+

नेपालमा पहिलो पटक ‘जिन्सा २०२६’ : पोषणको भविष्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

२०८३ जेठ  ११ गते १२:१८ २०८३ जेठ ११ गते १२:१८
नेपालमा पहिलो पटक ‘जिन्सा २०२६’ : पोषणको भविष्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

११ जेठ, काठमाडौं । नेपालमा पोषण तथा डाइटेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिसँग जोड्ने उद्देश्यसहित ‘जिन्सा २०२६’ नामक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स, प्रिसिजन तथा परफर्मेन्स न्यूट्रिसन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित पोषण अभ्यासजस्ता समसामयिक विषयमा केन्द्रित सम्मेलन मे ३० मा ललितपुरस्थित क्लासिक भेनुमा हुँदैछ ।

नेपालमा पोषण अभ्यासलाई आधुनिक वैज्ञानिक अवधारणा र प्रविधिसँग जोड्ने प्रयास स्वरूप आयोजना हुन लागेको सम्मेलनलाई डाइटेटिक्स क्षेत्रको नयाँ सुरुवातका रूपमा हेरिएको छ ।

सम्मेलनमा गट हेल्थ, न्युट्रिजेनोमिक्स, क्लिनिकल तथा स्पोट्र्स न्यूट्रिसन, इन्सुलिन रेसिस्टेन्स र एआईको प्रयोगमार्फत व्यक्तिगत आहार योजना निर्माणजस्ता विषयमा विस्तृत छलफल गरिने आयोजकले जनाएको छ ।

सम्मेलन संयोजक डायटिसियन सदीक्षा निरौलाका अनुसार कार्यक्रमको उद्देश्य नेपाली डायटिसियनहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै पोषण क्षेत्रमा विकसित भइरहेका विश्वव्यापी अभ्यास र प्रविधिबारे जानकारी गराउनु हो।

उनका अनुसार एआईको प्रयोगले भविष्यमा पोषण परामर्श, रोगको जोखिम मूल्यांकन, जीवनशैली व्यवस्थापन तथा व्यक्तिगत स्वास्थ्य निगरानीलाई अझ प्रभावकारी बनाउनेछ ।

नेपालमा पछिल्ला वर्षहरूमा मधुमेह, मोटोपना, फ्याटी लिभर, पीसीओएस तथा उच्च रक्तचापजस्ता जीवनशैलीजन्य रोग तीव्र रूपमा बढिरहेका छन् ।

स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता रोगको रोकथाम र व्यवस्थापनमा सन्तुलित आहार तथा जीवनशैलीको महत्वपूर्ण भूमिका रहने भएकाले पोषणसम्बन्धी सचेतना र दक्ष जनशक्तिको आवश्यकता पनि बढ्दै गएको छ ।

सम्मेलनमा सहभागीहरूले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विशेषज्ञहरूबाट एड्भान्स लर्निङ, प्राक्टिकल इन्साइट्स र प्रोफेसनल नेटवर्किङको अवसर प्राप्त गर्ने आयोजकको भनाइ छ ।

कार्यक्रममा लिड स्पिकरका रूपमा डा. सोम्या भरानी र डायटिसियन सिल्पी गोयल सहभागी हुनेछन् भने अन्य सत्रहरू राष्ट्रिय स्तरका पोषण तथा डाइटेटिक्स विज्ञहरूले सञ्चालन गर्नेछन् ।

आयोजकका अनुसार सम्मेलनले नेपालको पोषण अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्दै भविष्यमा एआई आधारित पोषण सेवा, गट हेल्थ र पर्सनलाइज्ड न्यूट्रिसनजस्ता क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा रजिस्टर्ड तथा सक्रिय डायटिसियनहरूको संख्या अझै सीमित रहेकाले पेशालाई व्यवस्थित, सुरक्षित र संस्थागत बनाउने आवश्यकता पनि विज्ञहरूले औंल्याएका छन् ।

पोषण सचेतना बढ्दै गएसँगै दक्ष डायटिसियनहरूको माग बढिरहेको अवस्थामा यस्ता कार्यक्रमले पेशागत विकास र अन्तर्राष्ट्रिय एक्सपोजरमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

जिन्सा २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय