सदर चिडियाखानाको गेटबाट भित्र छिर्दा धेरैलाई यो वन्यजन्तु हेर्ने र रमाइलो गर्ने ठाउँ मात्रै हो । त्यसो होइन । करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको यो चिडियाखानाको पर्खालभित्र नेपालको प्राकृतिक इतिहास,कूटनीति र वन्यजन्तु संरक्षणको एउटा जिउँदो सङ्ग्रहालय पनि हो ।
यहाँ रहेका वन्यजन्तुको बासस्थलमा केवल वन्यजन्तु मात्रै छैनन् नेपालको इतिहास देख्ने साक्षी पनि छन् । यहाँ हजुरबुवा र हजुरआमा पुस्ताका जीवहरू छन् । जसले नेपालका राजतन्त्रदेखि गणतन्त्रसम्मको यात्रालाई प्रत्यक्ष रूपमा देखेका छन् । यो आलेखमा सदर चिडियाखानामा धेरै आयु भएका जीवहरूको बारेमा चर्चा गर्न खोजिएको छ ।
शाही युगकी साक्षी, पवनकली
२०३६ साल चैत १८ गते पवनकली हात्तीलाई सदर चिडियाखानामा ल्याइएको थियो । चिडियाखानाको रेकर्ड अनुसार त्यसबेला पवनकलीको उमेर ३० वर्षको थियो । पवनकाली चिडियाखानाकी सबैभन्दा ज्येष्ठ सदस्य हुन् ।
पवनकलीको जीवन आफैँमा एक चलचित्र पनि हो । सदर चिडियाखानाका पूर्व प्रमुख एवम् कोषकै व्यवस्थापक रचना शाहले मलाई बताउनु भएअनुसार पवनकली कुनै समय ४ हजार ६ सय किलो तौल भएर ‘एसियाकै विशाल हात्ती’ को उपमा पाएकी थिई ।
उसले आफ्नो पिठ्युँमा जापानकी राजकुमारीदेखि नेपालका राजपरिवार र विशिष्ट विदेशी पाहुनाहरूलाई बोकेकी थिई । शाहका अनुसार पवनकाली एकदमै भद्र र शान्त स्वभावकी हात्ती हो । नेपालमा संरक्षण शिक्षा विद्यार्थीहरूमाझ पुर्याउन पवनकलीको योगदान अतुलनीय नै छ ।
संरक्षणसँग सम्बन्धित हरेक जसो दिवसहरूमा पवनकलीले सहभागिता जनाएकी छे । चाहे त्यो वातावरण दिवस होस् या पृथ्वी दिवस या अन्य कनै जनावर लक्षित दिवसहरू नै किन नहोऊन् पवनकलीले सहभागिता जनाएकी छ ।
पवनकलीलाई प्रजननका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष पनि लगिएको थियो । कोशीमा भाले हात्ती लगाउन खोजिए पनि सफल हुन सकेन । १२ दिनसम्म काठमाडौंबाट हिँडाएर कोशी लगिए पनि सफल हुन सकेन ।
बिरामी भएपछि पवनकलीलाई पुनः काठमाडौँ ल्याइएको थियो । काठमाडौंमा आउने विभिन्न देशका विशिष्ट पाहुनालाई पवनकलीले फूलमाला लगाएर स्वागत गरेकी छ । पहिला पहिला विवाह र व्रतबन्धमा पनि पवनकलीको उपस्थिति हुन्थ्यो ।
विगत करिब १० वर्ष देखि चिडियाखानाले वन्यजन्तुमा सवार गर्ने प्रचलनलाई रोकेको छ । पवनकली ढल्किँदै गएको उमेरसँगै रिटायर्ड जीवन चिडियाखानामै बिताउँदै छे ।
४३ वर्षे अनुशासित ‘हजुरबुवा’ पेलिकन
चिडियाखानाकको पोखरीको डिलमा भेटिने सेतो पेलिकनलाई धेरैले ‘हजुरबुवा’ चरा भनेर सम्बोधन गर्छन् । २०४४ सालमा भारतबाट ल्याइँदा ५ वर्षको मात्रै थियो । पेलिकन निकै नै अनुशासित छ । यसको सबैभन्दा रोचक पक्ष भनेको उसको ‘बायोलोजिकल क्लक’ हो । यो बिहान ठीक ९ देखि १० बजेको बीचमा आहाराका लागि भान्सामा पुग्छ ।
भान्छाबाट उसले एक केजीको माछा लिएर हिँड्छ । व्यवस्थापनका क्रममा नयाँ भवनमा चिडियाखानाको भान्सा सारिँदा पनि ऊ त्यही आइपुगेको चिडियाखानाका पूर्व प्रमुख राजकुमार गुरुङले मलाई बताउनुभएको थियो । अचेल ऊ माछा मात्रै खान्छ ।
उसको अर्को विशेषता के छ भने ठिक्क आफूलाई पुग्ने गरी एक केजी तौल भएकै माछा बोकेर हिँड्छ । उसलाई पुग्ने साइजको माछा भएन भने खाँदै नखाने गरेको त्यहाँ कार्यरत पूर्व प्रमुख रचना शाहले बताउनुभयो । पेलिकनको यो व्यवहारले वन्यजन्तुहरू पनि मान्छेजस्तै बानी पार्न सकिने र उनीहरूमा पनि स्मरणशक्ति हुन्छ भन्ने कुराको प्रमाणको रूपमा पनि लिन सकिन्छ । धेरै आगन्तुकहरू यसको छेवैमा उभिएर फोटो खिच्छन् तर कमैलाई थाहा छ कि यो चरा उनीहरूमध्ये धेरैको उमेरभन्दा पनि जेठो छ ।
दृष्टिविहीन योद्धा चाइनिज एलिगेटर
२०१९ सालमा जनवादी गणतन्त्र चीनले नेपाल सरकारलाई उपहार स्वरूप यो एलिगेटर प्रदान गरेको थियो । संसारबाटै लोप हुन सक्ने अवस्थामा रहेको यो एलिगेटर त्यसबेला एक वर्षको थियो । संरक्षणका दृष्टिकोणले चिडियाखानामा सबैभन्दा भावनात्मक कथा यो एलिगेटरको छ । यस एलिगेटर करिब १० वर्षदेखि पूर्ण रूपमा दृष्टिविहीन छ । यसको बाँच्ने जिजीविषा भने निकै नै अदभूत छ भन्दा फरक नपर्ला ।
जु किपरले नजिकै माछा र मासु राखिदिएपछि गन्ध सुँघ्दै आहारा खान्छ । जाडो याममा यो शीतनिद्रामा जान्छ । ६ महिना केही नखाई सुत्ने र बाँकी ६ महिना सक्रिय हुने यसको प्राकृतिक चक्र नेपालको हावापानीमा विगत ६३ वर्षदेखि नियमित रूपमा चलिरहेको छ ।
संसारका दीर्घजीवीसँग कति नजिक?
सामान्यतः पेलिकनको आयु १५ देखि २५ वर्षको हुन्छ । चिडियाखानाको पेलिकन ४१ वर्ष पुगेको छ । यो आफैंमा दुर्लभ घटना हो । यद्यपि अध्ययनहरूले पेलिकन ६० वर्षसम्म क्याभ्टिभिटीमा बाँच्न सक्ने देखाएका छन् । पवनकली हात्तीको उमेर ७६ वर्ष पुगेको दस्तावेजले भन्छ ।
विश्वमा सबैभन्दा धेरै बाँच्ने हात्तीको कीर्तिमान ताइवानको तेइपेई चिडियाखानामा पालिएको लि वाङ नाम गरेको हात्तीको नाममा छ । ८६ वर्षसम्म बाँचेको उक्त हात्तीको मृत्यु सन् २००३ मा भएको थियो । भारतमा पनि केही हात्तीहरू सय वर्षसम्म बाँचेका छन् तर तीनको लिखित दस्तावेज नहुँदा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ता हुन सकेन ।
चाइनिज एलिगेटरहरू ७० वर्ष बाँच्न सक्ने रहेछन् । हामीसँग चाइनिज एलिगेटरको ६३ वर्ष बाँचेको लिखित दस्तावेज छ । भविष्यमा हाम्रा यिनै वन्यजन्तुले पो वर्ल्ड रेकर्ड पो राख्न सक्छन् कि ?
उसै पनि जङ्गलको तुलनामा चिडियाखानामा रहेका वन्यजन्तुहरूको आयु प्रायः लामो हुन्छ । यसका वैज्ञानिक एवम् व्यवस्थापकीय कारणहरू छन् । जङ्गलमा हरेक वन्यजन्तुले ‘बाँच्नका लागि सङ्घर्ष’को नियम लागू हुन्छ । बुढो, घाइते वा कमजोर जनावर सजिलै अर्को बलियो जनावरको सिकार बन्छ ।
चिडियाखानामा उनीहरूलाई प्राकृतिक शत्रुको डर हुँदैन जसका कारण उनीहरूले सुरक्षित जीवन पाउँछन् । जङ्गलमा सामान्य घाउ वा संक्रमणले जीवजन्तुको ज्यान जान सक्छ । चिडियाखानामा उनीहरूको नियमित स्वास्थ्य परीक्षण, खोप, परजीवी नियन्त्रणजस्ता कार्यले आयु लामो बनाउन भूमिका खेल्छ । खानाका लागि पनि उनीहरूले सङ्घर्ष गर्नुपर्दैन ।
जङ्गलमा हप्तौंसम्म पनि जीवहरूले खाना नपाउन सक्छन् । बुढो हुँदै गएपछि जनावरहरू भोकले पनि मर्छन् । तर चिडियाखानामा उमेर र शारीरिक अवस्था अनुसार सन्तुलित आहार नियमित रूपमा समयमा नै उपलब्ध हुन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष व्यवस्थापन गर्न थालेयता चिडियाखानाले संरक्षण शिक्षामा महत्वपूर्ण भूमिका खेल्दै आएकाले नयाँ पुस्ताले यस्ता जिउँदा इतिहासका जानकारी लिँदा उपयोगी हुन्छ । त्यसैले चिडियाखाना जाँदा यस्ता जनावारहरू देख्नुभयो भने नजिस्काउनुहोला किनभने उनीहरू तपाई हामीभन्दा पनि जेठा हुन सक्छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले निकालेको ‘सदर चिडियाखाना व्यवस्थापनको ३० वर्ष‘ पुस्तकबाट ।
प्रतिक्रिया 4