News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वका विभिन्न मुलुकमा पछिल्ला १५० वर्षमा मानिसको औसत उचाइ ८–१० सेन्टिमिटरसम्म बढेको छ।
- नेपालमा कुपोषण र स्वास्थ्य सेवा पहुँचको कमीका कारण उचाइ वृद्धिको गति सुस्त छ तर बिस्तारै बढ्दै गएको छ।
- पोषणविद् अधिकारीले प्रोटिन, क्याल्सियम, भिटामिन र अन्य पोषक तत्व बालबालिकाको उचाइ वृद्धिमा अत्यन्त महत्वपूर्ण भएको बताए।
अहिलेका किशोरकिशोरी र युवाहरू आफ्ना बाबुआमा भन्दा अग्लो देखिनु सामान्य बन्दै गएको छ । धेरै घरपरिवारमा १७–१८ वर्षका छोराछोरीहरू आफ्ना अभिभावकभन्दा अग्ला हुनु अब आश्चर्यको विषय रहेन । यो प्रवृत्ति व्यक्तिगत वा केही परिवारमा सीमित नभई विश्वव्यापी रूपमा फैलिएको देखिन्छ ।
विशेषज्ञहरूका अनुसार, यो मानव विकासको निरन्तर प्रक्रिया, सुधारिएको पोषण, स्वास्थ्य सेवाको पहुँच, स्वच्छता र सामाजिक–आर्थिक अवस्थामा भएको परिवर्तनको संयुक्त परिणाम हो । वैज्ञानिक भाषामा यसलाई ‘सेकुलर ट्रेन्ड इन हाइट’ (Secular Trend in Height) भनिन्छ, जसले पुस्तान्तरणमा मानिसहरूको औसत उचाइ क्रमशः बढ्दै जाने प्रक्रियालाई जनाउँछ ।
विश्वव्यापी तथ्य : उचाइ बढ्दै गएको इतिहास
विश्वका विभिन्न मुलुकमा गरिएको दीर्घकालीन अध्ययनहरूले पछिल्ला करिब १५० वर्षमा मानिसको औसत उचाइ उल्लेखनीय रूपमा बढेको देखाएका छन् । द ल्यान्सेट जर्नलमा प्रकाशित बहुराष्ट्रिय अध्ययनअनुसार औद्योगिक तथा विकसित मुलुकहरूमा पुरुष र महिलाको औसत उचाइ ८–१० सेन्टिमिटरसम्म बढेको छ ।
उदाहरणका लागि, दक्षिण कोरियाली महिलाहरूको औसत उचाइ एक शताब्दीमा २०.२ सेन्टिमिटरले बढेको छ । इरानी पुरुषहरूको औसत उचाइ १६.५ सेन्टिमिटरले वृद्धि भएको छ । नेदरल्यान्ड्स, डेनमार्क र नर्वेजस्ता देशहरूमा विश्वकै अग्ला मानिसहरू बसोबास गर्ने अवस्थाको विकास हुनु पनि यही ट्रेन्डको परिणाम हो ।
यद्यपि, यो परिवर्तन सबै देशमा समान गतिमा भएको छैन । नेपालजस्ता विकासशील मुलुकमा कुपोषण, असमान स्वास्थ्य सेवा पहुँच, गरिबी र भौगोलिक चुनौतीका कारण उचाइ वृद्धिको गति अझै तुलनात्मक रूपमा सुस्त छ । तर पछिल्ला दशकहरूमा यहाँ पनि बालबालिकाको औसत उचाइ बिस्तारै बढ्दै गएको देखिन्छ ।
वंशाणु र वातावरण : कसले कति भूमिका खेल्छ ?
पोषणविद् आयुष अधिकारीका अनुसार, मानिसको उचाइ निर्धारणमा करिब ६०–८० प्रतिशत भूमिका वंशाणुगत हुन्छ । तर बच्चा वास्तवमै कति अग्लो हुन्छ भन्ने कुरा वातावरण, पोषण र स्वास्थ्य अवस्थाले तय गर्छ ।
यदि बच्चाले राम्रो पोषण, समयमै स्वास्थ्य सेवा र सुरक्षित वातावरण पाउँछ भने ऊ आफ्नो ‘जिनेटिक पोटेन्सियल’ अर्थात् वंशाणुगत रूपमा सम्भव अधिकतम उचाइसम्म पुग्न सक्ने इन्टरनल मेडिसिन प्रा.डा. विद्या सागर प्रसाद बताउँछन् ।
विगतमा भने खाद्यान्न अभाव, बारम्बारको संक्रमण, सरसफाइको कमी र कुपोषणका कारण धेरै बालबालिकाको शारीरिक वृद्धि बीचमै अवरुद्ध हुन्थ्यो । आज खोप कार्यक्रम, एन्टिबायोटिक्स, स्वच्छ खानेपानी र स्वास्थ्य सचेतनाले डायरिया, निमोनिया, आन्द्राका संक्रमण जस्ता रोगहरू घटाएका छन् । यसले शरीरले ऊर्जा रोगसँग लड्नभन्दा वृद्धि प्रक्रियामा प्रयोग गर्न पाएको छ ।
पोषण : उचाइ वृद्धिको आधारशिला
जन्मदेखि किशोरावस्थासम्मको अवधि उचाइ वृद्धिको ‘गोल्डेन पिरियड’ रहेको डा.प्रसाद बताउँछन् । ‘यस समयमा आवश्यक पोषक तत्व नपाए बच्चा जिनेटिक रूपमा अग्लो हुन सक्ने भए पनि वास्तविक उचाइ कम रहन्छ’ उनी भन्छन् ।
पोषणविद् अधिकारीका अनुसार उचाइ वृद्धिमा विशेषगरी निम्न पोषक तत्व अत्यन्त महत्वपूर्ण छन् ।
प्रोटिन : हड्डी र मांसपेशी निर्माणको आधार प्रोटिन हो । यसले ग्रोथ हर्मोन र इन्सुलिन–लाइक ग्रोथ फ्याक्टर–१ सक्रिय गर्छ ।
क्याल्सियम, फस्फरस, भिटामिन डी र म्याग्नेसियम : हड्डीको लम्बाइ र मजबुतीका लागि आवश्यक ।
जिंक, आइरन र भिटामिन ए : कोशिका वृद्धि, रगत निर्माण र प्रतिरक्षा प्रणालीमा सहयोगी ।
कार्बोहाइड्रेट र स्वस्थ चिल्लो : शरीरलाई आवश्यक ऊर्जा प्रदान गरी वृद्धि प्रक्रियालाई समर्थन गर्ने ।
दूध, दही, अण्डा, माछा, मासु, दाल, गेडागुडी, हरियो सागसब्जी र फलफूलले बालबालिकाको दैनिक पोषण आवश्यकता पूरा गर्न ठूलो योगदान पुर्याउने अधिकारीले बताए ।
सामाजिक–आर्थिक परिवर्तन र जीवनशैली
शिक्षा, आम्दानी, परिवारको स्वास्थ्य सचेतना र जीवनशैली पनि उचाइसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । गरिबी, बालश्रम, असन्तुलित आहार र असुरक्षित बसोबासले शारीरिक वृद्धि अवरुद्ध हुन सक्छ ।
डा. प्रसादका अनुसार, ‘जब परिवारको आर्थिक अवस्था सुधार हुन्छ, स्वास्थ्य र पोषणमा लगानी बढ्छ । त्यसको प्रत्यक्ष असर बालबालिकाको उचाइ र समग्र शारीरिक विकासमा देखिन्छ । समग्रमा सुधारिएको पोषण, स्वास्थ्य सेवा, स्वच्छता, शिक्षा र सामाजिक–आर्थिक अवस्थाले नयाँ पुस्तालाई आफ्ना पूर्खाभन्दा अग्लो, बलियो र स्वस्थ बनाइरहेको उनले स्पष्ट पारे ।
प्रतिक्रिया 4