+

भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

२०८३ जेठ  ८ गते १९:४७ २०८३ जेठ ८ गते १९:४७
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन्।
  • भुवनले ११-अन्डर २ सय ६१ स्कोर गर्दै दिनेश प्रजापति र राहुल विश्वकर्मालाई २ स्ट्रोकले पराजित गरे।
  • प्रतियोगितामा ५२ खेलाडी सहभागी थिए र कुल पुरस्कार राशी ७ लाख १० हजार रुपैयाँ रहेको थियो।

८ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् ।

आज इभन-पार ६८ खेल्दै समग्रमा ११-अन्डर २ सय ६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई २ स्ट्रोकले हराउँदै सिजनको चौथो र करियरको १५औं उपाधि हात पारे। उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद हात पारे ।

एमेच्योर राहुल र प्रो दिनेशले आज समान ४-अन्डर ६४ सहित समग्रमा ९-अन्डर २ सय ६३ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे। दोस्रो भएका दिनेशले ९० हजार जिते। शुक्र बहादुर राईले इभन-पार ६८ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ८-अन्डर २ सय ६४ सहित चौथो भए। उनले ७० हजार प्राप्त गरे ।

निरजले पनि इभन-पार ६८ खेल्दै समग्रमा ७-अन्डर २ सय ६५ को स्कोरमा पाँचौं हुँदा ५५ हजार नगद पुरस्कार पाए। १-ओभर ६९ खेल्दा समग्रमा ६-अन्डर २ सय ६६ सहित धन बहादुर थापा छैटौं भए । उनले ४६ हजार पाए ।

समग्रमा ५-अन्डर २ सय ६७ सहित रामे मगर सातौं, समग्रमा ४-अन्डर २ सय ६८ सहित रवि खड्का आठौं, समग्रमा २-अन्डर २ सय ७० सहित भुवन कुमार रोक्का र समग्रमा १-अन्डर २ सय ७१ सहित एमेच्योर स्वप्निल भट्टराई दशौं भए। रामेले आज इभन-पार ६८, रविले २-अन्डर ६६, भुवनले १- अन्डर ६७ को कार्ड बनाए। उनीहरूले ३९ हजार, ३५ हजार र ३२ हजार प्राप्त गरे ।

एमेच्योरतर्फ समग्रमा ९-अन्डर २ सय ६३ सहित राहुलले उपाधि जित्ने क्रममा स्वप्निललाई ८ स्ट्रोकले पछि पारे। स्वप्निल दोस्रो भए। आज १-अन्डर ६७ खेल्दै उनले समग्रमा १-अन्डर २ सय ७१ को स्कोर निकाले ।

अन्तिम दिनको सुरूवात गर्दा भुवनसँग ३ स्ट्रोकको अग्रता रहेको थियो। यही अग्रतालाई जोगाउँदै च्याम्पियन हुने क्रममा उनले फ्रन्ट र ब्याक दुवै नाइन इभन-पार ३४ मा पुरा गरे। चौथो र पाँचौं होलमा बर्डी प्रहार गरेका उनले नवौं होलमा डबल बोगी खेपे। यसपछि ब्याक नाइनको सबै होलमा पार जोगाए ।

राहुलले चौथो र छैटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३२ खेले। यसपछि १० औं, ११ औं र १३ औं होलमा पनि बर्डी प्रहार गरे भने १५ औं होलमा एक सट खेर फाले। ब्याक नाइन पनि २-अन्डर ३४ मा सकाए ।

दिनेशले पनि फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए। तेस्रो होलमा एक सट खेर फाले पनि चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि १० औं र १६ औं होलमा पनि एक-एक सट बचाए ।

प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कूल ५२ खेलाडी प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको थियो।‌ जहाँ उत्कृष्ट १८ प्रो गल्फरले नगद पुरस्कार प्राप्त गरे ।‌

भुवन नगरकोटी सूर्य नेपाल च्यालेन्ज गल्फ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय