News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी पुरुष टी–२० विश्वकप सन् २००७ मा सुरु भएर सन् २०२६ मा २० टोलीसहित १०औं संस्करणमा पुग्दै विश्व क्रिकेटको लोकप्रिय प्रतियोगिता बनेको छ।
- टी–२० विश्वकपमा अहिलेसम्म ६ राष्ट्रले उपाधि जितेका छन्, जसमा भारत र वेस्ट इन्डिजले दुई–दुई पटक उपाधि जितेका छन्।
- सन् २०२४ को संस्करणमा नेपालले तेस्रोपटक सहभागिता जनाउँदै भारत र श्रीलंकामा हुने विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने छ।
१७ माघ, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप सुरु भएको करिब दुई दशक पूरा हुन लागेको छ। सन् २००७ मा दक्षिण अफ्रिकामा आयोजित पहिलो संस्करणमा भारतले उपाधि जितेसँगै क्रिकेटले नयाँ युगमा प्रवेश गरेको थियो।
१२ टोलीबाट सुरु भएको यो प्रतियोगिता सन् २०२६ मा २० टोलीसहित १०औं संस्करणसम्म आइपुग्दा विश्व क्रिकेटको सबैभन्दा रोमाञ्चक र लोकप्रिय प्रतियोगितामध्ये एक बनेको छ।
अहिलेसम्म ६ वटा राष्ट्रले टी-२य उपाधि जितेका छन्। वेस्ट इन्डिज, इंग्ल्यान्ड र हालका च्याम्पियन भारत मात्र दुई–दुई पटक उपाधि जित्न सफल भएका टोली हुन्।
भारत र श्रीलंकामा आयोजना हुने २०२६ को संस्करणअघि, टी–२० विश्वकपको यात्रालाई एकपटक फर्केर हेर्ने प्रयास गरिएको छ।

नयाँ स्वरुपको क्रिकेट
२१औं शताब्दीमा टी–२० क्रिकेट विश्व खेलकुदकै सबैभन्दा तीव्र गतिमा फैलिएको फर्म्याटमध्ये एक बनेको छ। तर सुरुवाती दिनमा इंग्ल्यान्डको काउन्टी क्रिकेटमा यस फर्म्याटप्रति निकै सन्देह थियो।
नयाँ दर्शक भित्र्याउने र खेललाई सरल बनाउने उद्देश्यले सन् २००३ मा पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको टी–२० क्रिकेटले केही वर्षमै विश्व क्रिकेटको स्वरुप नै परिवर्तन गरिदियो।
सन् २००७ मा सुरु भएको आईसीसी पुरुष टी–२० विश्वकपले यस फर्म्याटलाई नयाँ उचाइमा पुर्यायो। प्रतियोगिताकै पहिलो बललाई बाउन्ड्री पार गराउँदै वेस्ट इन्डिजका क्रिस गेलले इतिहास रचे। घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध ११७ रनको विस्फोटक इनिङ्स खेल्दै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शतक प्रहार गरेका थिए।
बल–आउट, युवराज सिंहले स्टुअर्ट ब्रडको एकै ओभरमा हानेका ६ छक्का र फाइनलमा मिस्बाह–उल–हकको चर्चित स्कुप सट- यी सबै कुराले पहिलो संस्करणले नै टी–२० विश्वकपलाई ऐतिहासिक बनायो।
भारतले पाकिस्तानलाई हराउँदै उपाधि जित्दा आधुनिक क्रिकेटको दिशा मात्र होइन, भविष्यका टी–२० विश्वकपमा देखिने नाटकीय क्षणहरूको आधार पनि तयार भयो।

स्मरणीय क्षणहरू
सन् २००९ मा पाकिस्तानले भारतसँगको हारको बदला लिँदै इंग्ल्यान्डमा उपाधि जित्यो। शाहिद अफ्रिदीले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरे। यही प्रतियोगितामा नेदरल्यान्ड्सले घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै ठूलो उलटफेर पनि गर्यो।
सन् २०१० मा क्यारिबियनमा इंग्ल्यान्डले पहिलो पटक पुरुष ह्वाइट–बल प्रतियोगिताको उपाधि जित्यो, जहाँ केभिन पिटरसन ‘प्लेयर अफ द टुर्नामेन्ट’ बने। २०१२ मा वेस्ट इन्डिजले श्रीलंकामा उपाधि जित्दा फाइनलमा मार्लन स्यामुएल्स (७८ रन) र सुनिल नारिन (३/९) नायक बने।
२०१४ मा घरेलु दर्शकमाझ श्रीलंकाले उपाधि जित्दै कुमार संगकारा र महेला जयवर्धनेलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट शानदार विदाइ गर्यो।
दुई वर्षपछि सन् २०१६ को संस्करण कोलकातामा भएको फाइनलमा कार्लोस ब्राथवेटले बेन स्टोक्सको अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गर्दै वेस्ट इन्डिजलाई दोस्रो उपाधि दिलाए। कमेन्टेटर इयान बिशपको ‘रिमेम्बर द नेम’ भनाइ क्रिकेट इतिहासमै अमर बन्यो।
पाँच वर्षको अन्तरालपछि सन् २०२१ मा प्रतियोगिता पुनः सुरु हुँदा अस्ट्रेलियाले पहिलो पटक उपाधि जित्यो। फाइनलमा न्युजिल्यान्डविरुद्ध डेभिड वार्नर र मिचेल मार्श चम्किए।
सन् २०२२ मा इंग्ल्यान्डले दोस्रो पटक उपाधि जित्दै टी–२० र एकदिवसीय दुवै विश्वकप एकसाथ जित्ने टोली बन्यो। सो संस्करणमा साम करान ‘प्लेयर अफ द म्याच’ र ‘प्लेयर अफ द टुर्नामेन्ट’ दुवै घोषित भए।
विश्वव्यापी विस्तार
सन् २०२४ मा टी–२० विश्वकप १६ बाट २० टोलीमा विस्तार भयो। अमेरिका, क्यानडा र युगान्डाले पहिलो पटक सहभागिता जनाए।
वेस्ट इन्डिजसँग सह–आयोजन गरेको अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै सुपर–८ मा प्रवेश गरी सबैलाई चकित पार्यो। अफगानिस्तानले पनि ऐतिहासिक प्रदर्शन गर्दै पहिलो पटक आईसीसी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनायो।
दक्षिण अफ्रिकासँगको फाइनल खेलमा भारतका विराट कोहलीले ७६ रन अनि जसप्रित बुमराहको स्पेलले खेल भारतको पक्षमा पारेको थियो । दक्षिण अफ्रिकाको लक्ष्य पछ्याउने प्रयास असफल पार्दै भारतले सात रनको रोमाञ्चक जित हात पार्यो।
![]()
संगकारा र जयवर्धनेझैं, सन् २०२४ को फाइनल आधुनिक युगका दुई महान् खेलाडी विराट कोहली र रोहित शर्माका लागि टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्यो।
अब सबैको ध्यान सन् २०२६ तर्फ छ, जहाँ नयाँ अनुहार र नयाँ टोली इटालीले भारत र श्रीलंकामा हुने विश्वकपमा पहिलो पटक सहभागिता जनाउनेछ। टी–२० विश्वकपको यो यात्रा अझ रोचक अध्यायतर्फ अघि बढ्न तयार छ।
विश्वकप अबको एक सातामा भारत र श्रीलंकामा सुरु हुँदैछ, जहाँ नेपालले पनि तेस्रोपटक सहभागिता जनाउँदै छ । फेब्रुअरी ७ देखि सुरु हुने प्रतियोगिता मार्च ८ सम्म चल्ने छ ।
-आईसीसीमा प्रकाशित सामग्रीको भावानुवाद
प्रतिक्रिया 4