News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा–५ मा ७० वर्षमाथिका करिब ६५ जना ज्येष्ठ नागरिकले चार टिममा बाँडिएर \'वाकिङ फुटबल\' खेले, जसमा १०२ वर्षीय जेपी क्रस प्रमुख अतिथि थिए ।
- ज्येष्ठ नागरिक फुटबल खेल आयोजक कमिटीले स्वास्थ्य जाँच र नियम पालना गराएर आधिकारिक रेफ्रीसहित मैत्रीपूर्ण खेल आयोजना गरेको थियो ।
- खेलमा सहभागी ज्येष्ठ नागरिकले आफ्नो बाल्यकाल सम्झिएर रमाइलो गरे र ज्येष्ठ नागरिकलाई खेल्ने ठाउँ जोगाइदिन सरकारलाई सुझाव दिए ।
१० जेठ, पोखरा । फुटबल जर्सी लगाए, जुत्ता कसे । बुरुक–बुरुक उफ्रिए । तनाकतुनुक खुट्टा तन्काए र तन्नेरी जोश निकालेर फुटबल मैदानमा छिरे नेत्रपाणि अधिकारी । सेतै कपाल फुलेका नेत्रपाणि उमेरले ८० वर्ष लागे । तर, शनिबार उनी तन्नेरी जोश निकालेर पोखरा–५ मालेपाटनको खेलमैदानमा फुटबल खेलिरहेका भेटिए ।
फुटबल जर्सी लगाएर जुत्ताको तुना कसेर फूर्तीसाथ मैदानमा निस्किए, पोखरा–५ कै जयलाल बराल पनि । उमेरको अंकले ८६ वर्ष हो तर, जयलालको हाउभाउ र मनमा जागिरहेको जोश २० वर्षीय तन्नेरीकोभन्दा कम थिएन । शीरमा ढाका टोपी लगाएर गोल हान्ने लक्ष्यका साथ उनी पनि मैदान छिरेका थिए ।
सेता लामा दाह्री र सेतै दौरा सुरुवातमा ठाँटिएर खेलमैदान पुगेका थिए, ९२ वर्षीय होमनाथ बराल पनि । यही ठाउँमा झुम्राको फुटबल खेलेर बाल्यकाल बिताएका होमनाथ बोली र जोशले तन्नेरी नै छु भन्ने देखाउन खोज्छन् । तनले बुढो भइस् भनिसकेको छ तर उनको मन मानेन र ५ मिनेट भए पनि खेल्छु भनेर फुटबललाई लात्तीले हान्न लम्किए ।
बरालकै उमेरका हुन्, हेरम्बप्रसाद कोइराला पनि । हिजोकोजस्तो न शरीर छ, न आफू हुर्केको यो ठाउँ । तर, उनको मन मानेन, यी बुढाहरु खेल्न सक्छन्, म किन सक्दिनँ ? उनले आफैंलाई प्रश्न गरे । ब्लड प्रेसरको जाँच गराएर उनी पनि गोल नै हान्ने लक्ष्यसहित मैदान छिरे ।
‘आज बुढाहरुको जोश हेर्न लायक छ,’ त्यहीँ जन्मेहुर्केका तन्नेरीहरु हाँस्दै थिए । हुन पनि पोखरा–५ मालेपाटनमा शनिबार ७० वर्ष नाघेकाहरु फुटबल मैदानमा थिए । युवा र तन्नेरीहरु दर्शक थिए । बा–हजुरबा उमेरका ‘खेलाडी’हरुको खेल देखेर उनीहरु घरी हाँस्थे, घरी भावुक हुन्थे ।
‘यो उमेरमा पनि ७० देखि ९२ वर्षसम्मका बुढाहरु खेल्न सकेकै हुन्, हामी त के सकिएला,’ पोखरा–५ पर्स्याङमै जन्मे हुर्केका सन्तोष पराजुली सुनाउँदै थिए ।

ज्येष्ठ नागरिकको ‘वाकिङ फुटबल’, प्रमुख अतिथि १०२ वर्षीय जेपी क्रस
सधैं युवा र बालबालिका फुटबल, क्रिकेटसँगै अन्य खेल खेलिरहेका भेटिने मालेपाटन मैदानमा शनिबारको दृश्य छुट्टै थियो ।
पोखराको मलेपाटन, पर्स्याङलगायत ठाउँका ७० वर्षमाथिका करिब ६५ जना ज्येष्ठ नागरिकहरु ४ टिममा बाँडिएर फुटबल खेले । फुटबल टिमका नाम थिए, बर, पिपल, समी र आँप ।
खेल थियो, ७० वर्षमाथिका ज्येष्ठ नागरिकको ‘वाकिङ फुटबल’ । प्रमुख अतिथि थिए, १०२ वर्षीय जेपी क्रस । दोस्रो विश्व युद्ध लडेर नेपाल आइपुगेका जेपी क्रस नेपालमै रमाए, नेपालकै नागरिकता लिए ।
ढाकाटोपी, बाक्लो पावरवाला चस्मा, टाइसुटमा ठाँटिएर आइपुगेका जेपी क्रस बुढाहरुले फुटबल खेलेको देखेर चकित पर्दै भने, ‘मैले यस्तो कहिल्यै देखेको थिएनँ, तिमीहरु मजस्तै सय वर्षभन्दा धेरै बाँच्छौ ।’
दोस्रो विश्वयुद्धको लडाइँ लड्दै ४० भन्दा बढी पुगेर नेपालमा आएपछि यतै बसेर यहीँको नागरिकता लिएका लेफ्टिनेन्ट कर्णेल जेपी क्रसले सय वर्ष (शताब्दी) उमेर पार गरे ।
उनी अहिले पनि बिहान मर्निङ वाक गर्दै नेपाली ज्येष्ठ नागरिकलाई स्वास्थ्यको ख्याल गर्न भनिरहेका भेटिन्छन् । बुढाहरु अनुभव र ज्ञानको सम्पत्ति भएकाले यो जोगाइराख्न उनले युवाहरुलाई हौसाए ।

पोखरा–५ का अगुवा र युवाहरुले मिलाए चाँजोपाँजो
पोखरा–५ का अगुवा तथा युवाहरुले ज्येष्ठ नागरिक वाकिङ फुटबल आयोजक कमिटी गठन गरेर यो कार्यक्रमको चाँजो मिलाएका हुन् । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरेर, स्वास्थ्यमा असर नपर्ने नियम पालना गराएर, आधिकारिक रेफ्री नै बोलाएर फुटबल खेलको आयोजना गरिएको हो । स्वास्थ्य जाँच गरेर खेल्न मिल्नेहरु पालैपालो मैदानमा छिरेर फुटबल खेले भने स्वास्थ्यले साथ नदिनेहरु बाहिरै बसेर रोमाञ्चित बने ।
७० वर्षमाथिका ज्येष्ठ नागरिकहरु फुटबलमात्रै खेलेनन्, आफ्नो बाल्यकाल, त्यो बेलाको पोखरा र आफू जन्मेहुर्केको जवानीमासमेत फर्किए । टाप्रे र कुराउ घारीले भरिएका त्यो बेलाको पोखराका पाटन अहिले घरैघरले भरिएका छन् । धेरै खेलमैदान र सुस्ताउने ठाउँहरुसमेत छैनन् ।
पाटनै–पाटनको सहर पोखरा, त्यसैमध्ये एउटा विशाल पाटन थियो, मालेपाटन । ८० वर्षीय नेत्रपाणी अधिकारी सिंगो वडा नम्बर ५ भरी २ सय हाराहारीमा मात्र घरहरु भएको सम्झिए ।
‘धेरै घरहरु थिएनन्, धेरै ठाउँमा त कुराउ र टाप्रे घारी थिए । मान्छे हिँड्नसमेत डर लाग्ने थियो,’ उनी ती दिनमा फर्किँदै भावुक भावमा प्रस्तुत भए, ‘टोल टोलबाट जम्मा हुन्थ्यौं, झुम्राको बल बनाएर खेल्थ्यौं, क्या दिन थिए, क्या जोस थियो, ए बाबै ! अहिले त कस्तो पोखरा कस्तो भयो । हेर्नुस् त हामी कस्ता भएम् ! ’
मालेपाटनका जयलाल आफू फुटबल खेलेरै हुर्केको र आज पनि फेरि फुटबल खेल्न पाउँदा ती युवाबय अवस्थामा फर्किएको सुनाए । ‘मालेपाटन चौर त भई नै हाल्यो, अमरसिंहचौर, नदीपुर, बैदाम हामी कहाँ पुगेर खेलिएन ? जोश थियो, साथीहरु थिए,’ जयलाल ती दिनमा फर्किए, ‘अहिले ती साथीहरु कहाँ–कहाँ पुगे । आफ्नै ठाउँमा पनि बस्तीहरु भरिए । यसरी बुढाहरु भेट हुने, खेल्ने र अनुभव साट्ने थलो चाहिँ भइदिए हुन्थ्यो ।’

बुढ्यौली लागेसँगै अनेक स्वास्थ्य समस्यालेसमेत पेल्दै जान्छ । बुढाहरुका लागि खेल्ने, अनुभव साट्ने र रमाउने ठाउँहरु भइदिए हुन्थ्यो भन्ने उनीहरुलाई लागिरहन्छ ।
पोखरा–५ मा अगुवा तथा युवाहरुले फुटबल खेल्ने अवसर मिलाइदिएर फेरि एक पटक जवानीमा फर्किन पाएको अनुभव उनीहरुले सुनाए ।
विद्यार्थी अवस्थामा फुटबल खेलेका ७५ वर्षीय शोभाकान्त गौडेल मैदानमा कुनै तन्नेरीभन्दा कम देखिएनन् । यस्तो खालको खेल, अनुभव साटासाट गर्ने थलो भइदियो भने बुढाहरुलाई पनि रमाउने, सद्भाव बढाउने अवसर मिल्ने उनी सुनाउँछन् ।
७१ वर्षीय दुर्गादत्त भण्डारी फुटबल मैदानमै २ पटकसम्म लडे । हातमा थोरै चोट पनि लाग्यो तर खेल्न छाडेनन् । फेरि मैदान छिरेर लगातार २ गोल हानेपछि चौरभरिबाट उत्साह र ताली खाए । उनले यसलाई जीवनकै अविश्मरणीय क्षणका रुपमा लिए ।

‘केटाकेटी अवस्थामा झुम्राको बल खेल्थ्यौं । बिस्तारै रबरका बलहरु निस्किए तर पछि फुटबल खेलाडी बनिएन,’ भण्डारीले भने, ‘७१ वर्षको उमेरमा हातमा थोरै समस्या हुँदा पनि खेल्न पर्यो भनेर मैदान छिरियो । हातमा चोट लाग्दा पनि खेल्ने उत्साह मरेन र २ गोल हानें । यो अनौठो खुसी जीवनको यो उमेरमा पाएँ ।’
ज्येष्ठ नागरिकलाई खेल्ने ठाउँ जोगाइदिन सुझाव
सहभागीहरुले सरकार, समाज र परिवारले ज्येष्ठ नागरिकका लागि खेल्ने ठाउँहरु जोगाइदिन सुझावसमेत दिए ।
आज धेरै ज्येष्ठ नागरिक घरबाट निस्कने अवसर कम पाउने, भेटघाट हुने, अनुभव साट्ने, यस्तो खेलहरु खेल्ने मौका सिर्जना नहुने अवस्थामा यो मैत्रीपूर्ण खेल राखिएको संयोजक प्रा.डा. सरोज कोइरालाले बताए । ‘ज्येष्ठ नागरिकलाई एकै ठाउँ भेला गराउने, स्वास्थ्यप्रति सचेत गराउने, अनुभव साटासाट गर्ने र खुसी हुने अवसरसमेत दिने अवसरका रुपमा मैत्रीपूर्ण खेल राखिएको हो,’ कोइरालाले भने, ‘यो साँच्चिकै रोमाञ्चक र ऐतिहासिक बन्यो ।’
मैत्रीपूर्ण खेलका लागि करिब ८० जनाले नाम टिपाउनुभएको भए पनि केही स्वास्थ्य जाँचपछि खेल्न नपाएको र केहीले पालो नपाएको कार्यक्रमका अभियन्ता तथा आर्थिक संयोजक हेमराज भण्डारीले बताए । यो खेलले नयाँ पुस्तालाई पनि बा–हजुरबाहरुका खुसीका निम्ति पनि हामीले सोच्नुपर्ने रहेछ भन्ने सन्देश दिएको भण्डारीको भनाइ छ ।

खेल संयोजक तथा भलिबलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी हरि पराजुलीले खेलका निश्चित नियमहरुमा रहेर राखिएको मैत्रीपूर्ण ‘वाकिङ फुटबल’ले ज्येष्ठनागरिकमा अभूतपूर्व खुसी दिएको सुनाए । ‘गोल गर्नेको अनुहारमा देख्नुभयो होला, खुसी कस्तो हुन्छ । मैदान छिर्ने हरेको अनुहारमा छुट्टै चमक थियो, छुट्टै उत्साह थियो,’ पराजुलीले भने, ‘यसले के देखाउँछ भने ज्येष्ठ नागरिकका निम्ति यस्ता खेल हुनु जरुरी छ ।’
७० वर्षमाथिका ज्येष्ठ नागरिकको खेल सम्भवत: नेपालमै पहिलो
आयोजक समूहका सचिव बसन्त गौतमले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको खेल सम्भवत: नेपालमै पहिलो पटक भएको बताए । यसलाई अब निरन्तरता दिइने उनको भनाइ छ ।
मैत्रीपूर्ण खेलमा आँप टिम प्रथम भयो भने बर टिम दोस्रो भयो । फुटबल जितेर पुलकित भएका टिमका ज्येष्ठ नागरिकहरु पुरस्कारमा ढाका टोपी, मेडल, मफलर, छाता र प्रमाणपत्र पाउँदा दंग थिए ।
प्रतिक्रिया 4