+
+
Shares
विशेष रिपोर्ट :

श्रीमतीको मृत्युको कारण खोज्न काखे छोरी च्यापेर धाइरहेका सुवास

एक वर्ष मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालय जस्ता निकायमा धाइरहँदा सुवासले न्याय पाउन नसकेको गुनासो गरे । चिकित्सकहरूलाई नियमन गर्न र पीडितहरूलाई न्याय दिन स्थापना भएको संस्था नै डाक्टर बचाउन लागेको उनको आरोप छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ पुष ११ गते २०:४१

११ पुस, काठमाडौं । गोठाटार, काठमाडौंका सुवास पराजुलीले श्रीमती मनितालाई प्रसूति बेथा लागेपछि अस्पताल पुर्‍याएका थिए । उनले छोरी जन्माइन्; तर छोरीको मुख हेर्नै नपाई मनिताले संसार त्यागिन् ।

के त्यो मृत्यु स्वाभाविक थियो ? सुवास पराजुलीलाई त्यस्तो लाग्दैन । ‘श्रीमतीको चिकित्सकीय लापरबाहीको कारण मृत्यु भयो’, सुवास भन्छन् ।

श्रीमतीको मृत्युको जवाफ खोज्न सुवास भए–भरको कागजात च्यापेर दौडधूप गरिरहेका छन्, न्यायका खातिर । तर उनका लागि न्याय ‘फलामको चिउरा चपाउनु’ सरह भएको छ ।

सुवास भन्छन्, ‘एक वर्षमा न्यायका लागि दौडधुप गर्दा स्वास्थ्य क्षेत्रको बेथितिलाई स्पष्ट बुझें । जुन निकायमा पनि शक्तिमा बसेकाले दु:ख मात्र दिए ।’

के थियो घटना ?

घटना, २६ मंसिर २०८१ को हो । दिउँसो १ बजेको हुँदो हो, ४१ वर्षीय मनिताको पेटको माथिल्लो भागमा असह्य पीडा हुनथाल्यो । उनको पेटमा ३४ हप्ताको बच्चा हुर्किरहेको थियो ।

हतारहतार मनिताले डाक्टर ज्योत्सना शर्मालाई फोन डायल गरिन् तर उठेन । स्त्रीरोग विशेषज्ञ ज्योत्सनासँग मनिताले निरन्तर परामर्श लिंदै आएकी थिइन् । ज्योत्सनाले भनेकी थिइन्– केही समस्या परे फोन गरिहाल्नु ।

डाक्टर व्यस्त भएको ठान्दै उनले एसएमएस गरिन्– डा. प्लीज फोन उठाउनु न । मलाई धेरै गाह्रो भयो । कहाँ आउँ ?’

उनको पहिलो गर्भ पाँच महिनामै खेर गएको थियो । अब त्यस्तो नदोहोरियोस् भन्नेमा उनीहरू सचेत थिए । बच्चालाई केही पो हुने हो कि ! असाध्यै दुखाइपछि सुवास र मनिता अस्पतालतिर लागे । जाँदै गर्दा निरन्तर फोन हानिरहे । तर कुनै जवाफ आएन ।

पराजुली दम्पतीले नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा चेकजाँच गराइरहेका थिए । बस्न सहज र सुलभ हुने भएकाले डा. ज्योत्सनाकै सल्लाहमा बच्चा जन्माउने अस्पताल भने सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज रोजे ।

डा. ज्योत्सना काठमाडौं मेडिकल कलेज र एभरेष्ट अस्पतालमा कार्यरत छिन् । मेडिकल कलेजको गेटबाट भित्र छिरेपछि डा. ज्योत्सनाको फोन आयोे । उनले एभेष्ट अस्पताल नै आउन र आफू पनि आउने आश्वासन दिइन् ।

पराजुली दम्पती हतारहतारमा एभरेष्टतिर लागे । ‘एभरेष्टको इमर्जेन्सीमा घन्टौं कुर्दा पनि डा. ज्योत्सना आइपुगिनन्’, सुवास सम्झन्छन् ।

इमर्जेन्सी कक्षमा हुँदा अल्ट्रासाउन्ड र केही रगत परीक्षण भयो । त्यतिबेला मनिताको रक्तचाप १८० बाई १२० थियो । जुन एकदमै उच्च हो ।

श्रीमान् सुवास पराजुली र श्रीमती मनिता शर्मा ।

‘अस्पताल पुगेको दुई घन्टापछि डा. ज्योत्सना आइपुग्नुभयो । उहाँलाई देखेपछि कन्फिडेन्ट लेभल एकदम हाई भएको थियो’ सुवासले त्यस क्षणलाई सम्झिंदै भने, ‘तर हामीसँग कुनै सल्लाह नै नगरी शल्यक्रिया गर्न माथि लगियो ।’

केही समयपछि चिकित्सकले शल्यक्रिया गरे । मनिताले छोरीलाई जन्म दिइन् । तर मनिताको स्वास्थ्य अवस्था सुधार भएन । रक्तचाप उच्च नै थियो ।

त्यतिबेला सुवासले ज्योत्सनालाई प्रश्न गरे– ‘रक्तचाप उच्च हुँदा कसरी शल्यक्रिया गर्नुभयो ?’ ‘औषधि दिएपछि रक्तचाप सामान्य भयो, त्यसपछि शल्यक्रिया गरियो । तर बच्चा निकालेपछि भने प्रेसर हाई भएको छ’, त्यतिबेला डा. ज्योत्सनाको जवाफ थियो ।

केही समयपछि भने ज्योत्सनाले मनिता, मनिता, मनिता… भनिरहेको आवाज बाहिर सुनिएको सुवास बताउँछन् । त्यसलगत्तै डाक्टरले मनितालाई सिजर आएकाले औषधि दिएको र अवस्था सुधार भएन भने आईसीयूमा लैजानुपर्ने बताए ।

सुत्केरी अवस्थामा हुने सिजर भन्नाले बच्चा जन्माएपछि महिलामा अचानक झट्का लाग्ने, बेहोस हुने, शरीर कक्रिने जस्ता लक्षण देखिनुलाई बुझिन्छ । यसलाई ‘पोस्टपार्टम प्रि–एक्लाम्पसिया’ भनिन्छ ।

केहीक्षणमै मनितालाई आईसीयूमा सारियो । सुवास पनि पछि–पछि गए । तर त्यतिबेलासम्म डा. ज्योत्सना अस्पतालबाट निस्किइसकेकी थिइन् ।

‘जुन दुखाइ लिएर अस्पताल पुगेका थियौं; बच्चा निकालिसकेपछि पनि मनिताको पेटको माथिल्लो भागको दुखाइ उस्तै नै थियो’ भावुक हुँदै सुवासले त्यस क्षणलाई सम्झिए ।

डा. ज्योत्सना शर्मा

२६ मंसिरको दिउँसो साढे १ बजे अवस्था यति गम्भीर भयो कि मनितालाई सीपीआर दिनुपर्‍यो । बिहान १० र मध्याह्न १२ बजेको रिपोर्ट राम्रो नभएको र यसबारे अस्पतालले आफूलाई जानकारी नदिएको सुवास बताउँछन् ।

‘डाक्टरलाई नै विश्वास गरेर एभरेष्ट अस्पतालमा लगेको थिएँ । किनकि दुई वर्षदेखि नै डा. ज्योत्सनाकै परामर्शमा बच्चालाई जन्म दिने निधो गरेका थियौं’ सुवासले लामो सास फेर्दै भने, ‘तर अवस्था गम्भीर भएपछि अन्य अस्पतालमा रेफर गर्न भनियो ।’ त्यसबेला मात्रै डाक्टरले कलेजो फेल भइसकेको र मिर्गौलामा पनि असर परेको बताए ।

त्यसपछि परिवारले ह्याम्स अस्पताल लैजाने निधो गरे । जुन सल्लाह डा. ज्योत्सनाले नै दिएको सुवासको दाबी छ । ह्याम्स पुगेपछि थाहा भयो– गर्भावस्थामा नै हेल्प सिन्ड्रोम र प्रि–एक्लाम्पसिया भइसकेको रहेछ । जसले गर्भावस्थामा रगत जम्ने समस्या र कलेजोमा समेत असर गर्छ ।

ह्याम्समा भेन्टिलेटरमा राखेर उपचार भयो । चिकित्सकले भनेका थिए ‘जति अंगले छोडिसके त्यसलाई सुधार गर्न सकिंदैन । अब थप बिग्रिन नदिन मात्रै प्रयास गर्छौं ।’ तर सबै प्रयास व्यर्थ भयो । भेन्टिलेटरमा राखेको सात दिनपछि मनिताले प्राण त्यागिन् ।

‘आफूले जन्माएको छोरीसँग मनिताले केही क्षण पनि बिताउन पाइनन्’ सुवासले आँसु झार्दै भने, ‘ह्याम्समा पुग्दासम्म ढिला भइसकेको रहेछ । चिकित्सकको लापरबाहीको कारणले केही दिनमै उनले संसार छोडिन् ।’

सुवासले भोगेको हैरानी

केही दिन उनका परिवार मनिताको काजकिरियामा लागे । ह्याम्स अस्पतालका चिकित्सकको परामर्शले सुवासले थाहा पाए– सही उपचार भएको भए, यो समस्या आउने नै थिएन ।’

त्यसबेला चिनजान भएका केही चिकित्सकलाई सल्लाह गरे । अन्तत: चिकित्सकीय लापरबाही भएको भन्दै कानूनी लडाइँमा जाने निधो गरे ।

‘सही समयमै उपचार भएको भए यस्तो अवस्था आउने नै रहेनछ । यसबारे उपचारका बेला र फलोअपमा जाँदा डाक्टरले कुनै जानकारी दिनुभएन । उल्टै आईसीयूमा भएको बिरामी छोडेर हिंड्नुभयो’, सुवास भन्छन् ।

उनले अगाडि थपे, ‘प्रिक्लाम्पसिया भइसकेपछि तत्काल नै म्याग्नेसियम सल्फेट दिनुपर्ने हुँदोरहेछ । जसलाई मृत्युबाट जोगाउने औषधि भनिंदो रहेछ । तर मनिताले यो औषधि समयमै पाइनन् ।’

त्यसपछि सुवासले अस्पताल प्रशासनसँग मनिताको उपचार गर्दाको कागजात मागे । मनिताको मृत्युको कारणबारे स्पष्ट पार्न अस्पताललाई निवेदन लेखे । तर त्यसको कुनै जवाफ आएन ।

अस्पतालको सीसीटीभी फुटेज पनि सुरक्षित राख्न निवेदन नै दिए । तर अस्पतालले फुटेज नै नभएको बतायो ।

त्यसपछि सुवास न्याय माग्दै नेपाल मेडिकल काउन्सिलको ढोकामा पुगे । २९ माघ २०८१ मा मनिताको मृत्यु हुनुको प्रमुख कारण नै उपचारमा संलग्न चिकित्सकको चरम लापरबाही र हेलचेक्र्याइँ भएको भन्दै काउन्सिलमा निवेदन दर्ता गरे ।

त्यसबेला काउन्सिलका अधिकारीले तीन महिनामा निर्णय भइसक्ने जानकारी दिए । यस बीचमा उनी न्यायका लागि स्वास्थ्य मन्त्रालय नपुगेका होइनन् । तर मन्त्रालयका अधिकारीहरूले हाम्रो मातहतमा नपर्ने भन्दै काउन्सिलको बाटो देखाइदिए ।

६ महिना बित्यो । तर कतैबाट पनि उनको सुनुवाइ भएन । केही हप्ता बिराएर उनी काउन्सिल पुग्थे । कहिले विज्ञको राय लिएको छैन, कहिले अनुसन्धान हुँदैछ भन्ने जवाफ आउँथ्यो ।

उनी निराश हुँदै घर फर्किन्थे । साथीभाइले सुवासलाई भनेका थिए– काउन्सिलका पदाधिकारी नै डाक्टर बचाउनका लागि निर्णय गर्छन् । गरिब र सर्वसाधारणले काउन्सिलबाट न्याय पाइँदैन ।’

तर उनी आफ्नो अधिकारको लडाइँमा अडिग थिए । न्यायका लागि काउन्सिलकै निर्णय कुरेर बसेका थिए ।

२३ भदौमा सुवासको मेलमा काउन्सिलको निर्णय प्राप्त भयो । तर त्यो निर्णयले सुवासलाई स्तब्ध बनायो । उक्त निर्णयमा भनिएको थियो— ‘सम्पूर्ण उपचार गाइडलाइन अनुसार नै भएकाले यसमा लापरबाही वा हेलचेक्र्याइँ भएको देखिंदैन ।’

उक्त निर्णय चित्त नबुझेको भन्दै सुवासले २४ घन्टाभित्रमा निर्णयलाई पुनरावलोकन गर्न भन्दै इमेलमा जवाफ पठाए । त्यसपछि अर्को बैठकमा उक्त विषयमा छलफल गर्ने भन्दै काउन्सिलबाट जानकारी आयो ।

३० भदौमा काउन्सिललाई निर्णय प्रक्रियामा एकपक्षीय सुनुवाइ भएको र आफूले प्रस्तुत गरेका प्रमाणको मूल्यांकन नै नभई निर्णय भएको भन्दै सुवासले पुनरावलोकन निवेदन लेखे । सुवास छोरी लिएर काउन्सिल धाउँथे ।

काउन्सिलका अधिकारीहरू हरेक पटक एकले अर्कोलाई देखाउने मात्र काम गर्थे । निवेदन दिएको दुई महिनासम्म पनि काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले तोक लगाउन नै नमानेको उनको भनाइ छ । तर सुवास हार मान्ने पक्षमा थिएनन् ।

सुवासको अथक् प्रयासपछि भने गत १ कात्तिकमा काउन्सिलको व्यावसायिक आचरण समितिमा पेश गर्ने गरी निवेदनमा तोक लाग्यो ।

‘पीडितले न्याय माग्न जाँदा झन् पीडा दिएर पठाउने काम गरियो । चिकित्सकलाई जोगाउनका लागि काउन्सिलका अधिकारी जुनसुकै हदसम्म पनि जाँदा रहेछन्’, सुवासले आफूले भोगेको हैरानी सुनाउँदै भने ।

विज्ञको राय नै विभाजित

असल स्वास्थ्य सेवाको अभ्यास भएका स्वास्थ्य संस्थामा इथिकल बोर्ड हुन्छ, जसले सेवाग्राहीको सम्बोधन गर्छ । बिरामीलाई हानि गरेको वा ज्यान नै गएको घटना छ भने स्वास्थ्य संस्थाभित्र छानबिन समिति बनाउने र अनुसन्धान वा छानबिनपछि अन्तिम प्रतिवेदन बिरामी वा उसका आफन्तलाई दिनुपर्ने जस्ता नियम बनाइएको छ । नेपालको स्वास्थ्य संस्थाहरूमा भने यो अभ्यास पाइँदैन ।

त्यसैले पीडितले न्याय माग्ने पहिलो ढोका बन्छ, नेपाल मेडिकल काउन्सिल । २०२० सालमा स्थापना भएको काउन्सिलले उपचारका क्रममा लापरबाही भयो भनेर उजुरी आए त्यसउपर छानबिन गर्ने र दोषी देखिए चिकित्सकलाई कारबाही गर्ने जिम्मेवारी पाएको छ ।

तर काउन्सिलले नागरिकको त्यो विश्वास जितिसकेको छैन । यसको पहिलो कारण मेडिकल काउन्सिलको अध्यक्षमा हुने नियुक्ति । जुन दल वा गठबन्धनको सरकार हुन्छ, अपवाद बाहेक उनीहरूकै रुचाइएका व्यक्ति अध्यक्ष बनाइन्छ । उपाध्यक्ष सहितका सदस्यहरू चुनावबाट आउने व्यवस्था छ तर त्यसमा पनि राजनीतिक दलसम्बद्ध संगठनकै बोलवाला चल्ने गरेको छ ।

सुवास जस्ता पीडितले काउन्सिलबाट न्याय नपाउनुको एउटा महत्वपूर्ण कारण यही हो । काउन्सिल अन्तर्गतको व्यावसायिक आचरण समिति (इथिकल) मा चिकित्सक विरुद्ध आउने उजुरीहरू छानबिन गर्ने स्पष्ट प्रक्रिया छ । उजुरी दर्ता भएपछि सबैभन्दा पहिले सम्बन्धित चिकित्सक वा अस्पतालसँग स्पष्टीकरण मागिने गरिन्छ ।

उजुरीमा उल्लेख गरिएका आरोपहरूका आधारमा आवश्यक कागजात संकलन गरी विज्ञहरूलाई फाइल पठाइन्छ । उपचार सही थियो कि थिएन ? लापरबाही भएको हो कि होइन ? भन्ने विषयमा विज्ञहरूको प्राविधिक राय लिइन्छ । केसको गम्भीरता हेरेर तीनदेखि पाँच जनासम्म विज्ञबाट राय मागिने प्रचलन छ ।

विज्ञहरूले दिएको प्राविधिक प्रतिवेदनको आधारमा व्यावसायिक आचरण समितिले निष्कर्ष निकाल्छ । समितिले आफ्नो राय काउन्सिलको पूर्ण बैठकमा पेश गर्छ । त्यसपछि कारबाही आवश्यक छ कि छैन ? भए कस्तो सजाय उपयुक्त हुन्छ भन्ने विषयमा पूर्ण बैठकले नै निर्णय लिन्छ ।

अब सुवासकै केसमा फर्कौं । व्यावसायिक आचरण समितिले ५ जना विज्ञको राय लिएको छ । जसमध्ये तेस्रो रायमा भने स्पष्ट रूपमा चिकित्सकीय लापरबाही भएको औंल्याएको छ ।

उपचार प्रक्रियाको लापरबाही औंल्याउँदै ती विज्ञले भनेका छन्, ‘गर्भावस्थामा उच्च रक्तचापको लागि कुन औषधि प्रयोग गरिएको थियो ? भन्ने कुरा स्पष्ट देखिंदैन । पुरानो उच्च रक्तचाप थियो वा गर्भावस्थाको उच्च रक्तचाप थियो, प्रि–एक्लाम्पसिया के थियो भन्ने निर्क्याेल गरेको देखिएन ।’

विज्ञले अगाडि थपेका छन्, ‘गम्भीर प्रि–क्लाम्पसिया, तत्काल नै देखिएको एक्लाम्पसिया र उच्च रक्तचाप, अत्यधिक टाउको दुखाइ हुँदा म्याग्नेसियम सल्फेट दिनुपर्ने हुन्थ्यो । यदि शल्यक्रिया नै गर्नुपर्थ्यो भने बिरामीको उच्च रक्तचापलाई म्याग्नेसियम सल्फेट दिएर गर्नुपर्थ्यो ।’ तर म्याग्नेसियम सल्फेट पोस्ट अप सिजर आएपछि मात्रै प्रयोग भएको देखिएको छ ।

त्यसैगरी मनिताको प्रेसर शल्यक्रिया गर्नुअघि र गरेपछि बढी भएको विज्ञले औंल्याएका छन् । उनले काउन्सिलमा दिएको रायमा भनेका छन्, ‘रक्तचाप उच्च हुँदा पनि बिरामीलाई स्पाइनल एनेस्थेसिया दिएको थियो । यस्तो अवस्थामा ल्याबेटालोल इन्फ्युजन गरिहाल्नुपर्ने थियो ।’

पाँच जना विज्ञको अन्तिम हरफमा भने सबै जनाको एकै किसिमको राय छ । जुन राय सबैमा कपीपेस्ट गरिएको छ ।

काउन्सिल उच्च स्रोतका अनुसार पहिला तीन जना विज्ञको राय लिएको थियो । तर एक जना विज्ञबाट उपचारमा केही लापरबाही देखिएको राय आएपछि थप दुई जना विज्ञबाट पनि राय लिइएको थियो ।

काउन्सिल उच्च स्रोत भन्छ, ‘अनुसन्धान गहिरो भएको देखिंदैन । जसमा निष्पक्ष राय आएको छैन ।’

कपीपेस्ट गरेर राय दिनुले पनि काउन्सिल उच्च स्रोतको यो भनाइलाई बल दिन्छ । त्यसो त व्यावसायिक आचरण समितिले विज्ञको राय लिएपछि त्यसको आधारमा निष्कर्ष निकाल्दै काउन्सिलको पूर्ण बोर्ड बैठकलाई राय सहित प्रतिवेदन बुझाउनुपर्ने हो । तर पछिल्लो समयमा आचरण समितिले आफ्नो राय नै दिन छोडेको छ ।

आचरण समितिका एक सदस्य भन्छन्, ‘हामीले दिएको रायलाई बेवास्ता गर्दै पूर्ण बैठकले उल्टाइदिने भएपछि पछिल्लो समय आचरण समितिले राय नै दिन छोडेको हो ।’

पीडित सुवासको केसमा आचरण समितिले कुनै पनि राय दिएको छैन । विज्ञले दिएको रायकै आधारमा पूर्ण बैठकले निर्णय गरेको ती सदस्य बताउँछन् । ती सदस्यका अनुसार मनिताको मृत्युबारे पूर्ण रूपमा अनुसन्धान नै भएन । डा. ज्योेत्सनालाई सामान्य सोधपुछ मात्रै भएको र गहन रूपमा अध्ययन नभएको ती सदस्य दाबी गर्छन् । डा. ज्योत्सनाले काउन्सिलमा दिएको बयानमा भने आफूले चिकित्सकीय प्रक्रिया अनुसार नै उपचार गरेको बताएकी छिन् ।

नेपाल मेडिकल कलेज पुगिसकेको बिरामीलाई किन एभरेष्ट बोलाइयो ? बिरामीमा समस्या देखिएपछि आफन्तलाई परामर्श नभएको, समस्या आएपछि ठीक औषधि नचलाइएको र सिनियर डाक्टरसँग राय नलिएको जस्ता तमाम प्रश्नको जवाफ डा. ज्योत्सनासँग सोधिएको छैन ।

यसै बीच काठमाडौं मेडिकल कलेजले ज्योत्सनालाई स्पष्टीकरण सोधेको छ । उनले १० पुस २०८१ मा जवाफ दिंदै मनिता शर्माको सम्पूर्ण उपचार एभरेष्ट अस्पतालमै गराएको र काठमाडौैं मेडिकल कलेजमा उपचार नगराएकाले स्पष्टीकरण पेश गरेकी छन् । स्पष्टीकरणमा थप भनेकी छिन्, ‘२०८१ मंसिर २५ गते मलाई धेरै पटक फोन र मेसेज गर्नुभएको रहेछ । मैले कलब्याक गरेर घरमा भएको र चार बजे एभरेष्ट अस्पताल जान्छु भनेर जानकारी गराएकी थिएँ ।’

पछिल्लो समय काउन्सिलमा यस्तै विवाद बढ्दै गएपछि आचरण समितिका संयोजक डा. कालुसिंह खत्रीले राजीनामा समेत दिएका छन् । डा. खत्रीले काउन्सिलका अध्यक्ष डा. भुसालले असहयोग गरेपछि आफूले राजीनामा दिएको बताए । उनी भन्छन्, ‘आचरण समितिको रायलाई पूर्ण बैठकले स्वीकार नगरेका धेरै घटना भएपछि राजीनामा दिन बाध्य भएँ ।’

शक्तिको दुरुपयोगको आरोप

एक वर्षको अवधिमा आफूले नेपालको स्वास्थ्य क्षेत्रको वास्तविकता नजिकबाट बुझेको बताउँछन् । काउन्सिल चिकित्सकहरूलाई नियमन गर्न र पीडितहरूलाई न्याय दिन स्थापना भएको संस्था नै डाक्टर बचाउन लागिपरेको उनको आरोप छ ।

‘निष्पक्ष छानबिन गरेर न्याय दिनका लागि काउन्सिल बनाइएको थियो होला । तर मैले केही गरी पनि न्याय पाउन सकिनँ’, सुवासले निराश हुँदै भने ।

डा. ज्योत्सनाका श्रीमान् नेपाल चिकित्सक संघको महासचिव पदमा छन् । डा. सञ्जिव तिवारीले शक्तिको दुरुपयोग गर्दै श्रीमती बचाउन लागिपरेको सुवासको आरोप छ ।

‘काउन्सिलले गलत गर्नेहरूलाई संरक्षण दिइरहेको छ । चिकित्सक संघको पूर्ण दबाब हुँदा न्यायका लागि बोलिदिने काउन्सिलमा कोही नै भएनन्’, सुवास भन्छन् ।

एभरेष्ट अस्पतालमा मनिताको उपचार गर्दाको कागजात माग्न जाँदा चिकित्सक संघबाट फोन आएपछि अस्पताल प्रशासन पछाडि हटेको सुवासले दाबी गरे ।

सुवास डा. तिवारी माथि थप गम्भीर आरोप लगाउँदै भन्छन्, ‘एभरेष्टको आईसीयूमा हुँदा श्रीमतीलाई मैले हेर्न पाइनँ । तर संघका महासचिव भने सीपीआर दिएपछि आईसीयूमा प्रवेश गरेका छन् । यो शक्तिको दुरुपयोग होइन ?

तर डा. तिवारी भने एभरेष्ट अस्पतालमा एक वर्षअघि भएको घटना सम्बन्धी मुद्दामा आफूले कुनै पनि प्रकारको प्रभाव वा हस्तक्षेप नगरेको दाबी गर्छन् । एभरेष्टमा अन्य कुनै कारणले पुगेको र चिकित्सकीय पृष्ठभूमिका कारण मानवीय र पेशागत दायित्वका रूपमा मात्रै घटनाबारे चासो लिएको बताए । मानवता र पेशागत नैतिकताले प्रेरित भएर सहयोग गर्दा, त्यसलाई गलत अर्थ लगाइनु दु:खद् भएको उनको भनाइ छ ।

काउन्सिलको निर्णय प्रभाव पार्नुभयो भन्ने आरोप छ नि भन्ने प्रश्नमा आफूले प्रभाव पारेको भए जुनसुकै कारबाही भोग्न तयार भएको बताए ।

‘विचाराधीन मुद्दामा कसैले प्रभाव पार्न सक्छ भन्ने कुरा नै गलत हो । मैले कसैलाई फोन गरेर, दबाब दिएर वा निर्णय प्रभावित हुने कुनै काम गरेको छैन’, डा. तिवारीले अनलाइनखबरसँग भने ।

छानबिन वा अनुसन्धानका लागि खुला रहेको उल्लेख गर्दै भने, ‘कुनै दिन कसैले प्रमाण सहित मैले प्रभाव पारेको देखाए भने जे कारबाही हुन्छ, म भोग्न तयार छु ।’

यस विषयमा काउन्सिलका रजिष्ट्रार डा. सतिश देवले विज्ञको रायकै आधारमा काउन्सिलको पूर्ण बैठकले डा. ज्योेत्सनाले गरेको उपचारमा कुनै लापरबाही र हेलचेक्र्याइँ नभएको निर्णय गरेको बताए । इथिकल समितिले किन राय दिन सकेन र विज्ञको रायमा पनि कपीपेस्ट गरियो भन्ने प्रश्नमा डा. देवले यस विषयमा प्रतिक्रिया नदिने बताए । ‘पूर्ण बैठकले गरेको निर्णय मान्य हुनेछ । मृतकका आफन्तलाई पुनरावलोकन गर्न नमिल्ने जानकारी दिएका छौं’, डा. देवले अनलाइनखबरसँग भने ।

काउन्सिलबाट आशा नदेखेपछि सुवासले न्यायालयको ढोका ढकढक्याएका छन् । ‘अहिले उपभोक्ता अदालतमा न्यायका लागि पुगेको छु । अनुसन्धान भइरहेको छ । न्यायका लागि उच्चदेखि सर्वोच्चसम्म जान्छु’ सुवास भन्छन्, ‘देशमा न्यायालय साँचो रहेछ भने मैले न्याय पाउँछु !’

भिडियो : कमल प्रसाईं/अनलाइनखबर

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?