News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेभित्र आलोचना सुन्ने संस्कार कमजोर बन्दै गएको र पदका लागि सत्य लुकाएर मौन बस्ने प्रवृत्ति मौलाएको विश्लेषण गरिएको छ ।
- एमालेलाई व्यक्तिनिर्भर बनाउनुको साटो प्रणालीगत रूपमा अगाडि बढाउन र नेतृत्व हस्तान्तरणलाई स्वाभाविक प्रक्रियाका रूपमा लिन आवश्यक रहेको देखिन्छ ।
- पार्टी सुदृढीकरणका लागि आन्तरिक लोकतन्त्र, असहमतिको सम्मान, नयाँ पुस्ताको नेतृत्व र जनजीविकाका सवालमा स्पष्ट राष्ट्रिय दृष्टिकोण आवश्यक छ ।
नेकपा एमाले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा ठूलो जनआधार निर्माण गर्न सफल दलमध्ये एक हो ।
जनताको संघर्ष, बलिदान, संगठन र विचारको जगमा उभिएको यो पार्टीले देशको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
तर इतिहासको गौरवले मात्र वर्तमानको संकट समाधान गर्दैन । आज एमालेले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती बाहिरबाट आएको होइन, आफ्नै घरभित्र हुर्किएको हो।
पार्टीको समस्या विपक्षी दल, सामाजिक सञ्जाल वा सञ्चारमाध्यम मात्र होइनन्। समस्या त्यहाँबाट सुरु हुन्छ, जहाँ आलोचना सुन्ने संस्कार कमजोर बन्छ, प्रश्न गर्नेहरूलाई शत्रु देख्न थालिन्छ, र पार्टीभित्र सत्य बोल्नुभन्दा ताली बजाउनुलाई सुरक्षित विकल्प मानिन्छ।
आज एमालेभित्र एउटा खतरनाक प्रवृत्ति मौलाउँदै गएको देखिन्छ—पद पाएसम्म जयजयकार गर्ने, पद गुमेपछि मौन बस्ने, र पार्टी गलत दिशातर्फ गइरहेको देख्दा पनि व्यक्तिगत स्वार्थका कारण मुख नखोल्ने ।
यस्ता मानिसहरू नेता हुन सक्छन्, कार्यकर्ता हुन सक्छन्, वा विभिन्न तहका जिम्मेवार पदाधिकारी पनि हुन सक्छन्। तर पार्टीलाई संकटमा पार्ने काम विपक्षीले भन्दा यिनै मौन पात्रहरूले बढी गरिरहेका हुन्छन्।
भुइँमान्छे कार्यकर्ताको मनमा आज एउटा प्रश्न छ—पार्टीमा विचार ठूलो कि व्यक्ति ठूलो ? योगदान ठूलो कि पहुँच ठूलो ? क्षमता ठूलो कि चाकडी ठूलो ?
यदि कुनै पार्टीभित्र प्रश्न सोध्नेहरू किनारामा पारिन्छन् र प्रशंसा गर्नेहरू पुरस्कृत हुन्छन् भने त्यो संगठन बिस्तारै जीवित शरीरभित्रको मृत चेतनाजस्तै बन्न थाल्छ।
पद जोगाउनका लागि चुप लागेर बस्नेहरू वास्तवमा संगठनका जीवित लास हुन्। उनीहरू हिँड्छन्, बोल्छन्, बैठकमा बस्छन्, ताली बजाउँछन्, तर संगठनलाई आवश्यक पर्ने बेला सत्य बोल्ने साहस गर्दैनन्।
राजनीतिमा सबैभन्दा खतरनाक मानिस विपक्षी होइन, सत्य देखेर पनि मौन बस्ने आफ्नै मानिस हो।
एमालेले विगतमा गरेका उपलब्धि कम छैनन्। राष्ट्रियता, पूर्वाधार विकास, राजनीतिक स्थिरता र जनतामा आशा जगाउने धेरै काम भएका छन्।
तर उपलब्धिको सूची पढ्दैमा भविष्य सुरक्षित हुँदैन। जनताले हिजोको उपलब्धि सम्झिन्छन्, तर भोलिको योजना खोज्छन्।
आज गाउँमा किसान निराश छन् । युवा विदेशिन बाध्य छन्। उद्योगधन्दा कमजोर छन्। शिक्षा र स्वास्थ्यप्रति जनताको असन्तुष्टि बढ्दो छ। यस्ता विषयमा स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत नगरी केवल राजनीतिक भाषणले जनताको मन जित्न सकिँदैन।
पार्टीभित्र नेतृत्वको प्रश्न पनि गम्भीर रूपमा उठिरहेको छ। केपी शर्मा ओली नेपालको राजनीतिमा स्थापित र प्रभावशाली नेता हुन्। उनको योगदान इतिहासको हिस्सा बनिसकेको छ। तर कुनै पनि संस्थाको दीर्घायु व्यक्तिमा होइन, प्रणालीमा निर्भर हुन्छ।
जब कुनै संगठनमा नयाँ नेतृत्वको विकास रोकिन्छ, तब संगठन विस्तारै व्यक्तिनिर्भर बन्न थाल्छ। व्यक्तिनिर्भर संगठन केही समय बलियो देखिए पनि दीर्घकालीन रूपमा कमजोर हुन्छ।
त्यसैले नेतृत्व हस्तान्तरणलाई विद्रोह वा षड्यन्त्रको रूपमा होइन, संस्थागत विकासको स्वाभाविक प्रक्रियाको रूपमा बुझ्नुपर्छ।
महाभारतको एउटा प्रसंग यहाँ स्मरणीय छ। धृतराष्ट्रलाई हस्तिनापुरको भविष्यभन्दा आफ्ना प्रिय पात्रहरूको संरक्षण महत्त्वपूर्ण लाग्यो। विदुरले पटक–पटक सचेत गराए, भीष्मले संकेत गरे, कृष्णले सम्झाए। तर सत्यभन्दा मोह ठूलो भयो। परिणामस्वरूप हस्तिनापुरले महायुद्ध भोग्नुपर्यो।
आजको राजनीतिमा पनि अवस्था त्यही नहोस्। यदि पार्टीभित्रका विदुरहरू बोल्न छाड्छन्, भीष्महरू मौन बस्छन्, र दुर्योधनहरू मात्र निर्णयको केन्द्रमा पुग्छन् भने संगठन बाहिरबाट होइन, भित्रैबाट कमजोर हुन थाल्छ।
अहिले आलोचना मात्र समाधान होइन। सुधारको स्पष्ट मार्ग पनि आवश्यक छ।
पहिलो, पार्टीभित्र वास्तविक लोकतान्त्रिक अभ्यास सुनिश्चित हुनुपर्छ। नेतृत्व चयन, प्रतिनिधि छनोट र निर्णय प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धाको वातावरण बन्नुपर्छ।
दोस्रो, केन्द्रदेखि स्थानीय तहसम्म संगठनको निष्पक्ष समीक्षा गरेर पुनर्गठन गर्नुपर्छ। चुनाव जित्ने र हार्ने दुवै पक्षका सक्षम व्यक्तिहरूलाई अवसर दिनुपर्छ।
तेस्रो, आलोचनालाई शत्रुता र प्रश्नलाई अपराध ठान्ने संस्कार अन्त्य गर्नुपर्छ। संगठनभित्र असहमतिको सम्मान गर्ने वातावरण बनाउनुपर्छ।
चौथो, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने योजनाबद्ध प्रक्रिया सुरु गर्नुपर्छ। युवालाई भाषण सुन्ने मात्र होइन, निर्णय गर्ने ठाउँमा पुर्याउनुपर्छ।
पाँचौँ, पार्टीले आगामी दशकका लागि रोजगारी, उत्पादन, कृषि, औद्योगिकीकरण, सुशासन, शिक्षा र स्वास्थ्यको स्पष्ट राष्ट्रिय दृष्टिकोण सार्वजनिक गर्नुपर्छ।
एमालेसँग अझै पनि ठूलो जनाधार, बलियो संगठन र अनुभवी नेतृत्व छ। त्यसैले यो संकट अपूरणीय छैन। तर समस्या स्वीकार नगरी समाधान सम्भव हुँदैन।
पार्टीलाई बचाउने काम अन्धभक्ति गर्नेहरूले होइन, सत्य बोल्नेहरूले गर्छन्। ताली बजाउनेहरू धेरै भेटिन्छन्, तर समयमै ऐना देखाउनेहरू दुर्लभ हुन्छन्।
इतिहासले एमालेलाई सम्मानित स्थान दिएको छ। अब पार्टी इतिहासको गौरवमा रमाउने, कि आत्मसमीक्षा गरेर भविष्यको विश्वास पनि जित्ने ?
किनभने राजनीतिमा जनताले धेरै कुरा क्षमा गर्न सक्छन्, तर आफ्नो विश्वासलाई निरन्तर बेवास्ता गर्ने प्रवृत्तिलाई कहिल्यै क्षमा गर्दैनन्।
प्रतिक्रिया 4