News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले जीवनलाई गम्भीर रूपमा नलिई जिम्मेवारी बहन गर्दै आफूलाई मन लागेको काम गर्ने दृष्टिकोण राखेका छन्।
जिन्दगीका धेरै वर्ष मैले आफू जन्मिएको परिस्थितिलाई दोष दिइनँ । म जन्मिएको परिवार, परिवेश र स्थिति मेरा लागि दुःख बेच्ने बहाना कहिल्यै बनेन ।
त्यसका आधारमा मानिसहरूबाट सहानुभूति बटुल्नु त झन् घृणित हो जस्तो लाग्यो । मलाई सधैं लागिरह्यो- आफ्ना दुःख र संकटबाट निस्कन कोसिस गरिरहने हो, मेहेनत गरिरहने हो । निराश भइयो, दुःखी भइयो । कति पटक हरेस खाइयो, कति पटक डाँको छोडेर रोइयो, कति पटक कुना पसेर कसैले थाहा नपाउने गरी रोइयो तर समस्यासँग हार मानिएन ।
यसो सोची ल्याउँदा यसको एउटा कारण भेटेँ । मैले जिन्दगीलाई लामो समय बोझ मानिनँ, भारी मानिनँ । खासमा मैले जिन्दगीलाई गम्भीर रूपमा लिइनँ । म किन जन्मिएँ ? म किन यस्तो परिस्थितिमा हुर्किएँ ? जीवनको उद्देश्य के हो ? किन बाँच्ने ? मेरो अस्तित्व के हो ? भन्ने कुरा मेरो दिमागमा कहिल्यै आएन । मैले मेरो अस्तित्वलाई कहिल्यै महत्त्व दिइनँ ।
कहिलेकाहीँ कति धार्मिक गुरु र विद्वानका जीवन र जगतबारे भारी र गम्भीर कुरा सुन्दा मलाई आफूसँग केही कुरा नमिले जस्तो लागिरह्यो । तिनका धेरै कुरा त मैले कहिल्यै बुझिनँ । गीता पढिहेरेँ, त्यसले पनि छोएन । कहिलेकाहीँ आफ्नो अज्ञानताले लघुताभास त गरायो । तर आफूलाई ‘सेलिब्रेट’ गर्न छोडिनँ ।
मलाई लागिरह्यो– जिन्दगी जेनतेन बाँच्ने हो । आफूलाई मन लागेको कुरा गर्ने हो, सकभर आफू वरिपरिकालाई नपिरोली । आफूसँग जोडिएका सबैप्रति सकेको जिम्मेवारी बहन गरेर ।
जिम्मेवारी पनि कस्तो भने- आफू बस्ने कोठाको भाडा आफैँ तिरेर, सके घर आफैँ बनाएर, आफूले पढ्ने किताब जतनले राखेर, आफू छिर्ने ढोका जतनले खोलेर वा लगाएर । आफूसँगै बाँचेका सम्बन्धहरूको परिपूरक भएर ।
आफूले चाहेको काम अरूलाई नपिरोली गर्दा समाज र जगतलाई स्वतः लाभ भएपनि त्यसको हिसाबकिताब नखोज्ने । तर, समाजका लागि मैले यसो गरेँ नभन्ने; किनकि मूलतः मैले समाजका लागि गरेकै होइन ।
आफूले गरेको कामले समाजलाई राम्रो या हानि आफैँ हुने हो । त्यसैले आफूले गरेको कामको जिम्मा लिने तर आफ्नो कामप्रति समाजलाई जिम्मेवार नबनाउने ।
एउटा औसत जिन्दगी हो मेरो । मेरो जीवनमा अहिलेसम्म भयानक चमत्कार भएन । मलाई चमत्कारमा कहिल्यै विश्वास पनि भएन । आफूसँग उत्पात क्षमता छ भन्ने पनि लागेन तर आफैँप्रति ठूलो विश्वास भने रहिरह्यो। आफैँप्रतिको विश्वासले अहिलेसम्म बाँचेको छु । तर, यो पनि थाहा छ– म कतै पुगेको छैन र कतै पुग्ने महत्त्वाकांक्षा पनि छैन ।
जीवनमा कति-कति हन्डर-ठक्कर खाइयो, दुःख पाइयो । धेरै गल्ती भए, पश्चात्ताप भयो । आफैँसँग लाज भयो । तर, यसैमा अड्केर पनि बसिनँ । बरु थाहा पाएसम्म गल्ती स्वीकारें । दर्जनौँ मानिसहरूलाई ‘सरी’ भनेँ । गल्तीमा माफी मागेँ । त्यसो त कति-कति सुख पनि लिएँ, कति-कति खुसी पनि भएँ ।
जीवनको व्याकरण मलाई थाहा छैन । हुन्छ जस्तो पनि मलाई लाग्दैन । भएर मलाई थाहा नभएको भए पनि गुनासो छैन । तर म जन्मनु र अहिलेसम्म बाँचिरहनुमा यो जगतको कुनै खास अभिप्राय हो जस्तो लाग्दैन । एउटा कमिला वा गड्यौलाभन्दा मेरो जीवन महत्त्वपूर्ण हो जस्तो पनि लाग्दैन ।
एउटा भन्नै पर्ने कुरा- मसँग ‘इगो’ भयानक छ । सबैसँग छ जस्तो लाग्छ । त्यसैले ‘रिभेन्ज’ मेरो लक्ष्य हो । मलाई दुःख दिने तर ‘सरी’ नभन्ने मानिसहरूलाई म अन्तिम समयसम्म पनि छोड्दिनँ । कुनै न कुनै रूपमा म उसलाई सजाय दिने मनसायमा हुन्छु ।
सकेसम्म म अपमानको बदला त लिन्छु-लिन्छु । यो मैले चाहेर पनि बदल्न नसकेको सोच र बानी हो । यसबारे मैले सोची हेरेँ- मभित्र एउटा आपराधिक तत्व छ, कतै लुकेर बसेको छ ।
मलाई दुःख दिनेहरूलाई नछोड्ने ! मलाई लाग्छ- जसले अरूलाई दुःख दिन्छ, उसले आफ्नै जीवनकालमा दण्ड भोग्नुपर्छ । मलाई प्राकृतिक न्यायमा विश्वास छैन । कर्मामा पनि विश्वास छैन, नत्र सबैले मेहेनतको फल समान रूपमा पाउँथे। पुनर्जन्ममा त झन् विश्वास छैन। मान्छेले जति भोग्छ, एक जुनीमा बाँचुन्जेल यही धर्तीमा भोग्छ । भोलि अरू ग्रहमा पनि मान्छे बस्न थाल्यो भने उता पनि भोग्ला।
त्यसो भएपछि दुःख दिने मानिसलाई मान्छेले नै ठीक गर्ने हो । त्यही भएर मानिसले आफैँ संविधान बनाएको होला, नियम-कानुन बनाएको होला । प्रकृति र कर्मले ठीक गर्छ भन्ने भएको भए यो सबै चाहिँदैनथ्यो होला । संसारमा धेरै मानिसले मानिसकै कारणले धेरै दुःख पाएका छन्।
युद्ध र हिंसामा चरम यातना भोगेका छन्, मारिएका छन् । तिनले कसरी न्याय पाउँछन् ? ठूला युद्धमा मारिएका लाखौँ बालबालिकाले कसरी न्याय पाउँछन् ?
मलाई लाग्छ– मेरा वरिपरिका मानिसहरूमध्ये मेरी आमाले सबैभन्दा धेरै दुःख पाइन् । त्यसको न्याय कसले दिन्छ ? मलाई यो कुरा महसुस भएको हुनाले त्यसका लागि म आफैँ भिड्नुपर्छ । त्यसैले मैले भोगेको पीडा वा अपमानका लागि मैले नै भिड्नुपर्छ । मैले गरेको गल्तीको सजाय पनि भोग्न तयार हुनुपर्छ । क्षमा माग्ने हो तर क्षमा नमाग्नेप्रति क्षमशील हुने छैन । त्यसले मानिसलाई श्वास फेरिरहे पनि लासझैँ बनाउँछ ।
जिन्दगी यसै रहलपहलमा बिताउँला भन्ने थियो । हँसिमजाकमै काटौँला भन्ने थियो । उत्तरदायित्व बहन गर्ने तर कसैको व्याकरण र मूल्याङ्कनको तराजुमा नजोखिई बाँचौँला भन्ने थियो ।
तर मजस्तो सामान्य जीवन बाँच्नेलाई बेमतलब ठोक्किन आउने मान्छेले चुनौती दिने रहेछन् । त्यो चुनौती बेहोर्दा कहिलेकाहीँ कठोर बनिने रहेछ, भिड्नुपर्ने रहेछ । त्यसैले आफ्नो सत्त्वको रक्षाका लागि लड्ने-भिड्ने कुरामा म यतिखेर ढिट भएर लागेको छु । जिन्दगी बाँच्दै, काट्दै जाँदा फरक सोच आएछ भने त्यो पनि सेयर गरौँला ।
त्यसैले अरूलाई नपिरोली आफ्नो काम गर्ने हो, तर पिरोल्नेलाई छोड्ने होइन। म अधिकारका लागि अरूसँग भिड्दिनँ, अपमानका विरुद्ध भिड्छु । अधिकारको ठाउँ आफैँ निर्माण गर्न सकिन्छ जस्तो लाग्छ मलाई । मूल कुरा यही जीवनकालमा सबैसँग हिसाबकिताब मिलाएको राम्रो ।
ब्याज-स्याजको लोभ नगरेकै राम्रो । फेरि पनि भन्छु, म जिन्दगीलाई फिटिक्कै गम्भीर रूपमा लिन्न, कर्म र दण्डलाई गम्भीर रूपमा लिन्छु । जिन्दगी कतिका लागि कर्मकाण्ड होला मेरा लागि कर्म मात्रै हो या कतिका लागि अकर्मण्यता होला । अकर्मण्यतालाई कर्मले प्रहार गर्ने हो । जय जिन्दगी !
प्रतिक्रिया 4