News Summary
Generated by OK AI. Editorially reviewed.- कमल थापाले १६ पुसमा राप्रपा नेपाल छोडेर पुनः राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किएका छन्।
- थापाले ९ पुसमा राजेन्द्र लिङ्देनसँग पार्टी एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
- एकतापछि थापा राप्रपामा दोस्रो वरियताका नेता हुने व्यवस्था विधानमा रहेको छ।
१६ पुस, काठमाडौं । कमल थापा, केहीबेर अघिसम्म राप्रपा नेपालका अध्यक्ष । अब राप्रपाका दोस्रो वरियताका नेता ।
पञ्चायत र बहुदलकालमा मात्र होइन र गणतन्त्रमा समेत शक्तिको अभ्यास गर्न भ्याएका नेता हुन् थापा । पछिल्लो झन्डै चार वर्षदेखि शक्तिविहीन थिए । २५ फागुन २०७८ मा राप्रपा परित्याग गरेपछि थापालाई प्रभावशाली र विश्वासिला साथीले साथ छोडिसकेका थिए । उनीसँग राप्रपा नेपाल नामको पार्टी त थियो, सांगठनिक बल थिएन । शक्ति निरन्तर खिइँदै थियो ।
सधैं शक्तिमा रहन रुचाउने थापा निरन्तर क्षीण हुँदै गएको शक्ति पुन:आर्जन गर्ने उद्देश्यसहित बुधबार राप्रपा फर्किएका छन् । नि:शर्त पार्टी एकता भन्दै पार्टीमा पुनरागमन गरेका थापा शक्तिमा पुनरागमन गर्न भने सफल हुन्छन्, हुँदैनन् । यसै भन्न सकिँदैन । किनभने, जेनजी आन्दोलनयता मुलुक र राजनीति यसअघिजस्तो छैन ।
जेनजी आन्दोलनपछि पार्टीहरू टुटफुट र एकताको क्रम चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकीकृत भएका छन् ।
२०७८ मंसिरमा भएको पार्टी महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेका कमल थापाले सोही वर्षको फागुन २५ गते राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।
लिङ्देनसँग आफू पराजित हुनुमा थापालाई पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका माथि प्रश्न उठाएका थिए । पूर्वराजामाथि सार्वजनिक रूपमै पनि कटु टिप्पणीहरू गरेका थिए ।
२०६२/०६३ को जनआन्दोलनपछि सिंगो मुलुक गणतन्त्रमय भएको कठिन समयमा समेत आफूले राजतन्त्र पुनर्स्थापनाको मुद्दा उठाएर संघर्ष गरेको, पार्टी बचाएको, राजतन्त्र फर्काउन जनमत तयार पार्न अनवरत दु:ख गरे पनि पूर्वराजाले आफूलाई धोका दिई लिङ्देनको पक्षमा मत हाल्न महाधिवेशन प्रतिनिधिहरूलाई लगाएको थापाको आरोप थियो ।
त्यसपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । तत्कालीन समयमा उनले राजतन्त्रको मुद्दा नै त्यागेका थिए र गणतन्त्र स्वीकार गरेको घोषणा गरेका थिए । यसपछि उनका थुप्रै सहयोगीले उनलाई छाडे ।
थापाले राप्रपा नेपाललाई त्यसयता भएका स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा होमेका थिए । तर, कतै सफलता मिलेन । सम्मानजनक मतसमेत आएन ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्दै थापा स्वयंले नेकपा एमालेको चिह्न लिएर मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । तर, उनी पराजित भए । थापा पराजित भएको क्षेत्रमा केही अघिसम्म थापाका सबैभन्दा नजिक मानिने दीपकबहादुर सिंह विजयी भए । सिंह राप्रपाबाट उम्मेदवार थिए ।
यसरी लगातार शक्ति क्षीण हुँदै गएपछि थापा सांगठनिक रूपमा निकै कमजोर बनिसकेका थिए भने थुप्रै जिल्लामा पार्टी संगठनहरूसमेत मुर्झाएको अवस्थामा थिए । यस्तोमा बलियो शक्ति निर्माणका लागि थापाले पुन: राष्ट्रवादी शक्तिहरूबीच एकताको पहल गरे ।
त्यसका लागि उनले गत २५ फागुनमा पोखराबाट काठमाडौं आउने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने औपचारिक कार्यक्रमलाई मौका ठाने । सो कार्यक्रममा उनी पूर्ण रूपले सक्रिय भए र पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगे । पूर्वराजालाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि पुगेका थिए ।
४ चैतमा गणतन्त्र फालेर राजासहितको प्रजातन्त्र पुनर्स्थापना गर्न यसबीच नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन भयो ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति नाम दिइएको सो समितिलाई दुवैले समर्थन गरे र आआफ्ना दलबाट प्रतिनिधि पठाए ।
विवादित मेडिकल व्यवसायी तथा शक्तिमा आउन राजतन्त्रको मुद्दा बोकेका दुर्गा प्रसाईं आन्दोलनको कमान्डर घोषणा गरिएका थिए ।
उनै प्रसाईंले १५ चैतमा तीनकुनेमा आह्वान गरेको आन्दोलन घोषणा सभा हिंसात्मक बन्न पुग्यो । एक सञ्चारकर्मीसहित दुईजनाको मृत्यु भएको घटनामा दर्जनौंलाई गोली लाग्यो । सार्वजनिक तथा सरकारी सम्पत्ति, व्यापारिक प्रतिष्ठान र सञ्चारगृहमा समेत आगजनीका घटना भए ।
यसघटनापछि छिन्न भिन्न भएका राजतन्त्र पक्षधर शक्तिलाई थापाले १५ वैशाखमा शान्तिबाटिकामा कार्यक्रमको आयोजना गरी एक ठाउँमा ल्याउने प्रयास गरे । राप्रपा अध्यक्ष लिङ्देनलाई प्रमुख अतिथि मात्र बनाएनन्, कार्यक्रमकै बीच उनीसँग अंकमाल गर्दै केही समयभित्रै सबै राष्ट्रवादी शक्तिहरू एकै ठाउँमा आउने उद्घोष गरे ।
त्यसयता थापा लिङ्देनसँग नियमित छलफलमा जुटिरहेका थिए । मुलुक संकटपूर्ण अवस्थामा पर्दै गएको, राष्ट्रवादी शक्तिहरू कमजोर भएको तथा २१ फागुनको निर्वाचनसमेतलाई ध्यानमा राखेर पार्टी एकताको प्रयास थालेको उनको भनाइ थियो ।
२३, २४ भदौको जेनजी आन्दोलनले मुलुकको राजनीतिक परिस्थितिमा धेरै ठूलो परिवर्तन ल्याइदियो । तत्कालीन प्रतिनिधिसभामा कांग्रेस–एमालेको दुईतिहाइ बहुमतको नेतृत्व गर्दै सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत हुन दुई दिने जेनजी आन्दोलनले बाध्य बनायो ।
त्यसयता थुप्रै पार्टीहरूमा टुटफुट र ध्रुवीकरणसमेत देखियो । यही बीच गत १७ कात्तिकमा थापाले पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा उपाध्यक्ष तेज कुरूम्वाङ र महामन्त्री राजाराम बर्तौला सदस्य रहेको एकता वार्ता समिति गठन गरे । समितिले विचार मिल्ने राष्ट्रवादी पार्टी र मोर्चाहरूसँग एकताको लागि वार्ता गर्ने जिम्मेवारी पाएको थियो ।
सोही क्रममा २५ कात्तिकमा थापा र लिङ्देनले धुम्बाराहीको एक होटलमा एक्लाएक्लै लामो छलफल गरे । सो छलफलमा थापाले आफू कुनै पनि पदमा बार्गेनिङ नगरी नि:शर्त पार्टी एकता गर्न तयार रहेको बताएपछि लिङ्देन पनि एकताका लागि तयार भए ।
त्यसोत १५ चैतको तीनकुने घटना आसपासबाट पार्टीमा अध्यक्ष लिङ्देनसँग महामन्त्री धवलशम्शेर राणाको संघर्ष चलिरहेको थियो । आफूलगायत आफूपक्षीय नेताहरूलाई लिङ्देनले एकलौटी निर्णयको आधारमा जिम्मेवारी खोसेको विषयले पार्टीका दुई प्रभावशाली नेताको दूरी बढाइरहेको थियो । सायद, यस्तोमा लिङ्देनले कुनै पनि बार्गेनिङ नगरी पार्टी एकतामा आउन लागेका थापालाई स्वागत गर्नु नै उचित ठाने ।
लिङ्देन र थापाबीच ९ पुसमा औपचारिक रूपमा एकताको सम्झौतापत्रमा हस्ताक्षर भयो । सोही सम्झौताको आधारमा थापाले १६ पुसको एकता सभामार्फत् राप्रपामा पुनरागमन गरे ।
एकतापछि थापा लिङ्देनपछिको दोस्रो वरियतामा रहनेछन् । राप्रपाको विधानमा निवर्तमान अध्यक्ष दोस्रो वरियतामा रहने व्यवस्था छ ।
प्रतिक्रिया 4