+

एसईईसी पछि आयुर्वेद पढाइ : छिटो रोगजारीका लागि एक विकल्प

२०८३ जेठ  ६ गते १६:४२ २०८३ जेठ ६ गते १६:४२
Shares
एसईईसी पछि आयुर्वेद पढाइ : छिटो रोगजारीका लागि एक विकल्प

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसईई पास गरेपछि विद्यार्थीहरूले सीटीईभीटी अन्तर्गतको तीन वर्षे आयुर्वेद हेल्थ असिस्टेन्ट (एएचए) कोर्स गर्न सक्नेछन्।
  • एएचए कोर्सले आयुर्वेद उपचार, प्राथमिक स्वास्थ्य सेवा, जडीबुटी ज्ञान र योग थेरापी सम्बन्धी व्यावहारिक शिक्षा प्रदान गर्दछ।

एसईई पास गरेपछि धेरै विद्यार्थीहरू प्लटु पढ्छन् । चिकित्सा तथा इन्जिलियरिङ क्षेत्रमा लाग्ने चाहना भएकाहरू विज्ञान विषय पढ्छन् । कोही व्यवस्थापन, कोही मानविकी तथा कोही शिक्षा शास्त्रतिर लाग्छन् ।

एसईई पछि सिटिभिटी अन्तर्गतको आयुर्वेद चिकित्सा पनि एक उत्तम र भविष्यप्रति भरपर्दो विकल्प हो । यदि प्राकृतिक स्वास्थ्य, जडीबुटी, समग्र स्वास्थ्य र नेपाली तथा भारतीय परम्परागत चिकित्सा ज्ञानमा रुचि छ भने यो धेरै राम्रो विकल्प हो ।

सीटीईभीटी अन्तर्गतको आयुर्वेद (आयुर्वेद तथा सामान्य चिकित्सा विषयमा प्रमाणपत्र तह वा आयुर्वेद स्वास्थ्य विज्ञान डिप्लोमा) ले पनि एकदमै राम्रो र व्यावहारिक बाटो प्रदान गर्दछ ।

यो तीन वर्षे कोर्स हो जसलाई आयुर्वेदिक हेल्थ असिस्टेन्ट (एएचए) अर्थात् आयुर्वेदिक स्वास्थ्य सहायकको रूपमा पनि चिनिन्छ । यो कार्यक्रमले एसईई पास गरेका विद्यार्थीहरूलाई छिट्टै स्वास्थ्य क्षेत्रमा प्रवेश गर्न मद्दत गर्दछ र आयुर्वेदको ज्ञानसँगै आधुनिक स्वास्थ्य सेवाको आधारभूत सीप पनि सिकाउँछ ।

नेपालमा पछिल्लो समय आयुर्वेद, योगा, थेरापी र प्रकृतिक उपचारप्रती मानिसहरूको आकर्षण बढ्दो छ । आधुनिक चिकित्सा सेवासँगै आयुर्वेदलाई पनि स्वास्थ्यसेवाको महत्वपूर्ण आधारको रूपमा लिने गरिएको छ । यही आवश्यकता तथा महत्वलाई बुझेर सीटीईभीटी अन्तरर्गत पीसीसी इन आयुर्वेदा एण्ड जनरल मेडिसिन एएचए कार्यक्रम सुरु गरेको हो ।

एएचए कोर्स के हो ?

आयुर्वेदा हेल्थ असिस्टेन्ट कार्यक्रम सिटिभिटी अन्तर्गत सम्बन्धन प्राप्त गरी सञ्चालित ३ वर्षे शैक्षिक कार्यक्रम हो । एसईई पछि अध्ययन गर्न सकिने यस कार्यक्रम नर्सिङ, फार्मेसी, सामान्य चिकित्सा जस्तै स्वास्थ्य अन्तरर्गत रहेको छ । जहाँ आयुर्वेद उपचार पद्धति, प्राथमिक स्वास्थ्य सेवा, जडिबुटी सम्बन्धी ज्ञान तथा त्यसको उचित प्रयोगबारे अध्ययन गराइन्छ । साथै रोगको पहिचान, स्वास्थ्य शिक्षा, सामुदायिक शिक्षा, योग, ध्यान, प्राणायाम र विभिन्न योग थेरापी सम्बन्धी सिपहरु र साथै औषधि निर्माण सम्बन्धी ज्ञान पनि दिइन्छ ।

आवश्यक पर्ने न्युनतम योग्यता

यो कोर्स पढ्नका लागि एसईईमा न्यूनतम जीपीए २.० (गणित, अंग्रेजी र विज्ञानमा कम्तीमा ‘सी’ श्रेणी) भएपछि प्रवेश परीक्षा दिएर भर्ना हुन सकिन्छ।

नेपालमा यस सम्बन्धी पढाइ हुने सम्बन्धन प्राप्त कलेजहरू १३ वटा छन् । बागमती प्रदेश अन्तर्गत ४ वटा कलेज छन् । अहिले सिटिभिटीले छात्रवृत्ति तथा शुल्क तिरेर पढ्नका लागि भर्ना फारम खुलएको छ ।

किन पढ्ने यो कोर्स ?

यो कोर्स पढ्नुको सबैभन्दा ठूलो फाइदा भनेको छिटो करियर सुरु गर्न सकिने कुरा हो । बीएएमएस जस्तो पाँच वर्षभन्दा लामो कोर्समा समय र पैसा खर्च गर्न नसक्ने विद्यार्थीहरूका लागि यो उपयुक्त छ ।

तीन वर्षमै कोर्स पूरा भएपछि आयुर्वेदिक स्वास्थ्य सहायकको रूपमा काम गर्न योग्य भइन्छ । यसले प्राथमिक स्वास्थ्य सेवामा काम गर्ने अवसर दिन्छ जसमा जडीबुटीमा आधारित उपचार, रोग निदान, पञ्चकर्म, स्वास्थ्य शिक्षा र समुदाय स्तरका स्वास्थ्य कार्यक्रमहरू समावेश छन् । नेपालमा आयुर्वेदलाई सरकारले पनि प्राथमिकता दिइरहेको छ, त्यसैले यो क्षेत्रमा सरकारी जागिरको राम्रो सम्भावना छ ।

सीटीईभीटीको आयुर्वेद कोर्सले सरकारी जागिरका लागि बलियो आधार तयार पार्छ । कोर्स पूरा गरेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) मा दर्ता गर्न सकिन्छ र लोक सेवा आयोगको परीक्षामा राजपत्र अनङ्कित प्रथम श्रेणी (पाँचौँ तह) को आयुर्वेदिक पदमा आवेदन दिन सकिन्छ ।

स्वास्थ्य चौकी, आयुर्वेद अस्पताल, सिंहदरबार वैद्यखाना जस्ता संस्थाहरूमा काम गर्ने अवसर प्राप्त हुनु सक्छ । साथै निजी क्लिनिक वा आफ्नै औषधालय खोलेर पनि सेवा दिन सकिन्छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवाको ठूलो आवश्यकता भएकाले यो कोर्स पढेका व्यक्तिहरूको माग बढ्दो छ ।

यो कोर्सको अर्को महत्वपूर्ण पक्ष भनेको व्यावहारिक र समग्र शिक्षा हो । यसमा आयुर्वेदका परम्परागत विषयहरू जस्तै द्रव्यगुण, रसशास्त्र, संस्कृत, जडीबुटी पहिचान र उपचारका साथै आधुनिक सामान्य चिकित्सा, शरीर रचना विज्ञान र शरीर क्रिया विज्ञान जस्ता विषयहरू पनि समावेश छन् ।

तेस्रो वर्षमा अस्पतालमा इन्टर्नसिप र कार्यस्थल अभ्यास तालिम (ओजेटी) हुन्छ, जसले विद्यार्थीलाई वास्तविक अनुभव दिन्छ । यदि प्रकृति, जडीबुटी, प्राकृतिक उपचार र मानिसलाई सेवा गर्ने भावना छ भने यो कोर्सले ठूलो सन्तुष्टि दिन सक्छ ।

खर्चको हिसाबले सरकारी तथा सामुदायिक कलेजहरूमा शुल्क पनि तुलनात्मक रूपमा कम छ । छात्रवृत्तिको पनि व्यवस्था हुन्छ । कोर्सपछि थप अध्ययन गर्न चाहे बीएएमएसमा समकक्षीय प्रवेशमार्फत भर्ना हुन सकिन्छ ।

नेपाल सरकारले आयुर्वेद स्वास्थ्य सेवा , जडिबुटी, नागरिक आरोग्य, योग र पञ्चकर्मलाई प्राथमिक्तामा राखेको छ । नेपालको ७५३ स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना गर्न दरबन्दी खुलाउने योजना पनि बनाएको छ । त्यसैले यस सम्बन्धी दक्ष व्यक्तिको माग उच्च हुने देखिन्छ ।

समग्र रूपमा भन्नुपर्दा, एसईईपछि सीटीईभीटी आयुर्वेद पढ्नु भनेको छिटो, सस्तो र व्यावहारिक स्वास्थ्य करियरको बाटो हो ।

आयुर्वेद आयुर्वेद शिक्षा
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय