३ फागुन, धनकुटा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका धनकुटाका अधिकांश उम्मेदवाले घोषणापत्रबिनै मत मागिरहेका छन् ।
विगतमा स्थानीय तह, जिल्ला र प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रमा भए गरेका काम र देशको विद्यमान अवस्थालाई ध्यानमा राखेर उम्मेदवार पहिलो चरणमा घोषणापत्रबिनै मत माग्दै गाउँ छिरेका हुन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा हालसम्म नेपाली कम्युनिष्ट पार्टी र नेकपा माओवादीले पत्रकार सम्मेलन गरेर घोषणा पत्र सार्वजनिक गरेर मत मागिरहेका छन् । यी दुई दलबाहेकका दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

घोषणा पत्र सार्वजनिक नगरेपनि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टीका उम्मेदवार गाउँ-गाउँमा पुगेर मतदातासँग मत मागिरहेका छन् । औपचारिक रूपमा कुनै घोषणापत्र नभएका उम्मेदवारले केही मुख्य-मुख्य कुरा एजेन्डा भने मौखिम रुपमा भन्ने गरेका छन् ।
घोषणापत्र विनै मत माग्न गाउँ पुगेका नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईले मुख्य-मुख्य एजेन्डा सम्बोधन गर्दै मत माखिरहेका छन् । उनले धनकुटामा गाँजा वैधानिक गर्नेदेखि धरान धनकुटा सुरुङ मार्ग निर्माणको पहल गर्ने बताउँदे आएका छन् ।
धनकुटाका प्राय: जसो स्थानीय तहमा पुगेर उम्मेदवारले कार्यकर्ता भेटघाट गरिरहेका छन् । नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले घोषणापत्र निर्माणको काम भइरहेकाले स्थानीय तहको कमिटीमार्फत छिट्टै मतदाताको हात हातमा पुर्याइने जानकारी दिए ।

कटेलले प्रारम्भिक रुपमा घोषणापत्र बनेपनि विस्तृत रुपमा आउन बाँकी रहेको बताए । उनले अहिले मतदातासँग भेटघाट गर्ने र उनीहरुको समस्या सुन्ने मात्रै कार्यक्रम मात्रै भइरहेको बताए । निर्वाचन आयोगले ३ गतेभित्र घोषणापत्र ल्याउन भनेकोले सोही अनुरुप घोषणा पत्र आउने कटेलले बताए । उनले घोषणा पत्र बनाएर प्रिन्टिङको काम भइरहेको बताए ।
यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जिल्ला सभापति दिनेश राई पनि मतदातासँग भेट गर्दै हिँडिरहेका छन् । राईले धनकुटाको विकासमा कांग्रेसको निर्णायक भूमिका रहँदै आएको बताउँदै जनताको विश्वास र समर्थनले मात्र समृद्ध धनकुटा निर्माण सम्भव हुने बताएका छन् ।
नेपाली कांग्रेस धनकुटाका सचिव विजयसञ्तोषी राईले पार्टी अहिले घोषणापत्र निर्माणको चरणमा रहेको बताउँदै सुरुमा मतदातासँग भेट गर्न गाउँ पसेको बताए । घोषणा पत्र निर्माणको काम सम्पन्न भएपनि केही दिनभित्र सार्वजनिक गर्ने तयार गरिने उनले बताए । उनले अहिले गाउँगाउँमा टिपोट घोषणा पत्र मात्रै लिएर गएको बताउँदै बुलेट घोषणा पत्र निर्माणको चरणमा रहेको उनको भनाइ छ । स्वास्थ्य शिक्षा रोजगारको कुरा लिएर गाउँमा गएको राईले बताए ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारी पनि मतदाता भेटघाट गर्दै धनकुटाका गाउँगाउँमा पुगिरहेका छन् । विगतमा पुराना दलले विकास गर्न नसकेको, भ्रष्टाचार, बेथिति बढाएको भन्दै नयाँलाई परीक्षण गर्न आग्रह गर्दै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाका सभापति बालानन्द दाहालले तयारीमा रहेको बताउँदै केन्द्रको आएपछि सार्वजनिक गर्ने बताए । उनले नितिगत कुरा केन्द्रसँग मिलाउनु पर्ने भएकाले पर्खेर बसेको दाहालले बताए ।
धनकुटामा प्रतिनिधि सभा सदस्यका लागि एमालेका तर्फबाट राजेन्द्रकुमार राई, नेपाली कांग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका सान बहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा उम्मेदवार रहेका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई, नेकपा माओवादीका रविनकुमार राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिक राम राई, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई, स्वतन्त्रबाट मनकुमार योञ्जना, जितेन्द्र राई र लाक्पा तामाङ उम्मेदवार रहेका छन् ।
एक निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहने भएका छन् । यस्तै धनकुटा जिल्लामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला गरि एक लाख १८ हजार ४ सय २५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4