+
+
Shares
दिलै खोलेर :

‘पत्रकारिताको नाममा अहिले डिजिटल मिडियाको ओइरो विरक्तलाग्दो छ’

पत्रकारितालाई समग्रमा त भन्न गाह्रो छ । कुनै सामग्री पढ्दा खतरा लाग्छ । कुनै कुरा पढ्दा विरक्त लाग्छ, के गरेको होला जस्तो लाग्छ । त्यसैले ठिकठाकै लाग्छ । तर पत्रकारिताको नाममा अहिले डिजिटल मिडियाको आइरो विरक्तलाग्दो छ ।

सापेक्ष सापेक्ष
२०८३ जेठ २ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रंगकर्मी केदार श्रेष्ठले नयाँ सरकारले सुकुम्बासीका टहरा भत्काउँदा मानवीय पक्षलाई ख्याल नगरेकोमा दु:ख लागेको बताएका छन् ।
  • आफू जुन बाटोमा लागेको छु त्यो आफ्नो मर्जीले लागेकाले कसैसँग गुनासो नरहेको बताएका छन् ।

केदार श्रेष्ठ रंगकर्मी, बालसाहित्यकार, तथा चलचित्रकर्मी हुन् । नेपालमा बालरंगमञ्च तथा बालबालिकासँग सम्बन्धित कामका लागि पनि उनी बढी चिनिन्छन् । उनी थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) र थिटएर मल नाटकघरका संस्थापक हुन् । उनी थिएटरको विश्व संगठन इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आइटिआइ) का नेपाल सेन्टरको अध्यक्ष समेत रहेका छन् ।

धेरै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त जुनुको जुत्ता (२०१९) उनको लेखन, निर्देशनको डेब्यू सर्ट फिल्म हो । ऐना झ्यालको पुतली, गाउँ आएको बाटो लगायत चर्चा बटुलेका फिल्मका कास्टिङ निर्देशक हुन् ।

उनले ढुकढुकी ७२ मेगाहर्ज, मान भर्सेस मति, उपियाँको निबन्ध लगायतका चर्चित नाटकहरू लेखन, निर्देशन गरेका छन् ।  हालै उनको लेखन, निर्देशन रहेको नाटक गुलियो स्याउ (अ स्वीट एप्पल) मंगोलियाको महोत्सवमा विश्व प्रिमयर भएको थियो ।

उनै श्रेष्ठसँग अनलाइनखबरले दिलै खोलेर  कुराकानी गरेको छ ।

हिजोआज

पछिल्लो समय के कुरा वा कुन समाचारले खुसी हुनुभयो ?

भयानक खुसी हुने कुरा त खास छैन । एउटा नाटक तयार पारेँ- गुलियो स्याउ (अ स्वीट एप्पल) । यो मंगोलियामा विश्व प्रिमियर भएर १९ मञ्चन भयो । यसले अन्तर्राष्ट्रिय यात्रा गरेर खुसी भएको भन्दा पनि यो नाटक बन्नुमा नै खुसी भएको हुँ ।

यो बालबालिकाका त्यसमा पनि ३ वर्षमाथिका बालबालिकाका लागि लक्षित । यस्ता नाटक खास बन्दैन हाम्रोमा । यो पटक साना उमेरका लागि नाटक यस्तो हुनसक्छ है भनेर देखाउन मिल्ने, भन्न मिल्ने आनन्दको काम गर्न पाएँ । त्यसले खुसी बनाएको छ ।

अनि पछिल्लो समय थिएटर र पर्फमिङ आर्ट्सको विश्व संगठन इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आइटिआइ) को नेपाल सेन्टरलाई करिब एक वर्षको पहलपछि पुनः स्थापित गर्न सकियो । नेपाली रंगमञ्चका गतिविधिलाई अन्तर्राष्ट्रिय रूपमा जोड्न यो जरुरी थियो ।

दिक्क बनाएको कुरा ?

पछिल्लो समय नयाँ सरकारले सुकुम्बासीको घर भत्काउँदा त्यहाँको मानवीय संवेदनाका कथाहरू पढेर, सुनेर, देखेर दिक्क बनायो । सरकारले अलिकति तयारी गरेर मानवीय पक्षलाई ख्याल गरिदिएको भए हुन्थ्यो भन्ने चुकचुक लागिरह्यो ।

अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

मान्छे आफैंमा अजीवको प्राणी हो । आजकाल मान्छेहरू नै झन् रोचक बन्दै गएका छन् । मान्छेहरूले पेशा, पहुँच, सत्ता, समाज, आवश्यकताका आधारमा व्यवहारगत रुप धारण गर्दोरहेछ । यी सब ठाउँमा रोचक-रोचक पात्रहरू भेटिरहेका छौं । एकजना व्यक्ति मात्र होइन ।

नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

नेपाली समाजको राम्रो, नराम्रो पक्ष एउटै हो जस्तो लाग्छ, एडजस्टमेन्ट ।

पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

मज्जाले हेर्छु, यो बानीजस्तो बन्यो । पत्रकारितालाई समग्रमा त भन्न गाह्रो छ । कुनै सामग्री पढ्दा खतरा लाग्छ । कुनै कुरा पढ्दा विरक्त लाग्छ, के गरेको होला जस्तो लाग्छ । त्यसैले ठिकठाकै लाग्छ । तर पत्रकारिताको नाममा अहिले डिजिटल मिडियाको आइरो विरक्तलाग्दो छ । पत्रकारिताभन्दा पनि व्यक्तिकारिता जस्तो ।

इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

मेरो खास इतिहास त बनिसकेको जस्तो लाग्दैन । फेरि इतिहासलाई सुधार्ने होइन, त्यसको अनुभवले वर्तमानलाई सुन्दर बनाउने हो भन्ने लाग्छ । सत्य इतिहास सुध्रिदैन पनि बिग्रदैन पनि । जे हो त्यही हो ।

तर, त्यसलाई गरिने विश्लेषण, विचार र अनुभव अनुसार फरक-फरक हुनसक्छ । इतिहास होइन कि भोगेका/बितेका समयलाई मान्ने हो भने ‘कुनै काम गर्न पाए’ भन्ने कुरामा कसले कुनै काम गर्न रोकेको छ र ! पहिले गरेको काम फेरि गर्न नहुने भन्ने के छ र!

मैले कुनै पनि काम आफ्नै मर्जीले गरेँ । आफ्नै मर्जीले छाडेँ । त्यसैले, गर्न पाए भन्दा पनि गर्नै परेमा भने चैं ‘थिएटर मल नाटकघर’को स्थापना मेरो जुन उमेर र उत्साहमा गरेको थिएँ, त्यो ४ वर्षमै भत्काउनु पर्‍यो । त्यस भवनको नयाँ ठेकेदारका कारण भत्काउन बाध्य भएँ । अहिले त्यही समयमा हुन्थेँ भने अलि बढी नै वादप्रतिवाद गरेर भएपनि भत्काउने थिइनँ ।

तर, यो सुधार हुन सक्दैन । किनकी भत्काएको पनि दशक पुग्न लाग्यो । अनि अर्को स्थानमा स्थापित पनि गरिसकियो । पुरानो समयलाई सम्झेर यस्तो गरेको भए हुने भन्दा पनि त्यस अनुभवलाई लिएर अब चाहिँ यसो गर्छु, यसो गर्दिनँ भनेर मनन गर्ने होला ।

बाल्यकाल र किशोरावस्था

सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?

सानोमा गुच्चा नै बढी खेलेँ हौ मैले त । अनि हामी हुतुतु भन्थ्यौ, कबड्डी खेलेँ ।

साथीहरूले तपाईंको निकनेमहरू के-के राखिदिएका थिए ?

उही त हो, निकनेम यस्तै:- काले, कालु, कालेभाइ । यसमा तत्कालीन सामाजिक नजर, सोचाइ, जसले राखे उसँगको सम्बन्धको आधारमा हुनेरहेछ । माध्यमिक तह पढ्न थालेपछि चाहिँ कविता प्रतियोगिताहरूमा सहभागी हुने भएकाले कविजी पनि भने केहीले । यो स्कुलको कुरा हो ।

तपाईंको कोहीसँग झगडा परेको थियो ?

बाल्यकालमा साथीसँगी मिल्ने झगडा पर्ने त सामान्य नै हो नि ! सिकाइ र सम्बन्धको विकासका क्रममा यस्तो भइहाल्छ नै । तर, ठूलो ठूलो झगडा चाहिँ भएन । भनाभन अलि अलि प्याट्टपुट्ट मात्र हो ।

तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?

थियो नि ! जल शाह साह्रै मन पर्ने । मोटो मोटो मान्छे तर कस्तो फुर्तिलो नाच्ने । पर्दामा देखिने अरू हाउभाउले स्मार्ट गर्लजस्तो लाग्ने । स्वरमा आधाउधी सुकेको जस्तो । त्यहीँ नै मन पर्ने । अनि स्कुलमा केटी साथीहरू पनि त्यस्तै-त्यस्तै फिचर र नेचरको मन पर्ने के !

अहिले आएर चाहिँ जल शाह राम्रो अभिनय क्षमता भएको तर उहाँले आफ्नो समयमा त्यो क्षमता देखाउन पाउने गरी, आफैंलाई परीक्षण गर्ने गरी कुनै फिल्म र भूमिका गर्न पाउनुभएन भन्ने लाग्छ ।

सिनेमा

पहिलो पटक सिनेमा हेर्दाको सम्झना कस्तो छ ?

पहिलो पटक हेरेको सिनेमा धेरै कुरा थिए । तर त्यस फिल्ममा बाँदरले पनि फिल्म खेलेको थियो । बाँदर हिरोको साथी थियो । बाँदरलाई हेडमास्टर भनेर बोलाउँथे । यति कुरा चाहिँ मन भित्रै गढेर बसेको थियो । पछि यही आधारमा कुन फिल्म हो भनेर खोजी गर्दा त्यो फिल्म ‘गोपीकृष्ण’ रहेछ ।

फिल्ममा बहादुरी देखाउने हिरो थियो । तर, हिरो राजेश हमाल भनेर पनि पछि थाहा पाएँ । यो फिल्म हेर्दा म ४/५ वर्षको थिएँ होला । त्यही बाँदर र बाँदरको नाम हेडमास्टर भन्ने मात्र याद थियो । सानो उमेरमा हेरेको त्यति झल्को चाहिँ स्मृतिमा बसेछ ।

कस्ता सिनेमा हेर्न मन पर्छ ?

सबै खालको हेर्छु । तर कलेज पढ्ने बेलामा नेपाली र बलिउडका बाहेक युरोपेली नवयथार्थवादी र इरानी सिनेमा हेर्न संयोग परेपछि त्यस्ता सिनेमाको गहिरो प्रभाव पर्‍यो । अहिले पनि त्यस्तै सिनेमा हेर्न अलि बढी मनपर्छ ।

साह्रै मन परेका सिनेमा ?

हेरिआएकाभन्दा फरक हेर्न थालेपछि थुप्रै सिनेमाहरू मन परे । इरानी मजिद मजिदीको ‘चिल्ड्रन अफ हेभन’ अझै जतिपटक पनि हेर्न सक्छु ।

चर्चा भएका तर हेर्दा खासै नलागेका कुनै सिनेमा छन् ?

अँ… त्यस्तो पनि हुँदोरहेछ । एउटा आफ्नो टेस्ट हुँदोरहेछ । अर्को कुन मुडमा, कसरी हेर्‍यो भन्ने कुराले पनि त्यस्तो हुँदोरहेछ । ‘मुन लाइट’ नेपालको हलमा पनि चलेको थियो । निकै चर्चा थियो तर हेर्दा त्यस्तो लागेन ।

हेर्ने सिनेमा कसरी छान्नुहुन्छ ?

पहिले समयमा सिनेमाहरू अहिले जस्तो पहुँचमा थिएनन् । त्यतिबेला ठमेल र झोँछेतिरको पसलमा गएर कभरमा दुईतिर धानका बाला भएका सिनेमाहरू छान्थेँ । धानका बाला भएको सिनेमाहरू चाहिँ संसारका गजब सिनेमा भनेर बुझ्थेँ । पछि आएर धानका बाला फेस्टिभल सेलेक्सनदेखि, अवार्ड, एप्रिसियसन हो भन्ने बुझ्दै गएँ ।

अहिले चाहिँ सिनेमाहरू आएपछि हल्लाखल्ला हुन्छ । समीक्षा हुन्छ । ट्रेलर, टिजर हुन्छ । पोस्टर हेरिन्छ । कसको सिनेमा भन्ने हुन्छ । कस्तो खालको भन्ने हुन्छ । यी यस्ता सबै सूचना पहुँचमै छ । अनि मनस्थिति अनुसार छानिन्छ ।

नेपालमा कस्ता सिनेमा धेरै बनुन् जस्तो लाग्छ ?

मान्छे अजीबको प्राणी हो के, आफूलाई मनपर्ने काम गरिदेओस् जस्तो लाग्छ । आफूलाई मनपर्ने खाना पाकोस् भन्ने लाग्छ । आफूलाई नराम्रो लाग्ने त केही हुँदै नहोस् भन्ने लाग्छ । त्यहीअनुसार आफूलाई मनपर्ने जस्तै बनोस् जस्तो लाग्छ फिल्म पनि ।

त्यसो भनेको समाजसँग नजिक, यथार्थसँग नजिक, समाजमै बाँचिरहेका पात्र, चरित्र र व्यवहार भएको फिल्म बनोस् । अझ फिल्ममा आफू र आफूजस्तै धरातलका कथा खोज्दो रहेछौं । तर, यो निरपेक्ष छैन भन्ने कुरा बुझेपछि चाहिँ फरक-फरक सिनेमाहरू बन्नुपर्छ भन्ने लाग्छ । भेराइटी होस् । तर, जुनसुकै सिनेमाले मान्छेका कथा, मान्छेले बाँचेको समय र भूगोलको कथा मिहिन तरिकाले, सुन्दर तरिकाले भनोस् भन्ने लाग्छ ।

पुस्तक

पुस्तकहरू कतिको पढ्नुहुन्छ ? पढ्का कस्तो खालका पढ्नुहुन्छ ?

‍पढिरहेको हुन्छु । पछिल्लो समय अलि कम भएको छ । पढ्थेँ भन्नुपर्ने जस्तो भएको छ । धेरै जसो चाहिँ म फिक्सन नै पढ्छु । फिक्सनबाहेक पनि विज्ञान, विकास र इतिहासका कुरा पढ्न मन पराउँछु ।

म बालसाहित्य पनि उत्तिकै पढ्छु । छोटा तर गहकिला कथाहरूले छाटो समयमा गहिरो रस्वासदन दिन्छ । तरंगित पनि गर्छ मलाई चाहिँ । खासमा बालसाहित्य भनेको बालबालिकाका लागि मात्र होइन बालबालिका उमेर समूहदेखि माथिका लागि भनिएको हो । तर हाम्रोमा बालसाहित्य ठूलाहरूले पढ्नै नहुने जस्तो बुझाइ छ । झन् पढिनुपर्छ भन्ने लाग्छ । पढेर त हेर्नुस क्या मज्जा हुन्छ, हान्स क्रिश्चियन एण्डरसनदेखि नेपालका शान्तदासहरू त्यहाँ पाउनुहुन्छ ।

मन परेका कुनै पुस्तक ?

मन परेका पुस्तकहरू थुप्रै होलान् । अहिले ठ्याक्क सम्झेका पुस्तकहरूमा इन्द्रबहादुर राईको ‘आज रमिता छ’, गोर्कीको ‘आमा’, हान्स एन्डरसनको ‘अग्ली डकलिङ’, ओ हेनरीका कथाहरू हुन् ।

तपाईंका प्रिय लेखकहरू ?

मन पर्ने पुस्तकका लेखकहरू नै मनपर्ने रहेछ के हौ । हाहा… एन्डरसन, चेखब, गोर्की, टोल्स्टाय, गोगल । हाम्रै इन्द्रबहादुर राई, सरुभक्त, गोविन्द बहादुर गोठाले, नारायण ढकाल, नयनराज पाण्डे । थुप्रै हुनुहुन्छ । नोस्टालजिया अलि खतरनाक हुने रहेछ ।

पहिलेभन्दा अहिले गजब-गजब किताब पढियो भने पनि सुरु-सुरुमा पढेका पुस्तक र लेखकको नै सम्झना र प्रभाव बढी हुने रहेछ । मैले आफूलाई ब्रेक गर्न नसकेको पनि हुन सक्छु ।

एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?

यो त कस्तो असमञ्जसमा पार्ने हाइपोथेटिकल प्रश्न रहेछ । मलाई हान्स क्रिस्चियन एण्डरसन र उनका पात्रहरू सबै गजब लाग्छन् । त्यसमा टिनका सिपाही, जो टिनको हो, तर लेखकले अजबको सजिव बनाएका छन् ।

नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

नेपालमा सामाजिक यथार्थवादी कथाहरू नै कति धेरै लेखिन बाँकी नै छन् जस्तो लाग्छ । तर, यसमा परम्परागत यथार्थवादको तवरलाई अलि भंग गरेर नयाँ तवरमा लेखिनुपर्छ जस्तो छ । त्यो कस्तो हो ठ्याक्कै मलाई पनि थाहा छैन । तर केही अलि फरक भैदिए हुन्थ्यो भन्ने चाहिँ लाग्छ । अरु त हाम्रा हिमाल, पहाडमा, जमिनका, संस्कृतिका, सभ्यताका पुस्तकहरू लेखिनुपर्छ । लेखिरहेको पनि छ ।

घुमफिर र सोख

घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

एकदम रुचाउँछु । तर घुमफिर कम नै छ । सकेसम्म कामको सिलसिलामै घुमफिर गरिरहेको हुन्छु । केही विशेष स्थान र सन्दर्भहरूमा भने घुमफिरकै लागि मात्र पनि जान्छु । तर यो कम अनुभव छ ।

सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

पछिल्लो समय धेरै पटक गएको सोलुखुम्बुको जसनबेसी, म त्यहाँ कामको सिलसिलामा पहिलो पटक पुगेको थिएँ । त्यो ठाउँले यस्तो सकारात्मक ऊर्जा दियो कि अहिले पनि काम नै लिएर बारम्बार गइरहन्छु । काम नहुँदा पनि जाउँजाउँ लागिरहन्छ ।

सबभन्दा मन परेको ठाउँ वा यात्रा ?

मलाई चाहिँ ठाउँहरू घुम्न पर्दा त्यहाँका भौगोलिक सुन्दरताले मात्र होइन, त्यहाँका मान्छेहरू, मान्छेहरूसँग बस्ने सम्बन्धहरूले प्रभाव पार्दो रहेछ । त्यसरी त जुनबेसी नै हो । अनि पहिलो पटक युरोप पुग्दा बर्लिन पुगेको थिएँ । केही अत्तोपत्तो थिएन । के-के पनि थाहा थिएन । एक्लै पुगेको एक्लै ठाउँहरू एक्प्लोर गरेको अझै याद आउँछ ।

गीत कत्तिको सन्नुहुन्छ ?

ठिकै सुन्छु । पहिले त राम्रै सुन्थे क्याम्पसको समयमा । अहिले चाहिँ गीत भन्दा पनि बढी संगीत सुन्छु । त्यो पनि एक्लै सुन्छु, अरूले थाहा नपाउने गरी । रैथाने भाका पनि सुनिरहेको हुन्छु ।

के कुराको विशेष सोख छ ?

सोख नै भन्ने त्यस्तो छैन । समय र परिस्थिति अनुसारले रुचि हुन्छ नै तर आसक्ति होइन । आफूले गरिरहेका काममा नै रमाइलो र आनन्द लागिरहेकोले अलिअलि कल्पना र सपना हुन्छ । यस्तो नाटकघर बनाउन पाए ! त्यस्तो नाटक गर्न पाएँ ! यस्तै यस्तै…

खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

त्यस्तो सोखिन छैन । जे भेटिन्छ, खाइन्छ । अलि धेरै समय नखाँदा खाउँखाउँ लाग्ने चाहिँ ममः नै हो ।

किनमेल गर्न कति रुचाउनुहुन्छ ?

किनमेलमा फिटिक्कै रुचि छैन । तर अत्यावश्यक कुरा किन्न परिहाल्यो ! तर, थिएटरमा नाटकका लागि चाहिने सामान किन्न भने धेरैजसो म आफैँ जान्छु, त्यसमा चाहिँ इन्जोय गर्छु ।

तर, आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?

धेरैजसो अरूले । पहिले पहिले बुबाले । पछि अलिअलि आफैँले । बहिनीले, भाइले, मिसेसले, मिसेसका बहिनीहरूले समेत यस्तै हो । केही आफूलाई मन परिहालेको चाहिँ आफैंले ।

अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?

एक वर्षजति भयो अकल्पनीय महँगो सेवा किनेँ, इभी गाडी । गाडी रोडमा कुदाए पनि त्यसको आर्थिक व्यवस्थापनको पाटो चाहिँ दिमागमा कुदिरहने के !

राजनीति

नेपालको राजनीति कस्तो लाग्छ ?

हिजोआज यसबारे कुरा गर्न खास जाँगर छैन । कस्तो लाग्छ भन्दा ‘यस्तै लाग्छ’ भन्न लाग्छ । हामीले हेर्ने त धेरै विगतका भन्दा पनि वर्तमानकै हेर्ने हो नि । विगतकाबाट त सिक्ने हो, सच्याउने हो नि !

हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

हाम्रो राजनीनीति नीति, विचारप्रधान भन्दा पनि व्यक्तिप्रधान छ । नेतृत्वले राजनीतिलाई कता, कसरी लाने भन्ने त हुन्छ नै । हुनुपर्छ पनि । तर, नेतृत्व पनि व्यक्तिप्रधान हुनु समस्या हो । नेतृत्व त विचार, रणनीति र कार्यदिशाप्रधान हुनुपर्ने हो नि, होइन र ? हाम्रो नेतृत्व यसरी व्यक्तिप्रधान हुन्छ कि, कि आफैं देवता हुँ भन्ने घोषणा गर्छ, कि अरूबाट देवत्वकरण गर्ने महोल निर्माणमा लाग्छ ।

नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?

हाम्रा नेताहरू एक त पार्टीका वा कार्यकर्ताका मात्र भए । समाज, नागरिक र देशका हुन सकेका छैनन् । त्यसर्थ, नेता भए तर नेतृत्व हुन सकेन भन्नुपर्ने अवस्था आयो । जिम्मेवार नेतृत्वको विकास गराउन सके, नागरिकका मुद्दामा समर्पित भावना जगाउने र कायम राख्न सके गजब हुन्थ्यो नि !

मनपरेका वा प्रभाव पारेका राजनीतिज्ञ ?

नेता मनपर्ने भन्ने पनि सापेक्ष छ । कुन परिस्थितिमा ? कुन कलखण्डमा ? कुन आन्दोलनमा भन्ने हुने रहेछ । हाम्रा नेताहरू आन्दोलनको समयमा मात्र राम्रा र प्रभावशाली देखिएका छन् । त्यसपछि उनीहरूको त्यो प्रभावशाली गुणले आन्दोलनलाई नै ह्रास पुर्‍याउनेतिर उद्धत भएको विगतका प्रमाणहरू प्रस्टै छन् । त्यसैले पहिला मन परेकाहरू पनि पछि मनपर्नै छाडेको सत्य हो । त्यसैले, कसैको नाम लिइनँ ।

मानौं, तपाईं प्रधानमन्त्री हुनुभयो । सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

कस्तो डरलाग्दो प्रश्न । प्रश्न सुन्दा नै अधिनायकवादी प्रधानमन्त्री जन्मने जस्तो । प्रश्नलाई सकारात्मक भएर हेर्दा यो देश हामी सबैको हो । तर, सबैभन्दा बढी बालबालिकाको हो । उनीहरू वर्तमान पनि हुन् भविष्य पनि । फेरि भविष्यमा पनि त्यसबेलाको वर्तमान हुन्छ, त्यहाँ पनि बालबालिकाहरू हुन्छन् नै ।

त्यसैले बालबालिका देशको केन्द्रमा रहने विधि विधान के गरी मिलाउन सकिन्छ, त्यसको खोजी गर्थें । अनि अर्को भने कृषकहरू सबैभन्दा सम्मानित हुने समाज निर्माणका लागि गरिनु पर्ने जागरण र विधिका उपाय खोज्थेँ ।

त्यसपछि त शिक्षा र सिकाइका पहुँचमा राज्य पूर्ण जिम्मेवार, नागरिक स्वास्थका राज्य जिम्मेवार लगायतका वेलफेयर स्टेट बनाउन पहल गर्थें हुँला । सुन्दा र भन्दा कस्तो आनन्द आउने है ! तर, यो सँधै आनन्द आउन त प्रधानमन्त्री बनेकाले सोच्ने हो लागू गर्ने हो । काल्पनिक प्रधानमन्त्रीले होइन।

सामाजिक सञ्जाल र डिजिटल डिभाइस

कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?

अलि अगाडिको आइफोन ।

दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी कुन एप चलाउनुहुन्छ ?

कम्तिमा एक घण्टा त बिताउँछु । बेलाबेला मोबाइलमा स्क्रिन टाइम हेर्छु, धेरै पनि हुन्छ । उम्… सबैभन्दा बढी चैं सामाजिक सञ्जाल नै । न्यूज साइटहरू पनि हो । अनि आफ्नो कामसँग सम्बन्धित वेबसाइटहरू पनि ।

बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

छ नि ! बिहान के-के न भइसक्यो जस्तो लाग्ने, राति के-के न छुट्यो जस्तो लाग्ने । तर यो बानी कम गर्दै गइरहेछु । आफ्नो समय मोबाइलले लगेजस्तो, सिर्जनाको समय खाइदिए जस्तो लागे पछि सुधार्दै छु ।

सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

धेरै छन् । यसले सूचनासँगै ज्ञान पनि दिन्छ । तर सही सूचना र मिथ्या सूचना छुट्याउन मुस्किल बनाउँछ । ज्ञान र भ्रमलाई एकैठाउँमा घोलिदिन्छ । अधिकतम संवाद गराउँछ । तर, संवादको सत्यता पुष्टि गर्दैन ।

फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई के-कति प्रभाव पार्छ ?

पहिला-पहिला त के कति भन्ने जस्तो लाग्थ्यो । अहिले त्यस्तो लाग्दैन । जतिसुकै होस् भन्ने लाग्छ । म कन्टेन्ट क्रियटर होइन नि, कन्टेन बनाएर बेच्ने नियत भएको भए पो बिक्री कम वा धेरै भयो भनेर सोच्नु । तर विशेष गरी नाटक मञ्चनको समयमा नाटकका प्रचार सामाग्रीमा प्रतिक्रिया कम हुँदा दर्शक हुँदैनन् किन के हो आजको मञ्चनमा भनेजस्तो डिजिटल शंका चाहिँ जन्माउँछ ।

एआई टुलहरू कतिको चलाइरहनु भएको छ ? बढी कुन चलाउनुहुन्छ ?

खास त्यस्तो चलाएको छैन । सुरुमा के रहेछ त यो जिनिस भनेर सिक्न र थाहा पाउन चलाइयो । थाहा पाइसकेपछि यस्तै त रहेछ भन्ने हुँदोरहेछ । अहिले त एआईको डाइमेनसन नै फरक र फराकिलो चाहिँ हुँदै गएको छ । ‘सामान्य जानकारी द्रुत दिन, च्याटजीपीटी नै फुत्त’ टाइप हुन्छ । यस्ता एप्सहरू चाहिँ चलाउदिनँ । वेबमै चलाउँछु, आवश्यक परिहाल्दा । यसमा नै निर्भर हुने भन्दा पनि कामका लागि आफ्नो सहायक बनाउने हिसाबले मात्र चलाउँछु ।

सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?

अहिले त अभिव्यक्ति स्वतन्त्रताभन्दा बढी गलत सूचना छिटो फैलाउनेमा नै अगाडि छ ।

सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

केही हदबाट गरिरहेको चाहिँ छ । तर, दीर्घकालीन रूपमा चाहिँ पुस्तकहरूलाई विस्थापित गर्न सक्दैन भन्ने लाग्छ । एक त पुस्तक पनि डिजिटल माध्यमबाट पढ्न सकिने विकल्पहरू टन्नै छन् । अर्को किताबहरूसँग प्यासन जोडिन्छ, सामाजिक सञ्जालसँग पपुलारिटी जोडिन्छ । अन्ततः दीर्घकालमा त दिगो हुने प्यासन नै हो । त्यसैले, पुस्तकको पूर्णविस्थापन हुनै सक्दैन भन्ने मलाई लाग्छ । अझ केही समयपछि पुस्तकतिरै फर्कौं भन्ने अभियान नै चल्न पनि सक्छ ।

रोचक तथ्य

पुन: जन्म हुने भए अब के बन्न मन छ ?

पुनः जन्म हुने भए चाहिँ के बन्ने भनेर सोच्नै बाँकी छ । एक त पुनः जन्मको कुरा यो जन्मलाई के थाहा ? अहिले यही जन्मलाई सोचौं है !

तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?

तनाव र दबाबका कारण खोज्ने प्रयत्न गर्ने, कारण भनेको समाधान पनि हो । त्यसरी सन्तुलन कायम गर्छु । दबाब सकारात्मक छ भने त्यसलाई कार्यान्यवनको प्रयास गर्ने । नकारात्मक छन् भने टोटल्ली इग्नोर हान्ने । अरू त मानसिक रूपमा धेरै तनाव हुँदा जतिसक्दो बढी सुत्ने प्रयत्न गर्छु ।

तपाईंलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?

फूलको अनि पानी परेपछिको माटोको ।

अहिलेसम्म तपाईंले पाउनुभएको राम्रो सुझाव ?

गर्दैछ, गर्दै जाऊ, गरेपछि राम्रो हुन्छ ।

आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के-के छन् ?

कति छन् कति यो पुस्ताले आउँदो पुस्ता सोचेर गर्नुपर्ने । विकासका पूर्वाधार मात्र ठूलो कुरा होइन मानसिक, सामाजिक, सांस्कृतिक विकासका कार्यहरू झन् महत्वपूर्ण हुन् भन्ने कुरा स्थापित गर्न जरुरी छ ।

दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृङ्खला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं ।
लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?