+

नेपालको स्वभाविक सेमिफाइनल यात्रा, प्रशिक्षक भन्छन् जुन टिम आएपनि तयार छौँ

२०८३ जेठ  १० गते २२:५६ २०८३ जेठ १० गते २२:५६
नेपालको स्वभाविक सेमिफाइनल यात्रा, प्रशिक्षक भन्छन् जुन टिम आएपनि तयार छौँ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • आइतबारको खेलमा नेपालकी कप्तान निरुता ठगुन्नाले सर्वाधिक १४ अङ्क जोडिन् भने मिडलब्लकर एलिशा मानन्धरले राष्ट्रिय टोलीमा डेब्यु गरिन् ।
  • मुख्य प्रशिक्षक जगदिश भट्टले सेमिफाइनलअघि पाइने तीन दिनको विश्राममा कमजोरी सच्याएर बलियो रणनीति बनाउने बताए ।

१० जेठ, काठमाडौं । माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए को पहिलो खेलमै चिरपरिचित प्रतिद्वन्दी भारतसँग पाँच सेटमा पुगेर पारजित भएपनि त्यसपछि लगातार दुई खेल जित्दै नेपाल सेमिफाइनल पुग्ने यस समूहको पहिलो टोली नै बन्यो ।

नेपालले शनिबार किर्गिस्तानलाई ३-० को सेटमा हराएर पहिलो जित हासिल गरेको थियो । माल्दिभ्सलाई पनि अपेक्षा अनुसार ३-० कै नतिजामा पराजित गरेपछि नेपालले ७ अंक जोड्यफ ।

अब सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ र समूह विजेता र उपविजेता टिमको पनि निर्णय हुनेछ । भारतले किर्गिस्तानलाई पराजित गरेमा भारत समूह ए को विजेता र नेपाल समूह उपविजेता बन्नेछ । यदी किर्गिस्तानले भारतलाई स्तब्ध पारेमा भने नेपाल समूह विजेता र किर्गिस्तान समूह उपविजेता बन्नेछ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको समूह ए को आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५-१२, २५-९, २५-२० ले हरायो ।

यस खेलमानेपालकी कप्तान निरुता ठगुन्नाले आफ्नो पुरानो लय देखाउने प्रयास गरिन् भने सुमित्रा रेग्मी लगायत अन्य खेलाडीहरुले पनि राम्रो साथ दिए ।

पहिलो दुई सेट खेलेकी निरुताले सर्वाधिक १४ अंक जोडिन् । सुमिताले तीन सेट खेल्दै ११ अंक जोडिन् । यस्तै दोस्रो र तेस्रो सेट खेलेकी सलिना बुढा मगरले ८ अंक जोडिन् ।

मुख्य प्रशिक्षक जगदिश भट्टले सेमिफाइन पुग्ने पक्का भएपछि टिमको सबै खेलाडीलाई आज मौका दिएका थिए ।

‘हामीले गेम नेक टु नेक ने गएपछि सबै खेलाडीलाई अवसर दिने सोच थियो । सलिना (लिबेरो) लाई आराम चाहिने भएकोले खेलाएनौँ । अरु सबैलाई अवसर दियौँ’ भट्टले खेलपछि पोस्ट म्याच कन्फेरेन्समा भने । ‘अहिलेसम्म जति खेल भाछ सेमिफाइनलको लागि तयार पार्न सबैलाई खेलाएको हो र उनीहरुलाई त्यही रणनीतिका साथ तयार पारेका छौँ । यो रणनीतिलाई अब हामी सेमिफाइनलमा लागु गर्छौँ ।’

यसै खेलबाट मिडलब्लकर एलिशा मानन्धरले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् । यस पटक सिनियर टिममा ६ नयाँ खेलाडी समावेश भएकोमा पाँच खेलाडीले भारत विरुद्ध पहिलो खेलमै डेब्यु गरेका थिए भने एलिशाले तेस्रो खेलमा आएर डेब्युको अवसर पाइन् ।

पहिलो सेटमा माल्दिभ्सले नेपाललाई केही चुनौती दिएपनि कप्तान निरुताको उत्कृष्ट प्रदर्शनमा नेपालले पहिलो सेट सहजै जितेर अग्रता बनाएको थियो । दोस्रो सेट जित्न नेपाललाई खासै चुनौती भएन । तेस्रो सेटमा नेपालले बेन्चको खेलाडीलाई बढी अवसर दिँदा माल्दिभ्सले पनि अंक जोड्ने अवसर पएको थियो ।

यस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कप्तान निरुता प्लेअर अफ दि म्याच घोषित भइन् ।

समूह चरणको सबै तीन खेल खेलिसकेको नेपालले अब तीन दिनको रेस्टपछि जेठ १४ गते सेमिफाइनल खेल्नेछ ।

सेमिफाइनलअघि धेरै दिन रेस्ट पाएकोले यसमा रणनीति तयार पार्ने र गल्तीहरुलाई सच्याउने मुख्य प्रशिक्षक भट्टले बताए । ‘सेमिफाइनलअघि तीन दिन रेस्ट हुन्छ । अब सेमिफाइनलमा हामी खेल्ने टिमको लागि रणनिति तयार गर्छदँ विनिङ मानइन्डसेटमा जान्छौँ ।’ भट्टले भने ।

भट्टले विश्वकपमा समेत ठूला टिमले पहिलो खेल हारेर अन्तिममा उपाधि जितेको उदाहरण दिँदै सेमिफाइनलको लागि जुन टिम आएपनि नेपाल तयार रहेको बताए ।

‘पहिलो म्याच हारेको पनि त्यसबाट पनि सिक्ने हो । विश्वकपमा पनि ठूला टिम नयाँ टिमसँग हार्दा पनि विश्वकप जितेको छ । त्यसले गर्दा धेरैलाई अविश्वास लागेको होला । हाम्रो टिम पनि सेमिफाइनलम पुग्ने चार टिम मध्ये कमजोर छैन,’ भट्टले भने, ‘जुन टिमले आफ्नो योजना अनुसार कोर्टमा जान्छ । आफ्नो स्ट्रोङ प्वाइन्ट लागु गर्न सक्छ त्यसले नतिजा निकाल्छ र त्यो सबै हामीसँग छ । अलीकती कमी भउको पनि दर्शकको साथले पूरा गर्नुहुन्छ ।’

सेमिफाइनलमा नेपालले रिच राम्रो भएको र धेरै अनुभव भएको टिमसँग खेल्नुपर्ने भएकोले विनिङ माइन्डसेट नै लिएर जानुपर्ने प्रशिक्षक भट्टले बताए ।

‘सेमिफाइनलमा हामी भन्दा माथि रिच भाको, हामी भन्दा स्पिड भाको र धेरै अनुभव भाको खेलाडीसँग खेल्न जाँदैछौँ । हामी २-३ दिन ट्रेनिङमा ब्लक र सर्भिसमा काम गर्छौँ । विनिङ माइन्डसेट र मोटिभेसनमा कुनै कमी राख्दैनौँ ।’

काजखस्तान र इरानले एसियन लेभल देखि काभामा विभिन्न प्रतियोगिता खेलिसकेकोले उनीहरु धेरै अनुभवी भएकोले सेमिफाइनल जुन टिम परेपनि फरक नपर्ने भट्टले बताए ।

काभा महिला भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय