News Summary
Generated by OK AI. Editorially reviewed.- ५१ वर्षीय शिव महर्जनलाई मस्तिष्कमृत्यु भएका व्यक्तिको अंग दान भएर कलेजो र मिर्गौला प्रत्यारोपण भयो।
५१ वर्षीय शिव महर्जन २०८२ जेठ १ गते बिहानै ललितपुरको मेडिसिटी अस्पतालमा डायलासिस गराइरहेका थिए । उनको मिर्गौलाले पूरै काम गर्न छाडेको केही महिना भएको थियो । त्यसपछि डायलासिसको भरमा जीवन घिसारिरहेका थिए । मिर्गौला मात्रै होइन उनको कलेजो पनि खराब थियो । झन् कलेजो बिग्रिएको त धेरै वर्ष भइसकेको थियो । जतिसक्यो छिटै दुवै अंग प्रत्यारोपण नगरे उनको जीवन के हुन्थ्यो टुंगो थिएन ।
त्यसदिन बिहान ७ बजेबाट उनको डायलासिस सुरु भएको थियो । करिब ९ तिर त्यसै अस्पतालका एक डाक्टरको फोन आयो । फोनमा शिवले जे कुरा सुने, त्यो उनलाई यसै धर्तीमा पुनर्जन्म दिने संयोग थियो । उनलाई बाँच्नका लागि जे कुरा चाहिएको थियो, त्यही प्राप्त हुँदै थियो ।
कलेजो हुँदै मिर्गौलासम्म खराब
शिव मर्हजनलाई लाग्थ्यो सरकारी अस्पतालमा भिडभाड, अस्तव्यस्तासँगै सेवा पनि राम्रो हुँदैन । त्यसैले उनी सामान्य बिरामी हुँदा पनि निजी अस्पताल नै जान्थे । हेटौंडामा पेट्रोल पम्प व्यवसाय गर्दै आएका उनको कमाइ राम्रै थियो । यही कारणले सरकारी अस्पताल नै धाउनुपर्ने बाध्यता पनि थिएन ।
कोरोना महामारी सुरु हुनुभन्दा केही समय पहिला उनलाई कलेजो सिरोसिसको समस्या देखियो । मेडिसिटी अस्पतालमा आएर उपचार सुरु गरे । बिग्रिसकेको कलेजो थप बिग्रिन नदिन उपचार चलिरह्यो तर पूरा निको हुने अवस्था थिएन । कलेजो प्रत्यारोपण मात्रै विकल्प थियो ।

कसरी प्रत्यारोपण गर्ने, कसबाट लिने, कहाँ गएर प्रत्यारोपण गर्ने यस्तै छलफल र तयारी हुँदै थियो । यही अस्वथामा अर्को जटिल समस्या आइलाग्यो ।
२०७९ असोजमा फलोअप उपचारका क्रममा जाँच गर्दा मिर्गौला पनि खराब भएको पत्ता लाग्यो । यसले थप समस्या निम्त्यायो । अब मिर्गौला थप बिग्रिन नदिनका लागि समेत उपचार सुरु भयो ।
प्रत्यारोपणका लागि विकल्पको खोजी पनि भइरह्यो । एउटै अंग दिने दाता नपाएको अवस्था थियो । अब दुईवटा अंग पाएर प्रत्यारोपण गर्नुपर्ने भयो । समस्या निकै जटिल थियो । उनी उता पो केही उपाय लाग्छ कि भनेर भारतको मेदान्त अस्पताल पनि पुगे ।
त्यहाँ पनि सोचे जस्तो हुने देखिएन । यताउता भौतारिँदा, भौतारिँदै समय बित्यो । अंग दिन्छु भन्ने आफन्तको म्याच नहुने, म्याच हुनेको विभिन्न समस्या देखिएर निकाल्न नमिल्ने; यस्तै समस्या भइरह्यो । ६०–७० लाख पैसा खर्च भइसकेको थियो ।
२०८१ को पुस-माघ महिनातिर भएपछि त मिर्गौलाले पूरै काम गर्न छाडिसकेको थियो । डायलासिस नै सुरु गर्नुपर्यो ।

यसैबीच उनका एक दाइ नाता पर्नेले भक्तपुरमा रहेको शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबारे सुनाए । उनको पनि त्यहीँ मिर्गौला प्रत्यारोपण भएको थियो ।
नेपालको त्यो पनि सरकारी अस्पताल, शिवलाई खासै विश्वास त थिएन । तैपनि एक पटक गइहेरौं भनेर उनी भक्तपुर पुगे ।
त्यहाँ प्रत्यारोपण सर्जन डा.पुकार चन्द्र श्रेष्ठलाई भेटेर कुरा गरेपछि उनको मनमा निकै आशा पलायो ।
अस्पतालका तत्कालीन कार्यकारी निर्देशक समेत रहेका डा.पुकारले राम्रो ढाडस दिए । ‘अंग पाए हामी एकै पटक दुवै प्रत्यारोपण गर्न सक्छौँ’ भन्ने विश्वास दिलाए । आफन्तबाट अंग नपाए दुई परिवारबीच अंग साटासाटाको विकल्प रहेको पनि सुनाए । अन्तिम विकल्पको रुपमा मस्तिष्कमृत्यु भएका व्यक्तिको अंग पाउने सम्भावनाका बारेमा पनि जानकारी दिए ।
त्यसपछि मनमा केही आशा बोकेर शिव फर्किए । समस्या निकै जटिल थियो तैपनि उनले हरेस खाएका थिएनन् ।
मिर्गौलाको समस्यामा त डायलासिस गरेर जीवन लम्ब्याउन सकिन्थ्यो तर कलेजोको विकल्प थिएन । कलेजो मात्रै भए पनि प्रत्यारोपण गर्ने तयारी भइरहेको थियो । अंगदानका लागि आफन्तहरूको परीक्षण भइरहेको थियो । एक आफन्तको मिल्ने जस्तो देखियो उनी दिन पनि तयार थिए । थप परीक्षण हुँदै थियो । तर त्यो हुनु भन्दा अगाडि नै उनलाई परिस्थितिले सहज बनाइदियो ।
नयाँ जीवन दिने त्यो फोन
डायलासिस गर्दै गर्दा उनलाई जुन फोन आएको थियो, त्यसले उनको खडा भइरहेको ठूलो संकट पार लाग्ने संकेत देखियो । जीवन–मरणको दोसाँधमा उभिएको जिन्दगीमा नयाँ पालुवा पलाउने आशा जगायो ।
मनमा यस्तो खुसीको सञ्चार भयो कि, रगत शुद्ध बनाउन लागि मेसिनदेखि शरीरसम्म जोडिएका पाइपहरू तत्काल निकालेर फाली दगुरिहालौँ जस्तो।
डायलासिस सक्किनेबित्तिकै उनी फोन गर्ने डाक्टरको कार्यकक्षमा पुगे । काठमाडौं मेडिकल कलेज अस्पतालमा मस्तिष्कमृत्यु भएका व्यक्तिको अंग दान गर्ने निर्णय उनका परिवारले गरेका रहेछन् । प्रतीक्षाको सूचीमा रहेका बिरामीमध्ये शिवलाई त्यो मिल्ने देखियो ।

दुवै अंग एकैपटक प्रत्यारोपण हुने भयो । तत्काल प्रत्यारोपणको तयारी गर्न भनेर फोन आएको थियो । ती डाक्टरबाट यति सुनेपछि शिव सिनामंगल हानिए । त्यसपछि राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर पुगे । दुई अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीका साथै शिवको परिवार र आफन्तहरू सबै तयारीमा जुटे ।
त्यसदिन साँझबाट शल्यक्रिया सुरुभयो । काठमाडौं मेडिकल कलेज अस्पतालको टोली र राष्ट्रिय प्रत्यारोपण केन्द्रको टोली लगातार ३६ घण्टा खटियो । कलेजो रमिर्गौला दुवै अंगको सफल प्रत्यारोपण भयो– सुरुमा कलेजो त्यसपछि मिर्गौला ।
सोच्दै नसोचेको खुसी
प्रत्यारोपण भएको १० दिनपछि अस्पतालले पत्रकार सम्मेलन आयोजना गरेको थियो । स्वास्थ्यलाभ गर्दै गरेका महर्जन आईसीयूकक्षबाटै सकिनसकी दबिएको स्वरमा केही बोलिरहेका थिए । १९ दिनपछि उनी डिस्चार्ज भए ।
दुईवटा अंग प्रत्यारोपण गरेको मान्छे उनको बाँकी जीवन के सहज होला र ? शिवका आफन्त र उनलाई चिनेजानेकाहरूको मनमा यही सन्देह थियो । तर एक वर्षपछि हेर्दा शिव ‘फिट एण्ड फाइन’ देखिन्छन् । भरिलो शरीर, हसमुख अनुहार र पूर्ण तन्दुरुस्त ।

प्रत्यारोपण गरेको एक वर्ष पुगेको दिन २०८३ जेठ १ गते शिव उक्त अप्रेसनको नेतृत्व गर्ने डा.पुकारचन्द्र श्रेष्ठकहाँ टुप्लुक्क झुल्किए । नयाँ जीवनको खुसी साट्न उनी परिवारसहित हेटौँडाबाट काठमाडौं आएको थिए । सरकारी सेवाबाट अवकास पाइसकेका डा.पुकारलाई भेटेर उनले खुसी साटे ।
बोनस जिन्दगी
अहिलको आफूलाई देख्दा शिवलाई बेला–बेला विश्वासै गर्न गाह्रो हुन्छ । ‘बिरामी हुनुभन्दा पहिलो जस्तो अवस्थामा थिएँ अहिले त्यस्तै जीवन बाँच्न पाएको छु’ शिव भन्छन्, मैले त यो सोचेकै थिइनँ ।’
पानी खान हुँदैनथ्यो । जे गर्दा पनि थकाइ लागिहाल्थ्यो । अलिकति हिँड्न पनि नसक्ने, भर्याङ चढ्न पनि गाह्रो हुने अवस्था थियो। अस्पताल धाउँदाको हैरान । अनेक औषधि र इन्जेक्सनको भरमा चलेको थियो जीवन।
एउटा मात्रै होइन दुईवटै अंग बिग्रिएको, दुईवटा अंग दानमा पाउँन कठिन थियो । त्यसमाथि प्रत्यारोपण पनि सफल हुनुपर्यो । फेरि पहिले जस्तो जीवन पाउने आशा कमै थियो उनलाई ।
‘अब त म धेरै समय बाँच्दिन होला भनेर सोच्थेँ’ उनी ती दिन सम्झिन्छन्, ‘कतैबाट अंग पाइन्छ होला, म ठिक हुन्छ होला भनेर फेरि हिम्मत आउँथ्यो ।’
नेपालमा यो खालको जटिल शल्यक्रिया पहिलो पटक भएको हो । यस्तो अप्रेसन विकसित देशमा समेत कमै हुने डा.पुकार बताउँछन् ।
नेपाल जस्तो देशमा यो खालको अप्रेसन सफल हुनु अनि बिरामी एक वर्षपछि तन्दुरुस्त भएर आफूलाई भेट्न आउनु जिन्दगीकै सबैभन्दा खुसीको क्षण भएको उनी सुनाउँछन् ।
नेपालको स्वास्थ्य क्षेत्रका लागि यो निकै प्रेरणादायी क्षण रहेको डा.पुकार बताउँछन् । ‘शिवको यो अवस्था देख्दा नेपालको चिकित्सा क्षेत्रले धेरै प्रगति गरेको भन्न सकिन्छ’ डा.पुकार भन्छन्, ‘उहाँले नेपालको अस्पताल र डाक्टरलाई विश्वास गर्नुभयो, त्यही कारण हामीले पनि काम देखाउन पायौँ ।’
शिवले विश्वास गर्नु र आफूहरुले जोखिम मोल्न तयार भएकै कारण यो सफलता भएको उनको भनाइ छ ।
मस्तिष्कमृत्युबाट पाएको अंग लिएर दुवै एकै पटक प्रत्यारोपण गरेको कुरा थाहा पाउँदा विभिन्न देशका चिकित्सकले समेत नेपालको प्रशंसा गरेको उनले सुनाए ।
नेपालमा जानकारीको कमीका कारण मस्तिष्कमृत्यु पछि अंगदान पाउन निकै कठिन छ । यस्तो अवस्थामा जसले मृत्युपछि अंगदान गरी अर्काे व्यक्तिलाई नयाँ जीवन दिए त्यो परिवारप्रति जति आभार प्रकट गरे पनि कम हुने डा.पुकार बताउँछन् ।
संसार छाडेका आफ्ना व्यक्तिको अंगदान गरी उक्त परिवारले आफूलाई नयाँ जीवन बोनसमा दिएकोमा शिव विशेष आभार प्रकट गर्छन् ।
‘त्यो अंग नपाएको भए अहिलेसम्म मेरो के हुन्थ्यो थाहा छैन’ शिव भन्छन्, ‘उनले संसार छाडे पनि मलाई नयाँ जीवन दिए, अहिलेको मेरो जीवन भनेको उहाँहरूले बोनसमा दिएको भन्दा पनि हुन्छ ।’
प्रतिक्रिया 4