+
+
Shares

सीमावासीलाई सोध, सीमा कसले मिचेको छ ?

सीमावासीले सीमा विवादकै कारण टाउको फुटाउनुपर्ने अवस्थादेखि ज्यानै गुमाएका घटनाहरू पनि भएका छन् ।

नारायण अधिकारी टोपराज शर्मा नारायण अधिकारी, टोपराज शर्मा
२०८३ जेठ १८ गते २०:१८
ब्यानरमा राखिएका तीन तस्वीरहरू सप्तरीका हुन् । १४ साउन २०७३ मा नेपाल–भारत सीमा खाँडा नदीमा भारतीय पक्षबाट नेपाली भूमि मिचेर बाँध बनाउन थालेपछि स्थानीयले विरोध गरेका थिए । सो क्रममा झडप भएको थियो । ब्याकग्राउन्डको तस्वीर भने सुस्ताको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि संसद्‍देखि सडकसम्म त्यसको विरोध र विवाद सुरु भएको छ।
  • पश्चिम नवलपरासीको सुस्तामा निर्माणाधीन बाँधका विषयमा भारतीय सीमा सुरक्षा बलले जिल्ला अधिकारीस्तरमा छलफल गरेर मात्र काम अघि बढाउन भनेको छ।
  • सशस्त्र प्रहरीले पछिल्लो तीन आर्थिक वर्षमा २ हजार ६९० सीमा स्तम्भ मर्मत गर्दा भारतीय पक्षको सक्रियता निकै कम देखिएको छ।

१८ जेठ, काठमाडौं । ‘म प्रधानमन्त्री भएपछि पो थाहा पाएँ– भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । यो विषय दुई पक्ष बसेर हेर्नु पर्नेछ,’ प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा भने ।

भारतले नेपाली भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी मिचेको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेनले यसबारे इंग्ल्यान्डलाई समेत जानकारी गराइएको बताउँदै नेपालले पनि सीमा मिचेको विषय उठान गरेका थिए । उनको यो अभिव्यक्तिले संसद्देखि सडकसम्म बहस छेडेको छ । प्रधानमन्त्रीको यो भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने मागसमेत विपक्षीले गरेका छन् ।

विपक्षी दलका भ्रातृ संगठनहरूले त आइतबार नै सडकमा विरोध प्रदर्शन गरे । प्रधानमन्त्रीबाट आएको यो विवादास्पद अभिव्यक्तिले नेपाल–भारत सीमा विवाद फेरि एक पटक सतहमा आएको छ ।

यही विषयलाई जोडेर प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सशस्त्र सीमा बलले नेपाली पक्षले निर्माण गरिरहेको बाँध बाँध्ने कामलाई अवरोध गरेको भन्दै टीकाटिप्पणी भएका छन् । तर प्रधामन्त्रीको यो अभिव्यक्तिभन्दा पहिला नै सुस्ताको निर्माणधीन बाँधबारे भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले कुरा उठाएको नेपाली सुरक्षाकर्मी बताउँछन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि आएको सीमा विवादको विषय एकातर्फ छँदैछ । अर्कातर्फ, सीमाबासीका पनि अनेक दु:ख छन् । सशस्त्र प्रहरीको सीमा विभागमा बसेर अवकाश पाएका एक पूर्वएआईजीका अनुसार विशेषगरी दक्षिण सीमामा यस्ता थुप्रै समस्याहरू छन् । दुवै पक्षबाट यता–उता खेतीपाती लगाउने र दशगजा क्षेत्रमा घरटहरा बनाउने काम हुने गरेको उनी बताउँछन् ।

सीमामा बढी समस्या भने कोभिडको बेला देखिएको ती एआईजीको बुझाइ छ । उनी भन्छन्, ‘जब हामीले कोभिडको बेलामा सीमा नाका बन्द गर्‍यौं, त्यसपछि भारतीय पक्षले लफडा झिकेका थिए । सीमाको कुरा निकालेर दु:ख दिने काम भएको थियो,’ ती एआईजीले आफ्नो अनुभव सुनाए, ‘सीमा विवाद उत्कर्षमा पुग्दा रोजीरोटीमै पनि समस्या पर्ने सीमाबासीको गुनासो हामीले पायौं ।’

सीमा क्षेत्रका नागरिक नै पहिलो सीमा रक्षक भएकाले सीमामा हुने हरेक दु:ख उनीहरूले भोग्ने गरेको सशस्त्रका पूर्वएआईजी नारायणबाबु थापा बताउँछन् । थापाले भने जस्तै सीमाबासीले सीमा विवादकै कारण टाउको फुटाउनुपर्ने अवस्थादेखि ज्यानै गुमाएका घटनाहरू पनि छन् ।

सप्तरीस्थित नेपाल–भारत सीमा खाँडा नदीमा भारतीय पक्षबाट नेपाली भूमि मिचेर बाँध बनाउन लागेको विषयमा १४ साउन २०७३ मा झडप नै भएको थियो । त्यतिबेला १२ नेपाली घाइते भएका थिए ।

साविक तिलाठी गाविस–४ का देवनारायण यादवले सीमा रक्षाको नेतृत्व गरेका थिए । उनीसहित एक दर्जन व्यक्ति भारतीय पक्षको आक्रमणबाट घाइते भएका थिए । देवनारायणको भने टाउको फुटेको थियो ।

करिब एक दशक अगाडि भारतीय पक्षबाट तिलाठीमा निर्माण गरिएको बाँध बाढीले भत्काएको थियो । बाँधलाई भारतीय पक्षले पुनर्निर्माण गर्ने भन्दै नेपाली भूमिमा आएर बाँध बाँध्न लागेपछि झडप भएको थियो ।

उनै सीमा रक्षक देवनारायणलाई पछि पक्राउ गरी अपहरणको मुद्दासमेत चलाइएको थियो । यो घटनाको एक वर्षपछि १६ असोज २०७४ मा देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । देवनारायणका छोरा अजयले भारतीय युवतीसँग बिहे गरेको र केटी पक्षले अपहरणको उजुरी दिएपछि अजय पक्राउ गरेका थिए । उनै अजयलाई भेट्न भएका बेला देवनारायणलाई समेत हतकडी लगाएर भारतीय प्रहरीले सार्वजनिक गरेको थियो ।

dev-narayan
त्यतिबेला घाइते भएका तिलाठीका देवनारायण यादव

बिना कसुर देवनारायणलाई भारतीयले हतकडी लगाउनुमा यही पुरानो सीमा विवादको साइनो रहेको घटनालाई नजिकबाट नियालेका एक प्रहरी अधिकारी बताउँछन् । ‘देवनारायण सीमा रक्षक थिए । त्यसको बदलामा एउटा निहुँ बनाएर पक्राउ गरी भारतीय पक्षले मुद्दासमेत चलायो,’ उनी भन्छन् । पछि अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि देवनारायण छुटेका थिए ।

सीमा विवादका कारण टाउको फुटेर मुद्दा चलेका देवनारायण एक्ला होइनन् । सीमा विवादकै विषयमा नेपाली युवाले ज्यानसमेत गुमाएका घटना छन् ।

२०७३ फागुनमा एसएसबीको गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको थियो ।

पुनर्वास नगरपालिका आनन्दबजारको नेपाल–भारत सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो । गौतमलाई सरकारले शहीद पनि घोषणा गरेको थियो । त्यतिबेला खुबै चर्चा पाएको विषय बिस्तारै मत्थर हुँदै गयो ।

१५ साउन २०७८ मा दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटका ३३ वर्षीय जयसिंह धामी पनि भारतीय सुरक्षाकर्मीकै लापरबाहीका कारण बेपत्ता भएका थिए । महाकाली नदीमा टाँगिएको तुइनबाट भारतीय बाटो हुँदै उनी काठमाडौं आउन लागेका थिए ।

तुइन तर्दै गरेका बेला भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि उनी महाकाली नदीमा बेपत्ता भए । यो विषयमा त्यतिबेला नेपालले भारतीय पक्षलाई कूटनीतिक नोटसमेत पठाएको थियो । यसमा भारतीय पक्षले अहिलेसम्म कूटनीतिक नोटको जवाफ नदिएको जानकारहरू बताउँछन् ।

महाकालीमा बेपत्ता भएका सिंहलाई सरकारले मृत सरह मानेर उनको परिवारलाई १० लाख रुपैयाँ राहत दिएको थियो । मान्छे बेपत्ता, हत्या, कुटपिट जस्ता घटनाहरू सीमाबासीका कहालीलाग्दो पीडा बुझाउन काफी छन् ।

सुस्तामा भएको के हो ?

पश्चिम नवलपरासीस्थित सुस्तामा अहिले बाँध निर्माणको काम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तटबन्धनको काम गरिरहेको छ । करिब १४ करोडको ठेक्कामा काम भरहेको हो ।

उक्त बाँधको अनुगमन गर्न शनिबार मात्रै सीडीओ दीपक नेपाल, सशस्त्र प्रहरीका एसपी गोविन्द खातीसहितको टोली गएको थियो । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले संयुक्त गस्ती गर्दै आएको छ ।

सशस्त्रका एसपी खातीका अनुसार हिजो आइतबार संयुक्त गस्तीको पालो थियो । दुवै पक्षका सुरक्षाकर्मी संयुक्त गस्ती गर्दै दिउँसो सवा १२ बजेतिर नेपालले निर्माण गरिरहेको बाँध भएको ठाउँमा पुगेका थिए ।

पहिलाको पुरानो बाँधमा करिब १३२ मिटर थप बाँध बाँध्ने गरी नेपाली पक्षबाट काम भइरहेको छ । यही विषय एसएसबीले उठाउने गरेको हो । ‘पुरानो बाँधमा काम गर्दा केही समस्या भएन । नयाँ बाँध थप्न चाहिँ डीएम लेभलमा कुरा गर्नुपर्छ । कुरा गरेर मात्रै काम गर्दा राम्रो हुन्छ,’ एसएसबीले भनेको कुरा एक सुरक्षा अधिकारीले बताए ।

भारतीय पक्ष डीएम अर्थात् डिस्ट्रिक मजिस्ट्रेट र नेपाली पक्ष सीडीओ स्तरमा छलफल भएपछि काम गर्दा राम्रो हुने भारतीय पक्षको भनाइ रहेको नेपाल पक्षका एक सुरक्षाकर्मी बताउँछन् । ती सुरक्षाकर्मीका अनुसार काम भने रोकिएको छैन । आज सोमबार पनि काम भइरहेको छ ।

नवलपरासी पश्चिमका सीडीओ दीपकराज नेपालले नयाँ बन्ने १३२ मिटरको बाँध लगाउने बेला भने समन्वय गर्न एसएसबीले अग्रह गरेको बताए ।

‘आइतबार सवा १२ बजेतिर संयुक्त गस्ती रहेछ । त्यतिबेला एसएसबीले सशस्त्र प्रहरीलाई छलफल र समन्वय गरेर मात्रै नयाँ बाँध लगाउन अग्रह गरेका रहेछन् । अहिले पनि बाँध बाँध्ने काम भने रोकिएको छैन,’ उनले अनलाइनखबरसँग भने ।

अहिले नयाँ बाँधको काम सुरु नभएको र पुरानो बाँधको काम भइरहेको नेपाल बताउँछन् ।

सशस्त्र प्रहरी: जीवन बचाउने मिसनदेखि सीमा सुरक्षासम्‍म – Online Khabar

सीमा सुरक्षामा सशस्त्र

पहिला प्रहरीले नै सीमा प्रहरी चौकी खडा गरेर सीमाको सुरक्षा गर्दै आएको थियो । पछि सशस्त्र प्रहरी गठन भएपछि सीमाको सुरक्षा सशस्त्रले पायो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार भारतीय सीमातर्फ २४९ बीओपी (बोर्डर आउट पोस्ट) छन् । चीनतर्फ ११ बीओपी छन् ।

यिनै बीओपीमार्फत सशस्त्रले सीमाको सुरक्षा गर्दै आएको छ । जसमा काउन्टर पार्टसँग संयुक्त गस्तीसमेत सशस्त्रले गर्दै आएको छ । डीआईजी र आईजीपी स्तरमा समेत आलोपालो बैठक हुँदै आएको छ ।

सीमा सुरक्षाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले दुवैतर्फ (भारत–चीन) का सीमा नाकामा छलफल र बैठक गर्दै आएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ६२६ पटक नेपाल–भारतबीच सीमा सुरक्षाका विषयलाई लिएर बैठक तथा छलफल भएका छन् । जसमा सशस्त्र आईजीपी र एसएसबीका डीजीबीच १ पटक, एआईजीस्तरमा १२ पटक, डीआईजीस्तरमा ७ पटक, जिल्ला स्तरमा ३७ पटक छलफल भएको देखिन्छ ।

त्यस्तै बटालियन स्तरमा १८२ पटक, कम्पनीस्तरमा १५७ पटक, स्थानीय स्तरमा २३० पटक छलफल भएको देखिन्छ ।

आर्थिक वर्ष २०८१/८२ मा ६८२ पटक नेपाल–भारतबीच सीमाबारे छलफल भएको छ । यो आर्थिक वर्षमा आईजी/डीजी स्तरको १ पटक, एआईजी स्तरको १० पटक, डीआईजी स्तरको ७ पटक, जिल्ला स्तरको २५ पटक भएको थियो । त्यस्तै बटालियन, कम्पनी र स्थानीय स्तरमा पनि छलफल भएका थिए ।

जोर–बिजोर नम्बरका आधारमा दशगजाका पिलर पनि सशस्त्र र एसएसबीले मर्मत गर्दै आएका छन् । सशस्त्रले पिलर मर्मतमा सक्रियता देखाउँदा एसएसबीले भने न्यून मात्रामा मर्मत गरेको सशस्त्र हेडक्वार्टरको रेकर्डमा देखिन्छ ।

सशस्त्रले दशगजामा रहेका सीमा पिलरहरू मर्मतलाई प्राथमिकतामा राखेको देखिन्छ । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा सशस्त्र प्रहरीले २ हजार ६९० सीमा स्तम्भको मर्मतसम्भार गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा मात्रै २ हजार १३७ सीमा स्तम्भको मर्मतसम्भार गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा ४९८ सीमा स्तम्भको मर्मतसम्भार गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ३७८ सीमा स्तम्भ भारतीय पक्षले मर्मत गरेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा भने भारतीय पक्षले एउटा पनि सीमा स्तम्भको मर्मतसम्भार गरेको देखिँदैन ।

सुस्ताबासीका दु:ख

सुस्ता गाउँपालिका-५ का रञ्जन लोनियालाई २०८१ साल फागुन १२ गते आफ्नै खेत जोतिरहेका बेला एसएसबीको एक टोली आएर यो भारतको जग्गा हो भन्दै जोत्न रोकेर कुटपिट गरे ।

नेपाली भूमिमा आएर एसएसबीका जवानहरूले लोनियालाई कुटपिट मात्र गरेनन्, नियन्त्रणमा लिएर जंगलको बाटो हुँदै आफ्नो क्याम्पतिर लैजाने प्रयास गरे । तर सुस्ता-५ थारुटोलका गाउँलेहरूको समूह, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत पुगेर प्रतिवाद गरेपछि लोनिया एसएसबीको नियन्त्रणबाट मुक्त भए ।

त्यही घटनालाई लिएर भारतीय पक्षले सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खान, लोनियासहित १४ जनामाथि बाल्मिकी नगर थानामा मुद्दा चलायो । मुद्दा परेपछि रञ्जन लोनिया, जयनारायण शाह र उनका छोरासमेत तीन जनालाई भारतको भेडिहारी हाटबजारमा किनमेल गर्न गएको बेलामा एसएसबीले पक्राउ गरेर थुनामा राख्यो । चार दिनपछि मात्रै उनीहरू छुटे ।

‘नेपालीमाथि भारतीय पक्षबाट यस्तो ज्यादती हुँदा पनि जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकायले खुलेर स्पष्ट रूपमा विरोध जनाउँदैनन्, बोल्दैनन्,’ सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खानले भने, ‘कसैले वास्ता नगरेपछि सबैले थाहा पाउन् भनेर दुई महिनापछि घटना बाहिर ल्याएँ । यहाँ भारतीय पक्षको ज्यादतीको विरोध गर्‍यो वा बोल्यो भने मुद्दा खेप्नुपर्ने र पक्राउ पर्नुपर्ने अवस्था छ, धेरैले सहेर बस्नुपरेको छ ।’

सुस्ता-५ का मुन्सी हरिजनले एसएसबीले सुस्ताबासीलाई मोटरसाइकलमा हिँडडुल गर्न अवरोध गर्ने, नेपालमा हातहतियारसहित आएर डर, त्रास सिर्जना गर्ने गरेको गुनासो गरे ।

‘भारतीय पक्षलाई दु:ख दिन मन लाग्यो भने जुनसुकै बेला नेपालीमाथि अवरोध हुने गर्छ,’ हरिजनले भने, ‘हिजो प्रधानमन्त्री बालेनको अभिव्यक्तिले त अब भारतीय पक्षलाई झन् बल पुगेको छ । प्रधानमन्त्रीले नै त्यस्तो गैरजिम्मेवार कुरा बोलेपछि अब हामीले के भनेर प्रतिवाद गर्ने ?’

सुस्ता गाउँपालिका–३ का वडाध्यक्ष हरिलाल दुसाधले भारतीय सशस्त्र सीमा बल एसएसबीले बारम्बार सुस्ताबासीलाई विभिन्न बहानामा दु:ख दिने गरेको गुनासो गरे । ‘नेपाली नागरिक बसेको जग्गामा आएर खेतीपाती गर्ने सिजनमा आएर हाम्रो जमिन हो भन्दै बेलाबेला दु:ख दिने गरेका छन्,’ दुसाधले भने, ‘कहिले कल्भर्ट बनाउन रोक्छन्, कहिले वस्तीमा आएर दु:ख दिन्छन् ।’

सुस्ताको समस्या समाधानका लागि भारत सरकारसँग वडा र गाउँपालिकाले कुरा गरेर नहुने भएकाले केन्द्र सरकारले चासो दिएर सधैंका लागि विवाद समाधान गरिदिनुपर्ने वडाध्यक्ष दुसाधले आग्रह गरे ।

नारायणी (गण्डक) नदीले धार परिवर्तन गरेपछि उत्पन्न सीमा विवादका कारण सुस्तामा दशकौंदेखि भारतबाट नेपाली भूमि अतिक्रमण भएको विषय उठ्दै आएको छ ।

सीमा विज्ञ तथा विभिन्न अध्ययनअनुसार भारतले सुस्ताको करिब १४ हजार ५०० हेक्टर नेपाली भूमि अतिक्रमण गरेको दाबी छ । सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवाल सुस्ताको ठूलो क्षेत्र भारतीय कब्जामा रहेको र नेपाली नागरिकले आफ्नै भूमिमा सहज रूपमा खेतीपाती गर्न नपाएको बताउँछन् ।

‘नेपाल पक्षको बलियो उपस्थिति र सुस्तावासीलाई साथ नहुँदा पीडित सर्वसाधारण आफूमाथि भएको ज्यादतीबारे खुलेर बोल्न समेत डराउँछन्,’ जैसवालले भने, ‘एसएसबीका जवानहरूले हतियारसहित नेपाली भूमिभित्र प्रवेश गरेर गस्ती गर्ने, किसानलाई खेतमा जान रोक्ने तथा मानसिक दबाब सिर्जना गर्ने गरेका छन् ।’

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले भारतले सुस्तामा हजारौं हेक्टर जमिन अतिक्रमण गरेको भए पनि यकिन तथ्यांक संघीय सरकारसँग हुने भएकाले आफूले ठयाक्कै कति मिचेको छ भन्न नसक्ने बताए ।

१५ वर्षअघिसम्म सुस्ताबासीमाथि एसएसबी र भारतीय पक्षबाट धेरै ज्यादती हुने गरेको तर सुस्तामा नेपाली सुरक्षा निकायको उपस्थिति भएपछि ज्यादती हुन छाडेको अध्यक्ष उपाध्यायले बताए । ‘कहिलेकाहीँ समस्या आउँछ, तर नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोस्ट स्थापना भएपछि पहिला जस्तो समस्या छैन,’ अध्यक्ष उपाध्यायले भने ।

ऐतिहासिक रूपमा सीमा विवाद र नदी कटानको मारमा परेको सुस्ता क्षेत्रको भू–भाग निरन्तर खुम्चिँदै गएको छ । स्थानीयका अनुसार २०३० सालअघि करिब ७५ हजार हेक्टर क्षेत्रफल रहेको सुस्ता अहिले झण्डै ७ हजार हेक्टरमा सीमित भएको छ । उत्तर र पश्चिमतर्फ नारायणी नदी तथा दक्षिण र पूर्वतर्फ भारतको बिहार राज्यले घेरिएको यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्रमा रहँदै आएको छ ।

स्थानीयका अनुसार सीमास्तम्भको अभाव र नारायणी नदीले बारम्बार धार परिवर्तन गर्दा भारतीय पक्षले क्रमशः नेपाली भूमि अतिक्रमण गर्दै आएको छ । २०२२ सालमा तत्कालीन सरकारले सीमा सुरक्षाका लागि पूर्व सैनिकसहित करिब ४०० परिवारलाई सुस्तामा बसोबास गराएको थियो । त्यसयता भारतीय पक्षले विभिन्न समयमा अवरोध गर्दै आएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?