News Summary
Generated by OK AI. Editorially reviewed.- वातावरणीय प्रदूषण र हानिकारक रसायनका कारण मानवको हर्मोन प्रणाली र प्रजनन स्वास्थ्यमा गम्भीर नकारात्मक असर परिरहेको अध्ययनले देखाएका छन्।
आज विश्वले जलवायु परिवर्तन, वायु प्रदूषण र वातावरणीय क्षयीकरणका चुनौतीहरू सामना गरिरहेको छ । वातावरण संरक्षणको बहस प्रायः वन, वन्यजन्तु, नदी तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा केन्द्रित हुने गरेको छ । तर पछिल्ला वर्षहरूमा भएका वैज्ञानिक अनुसन्धानहरूले वातावरणीय जोखिमहरू केवल प्रकृतिमा मात्र सीमित नरही मानव स्वास्थ्य, विशेषगरी प्रजनन स्वास्थ्यमा समेत गहिरो प्रभाव पारिरहेको तथ्य उजागर गरेका छन् ।
हामीले सास फेर्ने हावा, खाने खाना, प्रयोग गर्ने वस्तुहरू तथा बसोबास गर्ने वातावरणले हाम्रो शरीरको हर्मोन प्रणाली, प्रजनन क्षमता र भावी सन्ततिको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।
त्यसैले आज वातावरण संरक्षण केवल पृथ्वी बचाउने अभियान मात्र नभई भावी पुस्ताको स्वास्थ्य र भविष्य सुरक्षित गर्ने अभियान पनि बनेको छ ।
वातावरणीय प्रदूषण र प्रजनन स्वास्थ्य
आधुनिक जीवनशैलीमा हामी दैनिक रूपमा विभिन्न रासायनिक पदार्थहरूको सम्पर्कमा आइरहेका हुन्छौं । प्लास्टिकका बोतलहरू, खाद्यान्न उत्पादनमा प्रयोग हुने कीटनाशक, औद्योगिक प्रदूषण, धूमपान, सौन्दर्य प्रसाधनमा रहेका रसायन तथा दूषित हावामा पाइने केही तत्वहरूलाई एन्डोक्राइन डिसरप्टिङ केमिकल्स भनिन्छ ।
यी रसायनहरूले शरीरको हर्मोन प्रणालीलाई प्रभावित गर्न सक्छन् । हर्मोनहरू प्रजनन प्रक्रियाका आधारभूत नियामक भएकाले यिनमा आएको असन्तुलनले गर्भधारणदेखि सन्तान जन्मिने प्रक्रियासम्म असर पार्न सक्छ ।
महिलामा पर्ने असर
महिलाहरूमा पनि वातावरणीय जोखिमहरूले प्रजनन स्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्छन् । यसले अण्डाणुको गुणस्तर कमजोर हुन सक्छ । डिम्बाशयको कार्यक्षमता समयभन्दा अगाडि घट्न सक्छ । हर्मोन असन्तुलन हुन सक्छ । गर्भधारणमा कठिनाइ आउन सक्छ । गर्भपतन तथा गर्भावस्थासम्बन्धी जटिलताहरू बढ्न सक्छन् । साथै प्रजनन उपचारको सफलतामा असर पर्न सक्छ ।
विशेषगरी बाँझोपन उपचार गराइरहेका दम्पतीहरूमा वातावरणीय प्रदूषणले उपचारको नतिजामा समेत प्रभाव पार्न सक्ने अनुसन्धानहरूले देखाएका छन्।
पुरुषमा पर्ने असर
वातावरणीय प्रदूषण र हानिकारक रसायनहरूको दीर्घकालीन सम्पर्कले पुरुषको प्रजनन क्षमतामा विभिन्न समस्या निम्त्याउन सक्छ । शुक्रकीटको संख्या घट्न सक्छ । शुक्रकीटको गतिशीलता कम हुन सक्छ ।
शुक्रकीटको गुणस्तरमा ह्रास आउन सक्छ । शुक्रकीटको डीएनएमा क्षति पुग्न सक्छ । गर्भाधानको सम्भावना कम हुन सक्छ । विश्वभर पुरुषहरूमा शुक्रकीटको संख्या क्रमशः घटिरहेको विषयमा विभिन्न अध्ययनहरूले चिन्ता व्यक्त गरिरहेका छन्, जसमा वातावरणीय प्रदूषणलाई महत्वपूर्ण कारणका रूपमा हेरिएको छ ।
वायु प्रदूषण र बाँझोपनको सम्बन्ध
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण आज विश्वव्यापी स्वास्थ्य जोखिममध्ये एक प्रमुख कारण हो । पछिल्ला अनुसन्धानहरूले वायु प्रदूषण र प्रजनन स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको संकेत गरेका छन् ।
युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्शन एन्ड एम्ब्रियोलोजी २०२५ मा प्रस्तुत गरेको तथ्यपत्रले मुख्य सडकबाट २०० मिटरभित्र बस्ने व्यक्तिहरूमा बाँझोपनको जोखिम अरू व्यक्तिको तुलनामा बढी हुने बताएको थियो ।
साथै मुख्य सडकबाट प्रत्येक अतिरिक्त २०० मिटर टाढा बस्दा गर्भधारणको सम्भावना करिब ३ प्रतिशतसम्म बढ्न सक्ने तथ्य पनि यसमा उल्लेख गरिएको छ । यसले यातायातजन्य प्रदूषण र प्रजनन स्वास्थ्यबीचको सम्बन्धलाई थप स्पष्ट बनाएको छ ।
गर्भावस्था र वायु प्रदूषण
वायु प्रदूषणको असर गर्भधारणअघि मात्र होइन, गर्भावस्थाको अवधिभर पनि देखिन्छ । सूक्ष्म कणयुक्त प्रदूषण पिएम २.५ फोक्सो हुँदै रक्तप्रवाहमा प्रवेश गरी गर्भमा रहेको शिशुसम्म पुग्न सक्छ । यसको कारण भ्रूणको विकास प्रभावित हुने सम्भावना रहन्छ ।
जलवायु परिवर्तन र मातृ स्वास्थ्य
जलवायु परिवर्तनले केवल तापक्रम बढाएको मात्र छैन, यसले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा समेत गम्भीर चुनौती थपेको छ । अत्यधिक गर्मीको सम्पर्कमा आउने गर्भवती महिलाहरूमा समयअघि प्रसूति हुने जोखिम बढ्न सक्छ ।
कम तौलका शिशु जन्मिन सक्छन् । मृत शिशु जन्मिने जोखिम बढ्न सक्छ । गर्भावस्थामा उच्च रक्तचाप हुन सक्छ । अस्पतालमा लामो समय उपचार आवश्यक पर्न सक्छ ।
बढ्दो तापक्रम, गर्मीको लहर, बाढी, डुबान तथा प्राकृतिक विपद्का घटनाहरूले गर्भवती महिलाको स्वास्थ्य सेवा पहुँचमा समेत असर पुर्याइरहेका छन्।
जलवायु संकटको विश्वव्यापी प्रभाव
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब ३.६ अर्ब मानिसहरू जलवायु परिवर्तनका स्वास्थ्य प्रभावप्रति अत्यधिक संवेदनशील क्षेत्रमा बसोबास गरिरहेका छन् ।
यसको प्रभाव सबैमा समान हुँदैन । आर्थिक तथा सामाजिक रूपमा कमजोर समुदाय, ग्रामीण क्षेत्रका महिलाहरू, गर्भवती महिला तथा नवजात शिशुहरू बढी जोखिममा पर्छन् । स्वास्थ्य सेवामा सीमित पहुँच भएका समुदायहरूमा यसको असर अझ गम्भीर हुन सक्छ ।
अब के गर्नुपर्छ ?
जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्रजनन स्वास्थ्यबीचको सम्बन्धबारे प्रमाणहरू निरन्तर बलियो बन्दै गइरहेका छन् । त्यसैले अब सार्वजनिक स्वास्थ्य, वातावरण र जलवायु परिवर्तनलाई अलग–अलग विषयका रूपमा होइन, एकीकृत दृष्टिकोणबाट हेर्न आवश्यक छ ।
-यसका लागि वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकता दिनुपर्छ । स्वच्छ र नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्छ ।
-प्लास्टिक तथा हानिकारक रसायनहरूको प्रयोग घटाउनुपर्छ । गर्भवती महिला तथा नवजात शिशुको सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।
-जलवायु सहनशील स्वास्थ्य प्रणाली विकास गर्नुपर्छ ।
-वैज्ञानिक अनुसन्धान तथा प्रमाणमा आधारित नीतिनिर्माणमा लगानी बढाउनुपर्छ । वातावरणमैत्री जीवनशैली अपनाउन समुदायस्तरबाट अभियान सञ्चालन गर्नुपर्छ ।
प्रतिक्रिया 4