News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को पहिलो खेलमा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिका मेक्सिको सिटी स्टेडियममा भिड्दै छन् ।
- फिफा वरियताको १४औं स्थानमा रहेको मेक्सिको र ६०औं स्थानमा रहेको दक्षिण अफ्रिका दोस्रो पटक विश्वकपमा भिड्न लागेका हुन् ।
- पछिल्ला ५ खेलमा मेक्सिको अपराजित रहेको छ भने दक्षिण अफ्रिका जितविहीन छ ।
२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो खेलमा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन् । उक्त खेल मेक्सिकोको मेक्सिको सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने एक बजेबाट सुरु हुनेछ ।
फिफा वरियताको १४औं स्थानमा रहेको मेक्सिको र ६०औं स्थानमा रहेको दक्षिण अफ्रिका विश्वकप इतिहासमा दोस्रो पटक खेल्न आएका हुन् । यसअघि उनीहरुको भेट सन् २०१० को विश्वकपमा भएको थियो ।
घरेलु मैदानको फाइदा उठाउँदै दक्षिण अफ्रिकाले १–१ को बराबरीमा रोकेको थियो । त्यसबाहेक समग्र रेकर्डमा मेक्सिको अगाडि छ । मेक्सिको २ खेल जित्दा एक खेलमा दक्षिण अफ्रिकाले जित निकालेको छ ।
१८औं पटक विश्वकप खेल्न लागेको मेक्सिकोको सन् १९७० र १९८६ मा क्वाटरफाइनलसम्म पुग्नु नै सबैभन्दा ठूलो उपलब्धी हो । पछिल्ला संस्करणमा मेक्सिको समूह चरणबाटै बाहिरिँदै आएको छ । यसपटक घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिको अगाडि बढ्न चाहन्छ ।
दक्षिण अफ्रिका भने पाँचौंपटक विश्वकप खेल्दैछ । सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको छैन । यसपटक मेक्सिकोलाई घरेलु मैदानमा स्तब्ध बनाएर शानदार सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
मेक्सिकोलाई घरेलु मैदानको एडभान्टेज हुनेछ । घरेलु मैदानसँगै फिफा वरियतामा दक्षिण अफ्रिकाभन्दा माथि रहेका कारण पनि मेक्सिको बलियो दाबेदार हो । फिफा वरियताको ६०औं स्थानमा रहेको दक्षिण अफ्रिका १४औं स्थानमा रहेको मेक्सिकोभन्दा धेरै पछाडि छ । तर प्रशिक्षक ह्युगो ब्रोस आफ्नो टोली उलटफेर गर्न पूर्ण रूपमा सक्षम रहेको विश्वास गर्छन् ।
पछिल्ला ५ खेलमा मेक्सिको अपराजित हुँदा दक्षिण अफ्रिका जितविहिन छ । मेक्सिकोले पछिल्लो ५ मा ३ खेलमा जित र दुई खेल बराबरी खेलेको छ । दक्षिण अफ्रिका पछिल्ला ५ मध्ये २ खेलमा हार बेहार्दा ३ खेल बराबरी खेलेको छ ।
घरेलु टोलीको आशा गरेको खेलाडी १७ वर्षे गिल्बर्टाे मोरा हुन् । मेक्सिकोबाट सबभन्दा कम उमेरको खेलाडीका रूपमा उनले १६ वर्षको उमेरमा डेब्यु गरेका थिए । मेक्सिकोसँग रक्षापंक्तिमा अनुभवी एड्सन अल्भारेज देखि मध्यपंक्तिमा एटलेटिको म्याड्रिडका उदयमान खेलाडी ओबेद भार्गास र अग्रपंक्ति सम्हाल्न राउल जिमेनेज जस्ता उच्च स्तरका खेलाडीहरू छन् ।
कप्तान रोनवेन विलियम्स दक्षिण अफ्रिकाले भरोसा गरेको गोलकिपर हुन् । उनी हालको टोलीका सबैभन्दा अनुभवी, भरपर्दा र महत्वपूर्ण खेलाडी मध्ये एक हुन् । ओस्विन एपोलिस र लायल फोस्टर दक्षिण अफ्रिकाका मुख्य हतियार हुन् ।
सन् २०१० मा आयोजकको रुपमा विश्वकप खेलेको दक्षिण अफ्रिका १६ वर्षपछि विश्वकप खेल्न लागेको हो । १६ वर्षअघि फ्रान्समाथि २–१ को स्तब्ध नतिजा निकालेको दक्षिण अफ्रिका पनि विश्वकपमा समूह चरणबाट माथि उठ्न सकेको थिएन ।
खेल विवरण
खेल : मेक्सिको भर्सेस दक्षिण अफ्रिका
स्थान : मेक्सिको सिटी स्टेडियम
समय : मध्यराति १२:४५ बजे
रेफ्री : विल्टन साम्पाइओ
मेक्सिकोको पछिल्लो ५ खेलको नतिजा : ३ जित २ बराबरी
दक्षिण अफ्रिकाको पछिल्लो ५ खेलको नतिजा : १ जित २ बराबरी २ हार
प्रतिक्रिया 4