+
फिफा विश्वकप २०२६ :

फिफा विश्वकप ‘प्लेयर्स टु वाच’ : लामिन यमाल

२०८३ जेठ  ६ गते २०:५७ २०८३ जेठ ६ गते २०:५७

आफ्नो सिनियर अन्तर्राष्ट्रिय डेब्यू गरेको एक वर्षभन्दा कम समय नबित्दै युइएफए युरो २०२४ को उपाधि जितेका बार्सिलोनाका स्टार खेलाडी पहिलो पटक विश्वव्यापी प्रदर्शनमा सहभागी हुन तयार छन् ।

फिफा विश्वकप ‘प्लेयर्स टु वाच’ : लामिन यमाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १८ वर्षीय स्पेनी फुटबलर लामिन यमालले आफ्नो करिअरमा ६ उपाधि जितिसकेका छन् र स्पेनको राष्ट्रिय टोली रोजेका छन्।
  • यमालले १६ वर्ष ५७ दिनको उमेरमा स्पेनको राष्ट्रिय टोलीबाट डेब्यु गर्दै सबैभन्दा कम उमेरमा गोल गर्ने रेकर्ड बनाएका छन्।
  • उनले २०२४–२५ सिजनमा बार्सिलोनाका लागि १८ गोल र २५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् र फिफा विश्वकप २०२६ मा खेल्नेछन्।

६ जेठ, काठमाडौं । नवोदित खेलाडीको अग्रपंक्तिमा रहने खेलाडी हुन्, १८ वर्षीय स्पेनी स्टाइकर लामिन यमाल । आफ्नो करिअरको सुरुआती चरणमै यमालले छ वटा उपाधि जितिसकेका छन् । तीमध्ये पाँच उपाधि उनले आफ्नो बाल्यकालदेखिको क्लबबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् ।

यमालले पहिलो पटक २०२२–२३ सिजनमा ला लिगा उपाधि जिते । त्यसपछि उनले स्पेनको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीमा आयोजित युरोपियन च्याम्पियनसिप जित्न महत्वपूर्ण योगदान दिए । जहाँ स्पेनले चौथोपटक युरोपको उपाधि उचालेको थियो ।

गत सिजन उनले बार्सिलोनाबाट स्पेनिस सुपर कप, कोपा डेल रे र ला लिगा गरी थप तीन उपाधि जिते । अहिलेको सिजनमा पनि उनले दोस्रो स्पेनिस सुपर कप जितिसकेका छन् । जनवरीमा साउदी अरेबियामा भएको फाइनलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै उपाधि जितेको थियो ।

स्पेनको भावी सुपरस्टारका रूपमा हेरिएका यमाल अहिले विश्व फुटबलकै सबैभन्दा चर्चित युवा खेलाडीमध्ये एक बनेका छन् । धेरैले उनलाई भविष्यमा विश्व फुटबलको सबैभन्दा ठूलो पुरस्कार जिताउने खेलाडीका रूपमा पनि हेर्ने गरेका छन् ।

उनीसँग तीन राष्ट्रिय टोलीमध्ये एउटा छनोट गर्ने अवसर थियो । उनले आफ्नो जन्मदेश स्पेन, बुबाको देश मोरक्को वा आमाको जन्मदेश इक्वेटोरियल गिनीमध्ये कुनै एक टोलीबाट खेल्न सक्थे । अन्ततः उनले स्पेनको राष्ट्रिय टोली रोजे ।

सन् २००७ को डिसेम्बरमा, यमाल केवल ६ महिनाका हुँदा क्याटलान पत्रिका डायरियो स्पोट र एफसी बार्सिलोना फाउन्डेसनले संयुक्त रूपमा च्यारिटी क्यालेन्डर तयार गरेका थिए । त्यस क्रममा फोटोग्राफर जोन मोन्फोर्टले एउटा चर्चित तस्वीर खिचेका थिए, जसमा युवा लियोनेल मेस्सीले सानो बालक यमाललाई नुहाइरहेको देखिन्छ । पछि त्यो तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो ।

बार्सिलोनाको सियुटाट एस्पोर्टिभा जोन ग्याम्परमा भएको ट्रायल खेलमा यमालले शानदार ह्याट्रिक गरेका थिए । उनको प्रदर्शनले क्लबका निर्णयकर्ताहरूलाई यति प्रभावित बनायो कि अन्य खेलाडीलाई जस्तै दुई–तीन पटक पुनः परीक्षणमा बोलाउनुपरेन । क्लबले त्यही क्षण उनलाई अनुबन्ध गर्ने निर्णय गरेको थियो ।

गत यूरो प्रतियोगितामा खेल्दा यमाल केवल १६ वर्षका थिए । उनले १५ वर्ष, ९ महिना, १६ दिनको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । यससँगै उनी बार्सिलोनाको इतिहासमा पहिलो टोलीबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने ।

ला मासिया एकेडेमीबाट आएका यमालले त्यसपछि लगातार नयाँ कीर्तिमान बनाए । उनले १६ वर्ष ८३ दिनको उमेरमा युईएफए च्याम्पियन्स लिगमा सुरुआती ११ मा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्ने रेकर्ड बनाए । साथै, १६ वर्ष १०७ दिनको उमेरमा उनले एल क्लासिकोमा खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान पनि बनाए । त्यति मात्रै होइन, १६ वर्ष ३१० दिनको उमेरमै उनले बार्सिलोनाबाट ५० आधिकारिक खेल पूरा गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने ।

८ सेप्टेम्बर २०२३ मा स्पेनको राष्ट्रिय टिमबाट जर्जियाविरुद्ध इरो २०२४ छनोट खेलमा डेब्यु गर्दा यमाल १६ वर्ष ५७ दिनका थिए । स्पेनले त्यो खेल ७–१ ले जितेको थियो । उनले त्यही खेलमा गोल पनि गर्दै स्पेनको राष्ट्रिय टोलीको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड बनाए ।

८ अक्टोबर २०२३ मा उनले ला लिगाको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाए । ग्रानाडाविरुद्ध २–२ को बराबरी खेलमा उनले १६ वर्ष ८७ दिनको उमेरमा गोल गरेका थिए । यसअघि फब्रिक ओलिंगाको नाममा रहेको रेकर्ड उनले ११ दिनले तोडे ।

१६ वर्ष, ११ महिना र २ दिनको उमेरमा यमाल युरोपियन च्याम्पियनसिपमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने । त्यसको २४ दिनपछि उनले फ्रान्सविरुद्ध सेमिफाइनलमा शानदार कर्लिङ गोल गर्दै युरो इतिहासकै सबैभन्दा कम उमेरका गोलकर्ता बन्ने अर्काे ऐतिहासिक उपलब्धि हासिल गरे । स्पेनले त्यो खेल २–१ ले जितेको थियो । २०२४–२५ सिजनमा यमालले बार्सिलोनाका लागि सबै प्रतियोगितामा १८ गोल र २५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस वर्षको फिफा विश्वकप २०२६ यमलका लागि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा पहिलो अनुभव हुने भएको छ । सन् २०२२ मा कतार विश्वकप सुरु हुँदा यमालले अझै एफसी बार्सिलोनाको दोस्रो टोलीबाट समेत डेब्यु गरेका थिएनन् । त्यो बेला बार्सिलोनाको ‘बी’ टोली स्पेनिस फुटबलको तेस्रो डिभिजनमा खेल्थ्यो ।

त्यतिबेला उनी युईएफए युथ लिगमा खेलिरहेका थिए । प्रतियोगितामा उनले पाँच खेल खेलेका भए पनि सुरुआती ११ मा भने केवल एक पटक मात्रै स्थान पाएका थिए । तर छोटो समयमै उनको करिअरले आश्चर्यजनक उचाइ लियो । स्पेनको यू–२१ टोलीबाट नखेली सिधै सिनियर टोलीमा पुगेका यमालले अहिलेसम्म स्पेनको राष्ट्रिय टोलीका लागि २३ खेलमा ६ गोल गरिसकेका छन् । साथै, उनले यूरो विजेताको पदक समेत जितिसकेका छन् ।

विश्व विजेता अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले भन्छन्, ‘यमालले अहिलेसम्म जे गरिरहेका छन् र जे हासिल गरेका छन् । त्यो धेरै प्रभावशाली छ । उनी पहिले नै स्पेनसँग युरोपेली च्याम्पियन भइसकेका छन् ।’

‘यमालले धेरै राम्रो गरिरहेका छन् । ऊ त्यस्तो क्लबमा छ जसले उसलाई साँच्चै मद्दत गरिरहेको छ र राष्ट्रिय टोलीको लागि पनि यही कुरा लागू हुन्छ । ऊ आफ्नो विशाल गुणहरू फस्टाउनको लागि आदर्श वातावरणमा छ’ पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले भनेका छन् ।

स्पेनिस टोली फिफा विश्वकपमा उपाधिका प्रमुख दाबेदारमध्ये एक टोलीका रूपमा प्रवेश गर्दैछ । टोलीका युवा स्टार यमललाई पनि प्रतियोगिताका सबैभन्दा चम्किला खेलाडीमध्ये एक मानिएको छ ।

प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा युरोप जितेको टोलीसँग फेरि मैदानमा उत्रिन तयार रहेका यमाल स्पेनको आक्रमण पंक्तिको मुख्य खेलाडीका रूपमा आफूलाई स्थापित गर्न आतुर छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ लामिन यमाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय