News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ किनभने यसका सुरुवाती लक्षण प्रायः स्पष्ट देखिँदैनन् र धेरैले थाहा नपाउने गर्छन्।
- २०–३० वर्ष उमेर समूहमा उच्च रक्तचापको समस्या तीव्र रूपमा बढेको छ, जसको मुख्य कारण अस्वस्थ जीवनशैली र तनाव हो।
जिम जाने, फिट देखिने वा दैनिक काममा सक्रिय हुनु मात्रै शरीर पूर्णरूपमा स्वस्थ भएको संकेत होइन । पछिल्ला वर्षहरूमा चुस्त दुरुस्त देखिने २५–३० वर्ष उमेर समूहका युवामा समेत उच्च रक्तचापको समस्या तीव्र रूपमा बढिरहेको विशेषज्ञहरू बताउँछन् ।
दिनभर अफिसमा बसेर काम गर्ने, राति ढिलो सुत्ने, अत्यधिक तनाव लिने, जंक फुड खाने तथा शारीरिक गतिविधि कम हुने बानीले बाहिरबाट स्वस्थ देखिने मानिस पनि उच्च रक्तचापको जोखिममा पर्न सक्छन् ।
अझ धेरै मानिसलाई आफूलाई यस्तो समस्या भएको थाहा नै हुँदैन, किनकि यसको सुरुवाती लक्षण प्रायः स्पष्ट देखिँदैन । यही कारण उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ अर्थात् मौन रोग भनिन्छ ।
समयमै नियन्त्रण गर्न नसकिए यसले मुटु, मस्तिष्क, मिर्गौला र रक्तनलीमा गम्भीर असर पुर्याउन सक्छ । हृदयघात र मस्तिष्क घातजस्ता जटिल समस्याको जोखिम पनि बढ्न सक्छ ।
त्यसैले, अहिले बेलैमा नियमित रक्तचाप जाँच गर्न चिकित्सकहरूले सुझाव दिइरहेका छन् ।
नियमित स्वास्थ्य परीक्षण र रक्तचाप जाँचले भविष्यका गम्भीर जोखिम समयमै पत्ता लगाउन मद्दत गर्ने इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. अशोक पौडेल बताउँछन् ।
प्रस्तुत छ, यसै सेरोफेरोमा रहेर कार्डियोलोजिस्ट डा. पौडेल गरिएको महत्वपूर्ण प्रश्नोत्तर:
१. उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ किन भनिन्छ ?
उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भन्नुको मुख्य कारण सुरुवाती चरणमा यसका स्पष्ट लक्षण नदेखिनु हो । धेरै मानिस वर्षौंसम्म आफूलाई पूर्ण रूपमा स्वस्थ ठानिरहेका हुन्छन्, तर शरीरभित्र भने रक्तनली र महत्वपूर्ण अंगहरूमा बिस्तारै असर भइरहेको हुनसक्छ । धेरैजसो अवस्थामा टाउको दुख्ने, चक्कर लाग्ने वा छाती भारी हुनेजस्ता संकेत पनि देखिँदैनन् ।
यही कारण धेरैजसो बिरामीमा पहिलोपटक हार्ट अट्याक, स्ट्रोक वा अन्य गम्भीर समस्या भएपछि मात्र उच्च रक्तचाप भएको पत्ता लाग्ने गर्छ । नियमित जाँच नगर्ने हो भने यो समस्या लामो समयसम्म चुपचाप बढिरहन सक्छ । त्यसैले, अहिले उमेर कम भए पनि समय–समयमा रक्तचाप जाँच गर्नु अत्यन्त आवश्यक छ ।
२. विलासी जीवन, शारीरिक निस्क्रियतालाई यसको कारक मानिन्छ तरजिम जाने, फिट देखिने र दैनिक काममा सक्रिय मानिस पनि उच्च रक्तचापको जोखिममा परिरहेको पनि सुनिन्छ नि ?
बाहिरी रूपमा फिट देखिनु मात्रै शरीर पूर्ण रूपमा स्वस्थ छ भन्ने ग्यारेन्टी होइन । अहिले धेरै युवा जिम जाने, फिट देखिने वा मोटोपन नदेखिएकै कारण आफू सुरक्षित छु भन्ने सोच्ने गर्छन् । तर, वास्तविकता फरक हुन सक्छ ।
यसको मुख्य कारण बाहिरी फिटनेसले मात्र शरीरभित्रको वास्तविक स्वास्थ्य अवस्थालाई पूर्णरूपमा प्रतिनिधित्व नगर्नु हो । धेरै मानिस बाहिरबाट स्वस्थ र फिट देखिए पनि उनीहरूको जीवनशैलीभित्र जोखिमहरू लुकेका हुन्छन् ।
लगातार तनावमा रहने, पर्याप्त निद्राको कमी, धूम्रपान तथा मदिरा सेवन, अत्यधिक नुन र जंक फुडको प्रयोग जस्ता बानीहरूले बिस्तारै रक्तचाप बढाउन सक्छन् ।
त्यस्तै, शरीरले थेग्न नसक्ने खालको कसरत, जिम गर्ने बानीले अत्यधिक भार उठाउँदा, गलत तरिकाले ट्रेनिङ गर्दा र शरीरमा लगातार स्ट्रेस बढाउँदा अस्थायी रूपमा रक्तचाप बढाएर दीर्घकालमा हाइपरटेन्सनको जोखिम बढाउन सक्छ ।
यी कारणले रक्तनलीहरूलाई असर पार्दै मुटुमा अतिरिक्त दबाब सिर्जना गर्छन्, जसले गर्दा व्यक्ति फिट देखिए पनि भित्रभित्रै उच्च रक्तचाप विकास हुन सक्छ ।
साथै, वंशाणुगत कारण पनि महत्वपूर्ण हुन्छ, जसले जीवनशैली राम्रो भए पनि केही व्यक्तिमा उच्च रक्तचापको जोखिम बढाउन सक्छ । धेरै मानिसमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानी नहुँदा समस्या ढिलो पत्ता लाग्ने गर्छ र जटिलता बढ्छ।
त्यसैले, बाहिरी रूपमा फिट देखिनुले मात्रै नपुग्ने हुँदा नियमित रक्तचाप जाँच गर्नुपर्ने आवश्यकता चिकित्सकहरूले औंल्याइरहेका छन् ।
३. पहिले वृद्धहरूको रोग मानिने उच्च रक्तचाप अहिले युवापुस्तामा तीव्र रूपमा बढ्नुको कारण के हो ?
पहिले उच्च रक्तचापलाई मुख्यतः वृद्ध उमेरसँग जोडेर हेरिन्थ्यो । तर अहिले २०–३० वर्ष उमेर समूहमा पनि यसको जोखिम उल्लेखनीय रूपमा बढिरहेको छ । यसको मुख्य कारण अस्वस्थ जीवनशैली हो ।
युवाहरूमा राति अबेरसम्म जागा बस्ने, मोबाइल तथा ल्यापटप अगाडि लामो समय बिताउने, शारीरिक गतिविधि कम हुने र जंक फुडको अत्यधिक सेवन गर्ने बानी बढेको छ । प्रतिस्पर्धात्मक जीवनशैलीका कारण मानसिक तनाव पनि बढिरहेको छ ।
यी सबै कारणले शरीरको हार्मोन सन्तुलन र रक्तसञ्चार प्रणालीमा असर पुग्छ । अहिले धेरै युवामा नियमित स्वास्थ्य परीक्षण गर्ने बानी नभएकाले समस्या ढिलो पत्ता लाग्ने गरेको चिकित्सकहरू बताउँछन् ।
४. अनियन्त्रित उच्च रक्तचापले मुटुलाई कति गम्भीर रूपमा प्रभावित गर्न सक्छ ?
उच्च रक्तचापले सबैभन्दा बढी असर मुटुमा पार्छ । जब रक्तनलीमा दबाब लगातार बढी रहन्छ, मुटुले रगत पम्प गर्न सामान्यभन्दा बढी मेहनत गर्नुपर्छ । यसले मुटुको मांसपेशी बिस्तारै कमजोर बनाउँदै लैजान्छ ।
लामो समयसम्म रक्तचाप नियन्त्रणमा नरहेमा हृदयघात, हार्ट फेलियर तथा मुटुको धड्कन अनियमित हुने जोखिम बढ्छ । कतिपय अवस्थामा मुटुको रक्तनली साँघुरो भएर रगतको प्रवाहमै समस्या आउन सक्छ ।
धेरै बिरामीमा पहिलोपटक छाती दुख्ने वा हृदयाघात भएपछि मात्र उच्च रक्तचापको समस्या पत्ता लाग्ने गरेको छ । त्यसैले, समयमै नियन्त्रण गर्नु अत्यन्त आवश्यक मानिन्छ ।
५. उच्च रक्तचापले मस्तिष्कमा कस्तो असर पुर्याउँछ ? यो कसरी मस्तिष्कघातको कारक बन्न सक्छ ?
उच्च रक्तचापले मस्तिष्कमा गम्भीर असर पुर्याउन सक्छ । लगातार बढेको रक्तचापले मस्तिष्कका साना रक्तनली कमजोर बनाउँछ । यसले स्ट्रोक, ब्रेन हेमरेज तथा स्मरणशक्ति कमजोर हुने जोखिम बढाउँछ ।
कतिपय अवस्थामा रक्तनली फुट्ने वा रगत जम्ने समस्या हुन सक्छ, जसले ज्यानसमेत जोखिममा पार्न सक्छ । उच्च रक्तचाप नियन्त्रणमा नराख्ने धेरै बिरामीमा पछि गएर स्ट्रोकको समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् ।
विशेषगरी धूम्रपान, मधुमेह र कोलेस्ट्रोलको समस्या भएका व्यक्तिमा जोखिम अझ बढी हुन्छ । त्यसैले नियमित बीपी जाँच र जीवनशैली सुधारले मस्तिष्कलाई पनि सुरक्षित राख्न मद्दत गर्छ ।
६. कस्ता संकेत देखिँदा मानिसले तत्काल रक्तचाप जाँच गर्नुपर्ने हुन्छ ?
धेरैजसो अवस्थामा उच्च रक्तचापमा स्पष्ट लक्षण नदेखिए पनि केही संकेतलाई बेवास्ता गर्नु हुँदैन ।
लगातार टाउको दुख्ने, चक्कर लाग्ने, छाती भारी हुने, अत्यधिक थकान, सास फेर्न गाह्रो हुने, आँखामा धमिलो देखिने वा मुटुको धड्कन असामान्य महसुस हुने समस्या देखिएमा तुरुन्त जाँच गराउनुपर्छ ।
कतिपय व्यक्तिमा नाकबाट रगत आउने वा बेचैनी बढ्ने समस्या पनि हुन सक्छ । यस्ता संकेतलाई सामान्य थकान भनेर बेवास्ता गर्दा पछि गम्भीर जटिलता निम्तिन सक्छ ।
विशेषगरी परिवारमा उच्च रक्तचापको इतिहास भएका व्यक्तिले अझ बढी सचेत रहनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
७. अहिले कम उमेरमै अचानक हृदयघात वा मृत्यु भएका घटना बढ्दो सुनिन्छन् । के यसको पछाडि अनियन्त्रित उच्च रक्तचाप पनि एउटा कारण हो ?
पक्कै पनि । समस्या के हो भने, धेरै मानिसलाई आफूलाई उच्च रक्तचापको समस्या छ भन्ने थाहा नै हुँदैन । बाहिरबाट फिट देखिने, जिम जाने वा दैनिक काम गरिरहेका व्यक्तिमा पनि रक्तचाप भित्रभित्रै बढिरहेको हुन सक्छ ।
लगातार तनाव, राति ढिलो सुत्ने, पर्याप्त आराम नपुग्ने, धूम्रपान, मदिरा सेवन, जंक फुड र शारीरिक गतिविधिको कमीले मुटु र रक्तनलीमा दबाब बढाइरहेको हुन्छ । जब रक्तचाप लामो समयसम्म नियन्त्रणमा रहँदैन, त्यसले मुटु, मस्तिष्क र रक्तनलीलाई बिस्तारै कमजोर बनाउँछ । कतिपय अवस्थामा मानिसलाई कुनै लक्षण नै नदेखिई अचानक हार्ट अट्याक वा स्ट्रोक हुन सक्छ ।
विशेषगरी परिवारमा मुटु रोग वा उच्च रक्तचापको इतिहास भएका व्यक्तिले अझ बढी सचेत हुनुपर्छ । त्यसैले, अहिले उमेर कम छ भनेर ढुक्क नहुने, नियमित रक्तचाप जाँच गर्ने र स्वस्थ जीवनशैली अपनाउने बानी अत्यन्त आवश्यक भइसकेको छ ।
८. कम उमेरदेखि भन्नाले कहिलेबाट नियमित रक्तचाप जाँच गर्न सुझाइन्छ ?
२०–२५ वर्षको उमेरपछि पनि समय–समयमा रक्तचाप जाँच गर्ने बानी बसाल्नु राम्रो मानिन्छ । यदि परिवारमा उच्च रक्तचाप, मधुमेह वा मुटुसम्बन्धी समस्या छ भने अझ कम उमेरदेखि नै नियमित जाँच गर्नुपर्छ ।
सामान्य व्यक्तिले वर्षमा कम्तीमा एकपटक बीपी जाँच गर्नुपर्छ भने जोखिम समूहका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार अझ नियमित जाँच गर्न आवश्यक हुन्छ ।
यदि पहिले नै उच्च रक्तचापको समस्या छ भने घरमै डिजिटल बीपी मेसिन प्रयोग गरेर पनि निगरानी गर्न सकिन्छ । समयमै पत्ता लगाएर नियन्त्रण गर्न सकियो भने उच्च रक्तचापका कारण हुने धेरै गम्भीर समस्या रोक्न सकिन्छ ।
९. दैनिक जीवनशैलीमा कस्ता परिवर्तन गर्दा उच्च रक्तचापबाट बच्न सकिन्छ ?
उच्च रक्तचापबाट बच्न जीवनशैली सुधार सबैभन्दा प्रभावकारी उपाय हो । नियमित व्यायाम, सन्तुलित खानपान, पर्याप्त निद्रा र तनाव नियन्त्रण अत्यन्त आवश्यक हुन्छ ।
नुनको मात्रा कम गर्ने, हरियो सागसब्जी र फलफूल बढी खाने तथा प्रशोधित खाना कम सेवन गर्ने बानीले रक्तचाप नियन्त्रणमा मद्दत गर्छ । धूम्रपान र मदिरा सेवनबाट टाढा रहनु पनि महत्त्वपूर्ण छ ।
साथै, दिनभर लामो समय बसिरहनुभन्दा केही समय हिँड्ने वा शारीरिक गतिविधि गर्ने बानी बसाल्नुपर्छ । नियमित स्वास्थ्य परीक्षणले पनि समस्या सुरुवाती चरणमै पत्ता लगाउन सहयोग गर्छ ।
प्रतिक्रिया 4