+
+
Shares
विश्वप्रकाश शर्मासँग वार्ता :

‘मुख नखोले पनि वैशाखमा चुनाव चाहने धेरै छन्’

चुनाव दुई चरणमा गर्न सकिन्छ । पहिलो चरणको चुनाव फागुन २१ गते गरौं । दोस्रो चरणको वैशाख २१ गते गरौं । पहिलो चरणको चुनाव ७ प्रदेशका ७ क्षेत्रमा गरौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १६:०६
Listen News
0:00
0:30
🔊

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा चुनावमा गर्न उपयुक्त हुने धारणा सार्वजनिक गरेपछि राजनीतिक वृत्त तरंगित भएको छ । चुनाव तोकिएको मितिमा हुने/नहुने संसय रहेकै बेला शर्माको अभिव्यक्ति बाहिर आएको हो ।

कांग्रेसले महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन नसक्ने विश्लेषणसहित महामन्त्री शर्माको उक्त अभिव्यक्ति आएको भन्दै टिप्पणी गर्नेहरू पनि छन् ।

चुनावी वातावरण बनाउन, जेनजीसँग भएको समझदारीलाई कार्यान्वयनको प्रक्रिया सुरु गर्न, हिमाली क्षेत्रको तापक्रम लगायतले फागुनमा चुनाव गर्न अनुपयुक्त देख्छन् कांग्रेस महामन्त्री शर्मा । साथै, १९ फागुनमा तराई-मधेशमा होली पर्व पर्ने हुँदा फागुन २१ मा चुनावी वातावरण नबन्न सक्ने विश्लेषण पनि हुँदै आएको छ ।

चुनाव वैशाखमा सार्न उपयुक्त हुने धारणा राख्ने महामन्त्री शर्मासँग यही विषयमा केन्द्रित रहेर अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीः

चुनाव वैशाखमा गर्दा हुने विचार सार्वजनिक गर्नुभयो । चुनाव सार्नुपर्ने कारण के हो ? कांग्रेसले चुनावको मिति सरे हुन्थ्यो भन्ने इच्छा राखेको हो कि ?

मैले जनभावनाअनुसार नै चुनाव सार्दा हुन्छ भन्ने विचार राखेको हुँ । वैशाखमा चुनाव हुँदा संविधानअनुसार हुन्छ त ? भनेर तपाईंले सोध्न पनि सक्नुहुन्छ । चुनाव दुई चरणमा गर्न सकिन्छ । पहिलो चरणमै १६५ क्षेत्रमै चुनाव गर भनेर संविधानले त भन्दैन ।

त्यसैले फागुन २१ र वैशाख २१ गरी दुई चरणमा चुनाव गर्न सकिन्छ । पहिलो चरणको चुनाव फागुन २१ गते गरौं । दोस्रो चरणको चुनाव वैशाख २१ गते गरौं । पहिलो चरणको चुनाव ७ वटा प्रदेशको ७ क्षेत्रमा गरौं ।

उदाहरणका लागि, कोशीमा झापा-१, मधेशमा धनुषा-१, बागमतीमा काठमाडौं-१, गण्डकीमा कास्की-१, लुम्बिनीमा रुपन्देही-१, कर्णालीमा सुर्खेत-१ र सुदूरपश्चिमममा कैलाली-१ मा पहिलो चरणमा गरौं । अथवा, ७ प्रदेशका सात अरू कुनै क्षेत्र गर्न सकियो ।

हाम्रो कारणले चुनाव सार्नुपर्छ भन्ने होइन । तीन तहको मात्रै अधिवेशन गर्ने सक्छौं । वा, विशेष महाधिवेशन गरौंला ।

पहिलो चरणमा चुनाव भएका क्षेत्रको मतगणना तत्काल सुरु गर्न मिल्दैन । मतपत्र सुरक्षित रूपमा सशस्त्रको ब्यारेकमा लगेर थन्क्याउने काम गरौं । त्यसपछि वैशाख २१ गते दोस्रो चरणको चुनाव गरौं ।

यसले के भयो भने संविधानले भने बमोजिम ६ महिना भित्रमा चुनावको प्रक्रिया सुरु भयो । संविधान टेकेर चुनाव गराउन फागुन २१ को मिति टेक्न पाइयो । ७ वटा क्षेत्रमा चुनाव गर्दा माहोल, मोड, मतदाताको मनस्थिति, शान्ति सुरक्षाको अवस्था सबैको वार्मअप हुन्छ । कमजोरी के हो भन्ने कुरो पनि थाहा हुन्छ । ठिक-बेठिक थाहा हुन्छ । त्यसपछि वैशाख २१ मा गरौं ।

त्यस बीचमा देशमा शान्ति सुरक्षाको वातावरण मिलाउन पनि सम्भव हुन्छ । हिमालको हिउँ पनि पग्लिसकेको हुन्छ ।

७ क्षेत्रमा मात्रै मतदान गराउन सम्भव हुने विषय हो र ? व्यवस्थापनका लागि संयन्त्र ७ क्षेत्रमा मात्रै परिचालित हुनुपर्ने होला । व्यवस्थापन खर्चिलो हुनसक्छ नि ?

व्यवस्थापनमा खर्चिलो हुँदैन । जस्तो- १६५ क्षेत्रमा चुनाव गराउन निर्वाचन कार्यालय चाहिन्छ । त्यसरी पहिलो चरणमा हुने निर्वाचन क्षेत्रमा कार्यालय स्थापना हुने हो ।

कांग्रेसले महाधिवेशनको कार्यतालिका व्यावहारिक रूपमा ल्याउन नसकेको र कार्यान्वयनमा समस्या हुने भएसँगै चुनाव सारिदिए हुने थियो भन्ने सोचका साथ तपाईंको यो अभिव्यक्ति आयो भन्ने छ नि ?

आशंका त गर्न पाइयो । हाम्रो पार्टीमा ८ तह छन् । ती सबै तहको अधिवेशन नगरी ३ वटाको मात्रै गरेर केन्द्रीय महाधिवेशन गर्न पनि हामी सक्छौं नि । वडाको अधिवेशन गर्ने । वडाको भइसकेपछि क्रियाशीलमार्फत क्षेत्रीय प्रतिनिधि आउँछन् । क्षेत्रको अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुने हुँदा त्यसपछि सिधै केन्द्रीय महाधिवेशन गर्न सकिन्छ ।

त्यसरी फास्ट ट्र्याकबाट केन्द्रीय महाधिवेशन गर्न सकिने हुँदाहुँदै यसरी चाप राखेर किन कार्यतालिका ल्याउनुभयो ? कार्यतालिका व्यावहारिक नहुने जानकारी हुँदाहुँदै किन केन्द्रीय समितिबाट पारित गर्नुभयो ?

हाम्रो कारणले चुनाव सार्नुपर्छ भन्ने होइन । तीन तहको मात्रै अधिवेशन गर्ने गरी हामी मिलाउन पनि सक्छौं । हामीले भोलि समझदारी गर्यौ भने त्यसरी पनि गर्न सकौंला । अथवा, समयले नभ्याउने अवस्था रह्यो भने विशेष महाधिवेशन गरौंला । तर हाम्रो कारणले सार्ने भन्ने होइन । मैले त व्यावहारिक हिसाबले भनेको हो । फागुनमा चुनाव कहिले भएको छ र ?

चुनावी वातावरण बनाउन, जेनजीसँग भएको समझदारीलाई एक चरण कार्यान्वयन लैजान, हिमाली क्षेत्रको तापक्रम ख्याल गर्न आवश्यक छ ।

चुनावको मिति सर्‍यो भने महाधिवेशनको गृहकार्य गर्न सजिलो हुन्थ्यो भन्ने त तपाईंहरूलाई लागेको हो ?

२०३७ सालको जनमत संग्रह वैशाख २० गते भएको थियो । २०४८ सालमा वैशाखमै चुनाव भएको हो । २०४९ सालको स्थानीय चुनाव पनि वैशाखमै भएको हो । २०५१ सालको मध्यावधि कात्तिकमा भयो । २०७९ सालको चुनाव मंसिरमा भयो । २०६४ सालको संविधानसभा चुनाव चैतमा भयो ।

तपाईंले खोज्नुभयो भने चुनाव मंसिरमा भएको भेट्नुहुन्छ, कात्तिकमा भएको भेट्नुहुन्छ, वैशाखमा भेट्नुहुन्छ, जेठको पहिलो हप्ता पनि चुनाव भएको भेट्नुहुन्छ । तर माघ र फागुनमा भएको भेट्नुहुन्न । फागुनमा स्ववियु निर्वाचन हुने हो ।

विगतमा किन त्यस्तो भयो भन्दा हिमाली क्षेत्रमा चुनाव गर्न कठिन हुन्छ । फागुनमा भोट हाल्ने दिन मात्रै ख्यालमा राखेर भएन नि । उम्मेदवारी दर्ता त फागुनअघि नै गर्नुपर्ला । उम्मेदवारी दर्ता र प्रचारप्रसार माघमा गर्नुपर्ला । हिमाली क्षेत्रको अवस्थालाई हेर्दै गर्दा पनि अलिकति पछाडि लानुपर्ने देखिन्छ ।

चुनाव वैशाखमा गर्दा फागुन २१ पछि गर्न सकिने कामहरू धेरै हुन सक्छन् । भागेका कैदी फिर्ता गराउन सकिने अवस्था रहन्छ । सरकारलाई समय हुन्छ । लुटिएका हतियार फिर्ता गर्ने समय हुन्छ । जेनजीसँग सरकारले गरेका समझदारीको एक चरणलाई अघि बढाउन सकिन्छ । समझदारी गर्ने अनि समझदारीको कागज चाहिँ मतपत्र हो र ? त्यो त नि । समझदारीलाई कार्यान्वयनमा लानुपर्यो होला नि । ती विषय कार्यान्वयन गर्नेतिर नलागी सिधै फागनु २१ भनिरहने ?

कांग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित हुने हुँदा चुनावको मिति सरिदिए हुन्थ्यो भन्नेमा कांग्रेस छैन भन्ने हो नि ?

हाम्रो महाधिवेशनको कुरा हामी मिलाउन सक्छौं । चुनावी वातावरण बनाउन, जेनजीसँग भएको समझदारीलाई एक चरण कार्यान्वयनमा लैजान, हिमाली क्षेत्रको तापक्रम ख्याल गर्न आवश्यक छ । यी सबै फ्याक्टरले विश्वसनीय वातावरणमा चुनाव गराउन मद्दत पुर्‍र्याउँछ । सबै कुराले चुनावका लागि वैशाखको मिति माग गर्छ ।

सबै कुरालाई विश्लेषण गरेर चुनाव गर्ने कि गर्नका लागि मात्रै गर्ने ? चुनावलाई उत्सव बनाउने कि बाध्यताका रूपमा गरिएको भन्ने ? संविधानको धाराअनुसार नहेरौं भन्ने हैन । धारा मात्रै हेर्ने कि अरू सबै वातावरण हेर्ने ? जेनजीसँग गरिएको समझदारीलाई दराजमा थन्क्याएर चुनावमा जाने कि कार्यान्वयनको केही हदसम्म जाने ? यसमा सरकारले ठूलो प्रस्ताव ल्याउन सक्नुपर्छ । राजनीतिक दलहरूले त्यसमा फरक मत नराखी समझदारी बनाएर जानुपर्छ ।

चुनावको मिति सरे हुने थियो भन्ने सबै पक्षलाई लागेको तर मुख कसले खोल्ने भनेर एकले अर्कालाई पर्खिरहेको देखिन्छ । यसमा कति सत्यता छ ?

सत्य कुरा यही हो । सबैले के जानेका र बुझेका छन् भने, वैशाखमा चुनाव गर्नु उत्तम हो । तर त्यो भन्दै गर्दा आलोचनामा परिन्छ । चुनाव गराउन नचाहेको भन्ने दोष लाग्न सक्छ । संविधान विपरीत कुरा गर्यो भन्ने बुझिन्छ । आलोचना हुन्छ भन्ने कुरा बुझिन्छ भनेर पनि मुख नखोलिएको होला ।

प्रशंसा खोज्ने कि व्यावहारिक कुरा गर्ने भन्ने मूल प्रश्न हो । कसैले मेरो प्रशंसा गरिदियोस् भनेर त म कहिले आफूलाई भन्न चाहन्नँ । चुनाव वैशाखमा गर्दा व्यावहारिक हुन्छ भन्ने पक्षमा हुँ ।

कदाचित्, सरकारले तोकिएकै मितिमा चुनाव गर्ने भयो भने नयाँ नेतृत्व लिएर नै कांग्रेस चुनावमा जान्छ ?

जान्छ । जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?