News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जनामध्ये दुई युवकको शव फेला परेको छ भने तीन जना सकुशल भेटिएका छन् ।
- प्रहरीका अनुसार मृत फेला पर्नेमा लालबन्दी नगरपालिका–९ का १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो छन् ।
- नदी तर्ने क्रममा बेपत्ता भएका बरहथवाका सहमद मोमिन, मोहम्द अखतर र ब्रहमपुरीका श्याम भण्डारी सकुशल भेटिएका हुन् ।
१० जेठ, काठमाडौं । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् ।
रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्ग् पुल मुनिबाट शनिबार दिउँसो ४ बजेतिर ५ जना बेपत्ता भएका थिए ।
बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बताएको छ ।
मृत भेटिनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षका रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो छन् । रोहितको शव सर्लाहीको बागमती नगरपालिका–११ स्थित पुल नजिकै आज आइतबार फेला परेको प्रहरीले बताएको छ।
त्यस्तै आइतबार साढे १ बजेतिर गणेशको शव पनि बागमती नदीको ड्याम साइडमा फेला परेको प्रहरीले बताएको छ।
सर्लाहीको बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, सोही ठाउँका २४ वर्षका मोहम्द अखतर र सर्लाहीको ब्रहमपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएको प्रहरीले बताएको छ ।
उनीहरू कसैलाई नभनी रौतहट र सिन्धुलीको सिमानामा पर्ने बागमतीको झपसी झोलुङ्गे पुल पुगेको र त्यहाँबाट नदी तर्ने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4