२७ जेठ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाले आवेदन दिए । जसमा विज्ञको मूल्याङ्कनको आधारमा सिफारिस समितिले ४३ जनाको आवेदन स्वीकृत गर्यो । तीमध्ये १० जनाको अल्पसूचीसमेत सार्वजनिक भइसक्यो । तर उपकुलपतिमा महिलाको आवेदन परेन ।
६७ वर्षको इतिहास बोकेको त्रिविले माहिला नेतृत्व पाउन सकेको छैन । त्रिविमा महिला प्रतिनिधित्वबारे प्रश्न उठेको छ । महिलाको आवेदन नपर्नु दुःखद भएको प्राज्ञहरू बताउँछन् । ‘एक जना पनि महिला नहुनु दुःखको कुरा हो । यसले रचानात्मक र सकारात्मक सन्देश दिएन,’ पूर्वडिन प्रा.डा. कुसुम शाक्यले भनिन् ।
एक जना महिला पनि सूचीमा नपर्नु विश्वविद्यालय र महिला प्रतिनिधित्व दुवैका लागि चिन्ताको विषय हो । २०७२ सालमा प्रा.डा. सुधा त्रिपाठी शिक्षाध्याक्ष बनेकी थिइन् । त्रिविको पदाधिकारीमा पुग्ने पहिलो महिला नै उनी हुन् । तत्कालीन उपकुलपति प्रा.डा. तीर्थ खनियाको कार्यकाल सकिएपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी त्रिपाठीले सम्हालेकी थिइन् ।
‘मैले रेक्टर भएर काम गरें । कार्यवाहक उपकुलपति भएर चलाएको हुँ,’ उनले भनिन् । त्यतिबेला त्रिपाठीले उपकुलपति हुने सोच बनाएकी थिइन् । तर राज्यले पत्याएन । ‘भीसी भएर चलाउने उत्साह थियो । अपेक्षा पनि राखेको थिएँ । गर्छु भन्ने आँट पनि थियो । तर भइएन, प्रा.डा. त्रिपाठीले भनिन्, ‘भित्री रूपमा अनेक खेल हुने रहेछ । म त्यस्तो खेल नजान्नेमा परेँ ।’
महिला भएको कारण उपकुलपति चलाउन नसक्ने भन्ने होइन । तर राज्य संयन्त्रले अहिलेसम्म नचाहेको बुझाइ उनको छ । ‘महिला भएका कारण झन सजिलो भएको छ,’ उनले अनुभव सुनाउँदै भनिन्, ‘विद्यार्थी तोडफोड गर्न आउँथे । पुरुष नेतृत्व भएको भए कुटिहाल्थे । तर मैले दुई हात फैलाएर छाती थापेँ । केही गर्न सकेनन् । म्यामलाई सकिएन भनेर फर्किन्थे ।’
महिलाले त्रिविको नेतृत्व नपाउनुमा एउटै मात्र कारण छैन । पितृसत्ताले अगाडि बढ्न नदिएको बहस पनि उत्तिकै छ । प्रा.डा. त्रिपाठी उपकुलपतिको राजनीतिक दौडमा महिला नलागेको तर्क गर्छिन् ।
‘महिला भएर उपकुलपति चलाउन नसक्ने भन्ने होइन । महिला राजनीतिक लबिइङमा नलाग्ने भएर हो । आफूले चाहेको ल्याउन सेटिङ हुने गर्छ,’ उनले भनिन्, ‘महिलालाई बनाउन राज्य नै तयार नभएको हो । राज्यले चाहने भने असम्भव छैन नि ।’
यस पटक सरकारले राजनीतिमुक्त बनाउन खुला प्रतिस्पर्धाबाट उपकुलपति चयन गर्न लागेको भनेको छ । तर महिला प्राध्यापकहरूले आवेदन नै दिएनन् । ‘खुला भनिए पनि फेयर हुँदैन भनेर महिलाको आवेदन नपरेको हुन सक्छ,’ प्रा.डा. त्रिपाठीले भनिन् ।
यस पटक मात्र होइन, २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले त्रिविको उपकुलपतिमा प्रा.डा. केसरजंग बराललाई नियुक्त गर्यो, त्यसबेला पनि खुला आह्वान गरेर अहिलेकै जस्तो विधि प्रयोग गरिएको थियो । खुला प्रतिस्पर्धाबाट छनोट हुने भएपछि तत्कालीन मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन प्रा.डा. कुसुम शाक्य र प्रा.डा. संगीता रायमाझीले आवेदन दिएका थिए ।
‘अघिल्लो पटक आवेदन दिएको थिएँ । सर्ट लिस्टमा पनि परेको हो । तर अन्तिममा उपकुलपति भइएन,’ प्रा.डा. शाक्यले भनिन् ।
खुला आह्वान गरे पनि उपकुलपति नबनाउने भएपछि दिनको लागि मात्र आवेदन नदिएको बताउँछिन् शाक्य । ‘नहुने भएपछि किन आवेदन दिन जाने ? एक पटक आवेदन दिएर अनुभव लिएको छु । अरू महिलाले आवेदन दिनुहोला भन्ने थियो । त्रिविको उपकुलपतिमा कोही पनि महिला देखिएन,’ उनले भनिन् ।
डिनमा पनि शून्य महिला
त्रिविको डिनमा पनि महिलाको उपस्थिति छैन । सबै संकायको डिनमा पुरुषको मात्र उपस्थिति छ । कृषि र पशु विज्ञान अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, शिक्षाशास्त्र संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र कानुन संकायमा पनि पुरुष नै डिन रहेका छन् ।
गत २०८१ मंसिरमा मेरिटको आधारमा डिन नियुक्तिको प्रक्रिया अगाडि बढाइएको थियो । विज्ञको समिति नै बनाएर खुला आह्वान गरिएको थियो । तर अन्तिममा राजनीतिक भागबन्डाको आधारमा नै डिन नियुक्त गरिएको थियो ।
महिला प्राध्यापकको संख्या कम
त्रिविमा पुरुषको तुलनामा महिला प्राध्यपकको संख्या कम छ । हाल शिक्षकको संख्या ७ हजार ९६६ रहेकोमा कति महिलाको संख्या छ भन्ने तथ्यांक त्रिविसँग छैन । तर प्राध्यापकहरू महिलाको संख्या कम रहेको स्वीकार गर्छन् ।
विश्वविद्यालयमा महिलाको संख्या कम हुनु मात्र योग्यताको प्रश्न होइन, अवसर र विश्वासको पनि विषय भएको महिला प्राध्यापकहरूको मत छ । ‘योग्य महिला छैनन् भन्ने होइन । खोज्ने र जिम्मेवारी दिने इच्छा राज्य पक्षमा हुनुपर्छ,’ प्रा.डा. शाक्यले भनिन् ।
मेरिटोक्रेसीको बहस हुने गरे पनि व्यवहारमा महिलाले अपेक्षित अवसर नपाएको टिप्पणी गर्छिन् प्रा.डा. शाक्य ।
चुनौतीको पद
त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा उपकुलपतिको पद चुनौतीको भारी रहेको जिकिर गर्छन् । ‘विश्वविद्यालय चलाउनु मन्त्रालय चलाए जस्तो होइन । विद्यार्थी आन्दोलन, शैक्षिक व्यवस्थापन, अनुसन्धान, प्रशासन सबैसँग एकैपटक जुध्नुपर्छ,’ उनले भने, ‘योग्य महिला प्राध्यापकलाई नेतृत्वमा ल्याउन विश्वविद्यालयको वातावरण सुधार आवश्यक छ ।’
हडताल, तालाबन्दी नियन्त्रण, अनुसन्धानमा लगानी र शैक्षिक वातावरण निर्माण गर्न सकियो भने महिलाले झन् राम्रोसँग विश्वविद्यालय चलाउने दाबी माथेमाको छ ।
नेतृत्वका लागि महिला प्राध्यापकको आन्दोलन
त्रिविमा महिला नेतृत्वको विषय अहिले मात्र होइन, विगतदेखि नै उठ्दै आएको छ । सात वर्षअघि महिला प्राध्यापकहरूले क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला सहभागिताको माग राखेर आन्दोलन नै गरेका थिए । हाल केही क्याम्पसमा महिला प्रमुख बनेका पनि छन् ।
त्रिचन्द्र क्याम्पस, महराजगञ्ज नर्सिङ क्याम्पस, पद्यमकन्या बहुमुखी क्याम्पस, भक्तपर बहुमुखी क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस, वीरगञ्ज नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, नेपालगञ्ज नर्सिङ क्याम्पसमा महिलाले नेतृत्व गरिरहेका छन् ।
गत २०८१ पुसमा २४ वटा क्याम्पसका प्रमुख नियुक्ति प्रक्रिया पनि मेरिटको आधारमा गर्ने भनियो । तर त्यसबेला पनि क्याम्पस प्रमुखमा एक जना पनि महिला परेनन् । त्रिविका अधिकांश विभागको नेतृत्वमा महिलाको उपस्थिति न्यून छ ।
क्याम्पसदेखि नै महिलालाई नेतृत्व विकास
उपकुलपतिसम्म पुग्न महिला प्राध्यापकलाई क्याम्पसदेखि नै अगाडि बढाउनु पर्ने मत प्राज्ञहरूको छ । क्याम्पस प्रमुख हुँदाको अभ्यासले उपकुलपति हुँदा काम गर्न सहज हुने तर्क छ । महिला नेतृत्वमा हुँदा पुरुषको तुलनामा पारदर्शी काम हुने विश्लेषण उनीहरूको छ ।
महिलालाई विश्वविद्यालयको नेतृत्वमा ल्याउन राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने बताउँछिन् पूर्वडिन शाक्य । ‘आगामी दिनमा सरकारले खोजी गर्नुपर्यो । नेतृत्वका लागि महिला तयार छन् । यसमा सरकारले नीतिगत निर्णय लिन आवश्यक छ,’ उनले भनिन् ।
अरू विश्वविद्यालयमा पनि न्यून
सरकारले अध्यादेशबाट एकैपटक सबै विश्वविद्यालयको पदाधिकारी पदमुक्त गरेपछि ८ वटा विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया एकसाथ अगाडि बढाएको छ ।
त्रिविसहित पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिकका उम्मेदवारको सर्ट लिस्ट सार्वजनिक भएको छ । जसमा महिला उम्मेदवारको संख्या न्यून छ ।
पूर्वाञ्चल विश्वविद्यालयको १० जनाको सर्टलिस्टमा एक जना पनि महिला छैनन् । जहाँ उपकुलपतिको लागि जम्मा ३८ जनाको आवेदन परेको थियो । सुदूरपश्चिम विश्वविद्यालयको १० जनाको सर्टलिस्टमा पनि महिलाको उपस्थिति छैन । उक्त विश्वविद्यालयको लागि जम्मा १९ जनाको आवेदन परेको थियो ।
मध्यपश्चिम विश्वविद्यालयको १० जनाको सर्टलिस्टमा एक जना महिला कल्याणी मिश्र त्रिपाठीको नाम रहेको छ । जसमा उपकुलपतिको लागि २० जनाको आवेदन परेको थियो ।
पोखरा विश्वविद्यालयको १० जनाको सर्ट लिस्टमा एक जना महिला निर्मला जमरकट्टेलको नाम परेको छ । जसमा सबै गरेर ३८ जनाले आवेदन दिएका थिए ।
राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्टमा महिला परेको छैन । त्यहाँ २७ जानको आवेदन परेको थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १० जनाको सर्ट लिस्टमा एक जना महिला कल्याणी मिश्र त्रिपाठीको नाम परेको छ । जहाँ १५ जनाले आवेदन दिएका थिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने तीन जना महिला सर्टलिस्टमा परेका छन् । ७ जनाको सर्टलिस्टमा चन्द्रकला घिमिरे, यशोधारा भेटुवाल र सारदा पौडेल परेका छन् । जसमा ११ को आवेदन परेको थियो । समग्रमा महिलाको उपस्थिति न्यून रहेको छ ।
सिफारिस समितिले पनि महिलाको आवेदन कम परेको जनाएको छ । ‘आवेदन कम परेको छ । चुनौती पनि छ । योग्यताको आधारमा गर्दा कार्यक्षमता र अनुभव जोडिन्छ,’ समिति सदस्य रेशु अर्यालले भनिन्, ‘शिक्षामा महिला वञ्चित भएको हो । अब पुनरावलोकन गर्न विश्वविद्यालयमा पदोन्नित गर्ने कुन खालको छ त्यो हेर्नुपर्ने देखिएको छ ।’
प्रतिक्रिया 4