News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले ६ वटै महानगरपालिकामा अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको छ ।
- ६ महानगरमध्ये ललितपुर र पोखरामा सर्वसम्मत तथा काठमाडौं, भरतपुर, वीरगञ्ज र विराटनगरमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।
- काठमाडौं महानगरको सभापतिमा कमलप्रसाद पन्त र पार्टीको सबैभन्दा धेरै सदस्य रहेको भरतपुर महानगरको सभापतिमा सीता ज्ञवाली निर्वाचित भएका छन् ।
२० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ वटै महानगरपालिकामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । सबैभन्दा पहिले अधिवेशन गरेर नेतृत्व गठन गर्ने महानगरमा ललितपुर समिति बनेको छ ।
असार ७ देखि ९ गतेसम्म हुने प्रथम महाधिवेशनका लागि हाल धमाधम पालिका तहको अधिवेशन भइरहेको छ । ६ महानगरतर्फ ललितपुर र पोखरामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने अन्य चार वटामा निर्वाचनबाट नयाँ समिति गठन गरिएको छ । तदर्थ समितिमा रहेका महानगरमा अधिवेशनसँगै निर्वाचित समितिसमेत बनेको छ ।
रास्वपाको विधानअनुसार महानगर समिति २५ सदस्यीय हुने व्यवस्था छ । महानगर समितिमा २३ जना निर्वाचित र २ जना सभापतिले मनोनीत गर्ने प्रावधान विधानमा छ । सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष पालिका तहको संरचनाको पदाधिकारी हुने व्यवस्था छ ।
६ वटा महानगरमध्ये रास्वपाका सर्वाधिक सदस्य संख्या भरतपुरमा छन् । भरतपुरमा १० हजार बढी सदस्य रहेको दाबी गरिएको छ भने काठमाडौंमा सात हजार सदस्य संख्या रहेको जानकारी गराइएको छ ।
रास्वपा स्थापना भएको दोस्रो महिना (२०७९ साउन) देखि काठमाडौं महानगरको सभापति बनेका कमलप्रसाद पन्त ‘शशि’ अधिवेशनबाट सोही पदमा दोहोरिएका छन् । तत्कालीन समयमा आफूसहित तीन जना महानगर समितिमा रहेको र अरू दुई जनाले बीचमै संगठन छोडेको पन्तले बताए ।
काठमाडौं महानगरको तदर्थ समितिमा एक्लै रहेर निरन्तर संगठनमा कार्य गरेको उनले बताए । ‘त्यतिबेला संगठनमा बस्ने मान्छे पाउनै मुस्किल थियो । तीन जनाको समिति बनेको थियो । दुई साथीले बीचमै संगठन छोडे,’ पन्तले अनलाइनखबरसँग भने, ‘अधिवेशन गर्ने बेला म एक्लो व्यक्ति संगठनमा थिएँ ।’
पन्तले निर्वाचनबाट नेतृत्व चयन गर्दा सभापतिका अरू दुई प्रत्यासीलाई पराजित गरे । रास्वपा प्रवेश गरेर महानगरको सभापतिमा प्रतिस्पर्धी बनेका सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलाई पन्तले पराजित गरे । अधिवेशनबाट २५६ मतसहित पन्त निर्वाचित हुँदा अर्का सभापतिका उम्मेदवार श्रेष्ठले १७९ मत ल्याए ।
निर्वाचित २३ सदस्यीय समितिमा पदाधिकारीमा सम शाक्य उपसभापति, प्रतीक श्रेष्ठ सचिव र किशोर न्यौपाने सहसचिव बनेका छन् । काठमाडौं महानगर समितिको लागि भएको अधिवेशनमा ५२७ प्रतिनिधि थिए ।
काठमाडौं महानगरमा नवनिर्वाचित सभापति पन्त गार्मेन्ट उद्यमी र निर्यात व्यवसायी हुन् । २०५९ सालदेखि गार्मेन्ट उद्यमी बनेका पन्तले रास्वपामा प्रवेश गर्नुअघि आफू कुनै दलमा आवद्ध नरहेको जानकारी दिए ।
रास्वपाको उद्गम थलोका रूपमा परिचित भरतपुर महानगरमा स्थापनाकालदेखि सभापतिको पदमा रहेकी सीता ज्ञवाली निर्वाचित भएकी छन् । २० वर्ष नर्सिङ पेसा अँगाल्दै व्यवसायी बनेकी ज्ञवाली पार्टी गठन भएकै समयबाट रास्वपामा संलग्न भएकी थिइन् ।
ज्ञवालीका अनुसार रास्वपाको सदस्यता लिने चितवनमा उनी पहिलो व्यक्ति हुन् । ‘सभापति रवि लामिछानले देश बनाउन सक्ने देखेर नै रास्वपामा प्रवेश गरेकी हुँ,’ उनले अनलाइनखबरसँग भनिन् । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारको आकांक्षी रहेकी उनले थपिन्, ‘धेरै समय राजनीति गर्दिनँ । स्थानीय तहको चुनावमा भाग लिन सक्छु ।’
ज्ञवालीले नाममा सर्वसम्मत गराउने प्रयास भए पनि सुवास गैरे सभापतिको उम्मेदवार बनेपछि निर्वाचन गर्नुपरेको थियो । ज्ञवालीले ३३५ मत प्राप्त गर्दा पराजित गैरैले २५६ मत ल्याए ।
रास्वपाले पोखरा महानगरको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । योगेन्द्र केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको हो । केसी प्रतिनिधिसभाको निर्वाचनमा कास्की-२ उम्मेदवारका आकांक्षी थिए । तर उनले टिकट पाएनन् ।
विगतमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएका केसी राजनीति क्रियाशिलता कम गर्दै यातायात व्यवसायी बनेका थिए । उनी दुई कार्यकाल पृथ्वी राजमार्ग बस सञ्चालक समितिको अध्यक्षसमेत हुन् ।
उनी उपनिर्वाचन लगत्तै रास्वपामा प्रवेश गरेका थिए । रास्वपाले उनलाई गण्डकीको अनुशासन आयोगको प्रमुख बनाएको थियो । अनुशासन आयोगबाट राजीनामा दिएर उनी पार्टीको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।
केसी नेतृत्वको पोखरा महानगरको समितिको थप पदाधिकारीमा उपाध्यक्ष संगीता गौतम, सचिव कमल बानियाँ, सहसचिव सरिता शर्मा र कोषाध्यक्षमा विष्णुहरि तिमिल्सिना छन् ।
ललितपुर महानगरको अधिवेशन भने चुनावअघि नै सकिएको थियो । गत पुसमा भएको महानगर अधिवेशनले ललित महर्जनको नेतृत्वमा सर्वसम्मत समिति चयन गरिएको थियो ।
ललितपुर महानगरको सभापति हुनुअघि महर्जन संगठन विभागको प्रमुख थिए । खेलकुद क्षेत्रमा सक्रिय महर्जन ब्याडमिन्टन संघ ललितपुरको पूर्वउपाध्यक्ष हुन् ।
ह्यान्डीक्राफ्ट व्यवसायी महर्जन रास्वपामा आवद्ध हुनुअघि कुनै पनि दलमा आवद्ध थिएनन् । महर्जनले अनलाइनखबरसँग भने, ‘ह्यान्डीक्राफ्टको निर्यात व्यापार गर्दै आएको छु । रास्वपा पार्टी बनेपछि शुभेच्छुक हुँदै संगठनको जिम्मेवारी पनि सम्हाल्दै आएको छु ।’
२०७९ सालको निर्वाचनमा रास्वपाबाट पर्सा-२ मा उम्मेदवार बनेका दीपराज पटेल वीरगञ्ज महानगरको सभापति बनेका छन् । यसअघि रास्वपाको शुभेच्छुक मात्रै रहेका पटेल एकै पटक महानगर समितिको प्रमुख जिम्मेवारीमा पुगेका छन् ।
पटेलले सभापतिका प्रत्यासी अहमद आलमलाई पराजित गरेका हुन् । यसअघि आलम तदर्थ समितिको सभापति थिए । २०७९ सालको चुनावदेखि संगठनका लागि झण्डा उठाएर हिँड्ने आफू एक्लो व्यक्ति भएको नवनिर्वाचित सभापति पटेलले दाबी गरे ।
‘यो चुनावमा टिकट पाइनँ । जसले पाउनुभयो, जिताउन लागें,’ पटेलले अनलाइनखबरसँग भने । रास्वपामा लाग्नुअघि पटेल वित्तीय संस्थामा कार्यरत थिए ।
वीरगञ्ज महानगरको प्रथम अधिवेशनले पटेल नेतृत्वसहित पदाधिकारीमा उपसभापति अशुतोष दुबे, सचिवमा गौतम श्रेष्ठ, सहसचिवमा मुन्ना साह तेलीलाई निर्वाचित गरेको छ ।
तदर्थ समितिको मूल नेतृत्वमा रहेका कृष्ण निरौला विराटनगर महानगरको सभापतिमा दोहोरिएका छन् । विराटनगर-१ निवासी निरौला विगतमा वैदेशिक रोजगारीमा समेत थिए ।
व्यवसायी निरौला महानगरको प्रथम अधिवेशनबाट निर्वाचित सभापति बनेका हुन् । उपसभापतिमा निर्मला गिरी बुढाथोकी, सचिवमा अम्बर कटुवाल, सहसचिवमा विष्णु निरौला (आकाश) निर्वाचित भई पदाधिकारी बनेका छन् ।
सभापतिमा निर्वाचित निरौलाले अरू दुई प्रत्यासी सौरभ कोइराला र चित्रप्रसाद ढुंगेललाई पराजित गरेका हुन् । निरौला २९० मत प्राप्त गरी निर्वाचित हुँदा कोइरालाले ४१ र ढुंगेलले ३४ मत पाए ।
प्रतिक्रिया 4