News Summary
Generated by OK AI. Editorially reviewed.- चुम भ्यालीका गाउँहरूमा प्राकृतिक जीवनशैली, सांस्कृतिक विश्वास र आधुनिकतासँग क्रमिक परिवर्तन भइरहेको छ।
हेर्नेकथाले धेरै अगाडि चुम भ्यालीसँग सम्बन्धित धेरै कथाहरू दर्शक माझ ल्याइसकेको थियो।गोरखामा कार्यरत रहेको हिसाबले पनि मलाई चुम भ्याली पुग्न एकदमै मन थियो । मनास्लु हिमाल वरिपरिको सामागाउँ पुगिसकेको म अब गणेश हिमाल वरिपरि पुग्न चाहन्थें । त्यस्तैमा चुनाव अघि फागुनको तेस्रो हप्ता एउटा संयोग जुर्यो।
एउटै कार्यालयका हामी चार जना लाग्यौं चुमनुब्री गाउँपालिकामा अवस्थित चुम भ्यालीको यात्रामा । गोरखा बजारबाट आरुघाट हुँदै माछीखोला र सिर्दिवासको यात्रा पहिलो दिन तय गर्यौँ । त्यसपछि त्यो रात त्यही बास बसेर अर्को दिन हिँड्न थाल्यौं ।

बुढी गण्डकीको तिरैतिर पान्सिङ हुँदै लोक्पा सम्मको यात्रामा आङ नै सिरिंग हुने बाटाहरू थिए । भीरैभीर अनि खच्चडहरूको लावालस्कर थियो । धेरै नै जोखिम मोलेर हामी अघि बढिरहेका थियौं ।
त्यो दिन हामी चुमलिङ गएर बास बस्यौं । होस्टेल बसेर विदामा घर आएकी पेमाले पकाएको मिठो खाना खायौं । भोलिपल्ट बिहानै उठेर अघि बढ्यौं । रुद्र सर, सुदिप सर, सौरभ सर र म अनेक कहानीहरू सुन्दै हाँस्दै अघि बढिरहेका थियौं । लामो तेर्सो बाटो हिंडेपछि रेन्जन आइपुग्यो।
त्यहाँ खाना खाने मेसो पर्यो । त्यो थकाइलाई बिसाउँदा खेरी नै जीवन निर्माणको आनन्द प्रतिभूत हुन्थ्यो । पेटभरि खाना खाएर उकालो उक्लिन बाँकी नै थियो । हात टेकेरै उक्लिन पर्ने त्यस्तो उकालोपश्चात बल्ल चौरी खर्क आइपुग्यो । अलि माथि पुगेपछि बल्ल छेकम देखियो । हामी सबैले लामो सास फेर्यौं ।
त्यो रात हामी छेकममै बस्यौं । रात परिसकेको थियो । खाना खाएर सुत्यौं । खानामा उही आलु र टिमुर हालेको अचार र दाल थियो । मासु त्यहाँ बर्जित थियो । चुम भ्यालीमा काटमार गर्न मनाही थियो ।
भोलिपल्ट बिहानै उठेर गाउँ डुल्न थाल्यौं । स्वर्गको झिल्का टिप्ने ती जीवनहरू प्रकृतिको नजिक रहेर रहस्यमय बाचिँरहेका थिए । संसारलाई उज्यालो देखाएर जीवनको मूल्य सिकिरहेका जस्ता ।
घिउ चियासंगै सुरु भएको बिहानी । त्यहाँका स-साना नानी बाबुहरूसँग खेल्दैमा बित्यो । धेरै त काठमाडौं तिरै रहेछन् पढ्नका लागि तर जति त्यहाँ थिए एकदम विन्दास थिए । हँसिलो चेहेरा अनि राताराता गाला, कोमल र सहृदयी मन त्यहाँको विशेषता थियो नै । यता दगुर्यो उता दगुर्यो फुर्सतैको कमी हुने उनीहरूलाई।

खेतिपाती पनि गरेकै थिए, बडा राम्रा थिए बलिया थिए । सरसफाइप्रति त्यति धेरै चिन्तित थिएनन्, मैलाको वास्ता गर्दैनथे । प्राकृतिक चालमा चाल मिलाएर चौरीसंग मितेरी लाउँथे।
३०२० मिटर उचाइमा रहेको छेकम पछि हामी झोङतर्फ लाग्यौं जुन ३०८० मिटरमा अवस्थित थियो । लेरु गाउँ पुग्दा पाएको आतिथ्यताको सायद कुनै मूल्य हुँदैन होला । हिउँ पग्लिएर बगेका निर्मल खोलानालाहरू अनि थकित चौरीहरूले मेटिरहेका आफ्ना प्यास । त्यो दृश्य एकदम मनमोहक थियो ।
३२२५मिटरमा अवस्थित लामा गाउँसमेत पुग्यौं । त्यहाँको गुम्बा अति विशाल थियो । ३२५०मिटरमा अवस्थित राजेन गुम्बा पनि पुग्यौं । निर्माण हुँदै गरेको रहेछ केही भाग । फराकिलो र धेरै स्पेस ओगटेको जस्तो भान भयो । र यो गुम्बा निकै नै प्रख्यात पनि छ ।
३२४५ मिटरमा रहेको सम्म भाग लार पुग्दा अति नै हावा चल्यो । हावाको बेग थाम्नै नसकिने किसिमको थियो । त्यो फाँट देख्दा लाग्यो हिमाल पारी पनि मानिसहरू केही न केही उमारिरहेका छन्, गोडिरहेका छन्, फलाइरहेका छन् र खाइरहेका छन् । उनीहरूको भूगोल चट्ट मिलेको कोरी बाटी सिंगारिएको नहोला तर पनि सानो टुक्रालाई स्वर्ग समान बनाएका छन् । चौरी घोडा खच्चड बानिएका गोठहरू अनि बुट्टेदार काठका घरहरू, आहा ! हेर्दैमा मन लोभ्याउने किसिमको थियो ।
धर्मप्रतिको विश्वास जुन हावामा र ढुंगाढुंगामा मन्त्र द्वारा प्रवाह भइरहेको थियो । एउटा खुला पाठशाला जस्तै लागिहेको थियो त्यो भूमि जहाँ ध्यानस्थ थिए हरेक बोट विरुवा जीव जन्तु र चरा चुरुगींहरू।
त्यो रात लारको बसाइसँगै बिहानै उठेर फुर्बे पाङदुन हुँदै छुले गाउँ पुग्यौं । ३२५० मिटरको उचाइमा रहेको त्यस गाउँमा कुनै बनावटीको छनक थिएन । अन्तिम गाउँ निले जुन ३३०० मिटरमा अवस्थित छ त्यहाँ पुग्दा हामी थाकिसकेका थियौं । आडैमा बगिरहेको स्यार खोलाले हामीमा अझै उडान भर्नका निम्ति पंखहरू उमारिरहेको थियो ।
गालामा फूलाएर गुलावी रङका फूलहरू, भिरेर काधमा सिंगै पहाड अनि मुस्काएर ओठमा हिमाल जस्तै चोखो मिठो हाँसो त्यहाँका नारीहरू बाँचिरहेका थिए । अझ एउटा बोर्डमा आमा समूहद्वारा लेखिएको आह्वान- ‘दिगो विकासका लागि सम्पूर्ण महिलाहरू एकजुट होऔं’ पढेपछि त लाग्यो कति धेरै बुझेका रहेछन् उनीहरूले प्रकृतिबाट ।
तापमा पग्लिरहेका हिमाल जो परिणत भएका छन् काला पत्थरहरूमा । त्यसैलाई देखेर अनि जलवायु परिवर्तनका जोखिमका शिकार भएर पनि होला आफैंमा सजग हुन सिकेका छन् जस्तो अनुभूति भयो ।
नीले पश्चात हामी प्राचीन मुगुम्बा तर्फ लाग्यौं । ३६८० मिटरमा अवस्थित उक्त गुम्बा चुम भ्यालीको अन्तिम पर्यटकीय गन्तव्य हो । त्यहाँ पुग्दा हामीलाई त्यहाँ रहनुभएको एकजना बुबाले कफी, उसिनेको आलु र नुन खुर्सानी दिनुभयो खानका लागि । हामी अत्यन्त आभारी भयौं ।

त्यहाँबाट हेर्दा स-साना गोरेटा बाटाहरू तिब्बत भेट्न आतुरी देखाइरहेका थिए । तेल, कपडा, नुन, किनमेल गर्न जान सिजन अनुसार सीमा खुल्ने गर्दो रहेछ । सनातन विश्वास, स्रद्धा र भक्तिको प्रतीक मुगुम्बाबाट झरेर हामी छेकम आएर बास बस्यौं । अब छेकमबाट विदाइ मागेर हिँड्नु पर्ने बेला आइसकेको थियो।
भोलिपल्ट बिहानै छेकमबाट उठेर खाप्सीलाई कोसेलीका रूपमा ग्रहण गर्दै खादा, माला लाएर हामी ओरालो लाग्यौं । बुद्ध हिमाल पारी गणेश हिमालको वरिपरि एउटा छुट्टै सभ्यतामा बाँचिरहेको चुम भ्यालीका गामहरू साना स्वर्ग भन्दा कम थिएनन् । शान्त भूमि, सिधा र सोझो जीवनशैली अनि पौरखी आत्मविश्वासहरू, जो शहर भन्दा निकै दूर-दूर छन् ।
केही दु:ख, बिमार हुँदा समेत हेली उद्धार गर्नुपर्ने त्यो भेगमा अझै सरकार पुग्न सकेको छैन ! चौरी नै जीवन छ त्यहाँ। आधुनिकताले बिस्तारै छुँदै गएको छ । छेकममा भेटिएका वाङचुक सरले भने जस्तै त्यहाँको शिक्षा र स्वास्थ्यमा क्रमिक परिवर्तन, आजको आवश्यकता भइसकेको छ।
ओरालोमा पाइलाको गति बढाउँदै लैजादा १८०० मिटरमा रहेको लोक्पामा आएर खाना खायौं । त्यो रात माछी खोलामा बास बसेर भोलिपल्ट गोरखा बजार आइपुग्यौं ।
एउटा कल्पना भन्दा बाहिरको जस्तो देखिने चुम भ्यालीको रीतिरिवाज, चलन अनि मानव विश्वासहरू सधैं मेरो मनमा प्रभावकारी भएर रहिरहनेछन् ।
प्रतिक्रिया 4