+

गर्भपतन केवल ‘मेडिकल रिपोर्ट’ मात्र होइन

२०८३ जेठ  २२ गते १२:४१ २०८३ जेठ २२ गते १२:४१
Shares
गर्भपतन केवल ‘मेडिकल रिपोर्ट’ मात्र होइन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा विज्ञानका अनुसार करिब १५ देखि २० प्रतिशत गर्भावस्था प्राकृतिक त्रुटिका कारण शुरूको चरणमै समाप्त हुने भएकाले महिलालाई दोषी ठान्नु न्यायोचित हुँदैन।

गर्भ रहनु केवल एउटा जैविक प्रक्रिया मात्र होइन, यो त एउटा दम्पतीको साझा सफलता हो । एउटी महिलाका लागि हजारौँ रंगीन सपनाहरूको प्रस्थानविन्दु हो । त्यस्तै गर्भपतन धेरैका लागि यो एउटा ‘क्लिनिकल’ घटना वा अस्पतालको एउटा रिपोर्ट मात्र होला । तर जसको गर्भ खेर गएको हुन्छ, उनका लागि यो एउटा भविष्यको अन्त्य जस्तै हुन्छ ।

कोठामा गुञ्जिन बाँकी रहेको सानो आवाजको प्रतीक्षा, आगामी जीवनको कल्पना र एउटा न्यानो आशा अचानक टुट्छ । त्यो अनुभव केवल चिकित्सकीय समस्या मात्र रहँदैन । यो एउटा गहिरो मानवीय पीडा र भावनात्मक संघर्षको कथा बन्छ ।

हाम्रो समाजमा गर्भपतन हुनासाथ पहिलो औँला महिलातिरै उठ्छ । ‘के खाइस् ?’, ‘कहाँ हिडिस् ?’ वा ‘किन सावधानी अपनाइनस् ?’ जस्ता प्रश्नहरूले गर्भवतीलाई झन् विक्षिप्त बनाउँछन् । तर चिकित्सा विज्ञानको ऐनाबाट हेर्दा करिब १५ देखि २० प्रतिशत गर्भावस्था सुरुवाती चरणमै समाप्त हुन्छन् ।

तीमध्ये अधिकांश घटनामा भ्रुणको क्रोमोसोममा हुने प्राकृतिक त्रुटि जिम्मेवार हुन्छ । जसमा न त आमाको नियन्त्रण हुन्छ, न त कुनै गल्ती नै हुन्छ । कतिपय अवस्थामा संक्रमण, हर्मोनल असन्तुलन आदि हुन्छ । त्यसैले, त्यो रित्तोपनको भारी बोकेर हिँडिरहेकी महिलालाई दोषी ठान्नु न्यायोचित हुँदैन ।

गर्भपतन एक पटक भयो भन्दैमा चिकित्सकले धेरै परिक्षण वा कारणको खोजी गरिहाल्दैनौ । तर जब यो पीडा बारम्बार दोहोरिन्छ, तब हामीले यसको गहिराइमा पुगेर कारणहरू खोज्नुपर्ने हुन्छ ।

कतिपय अवस्थामा आमाको शरीरको प्रतिरक्षा प्रणाली ‘एन्टिफोस्फोलिपिड सिन्ड्रोम’ जस्ता कारण आफ्नै गर्भावस्थाको विरुद्धमा सक्रिय भइदिन्छ । कतै थाइराइड ग्रन्थीको गडबडी, अत्यधिक प्रोल्याक्टिन हर्मोन, वा अनियन्त्रित मधुमेहले पनि भ्रुणको विकासमा अवरोध पुर्‍याएको पाइन्छ ।

कहिलेकाहीँ पाठेघरको बनावटमा जन्मजात त्रुटि हुनु वा भित्र पलाएका पोलिप र फाइब्रोइडले गर्दा पनि बच्चाले बस्ने ठाउँ नपाएर गर्भ खेर जान सक्छ । यी कारणहरू पत्ता लगाउने प्रक्रिया एउटा व्यवस्थित खोज जस्तै हो ।

चिकित्सकले सुरुमा गर्भवतीको विगतका गर्भपतनको समय र प्रकृतिको सूक्ष्म अध्ययन गर्छन् । त्यसपछि आधुनिक अल्ट्रासाउन्ड, भजाइनल सोनोग्राफी वा पाठेघरको भित्री अवस्था हेर्न गरिने ‘हिस्टेरोस्कोपी’ मार्फत शारीरिक संरचनाको जाँच गरिन्छ ।

यदि समस्या बारम्बार दोहोरिएको छ भने दम्पतीकै क्रोमोसोम परीक्षण पनि गर्नुपर्ने हुन सक्छ । रगतका विभिन्न परीक्षणहरूबाट हर्मोनको अवस्था र संक्रमणहरूको पहिचान गरिन्छ । यो प्रक्रिया अलि लामो र धैर्यता चाहिने खालको भए पनि समस्याको जरैसम्म पुग्न यसले ठूलो मद्दत गर्छ ।

गर्भपतनपछि शरीर त केही दिनमा निको होला, तर मनमा लागेको चोट निको हुन समय लाग्छ । धेरै महिलाहरू आफूलाई दोषी मान्ने, एक्लै रुने वा फेरि गर्भवती हुन डराउने ‘ट्रमा’ बाट गुज्रिरहेका हुन्छन् ।

यस्तो बेला सबैभन्दा ठूलो औषधि भनेकै परिवार र जीवनसाथीको सहानुभूतिपूर्ण व्यवहार र चिकित्सकको सही परामर्श हो । धूम्रपान र मदिराबाट दूरी कायम गर्ने, फोलिक एसिड जस्ता पोषक तत्वको नियमित सेवन गर्ने गर्नुपर्छ । र जीवनशैलीमा सानो सुधार ल्याउनाले मात्रै पनि आगामी दिनमा सुखद् परिणाम ल्याउन सक्छ ।

अन्ततः, गर्भपतनको अनुभवले एउटा अध्यायको अन्त्य गरे पनि सिंगो पुस्तक समाप्त भएको हुँदैन । विज्ञानले भन्छ करिब आधा जति केसहरूमा स्पष्ट कारण पत्ता लाग्दैनन् । तर पनि उचित निगरानी र सही समयको हस्तक्षेपले धेरै दम्पतीहरूले सफल अभिभावकत्व प्राप्त गरेका छन् ।

एउटा सपना अधुरो रहँदैमा सन्तान सुखको ढोका सधैँका लागि बन्द हुँदैन । त्यसैले निराश नहुनुस्, विज्ञान र आशाको हात समातेर अघि बढ्नुस्, सफलता पक्कै पाइन्छ ।

गर्भपतन महिला
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय