+

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

२०८३ वैशाख  ११ गते १७:५५ २०८३ वैशाख ११ गते १७:५५
एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ४ हजार वर्ष पुरानो एस्पिरिन औषधिले केही ट्युमर बन्न नदिन र फैलिनबाट रोक्ने क्षमता राख्छ भन्ने नयाँ अनुसन्धानले देखाएको छ।
  • लिंच सिन्ड्रोम भएका निक जेम्सले १० वर्षदेखि दैनिक एस्पिरिन लिँदा क्यान्सर नभएको न्यूक्या विश्वविद्यालयका प्रोफेसर जोन बर्नले बताए।
  • बेलायत र स्वीडेनले लिंच सिन्ड्रोम भएका मानिसलाई कम मात्रा एस्पिरिन लिन सिफारिस गर्दै स्वास्थ्य नीतिमा परिवर्तन गरेका छन्।

४ हजार वर्ष पुरानो एस्पिरिन औषधि सामान्यतया दुखाइको उपचारमा प्रयोग हुन्छ । यो औषधिले केही विशेष प्रकारका ट्युमर बन्न दिँदैन र ती शरीरमा फैलिनबाट पनि रोक्ने क्षमता राख्छ ।

यो यस्ता नतिजाहरू हुन्, जसले अहिले स्वास्थ्य नीतिहरूमा समेत परिवर्तन ल्याइरहेका छन् ।

जेम्समा भएको क्लिनिकल ट्रायल

बेलायतका निक जेम्स करिब ४०–४५ वर्षका छन् र फर्निचर बनाउने काम गर्छन् । उनलाई आफ्नो स्वास्थ्यबारे पहिलोपटक चिन्ता तब भयो, जब उनकी आमाको मृत्यु क्यान्सरका कारण भयो ।

त्यसपछि उनका दाजुभाइ र परिवारका अन्य सदस्यहरूमा पनि आन्द्राको क्यान्सर देखियो । उनले जेनेटिक परीक्षण गराउने निर्णय गरे, जसमा शरीरभित्र एउटा खराब जिन रहेको पत्ता लाग्यो । सो जीनले लिंच सिन्ड्रोम नामको रोग गराउँछ । यो रोगले यस्तो प्रकारको क्यान्सर हुने जोखिम धेरै बढाउँछ ।

जेम्सलाई एकदमै अनपेक्षित ठाउँबाट सहयोग आयो । उनी पहिलो व्यक्ति बने, जसले यस्तो क्लिनिकल परीक्षणमा भाग लिए, जसको उद्देश्य सामान्यतया दुखाइ कम गर्ने औषधि एस्पिरिनको दैनिक मात्रा लिँदा क्यान्सर हुनबाट जोगाउन सकिन्छ कि सकिँदैन भन्ने जाँच थियो।

लिंच सिन्ड्रोम भएका १० देखि ८० प्रतिशत मानिसहरूलाई, जीनको परिवर्तनको प्रकारअनुसार, जीवनमा कुनै न कुनै समयमा आन्द्राको क्यान्सर हुन सक्छ । तर जेम्सको अवस्थामा अहिलेसम्म सबै ठीक देखिएको छ ।

न्यूक्या विश्वविद्यालयका क्लिनिकल जेनेटिक्सका प्रोफेसर जोन बर्न भन्छन्, ‘उनी पछिल्लो १० वर्षदेखि हाम्रो साथमा एस्पिरिन लिइरहेका छन्, र अहिलेसम्म उनलाई कुनै क्यान्सर भएको छैन ।’

यो कुरा सुन्दा लगभग असम्भव जस्तो लाग्छ, तर धेरै समयदेखि संकेतहरू पाइँदै आएका छन् । यो औषधिले कोलोरेक्टल क्यान्सर फैलिने सम्भावना कम गर्न सक्छ, वा सायद हुनै नदिन पनि सक्छ । गएको एक वर्षमा धेरै परीक्षण र अध्ययनहरूले यो प्रमाणलाई अझ बलियो बनाएका छन् ।

केही देशहरूले त आफ्ना मेडिकल मार्गनिर्देशनहरू नै परिवर्तन गरेका छन् । र, धेरै जोखिम भएका मानिसहरूका लागि यस औषधिलाई सुरक्षाको अग्रपंक्तिमा राखेका छन् । यद्यपि, यस्तो काम केवल डाक्टरको निगरानीमा मात्र गर्नुपर्नेमा विशेषज्ञहरू जोड दिन्छन् ।

मुटुदेखि क्यान्सरसम्मको प्रभाव

हाम्रो सबैभन्दा पुरानो र प्रभावकारी औषधिहरूमध्ये एकको कथामा नयाँ अनुसन्धानहरूले एकदमै रोचक मोड ल्याएका छन् ।

उन्नाइसौँ शताब्दीको अन्त्यतिर पुरातत्वविद्हरूले प्राचीन मेसोपोटामियाको निप्पुर शहर, जुन अहिलेको इराकमा पर्छ, त्यहाँबाट ४,४०० वर्ष पुराना माटोका ट्याबलेटहरू फेला पारे । ती ट्याबलेटहरूमा वनस्पति, जनावर र खनिजबाट बनेका विभिन्न औषधिहरूको सूची लेखिएको थियो ।

तीमध्ये विलो अर्थात् बेतको रुखबाट निकालिने पदार्थ प्रयोग गर्ने विधि पनि समावेश थियो । आज हामी त्यसमा स्यालिसिन नामको रसायन हुन्छ भनेर चिन्छौं । जुन शरीरमा गएपछि स्यालसिलिक एसिडमा परिणत हुन्छ र दुखाइ कम गर्न मद्दत गर्छ ।

यसको बनावट आधुनिक एस्पिरिन, अर्थात् एसीटाइलस्यालसिलिक एसिडसँग मिल्दोजुल्दो हुन्छ, तर पुरानो रूप पेटका लागि बढी हानिकारक मानिन्थ्यो। प्राचीन मिस्र, युनान र रोमजस्ता सभ्यताहरूमा पनि यसको प्रयोग हुने गरेको थियो ।

आधुनिक अनुसन्धान सन् १७६३ मा सुरु भयो, जब अंग्रेज पादरी एडवर्ड स्टोनले रोयल सोसाइटीलाई पत्र लेखेर विलोको बोक्राले ज्वरो घटाउने गुण भएको बताए ।

करिब एक शताब्दीपछि वैज्ञानिकहरूले स्यालिसिलिक एसिडलाई कम हानिकारक बनाउँदै एसीटाइलस्यालिसिलिक एसिड तयार गरे र यसलाई ‘बायर’ नामक ब्रान्डमार्फत बजारमा ल्याए ।

त्यसपछि अर्को शताब्दीमा वैज्ञानिकहरूले एस्पिरिनले मुटुसम्बन्धी रोगहरू रोक्न पनि मद्दत गर्न सक्ने पत्ता लगाए । यसले रगतलाई पातलो बनाउँछ र प्लेटलेटहरूलाई कम टाँसिने बनाउँछ, जसले गर्दा रगत जम्ने जोखिम कम हुन्छ ।

यसै कारण बेलायतको नेशनल हेल्थ सर्भिसजस्ता संस्थाहरूले मुटु रोग वा स्ट्रोकको उच्च जोखिम भएका मानिसहरूलाई दैनिक कम मात्रा एस्पिरिन लिन सल्लाह दिन्छन् ।

सन् १९७२ सम्म आइपुग्दा यसको सम्भावित फाइदा क्यान्सर रोकथामसम्म पनि पुगेको थियो । मुसामा गरिएको एक अध्ययनमा एस्पिरिन मिसाइएको पानी पिउने मुसामा क्यान्सर शरीरभर फैलिने सम्भावना निकै कम थियो । तर मानिसहरूमा पनि यस्तै असर देखिन्छ कि देखिँदैन भन्ने त्यसबेला स्पष्ट थिएन ।

सन् २०१० मा एउटा महत्वपूर्ण मोड आयो, जब अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर पिटर रोथवेलले मुटुसम्बन्धी रोग रोक्न प्रयोग गरिएको एस्पिरिनसम्बन्धी पुराना डाटाहरूलाई पुनः विश्लेषण गरे ।

उनले यस औषधिले क्यान्सर हुने सम्भावना मात्र होइन, यसको फैलावट पनि कम गर्न सक्ने पत्ता लगाए । यसले एस्पिरिनको भूमिकाबारे नयाँ चासो पैदा गर्‍यो ।

तर एउटा ठूलो चुनौती थियो, त्यो हो, सामान्य जनसंख्यामा एस्पिरिनले क्यान्सर रोक्छ भन्ने कुरा प्रमाणित गर्न निकै गाह्रो छ । किनकि क्यान्सर विकास हुन दशकौँ लाग्न सक्छ, जसका कारण यस्तो अध्ययन गर्न धेरै समय र खर्च लाग्छ ।

त्यसैले वैज्ञानिकहरूले आफ्नो ध्यान विशेष समूहहरूमा केन्द्रित गरेका छन्, जस्तै पहिले नै क्यान्सर भएका मानिसहरू वा जेनेटिक रूपमा उच्च जोखिम भएका व्यक्तिहरू ।

बढ्दो प्रमाण

यही क्रममा जोन बर्नले लिंच सिन्ड्रोम भएका बिरामीहरूमा अध्ययन गरे । सन् २०२० मा उनले ८६१ बिरामीमा गरिएको अध्ययनको नतिजा सार्वजनिक गरे । १० वर्षको अवलोकनपछि कम्तीमा दुई वर्षसम्म दैनिक ६०० मिलिग्राम एस्पिरिन लिने मानिसहरूमा कोलोरेक्टल क्यान्सरको जोखिम करिब आधा घटेको थियो ।

पछि गरिएको अर्को अध्ययनले कम मात्रा, अर्थात् ७५ देखि १०० मिलिग्राम पनि त्यत्तिकै प्रभावकारी हुन सक्ने देखायो ।

कम मात्रा महत्वपूर्ण छ, किनकि एस्पिरिनका केही साइड इफेक्टहरू पनि हुन सक्छन्, जस्तै अपच, आन्तरिक रक्तस्राव, पेटको अल्सर र मस्तिष्कमा रक्तस्राव । यी जोखिमहरू कम मात्रामा देखिन्छन् ।

यी नतिजाहरूका कारण बेलायतमा गाइडलाइन्स नै परिवर्तन गरिएका छन् । अहिले लिंच सिन्ड्रोम भएका धेरैजसो मानिसहरूलाई करिब २० वर्षको उमेरदेखि एस्पिरिन लिन सिफारिस गरिन्छ ।

स्वीडेनमा गरिएको अर्को अध्ययनमा २,९८० बिरामी समावेश थिए । जसमा एस्पिरिन लिने बिरामीहरूमा क्यान्सर पुनः हुने जोखिम आधाभन्दा कम देखियो । त्यसपछि त्यहाँ उपचार प्रणालीमा समेत परिवर्तन गरियो ।

यसले कसरी काम गर्छ ?

एस्पिरिनले क्यान्सर रोक्ने तरिका लामो समयसम्म रहस्य थियो । अहिले यसले कोक्स २ नामको एन्जाइमलाई रोक्छ, जसले क्यान्सर कोशिकाको वृद्धि बढाउने अहिले वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

यसले प्रोस्टाग्लान्डिन नामक पदार्थको उत्पादन कम गर्छ, जसले कोषिकाहरूलाई अनियन्त्रित रूपमा बढ्न मद्दत गर्छ ।

एस्पिरिनले थ्रोमबोक्सेन ए२ लाई रोक्छ, जसले रगत जमाउने काम गर्छ । यसले प्रतिरोध क्षमतालाई क्यान्सर कोषिका चिन्न र नष्ट गर्न सहयोग पुर्‍याउन सक्छ ।

के यो सबैका लागि उपयुक्त छ ?

सबैले नियमित रूपमा एस्पिरिन लिनुपर्छ कि पर्दैन भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन । केही अनुसन्धानकर्ताहरूको भने ५० वर्ष आसपासका मानिसहरूले १० वर्षसम्म कम मात्रा एस्पिरिन लिए मृत्यु दर घट्न सक्ने मत छ ।

तर, धेरै विशेषज्ञहरूले भने स्वस्थ मानिसहरूले बिना कारण यो औषधि नलिनु राम्रो हुन्छ भन्ने तर्क गर्छन् । किनकि यसका गम्भीर साइड इफेक्टहरू पनि हुन सक्छन् ।

यदि आन्द्राको क्यान्सर भइसकेको छ भने दैनिक कम मात्रा एस्पिरिन उपयोगी हुन सक्छ । तर सुरु गर्नु अघि सधैं चिकित्सकको सल्लाह लिनुपर्छ ।

बीबीसीबाट

एस्पिरिन क्यान्सर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?