच्न थाली । रोशन रेलिङमा बसेर चहलपहल हेर्दै चिया पिउन थाल्यो । रित्तिएको गिलास डस्टबिनमा फाल्यो । ग्राहक कम भएको मौका छोपेर रोशनले जिज्ञाशा राख्यो । ‘तिम्रो नाम के हो ?’
‘चिया बेच्ने केटी ।’ किशोरीले ओठमा मुस्कानको रेखा तान्दै जवाफ दिइ ।
‘चिया बेच्ने केटी !’ रोशनले त्रिपुण्ड खुम्च्याउँदै दोहोर्यायो ।
‘हजुर ।’
‘मलाई त तिम्रो चिया पिउने लत बस्ला जस्तो भयो ।’
‘सँधै आउनुसन सर । म छँदैछु नि, चिया खुवाउन ।’ किशोरीले जिस्किएझैं गरी ।
‘चिया बेच्दै पढेकी छ्यौ । पढेर के गर्छौ ?’ रोशनले प्रसंग बदल्यो ।
‘सरकारी जागिर खान्छु ।’ किशोरी प्रष्ट थिइ ।
‘लोकसेवा आयोगको परीक्षा पास गर्ने आँट छ त ?’ रोशनले किशोरीसँग प्रश्न गर्यो ।
‘छ । तयारी गर्छु । जाँच दिन्छु । पास हुन्छु । परीक्षा दिएर पास हुने त मैले सक्ने काम हो । गरेर देखाउँछु सर ।’ किशोरीसँग भरपुर आत्मबल थियो ।
‘आत्मबल हुनेलाई आफनो इच्छा पूरा गर्न कठिन हुँदैन ।’ रोशनले किशोरीलाई प्रेरणा दियो ।
‘हाम्रो बाबा अरबमा गएर हराउनुभयो । आमा सँधै रोइरहनु हुन्छ । पीडा छ । दुःख पीडा सहेर पनि केही त गर्नु पर्यो। म त सरकारी जागिरै खाने हो, सर ।’ विदेशप्रतिको विराग किशोरीको अन्तरमनमा प्रष्ट देखिन्थ्यो ।
‘दुःख जीवनको साथी हो । दुःख हुन्छ र त मान्छे परिश्रम गरेर दुःख मेटन खोज्छ । आवश्यकताले मानिसलाई मेहनती र परिपक्व बनाउँछ । आवश्यकता पूरा गर्न नेपाली युवायुवतीहरू विदेश जान मरिमेटछन् । अहिले हाम्रो देश विदेशमा भेटिन्छ । तर, परिश्रमी मनहरू विदेश जानुपर्दैन । नेपालमा पनि चाहेको उन्नति गर्न सकिन्छ । स्वदेशको बसाइ स्वर्ग हुन्छ । तिम्रो सोंच एकदम सही छ ।’ रोशनले किशोरीलाई सम्झाउने कोसिस गर्यो ।
किशोरी मुस्कुराई । रोशन किशोरीसँग धेरैबेरसम्म गफ गरेर बस्यो । साँझ छिप्पिदै गयो । फुटपाथे पसलेहरू उठदै गए । किनार सुनसान हुन थाल्यो । ‘सर, अँध्यारो भइसक्यो । म घर गएँ । हजुर पनि जानुस् ।’ मधुर मुस्कान पोखेर ‘चिया बेच्ने केटी’ आमाको पछि लागी ।
मोरी राम्री छे । स्कूले ड्रेसमा त झन सुन्दरता फक्रेको देख्छु म । नाम पनि अनौठो बताउँछे । आँटिली पनि रहिछे । रोशन किशोरीलाई मायाको डोरीले कस्दै मालेपाटनतर्फ लाग्यो ।
+++
‘नानी ! त्यो मान्छे, तँ सँग निकै झुम्मिन थालेको छ है ।’
‘चिया खान्छ । गफ गर्छ । चिया नखा भन्न भएन । नबोल पनि भन्न भएन । नराम्रो पनि बोल्दैन ।’ किशोरीले बेफिक्र आमालाई जवाफ दिइ । ‘म त चिया खानभन्दा तँलाई भेटन आउँछ कि जस्तो लाग्छ ।’ बिन्दवासिनी मन्दिर छेऊको डेराभित्र छिर्दै आमाले सचेत गराइन् ।
‘छ्या, आमा पनि ।’ थर्मस राखेर किशोरी खाटमा पल्टिइ । आखाँ अगाडि मुस्कुराउँदै रोशन आइपुग्यो । ‘छ्या, यो सर त यहाँ पनि आयो । चिया पिउन पनि आइरहेको छ । जिस्किन नि खोज्छ । आमाले ठिकै सोच्नुभएको रहेछ ।’ किशोरीलाई कसो गरौं, के गरौं भयो । निदाउन सकिन ।
‘हेर छोरी, हाम्रो परिचय सडकमा मकै पोल्ने, बाटोमा चिया बेच्ने हो । हाम्रो धर्म ग्राहकको सेवा गर्नु हो । ग्राहको रूपमा भुम्मिने मान्छेको खाँचो हुँदैन् । जिस्कियो, बोल्यो भन्दैमा आफू पनि त्यस्तै लसक्क हुनुहुँदैन । जिक्याउनेका राम्रा नराम्रा स्वार्थ हुन्छन् । बुझ्नुपर्छ ।’ स्कूल जाने बेलामा आमाले सम्झाउँदै भनिन् ।
‘हस आमा ।’ आज्ञाकारी बालकझैं किशोरी स्कूलतिर लागी ।
‘चिया पिउन आउने सर’ मिठामिठा र देश देशावरका जानकारी दिने खालका रमाइला कुरा गर्छ । हेर्दा राम्रो, ह्याण्डसम पनि छ । उसलाई सेतो सर्ट, निलो कोट पाइण्ट पनि राम्रो सुहाउँने रहेछ । कालो लामो कपाल, चम्किलो कालो दाह्री, सम्ँझदैमा किशोरीको अंगअंगमा लाजले काउकुती लगाउन थाल्यो । मनभरि त्यही सर बसे जस्तो भयो । सरसँगै हिँडे जस्तो लाग्यो । स्कूलबाट हतार-हतार घर फर्की । उसलाई आज राम्री बनौंबनौं लाग्यो । शारीरिक सुन्दरता पूर्ण उद्घाटनका लागि साडी लगाउने मन भयो ।
स्कूलको वार्षिकोत्सवमा एङकरीङ गर्दा लगाएको गुलाबी साडी लगाई । ऐना अगाडि उभिएर मुसुक्क हाँसी । आहा, कस्तो सुहाएको ! लजाएझैं गरी । आफैं लजाएको देखेर आफैं दंग परी । शरीरमा एक किसिमको ऊर्जा आयो । मन रमाइलो रहरमा पौडिन थाल्यो । एकपटक ऐना हेरेर ओठ चिल्लो बनाई र थर्मस बोकेर चिया बेच्न हिडी ।
नक्कली, चिया बेच्न त्यै स्कूले ड्रेस ठिक थियो नि । किन साडी लगाउनु परेको होला ? किशोरीकी आमा कराउन थालिन् । छोरी तरुनी भइ, केटाहरू पछि लाग्ने बेला भयो । बिहे गर्दिनुस, दिदी अब । सँगै तरकारी बेच्न बसेकी महिलाले व्यंग्य कसी ।
‘जे पायो त्यै नभन्नुस है, अन्टी ।’ रिसाउँदै किशोरीले एकपटक तरकारी बेच्ने महिलालाई आँखा तरी र गम खाइ । साँझ छिप्पिदै गयो । फेवा किनार सदाझैं उत्सवीय बन्यो । चारैतिर झलमल्ल बत्ति बले । रमाइलो फराकिलो भयो । किशोरी चिया खाने ग्राहकको सेवामा जुटी । थुप्रै अधबैंसे केटाहरू आए । जिस्किँदै चिया पिए, गए । थर्मस रित्तिदै गयो । फेवाकिनार पनि पातलिंदै गयो । खै चिया पिउने सर ? मनमा खुलदुली भयो । आँखा तानीतानी टाढासम्म हेरी । रोउँजस्तो भयो ।
व्यर्थै साडी लगाएको । जसलाई देखाउन लगाएको उही नआएपछि श्रृंगारको के काम ? आफैंलाई भुतल्न मन लाग्यो । साडी खोलेर मिल्काइदिउँ जस्तो भयो । बैंसालु मन एकाएक नरमाइलो सागरमा खस्यो ।
नानी, जाम हिड् । आमा बोलाउन आइन् । किशोरीलाई हिँडनै मन थिएन । यताउता हेर्दै गरुङ्गो मन लिएर अघि बढी । नरमाइलो पनि पछिपछि लाग्यो । ‘म प्रेममा परेको हो र ?’ हिँडदा हिँडदै किशोर मनका तरङ्गहरू अन्नपूर्ण हिमश्रृंखला छुँदै उडन थाले । किशोरी रोमान्समा मसक्क भइ ।
+++
ट्रिङ …ट्रिङ …. ट्रिङ … मोबाइलमा घण्टी बज्यो । सेभ नभएको नम्बरबाट फोन आएको थियो । किशोरी सुस्तरी बोली, हेलो !
‘चिया बेच्ने केटी हो ?’
‘हजुर सर ।’ किशोरीको आङ ढक्क फुल्यो ।
‘आज चिया पिउन आउने फुर्सद मिलेन् । भोली शनिबार । म तिमीलाई कफी खुवाउँछु । चिप्लेढुङ्गाको फेवा कफी हाउसमा आउँ है, बिहान साँढे सात बजे ।’ रोशनले निमन्त्रणा पठायो ।
‘नाइँ सर, डर लाग्छ । आमासँगै हुनुहुन्छ ।’ किशोरीले सुस्तरी भनी र हतार-हतार फोन राखी । रोशनले दोहोर्याएर फोन गर्यो । किशोरी किंकर्तव्यविमूढ भएर टोलाइरही ।
बिहान स्कुले साथी राधालाई भेटन जाने निहुँ पारेर कफी हाउस पुगी । रोशन किशोरीको साथमा रमाइलो गर्ने अनेक सपना बुन्दै एउटा टेबलमा पर्खिरहेको थियो ।
‘सर नमस्कार !’ किशोरी कुर्सीमा बसी ।
‘नमस्कार !’ रोशनले दुई कप कफी अर्डर दियो ।
दुवैजना कुराकानी गर्दै बसे । वेराले टेबलमा कफी राखिदियो । आँखा चनाखा बने । कफीको बास्ना नाकलाई ब्यूँझाएर सरक्क गयो । ‘म सरकारी जागिरे । घर लमजुङ । तिमी मलाई औधी मन पर्छ्यौ । ‘आई लभ यू ।’ रोशनले किशोरीको अनुहारमा हेर्दै भन्यो ।
‘अबुई सर, के भन्नुभएको ? ‘चिया बेच्ने केटी’ पनि हजुरलाई सुहाउँछ र ? म त गएँ ।’ आधा कफी छोडेर उ बाहिर निस्की र फटाफट हिँडी ।
रोशन ‘चिया बेच्ने केटी’ गएको हेरिरह्यो । किशोरीप्रति झन् माया थपियो ।
आमा ! त्यो सरले त मलाई मनपराउँदो रहेछ । आमाको काखमा मुन्टो लुकाउँदै किशोरीले भनी ।
मैले पहिले नै भनेकी थिएँ नि । तिमी पढ्न ध्यान देऊ । बाबाले पनि आधा पेट खाएर पनि छोराछोरी पढाउने हो, भन्नुहुन्थ्यो । तिम्रो पढाइ राम्रो छ रे । ‘जेन्जी पुस्ताको सोच र व्यवहार हाम्रो भन्दा धेरै फरक छ, दिदी । यिनीहरू सानैदेखि प्रविधिसँग खेले पनि सबैजना नैतिकवान बन्नुपर्छ, देशलाई माया गर्नुपर्छ, सबै नागरिक समान हुन, देशको सन्तुलित विकास हुनुपर्छ भन्ने आर्दश सोच राख्छन् । सबै मानिसलाई सभ्य र इमान्दार देख्छन् । जेन्जीहरू अलि बढी भावनामा बग्छन् ।
यिनलाई राम्रोसँग सम्हाल्नु पर्छ, भन्दै प्रिन्सिपल म्यामले बाह्र सकिएपछि छोरीलाई राम्रो कलेजमा पढाउनुस है दिदी, भन्नुभएको छ, । पढने बेलामा पढ्ने कुरा मात्र सोच । आफनो भविष्यको बारेमा आफैं सोच ।’ आमाले किशोरीलाई भविष्य देखाइन् ।
किशोरीलाई भविष्यभन्दा वर्तमानले चिमोटिरहेको थियो । ऊ दिनभर वेचैनसँग छटपटाइ । ‘कस्तो सोझै ‘आई लभ यू’ भन्न सकेको ?’ उसलाई चिया पिउन आउने सरसँग रिस उठेन । बरू, कता-कता माया लाग्न थाल्यो । देखुँदेखुँ जस्तो भयो । सरकारी जागिर खाने मान्छे रहेछ । मैले पनि सरकारी जागिर खान सके भने कमसेकम आर्थिक परतन्त्रबाट मुक्ति त हुन्थ्यो होला । छ्या, मनमा पनि के-के कुराहरू खेल्न आएका? किशोरी लाजले चपक्क भइ । छिट्टै थर्मस च्यापेर चिया बेच्न हिँडी । फेवाकिनार सुनसान थियो । साँझसँगै सजीव बन्दै गयो । किशोरी सरलाई पर्खिरही । केटाहरूको हुलमा खोजी । कुइरेहरूको साथमा खोजी । कतै भेटिन । आँखामा आँसु भरियो ।
वरपर बादल लागेझैं भयो । मन निराश भयो । हिजो ‘चिया खान आउने सर’ भनेर मोबाइल नम्बर सेभ गरेकी थिइ । एकपटक फोन गर्न मन लाग्यो । तर सकिन । फेवा किनार सुनसान हुँदै गइरहेको थियो ।
अबेर गरेर रोशन बाइकमा चिया पिउन आइपुग्यो । किशोरीको खुसी फेवाको लहरसँगै लठारिन पुग्यो । चिया सर ! किशोरीले मुस्कुराउँदै रेलिङमाथि चिया राखिदिइ । थ्याङक्यू ! रेलिङमा बस्दै रोशनले भन्यो ।
बाबु, हजुर सरकारी जागिरे मान्छे । यो मकै पोल्ने आमाकी छोरी । यसका बाबु अरब गएको वर्षौ भयो फर्कनुभएको छैन । हामी गरिब छौं । एउटा बस्ने घर छैन । मैले मकै, सेल र यस्ले चिया नबेचे हाम्रो छाक टर्दैन । समाजले हजुरमाथि औंलो ठड्याउँछ । फेरि, धनीमानी मान्छेहरूको माया त बैंस रहुन्जेल त हो । पछि अनेक बात लगाएर छोडछन् । हजुर यसको पछि नलाग्नुस् सर । हामीलाई हाम्रै जीवन बाँच्न दिनुस् । किशोरीकी आमा मकै पोल्न छाडेर रोशनलाई सम्झाउन आइपुगिन् ।
वरिपरि मकै पोल्ने, सेल बेच्ने, तरकारी बेच्ने व्यापारी र बटुवाहरू जम्मा भइसकेका थिए । किशोरी आमाको व्यवहार मन नपर्दानपर्दै पनि केहि बोल्न सकिन । चुपचाप रोशनलाई हेरिरही । आँखाहरू रसाएर सजल हुँदै गए ।
रोशनलाई भीडमा बसिरहन उचित लागेन । किशोरीलाई पुलुक्क हेरेर केही नबोली फर्कियो । रेलिङमा राखेको चियाको तातो वाफ चिसो हावामा बिलाउँदै गयो ।
+++
किशोरी रोशनको हृदयमा बसिसकेकी थिइ । किशोरीकी आमालाई किशोरीको यौवन मात्र हेरेर आर्कषित नभएको कुरा बताउने समयसम्म नपाएकोमा उसलाई नमज्जा लाग्यो । उनले भनेका वाक्य-वाक्य उसलाई कण्ठाग्र थिए । सरकारी जागिर खाइ भने किशोरीको जीवन सुरक्षित हुन्छ । गरिबी कम हुन्छ । मन परेको मान्छेको माया लागेर आयो । किशोरीलाई पनि सरकारी जागिर खुवाउने योजना बुन्दै रोशन क्वार्टरतिर लाग्यो ।
हरेक साँझ किशोरी रोशनलाई पर्खन्थी । उसलाई चिया बेच्ने कुनै जाँगर थिएन । उसका आँखा र मन रोशनलाई पर्खंदा पर्खंदै थाक्दै गए । रोशनसँग फेरि भेट हुने आशा मार्दै गई । उसले रोशन सरकारी जागिरे भएको सम्झी । सरकारी जागिर खायो भने भेट हुन सक्ने आशा उसको अगाडि देखा पर्यो । आशाले उसको सरकारी जागिर खाएरै छाड्ने अठोटलाई झन मजवुत बनायो ।
एकदिन, स्कूलमा लोकसेवा आयोग पोखराका सर म्याडम आए । सबै विद्यार्थीलाई हलमा राखे । ‘सरकारी जागिर खान लोक सेवा आयोगका परीक्षा दिएर पास गर्नुपर्छ । आयोगका परीक्षाहरू निष्पक्ष तर कठिन हुन्छन् । कसैको भनसुन लाग्दैन । गरिब र माथि मान्छे नहुनेहरूको अभिभावक हो, आयोग । मेहनत गरेर पढेपछि पास भइन्छ।’ भन्दै उनीहरूले विद्यार्थीलाई सम्झाए । नागरिकता बनाउन जाँदा सिडियो अफिसमा सेतो सर्ट, निलो कोटपाइन्ट लगाएका सर म्याडमहरूको चहलपहल आँखा अगाडि आयो।
मनमनै आयोगको परीक्षा पास गरेर सरकारी जागिर खाने लक्ष्य दोहोर्याइ, तेहर्याइ । चिया बेचेर बचेको समयमा मेहनत गरेर पढ्न थाली । राम्रो अंक ल्याएर बाह्र पास पनि भइ ।
रोशनले फेवातालतिर जान छोडिसकेको थियो । उसको मनमा कुराहरू खेलिरहन्थे । किशोरी बाह्र पास गरेर के पो गर्न थाली ? कसैले फस्ल्याङ फुस्लुङ पारेर अरब जाने पो बनाइसक्यो कि ? किशोरीलाई भेटेर सरकारी जागिर खाऊ भनेर सल्लाह दिउँ जस्तो लाग्दथ्यो ।
स्वतन्त्र भएर किशोरीसँग प्रेम गर्न मन थियो । सँगै बस्न, बोल्न, उसले दिएको चिया पिउने तलतल थियो । उसका लजालु आँखा हेरेर दुनियाँ बिर्सन मन थियो । सँगसँगै फेवामा डुङ्गा सयर गर्ने रहर थियो । सँगै आइसक्रिम खान मन थियो । तर के-के नमिलेर फेवाकिनारसम्म जान सकेन । उराठ दिनहरू बिताउन निकै सकस भयो, उसलाई । सरुवा भएर काठमाडौं जाउँ जस्तो बनायो । मानिसले सानो असफलतालाई सहन सकेन भने ठूलो सफलता हात पार्न सक्दैन । रोशन स्थीर मन बनाएर आफनो लक्ष्यमा अडिग रह्यो ।
किशोरीलाई बाह्र पास गरेपछि सरकारी जागिर खाने र आमाको अनुहारमा खुसीका चित्रहरू कोर्ने उत्कृष्ट इच्छा थियो । रोशनले लोकसेवा आयोगबारे बताएको सम्झी । राधासँग सरकारी जागिर खाने सल्लाह गरी । आयोगका परीक्षाहरू फलामको ढोका भनेर चिनिन्थे । दुवैले मिलेर आयोगको परीक्षा दिने योजना बनाए । पाठयक्रम पढे ।
विज्ञापन हुने दिन बुझे । फारम भरे । पढने सामग्री जुटाए । नायबसुब्बा पदको तयारीमा लगनशील भएर जुटे । पाठयक्रम अनुसार पढदै र नोट बनाउँदै गए । राधाले काठमाडौंबाट मगाएका किताबहरू किशोरीलाई पनि दिइ । दुवै अनलाइन पढन थाले । अनलाइन पढाउने सरले उनीहरूलाई निकै हौसला दिए । सामान्य ज्ञानको तयारी, आइक्यू हल गर्ने तरिका तथा विषयगत पत्रहरूको तयारी गर्न सिकाए । अनलाइनमा नै प्रश्नको उत्तर लेख्ने अभ्यास गराए । कठिन मेहनत गरेका उनीहरूको आत्मविश्वास हलक्क बढयो ।
किशोरी हरेक साँझ चिया बेच्न फेवाकिनार पुग्थी । रोशनलाई भेटेर सरकारी जागिर खान गरेको प्रयास सुनाउन चाहन्थी । रोशनको सल्लाह लिन मन गर्थी । तर भेट्न सकिन । उसको सम्झना मेट्न खोजी, त्यो पनि सकिन । सरकारी जागिर खाने लक्ष्यले किशोरीलाई कठोर मेहनत गर्न उत्प्रेरित भने गरिरहयो । ऐनाको अगाडि आफैंले आफैंलाई उच्च आत्मबल भएको अनुभव गरी । त्यही वर्ष आयोगको पोखरा कार्यालयबाट किशोरी र राधा दुवै नायब सुब्बा पास गर्न सफल भए ।
‘राधा, हामीलाई अनलाइन पढाउने सरलाई तँ चिन्छेस ? चिन्छेस भने भेटौं न एकपटक । मिठाइ पनि बाँडौं ।’ किशोरीले राधासँग सल्लाह गरी ।
‘म चिन्छु । हामी एकदिन मिलाएर भेटौंला सरलाई’ राधाले छोटो उत्तर दिइ ।
किशोरी र राधा दुवैको जिल्ला प्रशासन कार्यालय, कास्कीमा सिफारिस भयो । आयोगको सिफारिस पत्र लिएर दुवै प्रशासन कार्यालय पुगे । जागिरको पहिलो दिन । दुवै अलिअलि अत्तालिएका थिए । डराइ-डराइ सिडियोलाई भेटन कार्यकक्षमा गए । सिडियोले प्रशासन शाखा प्रमुखलाई भेटन पठाए । दुवैजना प्रशासन शाखा प्रमुखको कोठामा छिरे । शाखा प्रमुखको कुर्सीमा रोशनलाई देखेर किशोरी झसंग भइ।
‘बधाई छ । स्वागत छ, ‘चिया बेच्ने केटी’ र राधालाई, हाम्रो जिल्ला प्रशासन कार्यालय कास्कीमा ।’ सिफारिस पत्र हातमा लिँदै रोशन मुसुक्क हाँस्यो । राधा रोशनसँग गफ गर्न थाली । किशोरी चुपचाप गफ सुनिरही । रोशनले हाजिर गर्न दुवैलाई हाजिर फाँटमा पठायो । बाहिर निस्कँदै गर्दा किशोरीले रोशनलाई पुलुक्क हेरी । रोशन मुसुक्क मुस्कुरायो।
शारदा, हामीलाई रोशन सरले नै हो नि अनलाइनमा पढाउनुभएको । लोकसेवा आयोगका परीक्षाका लागि आवश्यक किताबहरू पनि सरले नै काठमाडौंबाट मगाएर दिनुभएको थियो । आयोगका प्रश्नहरूको उत्तर लेख्न र तयारी गर्न पनि सरले नै सिकाउनुभएको हो नि । ‘के छ प्रगति’ भन्दै मलाई त सर अफिसमा बोलाइरहनु हुन्थ्यो । बेलाबेलामा । राधाले भन्न थाली ।
हँ ! किशोरी राधाको कुरा सुनेर छक्क परी ।
एकदिन, रोशन सर हाम्रो स्कूल आउनुभएको थियो । प्रिन्सिपल म्यामले मलाई कोठामा बोलाएर उहाँसँग चिनाइदिनुभयो । ‘राधा तिमी र ‘चिया बेच्ने केटी’ दुवै जनाले सरकारी जागिर खानुपर्छ । सरकारी जागिर खाएपछि जीवन सुरक्षित हुन्छ । सरकारी जागिर खान लोकसेवा आयोगको परीक्षा पास गर्नुपर्छ । परीक्षा पास गर्न मेहनत गरेर पढनुपर्छ ।’ सरले भन्नुभएको थियो । सरको कुरा सुनेर मलाई सरकारी जागिर खान मन लाग्यो । मैले ‘हस’ भनेँ ।
‘चिया बेच्ने केटी को हो नि ? मैले त चिनिन सर ।’ मैले सरसँग सोधेको थिएँ ।
सरले टाढैबाट तँलाई देखाइदिनुभयो । म त एकछिन अलमल भएँ । पछि तेरो आमाले सरलाई भनेका सबै कुरा पनि सुनाउनुभयो । सर त, तँलाई प्रेम गर्नु हुँदोरहेछ । तँ त कस्तो भाग्यामानी ? बरू, तैले नाँ भनेकी रे ! राधाले किशोरीलाई आधा कफी छाडेर भागेको प्रसंग पनि सम्झाइ ।
किशोरी त्यो दिन सम्झन थाली ।
शारदा ! रोशन सर सँधै तँलाई आफूसरह बनाउँछु, भन्नुहुन्थ्यो । हरेक दिन हाम्रो तयारीको बारेमा सोधिरहनुहुन्थ्यो । तैंले गर्दा म समेत लोकसेवा आयोगको परीक्षा पास गर्न सफल भएँ । सरकारी जागिर खान पाएँ । रोशन सर र तँलाई मेरो मुरीमुरी धन्यवाद छ ! राधा खुसीले फुरुङ्ग थिइ ।
राधाको कुरा सुनेर किशोरी लाज र पश्चातापले रातो भइ । कान ताता भए । चिटचिट पसिना आयो । केही बोल्न सकिन । दौडेर गएर रोशनसँग माफी माग्न मनलाग्यो । जान पनि सकिन ।
+++
हाजिर फाँटमा भीड थियो । धेरैबेरपछि हाजिर गरेर दुवैजना रोशनको कोठामा फर्के । रोशन कोठामा थिएन । कार्यालय सहयोगीसँग सोधखोज गरे । ‘रोशन सरको त अपर्झट गृह मन्त्रालयमा सरुवा भयो । तुरुन्त आउनु भनेर फोन पनि आयो । गइहाल्नुभयो । अहिले एयरपोर्ट पुग्नुभयो होला ।’ कार्यालय सहयोगीले एकसासमा सुनायो।
किशोरीलाई एकाएक अन्धकारले छोप्यो । आँसु आएर आँखाको डिलमा थुप्रियो । स्वर गलामा रोकियो । सास फुलेर आयो । मुटुको ढुकढुकी बढ्यो । मुटु चुडिँएला जस्तो भयो । भाउन्न भएर आयो । सरी भन्न नपाएकोमा चुकचुकाइरही । राधासँग पनि केही नबोली अफिसबाट ऊ सरासर घर फर्की । थाहै नदिएर पनि त्यत्रो सहयोग ?
रोशनको माया सगरमाथा भन्दा अग्लो भएर आयो । तकियामा टाउको राखेर क्वाँक्वाँ रोइ । विगतका घटनाहरू आँखा वरिपरी नाँच्न थाले । धेरैबेरपछि रोशनलाई फोन गर्ने साहस जुटाइ र मोबाइल खोली । मोबाइलमा ह्वारर्रर म्यासेजको लस्कर आयो ।
‘बधाई ! चिया बेच्ने केटी ।’ ‘तिमी सरकारी जागिरे भयौ । तिम्रो जीवनले निश्चित बाटो समात्यो । अब तिमीले मसँग बसेर पूरै कफी पिउन सक्छ्यौं ? गृह मन्त्रालयबाट मेरो अर्पझट सरुवा भएकाले तिमीसँग केही बोल्न नपाई हिडनु पर्यो। ‘आई लभ यू, ‘चिया बेच्ने केटी ।’ म्यासेज पढदापढदै किशोरीका आँखा आँसुले ढम्म भरिए । खुसीले मन रोएर भुतुक्क भयो । टाढासम्म रमाइलो मैदान देखियो । रोशनको म्यासेजलाई पटक-पटक पढी । चुप्प चुप्प माया गर्दै भनी, ‘छुच्चो हजुर ।’
किशोरीलाई के गर्ने ? कसो गर्ने ? छटपटाहट भयो । खुसी उम्लिएर पोखिएला जस्तो भयो । म्यासेज लेख्ने र मेट्ने गर्न थाली । के भनेर सम्बोधन गर्ने ? सर भन्ने, नाइँ, सर त नभन्ने । मेरो ह्रृदयको देवता भन्ने त ? नाइँ, एक्कासी कसरी ह्रृदयको देवता भन्ने ? मेरो मायालु भन्ने ? यो त उहाँलाई भन्न नै सुहाउँदैन । नेपाल सरकारको शाखा अधिकृत पो हो, उहाँ त । मनमा माया उर्लेर आयो । बस्ने उठ्ने गरिरही । के लेख्ने, के लेख्ने ? टुंगोमा पुग्न सकिन । आखिरमा, म्यासेज बक्समा ‘आई लभ यू, टू’ टाइप गरेर सेन्ट गरी । अधर्य मन लिएर जवाफ पर्खेर बसिरही ।
टिङ टिङ टिङ ! एकैछिनपछि मोबाइलमा नोटिफिकेशन आयो । हतारहतार मोबाइल खोली । रोशनको जवाफमा ‘प्रेम दर्शाउने’ इमोजीको लस्कर आयो । ‘थ्याङस् गड’ किशोरी फुरुङ्ग परेर एक्लै नाची ।
प्रतिक्रिया 4