News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
- नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनायो ।
- नेपालका लागि ब्याटिङमा सीता राना मगरले ३७ रन बनाइन् भने बलिङमा रुबिना क्षेत्रीले ३ विकेट लिइन् ।
२१ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो ।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनायो । भुटानका लागि डेचेन वाङ्मोले सर्वाधिक अविजित ३९ रन बनाइन् । चाडो ओमले ११ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि रुबिना क्षेत्रीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । रिया शर्माले २ तथा कविता कुँवर र मनिषा उपाध्यायले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो । सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन् । रुबिना क्षेत्रीले २४ रन बनाइन् । सोनी पाख्रिनले १३ अनि सम्झना खड्काले १० रन बनाइन् ।
नेपाल १०औं ओभरमा ४७-६ अनि १३औं ओभरमा ६७-७ को दयनीय अवस्थामा पुग्दा सीता र रुबिना मिलेर आठौं विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । सीता आउट हुँदा १०७-८ को अवस्थामा रहेको नेपालले त्यसपछि १५ बलमा ६ रन मात्र जोड्दा बाँकी २ विकेट गुमायो ।
भुटानका लागि सोनाम र छिरिङ जाङ्मोले ३-३ विकेट लिए । कप्तान अन्जु गुरुङले २ तथा रित्सी छोडेन र रिया प्रधानले १-१ विकेट लिए ।
नेपालले बुधबार पहिलो खेलमा कतारलाई हराएको थियो । अब अर्को खेलमा नेपालले शनिबार हङकङसँग खेल्नेछ ।
प्रतिक्रिया 4