+
+
Shares

जब एक लेखकले अंकमाल गर्न आएका अर्का लेखकलाई मुक्का हाने

मुक्का हान्ने क्रममा मारियोले चिच्याउँदै भनेका थिए, ‘मेरी स्वास्नीलाई जे भनिस् त्यसको फल यही हो !’

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८३ जेठ २ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९७६ मा मेक्सिको सिटीमा ग्राबियल गार्सिया मार्खेजलाई मारियो भर्गास लोसाले मुक्का हाने, जसले ल्याटिन अमेरिकी साहित्य जगतमा सनसनी फैलायो।

सन् १९७६ मा मेक्सिकोमा एउटा विचित्रको घटना घट्यो ।

ल्याटिन अमेरिकाका प्रख्यात लेखक ग्राबियल गार्सिया मार्खेजले स्नेहका साथ ल्याटिन अमेरिकाकै अर्का लेखक मारियो भर्गास लोसालाई अंकमालका लागि हात फैलाए । तर जवाफमा मारियोले ‘तिमीलाई यो चाहिँ ठीक हुन्छ’ भन्दै मार्खेजको अनुहारमा एक मुक्का जमाएर हाने । उनको आँखामुनिको भाग निलो नै भयो ।

यो अप्रत्यासित घटनाको लागि मार्खेज तयार थिएनन् । यो घटना मेक्सिकोको मेक्सिको सिटी मुभी थियटरमा घटेको थियो ।

ल्याटिन अमेरिकी साहित्य जगतमा मात्र होइन विश्वभरि नै सनसनी फैलियो ।

हुन त विश्वमा दौंतरी लेखक बीच विवाद हुनु, झगडा हुनु त्यति होइन । यो घटनाले भने निकै ठूलो मिडिया कभरेज पायो । मार्खेजको अनुहार मुक्काले निलोकालो भएको थियो ।

तर कसैले पनि पत्तो पाएनन्, आखिर मारियोले किन मुक्का हाने मार्खेजलाई ? किनभने यस विषयमा दुईमध्ये कसैले पनि यकीन कारण कसैलाई बताएनन् ।

त्यसपछि मार्खेज र मारियोको बोलचाल बन्द भयो ।

०००

सन् १९३६ मा पेरूको आरेकिपामा जन्मेका मारियो भर्गास लोसाले सन् १९७१ मा ‘गार्सिया मार्खेज : स्टोरी अफ ए डेसिड’ पुस्तक प्रकाशित गरेका थिए । यो पुस्तक मारियोले म्याड्रिड विश्वविद्यालयलाई बुझाएको विद्यावारिधीको थेसिसको पुस्तक थियो । उनीहरू मित्र थिए ।

यो पुस्तक मार्खेजको ‘वन हण्ड्रेड इयर्स अफ सोलिच्यूड’ को विश्लेषणमा आधारित थियो । मारियोले यसमा लेखकहरूले स्वायत्त, वैकल्पिक वास्तविकताहरू सिर्जना गरेर ‘देवता’ को रूपमा काम गर्छन् र आफ्नो सिर्जनाको अस्तित्वका लागि वास्तविक संसारको हत्या गर्छन् भन्ने तर्क प्रस्तुत गरेका थिए ।

उनले कथालाई विद्रोही कार्यको रूपमा व्याख्या गरे जहाँ लेखकले वास्तविकतालाई मार्छ र यसलाई नयाँ, संरचित र काल्पनिक वास्तविकताले प्रतिस्थापित गर्छ । यस पुस्तकले मार्केजको उत्कृष्ट कृति ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्यूड’को गहिरो र व्यापक विश्लेषण गर्दछ ।

साथै उनको मायावी यथार्थवादको शैलीलाई वैकल्पिक ब्रह्माण्ड निर्माणको माध्यमको रूपमा हेर्छ । विद्यावारिधि थेसिसको यो पुस्तक कोलम्बियाली लेखकको कथा संसारको विस्तृत अध्ययन तथा ल्याटिन अमेरिकी साहित्यिक उत्कर्षको एक महत्वपूर्ण शैक्षिक अध्ययन र दुई लेखकबीचको मित्रता र प्रशंसाको द्योतक समेत मानिन्छ ।

यो पुस्तकले मार्केजको लेखनमा पाइने मायावी, पौराणिक र अस्तित्ववादी विषयवस्तुहरूको गहन विश्लेषण प्रस्तुत गरेको ठहर गरिएको छ ।

आफ्नो एक आदर्श लेखक मित्र, जसको कृतिको अध्ययन गरेर उनले विद्यावारिधि गरे, उनका कृतिको विश्लेषण गरे, तिनैलाई उनले यसरी किन मुक्का हाने, यो विचित्रको घटना थियो ।

०००

मारियो र मार्खेजको भेट सन् १९६७ मा भएको थियो । यही साल मार्खेजको ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ प्रकाशित भएको थियो । त्यसपछि उनीहरू बीच मित्रता भयो ।

मारियो ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ बाट अत्यन्त प्रभावित भए ।

यसपछि उनीहरू वीचको आत्मियता र मित्रताले फुल्ने फल्ने मौका पायो । सन् १९७० देखि १९७४ सम्म ‍बार्सिलोनामा उनीहरू नजिकै बस्थे, छिमेकीको रूपमा ।

यी साहित्यिक जोडी समान रूपमा विभाजित पारिवारिक पृष्ठभूमिबाट आएका थिए । दुवैलाई हजुरआमाहरूले हुर्काएका थिए । उनीहरू आफ्ना बुबाहरूसँग मिलेर बसेका थिएनन् ।

उनीहरूलाई बास्तविक रुपमा मिलन बिन्दुमा पु-याउने जोड्ने सुत्र चाहिँ २०औं शताब्दीका अमेरिकी लेखक विलियम फल्कनरका कृतिहरूप्रति उनीहरूको साझा प्रेम थियो । र रोचक कुरा के थियो भने उनीहरू पहिलो पटक युरोप जाँदा आफूहरूलाई पक्का ल्याटिन अमेरिकी भएको पूर्णअनुभव गरे ।

मुक्का खाएपछिको लेखक मार्खेजको फोटो ।

मार्खेजको ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ को वर्णन गर्दै, मारियोले भनेका थिए, ‘जब मैले पुस्तक पढें तब म छक्क परें । मैले सोचेँ कि अन्ततः ल्याटिन अमेरिकाको नाइटहरूको बारेमा आफ्नै उपन्यास थियो, एउटा कथा जहाँ काल्पनिक कुरा वास्तविकताको सार नगुमाई अगाडि आयो।

यसमा उत्कृष्ट कृतिहरूको गुण थियो । त्यो थियो भाषाको बारेमा चिन्तित माग गर्ने पाठकलाई आकर्षित गर्ने क्षमता र एकै समयमा कथा पछ्याउन रुचि राख्ने आधारभूत पाठक।’

मारियोले सन् १९६० को दशकको अन्त्यतिर प्युर्टो रिको, संयुक्त अधिराज्य र स्पेनका विश्वविद्यालयहरूमा मार्केजको कृतिहरू पनि पढाएका थिए । यसले गर्दा नै उनले १९७१ मा उनको विद्यावारिधि शोधपत्रमा आधारित पुस्तक ‘गार्सिया मार्केज: स्टोरी अफ अ डिसाइड’ प्रकाशित गर्न सक्षम भएका थिए ।

०००

मार्खेज मारियोभन्दा ९ वर्ष जेठा थिए तर जन्म महिना भने दुवैको मार्च थियो । मार्खेज ६ मार्च १९२७ मा जन्मेका थिए भने मारियो २८ मार्च १९३६ मा जन्मेका थिए ।

दुवै पत्रकारितामा समेत संलग्न थिए ।

मारियो भोर्गास लोसा राजनीतिमा पनि संलग्न भए तर मार्खेज भने राजनीतिमा लागेनन् । तर क्युबा नेता फिडेल क्यास्ट्रोसँग उनको मित्रता थियो ।
क्यास्ट्रो मार्खेजका कृतिहरूका पाठक थिए । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि मार्खेजलाई ह्वाइट हाउसमा डिनर दिएका थिए । त्यतिबेला उनकी छोरी चेल्सीले मार्खेज आफ्ना प्रिय लेखक भएको बताएकी थिइन् ।

०००

ग्राबियल गार्सिया मार्खेजको पहिले ‘ईन ईभिल आवर’, ‘लिफ स्टोर्म’, ‘नो वन राइट्स टू कोलोनेल’ जस्ता उपन्यास र लघु उपन्यासहरू प्रकाशित भएका थिए । तर सन् १९६७ मा प्रकाशित उपन्यास ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ ले विश्वविख्यात बनायो ।

मायावी यथार्थको यो उपन्यास विश्वमै उदाहरणीय बन्यो । ५० बढी भाषामा अनुवाद भएर पाँच करोड बढी प्रतिहरू बिक्री भइसकेका छन् । यसलाई मार्खेजले आफ्नो जीवनकालभरि सिनेमा बनाउने अनुमति दिएनन्, यद्यपि उनका कैयन् उपन्यास, उपन्यासिका र कथाका सिनेमा बने ।

उनले पाठकको कल्पनाशीलताको रक्षा गर्न यो उपन्यासलाई सिनेमा बनाउन दिएका थिएनन् । उनको देहान्तपछि उनका छोराहरूले यसलाई सिनेमा बनाउन दिए ।

तर मारियो भर्गास लोसाको पहिलो उपन्यासले नै उनलाई बहुचर्चित बनायो । सन् १९६३ मा प्रकाशित उनको पहिलो उपन्यास ‘द हिरो अफ आवर टाइम’ उपन्यासको कथा पेरूको सैनिक प्रतिष्ठान सम्बन्धी थियो ।

यो उपन्यास लियोन्सियो प्राडो मिलिटरी एकेडेमीमा रहँदाको उनको आफ्नै अनुभवमा आधारित थियो । त्यहाँ १९५० को दशकको सुरुमा किशोरावस्थामा पढेका थिए । फ्रान्समा बस्दा यो उपन्यास लेखे । र १९६३ मा उपन्यासको रूपमा प्रकाशित भयो।

यसले यति ठूलो हलचल मच्चायो कि सैनिक प्रतिष्ठानका अधिकारीहरूले विरोधस्वरूप यो उपन्यासका १,००० प्रतिहरू जलाएका थिए । पछि यो उपन्यामाथि पेरुभियन निर्देशक फ्रान्सिस्को लोम्बार्डीले सिनेमा बनाएका थिए ।

यो उपन्यासको मूल भाषा स्प्यानिसमा ‘द सिटी अफ द डग्स’ थियो तर अङ्ग्रेजी अनुवादमा भने ‘द टाइम अफ द हिरो’ को रुपमा आएको हो ।

मारियो भर्गास लोसाको दृष्टिमा ‘वन हन्ड्रेड इयर्स अफ सोलिट्युड’ को विपरीत मार्खेजको सबैभन्दा कमजोर पुस्तक १९७५ को ‘द अटम अफ द प्याट्रियार्क’ थियो ।

०००

के भएको थियो त घटना जसले गर्दा मारियोले मार्खेजलाई मुक्का हाने । यो विषयमा सन् २०१९ मा पेरिस रिभ्यूमा सिल्भाना पातेर्नोस्त्रोले एक रिपोर्ट तयार गरिन् जसमा विभिन्न सम्बन्धित व्यक्तिहरूसँगको भनाइ प्रकाशित गरेकी थिइन् ।

उनले मार्खेजका साथी तथा फोटोग्राफर रोडरिको मोया तथा गुलेर्मो एङ्गुलो, ग्रेग्रोरी राबास्सा, पिलिनो आपुलियो मेन्डोजा, जेमी आवेलो बान्फी लगायतसँगको कुराकानी प्रस्तुत गरेकी थिइन्, जसले त्यस घटनाको बारेमा आ-आफ्ना अनुभव सुनाएका थिए ।

०००

मारियो भर्गास लोसा र ग्राबियल गार्सिया मार्खेज बीचको यो घटनालाई आधार बनाएर पेरुका अर्का लेखक जायमी बेलीले एक उपन्यास नै लेखे ‘लस जिनियस’ अर्थात् ‘द जिनियस’ ।

यो उपन्यास प्रकाशित हुँदै गर्दा मारियोले भने, ‘पक्कै पनि त्यो झुटको पुलिन्दा होला !’

यसको प्रतिक्रियामा उपन्यासकार बेलीले भने, ‘हो, पक्कै पनि यो उपन्यास झुटहरूले भरिको छ । जस्तो हरेकजसो उपन्यासमा हुने गर्छ । तर यी झुटहरू हावादारी होइनन्, विश्वसनीय झुटहरू हुन् ।’

उनको भनाइ थियो, ‘यो पुस्तक कुनै ऐतिहासिक पाठ वा पत्रकारिताको अनुसन्धान होइन । यो एउटा उपन्यास हो । काल्पनिक कृति हो । यसले लेखकको आविष्कारशीलताबाट आउने वास्तविक, ऐतिहासिक घटनाहरूलाई काल्पनिक घटनाहरूसँग मिसाउँछ ।’

यस उपन्यासको सुरुवातमै बेलीले मारियोको उपन्यास ‘द रियल लाइफ अफ अलक्जान्ड्रो मायता’ का यी हरफहरूलाई उध्दरण गरेका छन्, ‘प्रमाणको आधारमा घटनालाई पुनर्निर्माण गर्ने प्रयास गर्दा सिकिने कुरा भनेको सबै कथा हुन् र तिनीहरू सत्य र झुट मिलेर बनेका हुन्छन्।’

उपन्यासकार बेलीले लेखकहरू जोर्ज एडवार्डस्, प्लिनियो आपुलेओ मन्डोजा, टोमस एल्वाए मार्टिनेज, अल्भारो मुटिससँग कुराकानी गरेर उपन्यासलाई सत्यको नजिक पु-याउने प्रयास गरेका थिए । एक प्रकारले शोध नै गरेका थिए ।

मार्खेज र मारियो साथमा उनीहरूको उपन्यासको कभर ।

यो उपन्यास लेख्न प्रेरित भएको बिषयमा उनको भनाई थियो, ‘जब दुई प्रतिभाशाली व्यक्तिले कुनै कुराको बारेमा विमर्श गर्न अस्वीकार गर्छन् भने त्यसले साहित्यिक जिज्ञासा जगाएको मान्नुपर्छ । किनकि म साहित्यलाई कंकाल भित्र रहेको वस्तु खोतलेर हेर्ने प्रक्रियाका रूपमा बुझ्छु ।’

यो उपन्यास गफलाई साहित्यिक रूप दिने प्रक्रिया या घटनाको रूपमा लिनु उचित हुँदैन । बरू दुई आत्मीय साहित्यिक दिग्गजहरूको मित्रताको कसरी दुःखद् समाप्ति भयो भन्ने कुरा महत्त्वपूर्ण छ । साहित्य जगतले यस्तो निर्क्यौल निकालेको देखियो ।

०००

गहिरो मित्रताको समयमा मारियो भर्गास लोसा र ग्राबियल गार्सिया मार्खेजले सहयोगी उपन्यास लेख्न पनि सोचेका थिए । मारियो बेलायतमा थिए र मार्खेज मेक्सिकोमा थिए । उनीहरूले पेरु र कोलम्बिया बीचको युद्धको विषयमा उपन्यास लेख्ने मन बनाएका थिए जुन युद्ध कोलम्बियाको लेटिसियामा अवस्थित अमेजनको जंगलमा भएको थियो ।

तर मारियोलाई लाग्यो मार्खेज त्यस युद्धका बारेमा पूर्ण जानकार छन्, तर उनलाई छिपछिपे ज्ञान मात्र छ । त्यसकारण त्यो कल्पित उपन्यासको लेखन सम्भव भएन । उनीहरूले धेरै लामो समय पत्राचार गरे, ती चिट्ठीहरू अहिले अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा सुरक्षित छन् ।

०००

सन् १९९० मा पेरिस रिभ्यूलाई दिएको अन्तर्वार्तामा मारियो भर्गास लोसाले यो मुक्का काण्डको विषयमा बोलेका छन् । उनले यसलाई एक घटना भएको बताए ।

उनले यस विषयमा चाहँदा नचाहँदै धेरै कुरा बाहिर आएको र यसबारे थप कुरा गरेर यसलाई चर्चाको विषय बनाउन नचाहेको बताए । उनले भने, ‘यदि मैले संस्मरण लेखें भने सम्भवतः म सत्य कुरा लेख्नेछु ।’

तर उनले आफ्नो जीवन कालमा यो संस्मरण लेखेनन् ।

०००

सन् २०२१ मा वाकर काप्लानले एक रिपोर्ट प्रकाशित गरिन् जसमा त्यस घटनाको बारेमा विस्तृत रुपमा लेखेकी छिन् । घटनाक्रम अनुसार मारियो बार्सिलोनादेखि एल कालाओको यात्रामा थिए । उनले त्यहाँ एक आकर्षक महिला भेटे र तिनीसँग उनको प्रेम भयो ।

यद्यपि उनकी श्रीमती प्याट्रिसिया पनि त्यही जहाजमा थिइन् । मारियोका मित्र गुलेर्मो आलुंगोका अनुसार ‘मारियो कन्याराशी हुन् । आकर्षक छन् । आइमाइहरू उनीसँग मरिमेट्छन् ।’

जहाज चिलीमा रोकिएपछि प्याट्रिसिया बार्सिलोना फर्किइन् आफ्ना सामान बटुल्न । उनीहरूका छिमेकी र मित्रहरू मार्खेज र उनकी पत्नी मर्सिडिज उनलाई सामान प्याकिङ गर्न सहयोग गर्न उनको घर गए ।

त्यतिमात्र होइन मार्खेजले प्याट्रिसियालाई एयरपोर्टसम्म पु-याउन गए र मारियोसँग पारपाचुके गर्न समेत सुझाव दिए । त्यसबेला उनले ठट्टामा भनेका थिए, ‘यदि तिम्रो प्लेन छुट्यो भने गज्जब हुन्छ । भोज गरौंला ।’ तर प्याट्रिसियाले यसलाई गलत अर्थ लगाइन् ।

मारियो अर्की महिलासँगको प्रेममा भए पनि प्याट्रिसियासँग छुट्टिएका थिएनन् । अर्की महिलासँगको सम्बन्धको बारेमा थाहा पाएकी प्याट्रिसियाले एकपल्ट मारियोलाई रिस उठाउनका लागि भनिन्, ‘मलाई राम्री छैन भनेर हेपेको ? तिम्रा साथीहरू मार्खेजजस्ता मेरा पछि लागेका छन् ।’

यो नै मार्खेजलाई मारियोले मुक्का हान्ने कारण बन्यो । मुक्का हान्ने क्रममा मारियोले चिच्याउँदै भनेका थिए, ‘मेरी स्वास्नीलाई जे भनिस् त्यसको फल यही हो !’

मुक्का निकै कडा थियो । मुक्का खाएर धर्मराउँदै मार्खेज पछारिए । उनको चस्माको सिसा नै फुट्यो । रगत पनि आयो ।

मुक्का खाएको भोलिपल्ट मार्खेज र उनकी पत्नी उनीहरूका साथी फोटोग्राफर रोडरिको मोयाको घरको ढोका ढकढक्याउन पुगेका थिए । उनी आफ्नो घाइते अनुहारको फोटो खिचाउन पुगेका थिए ।

उनी आफ्ना जीवनका महत्त्वपूर्ण घटनाको रेकर्ड राख्न चाहन्थे । मोयाले उनलाई देख्दा मेक्सिकन पुलिसको गोदाइ खाएको अभियुक्तझैं अनुभव गरेका थिए । त्यो फोटो उनले सार्वजनिक गरेनन् । सन् २००७ पछि मात्र त्यो फोटो सार्वजनिक भयो ।

०००

यति हुँदाहुँदै पनि मारियो भर्गास लोसाले मार्खेजको ‘वन हण्ड्रेड इएर्स अफ सोलिच्युड’ को ४०औँ वार्षिकोत्सव संस्करणका लागि विशेष भूमिका लेखेका थिए ।

०००

आफ्नो जीवनको अन्तिम दशकमा, गार्सिया मार्खेजले उनलाई दुई पटक पर्खे– एक पटक बार्सिलोनामा र एक पटक कार्टाजेनामा । तर, अन्तमा, मारियो कहिल्यै देखा परेनन् । उनीहरूको भेट नै भएन ।

मार्खेज लामो समय विस्मृतिको शिकार भए र १७ अप्रिल २०१४ मा उनको देहान्त भयो ।

मार्खेजको मृत्युपछि मारियोले प्रतिक्रिया दिए, ‘एक महान लेखकको निधन भएको छ, जसका कृतिहरूले हाम्रो भाषाको साहित्यलाई पहुँच र प्रतिष्ठा प्रदान गरे । उनका उपन्यासहरू उनीभन्दा धेरै जीवित रहनेछन् र संसारका पाठकहरूको मन जित्ने क्रम जारी राख्नेछन् । म उहाँको परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’

वर्षपछि १३ अप्रिल २०२५ मा पेरुको राजधानी लिमामा मारियो भर्गास लोसाको पनि मृत्यु भयो । उनको मृत्युमा मार्खेजको गाबो फाउण्डेसनले यस्तो शोक वक्तव्य जारी ग-यो, ‘स्पेनी भाषाको कथा लेखनका गुरु र ल्याटिन अमेरिकी साहित्यका एक प्रमुख व्यक्तित्व मारियो भर्गास लोसाको मृत्युमा गाबो फाउन्डेसन शोक व्यक्त गर्दछ । यस दुःखद् समयमा हामी उनको परिवार, साथीभाइ र पाठकहरूसँग उभिएका छौं ।’

दुवैको मृत्युपछि त्यस मुक्का काण्डको तुष त मेटियो, तर साहित्य जगतमा यसको चर्चा भने भइनै रहेको छ ।

लेखक
गोविन्द गिरी प्रेरणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?