+
+
Shares

विशेष प्रदर्शनमा ‘रोल नं १’ फिल्म हेरेपछि सेलिब्रेटीले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १३:४८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा प्रदर्शनरत नेपाली चलचित्र ‘रोल नं १’ को विशेष प्रदर्शन गरिएको छ, जहाँ विभिन्न चलचित्रकर्मी तथा राजनीतिज्ञको उपस्थिति थियो ।
  • अभिनेता जितु नेपालले शिक्षालाई सीपसँग जोड्नुपर्ने आजको आवश्यकतालाई चलचित्रले निकै सान्दर्भिक रूपमा उठाएको बताए ।
  • जोन योञ्जन निर्देशित यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र एवनराज उप्रेती लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

काठमाडौं । प्रदर्शनरत फिल्म ‘रोल नं १’ लाई विशेष प्रदर्शन गरिएको छ । आयोजित समारोहमा फिल्मकर्मी, सेलिब्रेटी र राजनीतिज्ञ सहभागी रहे । स्क्रिनिङमा हेरेका दर्शकले विषयवस्तु र प्रस्तुतिकरणको प्रशंसा गरे । अभिभावकले फिल्म हेर्नुपर्ने सुझाव दिए ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म हेर्न कलाकार तुलसी घिमिरे, जितु नेपाल, कमलमणी नेपाल, मरिचमान श्रेष्ठ, अञ्जना बराइली, नीता ढुगांना, सञ्चिता लुइँटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे, लुनिभा तुलाधार, सरिता गिरी, विशाल भण्डारी, भरतमणी पौडेल, मेक्सम गौडेल, हरिहर अधिकारी, सांसद सुनिलबहादुर थापा पुगेका थिए ।

फिल्म हेरेपछि अभिनेता नेपालले संवाद र सन्देश आफूलाई मनपरेको बताए । उनले भने, ‘हामीले जहिले पनि बच्चालाई कक्षाकोठाको नम्बरमा मात्र सीमित गर्‍यौं, तर कोठाभित्रको नम्बरले मात्र जीवनको नम्बर निर्धारण गर्दैन । शिक्षालाई सीपसँग जोड्नुपर्ने आजको आवश्यकतालाई फिल्मले निकै सान्दर्भिक रूपमा उठाएको छ ।’

मरिचमानले फिल्मलाई ‘किताब’को संज्ञा दिए । उनले भने, ‘यो चलचित्रभन्दा पनि एउटा पढ्नुपर्ने किताब जस्तो लाग्यो । दुर्गम क्षेत्रको शिक्षा र एउटा बुबाले छोराको भविष्यका लागि गर्ने संघर्षले मेरो मन छोयो ।’

तुलाधरले अभिभावकले हेर्नुपर्ने सिनेमा भएको बताइन् । ‘हरेक अभिभावकले यो सिनेमा हेर्नुपर्ने रहेछ । आफ्नो छोराछोरीको रुचि केमा छ, उसले के गर्न चाहन्छ, के पढायो भने अथवा गरायो भने त्यसमा मन लगाउँछ भन्ने थाहा पाउन पनि यो सिनेमा हरेक अभिभावकले हेर्नैपर्छ’ उनले भनिन् ।

सञ्चिताले लेखन र प्रस्तुतिलाई ‘मर्मस्पर्शी’ भन्दै यसले किताबी ज्ञानभन्दा ’सीप’ ठूलो हो भन्ने सन्देश प्रभावकारी ढंगले दिएको बताइन् ।

अभिनेता हरिहर अधिकारीले फिल्म हेर्दा आफ्नो विद्यार्थी जीवनको स्मरण भएको बताए । अभिनेत्री नीता ढुंगानाले बालबालिकामाथि थोपरिने पढाइको दबाबलाई वास्तविक रूपमा चित्रण गरेको प्रतिक्रिया दिइन् ।

जोन योञ्जन निर्देशित फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको अभिनय छ । विनोद पौडेल र जान्वी पौडेल फिल्मका निर्माता हुन् । सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?