११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा दिउँसै युवकमाथि चक्कु प्रहार घटनामा संलग्न भएको आरोपमा एक जना पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा घर भई ललितपुर टीकाथली बस्ने १८ वर्षीय अभिषेक यादव छन् । योसँगै पक्राउ पर्नेको संख्या दुई पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अभिषेक समेतका व्यक्तिले सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह आक्रमण गरेका थिए ।
यो घटनामा यसअघि प्रहरीले धनुषा घर भई हाल ललितपुरको टीकाथली बस्ने धनराज यादवलाई पक्राउ गरेको थियो ।
करणकुमार साहले आफूमाथि आक्रमण भएको भन्दै ज्यान मार्ने उद्योग र डाँका गर्न नहुने कसुरमा प्रहरी वृत्त नयाँ बानेश्वरमा उनले उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
गत शुक्रबार दिउँसो २ बजेतिर नरेफाँटमा छुरा प्रहार भएको थियो । छुरा आक्रमणबाट हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको पीडितले दाबी गरेका छन् ।
एसपी भट्टराईका अनुसार कुट्ने र कुटाइ खाने सहोदर मामा–भान्जा हुन् । मामाले सम्झाउन खोज्दा उल्टै यसअघि टिकाथलीमाले भान्जाले मामालाई आक्रमण गरेको बताइएको छ । त्यसको बदलामा शुक्रबार मामाले भान्जालाई आक्रमण गरेको देखिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4