२९ जेठ, काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको मन्तव्यलाई लक्षित गर्दै साहित्यकार श्यामलले लेखे– ‘प्रमुख प्रतिपक्षका नेता भीष्मराज आङ्देम्बेलाई धन्यवाद ज्ञापन गर्न मन लाग्यो । तपाईंलाई देश र जनताको पक्षमा यसरी नै उभिएको हेर्न पाइयोस् ।’
आङ्देम्बेको ३ हजार १०५ शब्दको लिखित मन्तव्यपछि श्यामलसँग मिल्दाजुल्दा स्टाटस सामाजिक सञ्जालहरूमा बग्रेल्ती देखिए । त्यस्ता स्टाटस लेख्नेहरू कांग्रेस समर्थक मात्र थिएनन् ।
खासगरी प्रतिपक्षी खेमाबाट ‘वाह्वाही’ पाइरहेको मन्तव्यमा आङ्देम्बेले ‘कालो डायरी’ को जिकिर गरेका छन् । जसमा १३ चैतमा बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले गरेका गर्न नहुने आठ वटा कार्यको सूची उल्लेख छन् । ‘कालो डायरी’लाई उनले सरकारको स्वेच्छाचारिता र मनलाग्दीको विरोधको बिम्बको रूपमा चित्रण गर्न खोजेका छन् ।
संयोग कस्तो छ भने आङ्देम्बे स्कूले जीवनमै कालो रुमाल बाँधेर पञ्चायती व्यवस्थाको विरोधमा उत्रेका थिए । २०३६ सालको जनमत संग्रहताका उनी पाँचथरको फिदिम माध्यमिक विद्यालयमा पढ्थे ।
एक बिहान दश बज्दानबज्दै विद्यालयको प्राङ्गणमा लाइन लागेर विद्यार्थीले ‘श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति, श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति…’ गाउन थाले ।
१६ वर्षे एक जना ठिटो भने त्यही लाइनमा टाउकोमा कालो रुमाल बाँधेर उभिए ।
त्यतिबेलाको घटना स्मरण गर्दै आङ्देम्बे भन्छन्, ‘त्यो मेरो भद्र र शान्तिपूर्ण विद्रोह थियो ।’
त्यसो त उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिक छ । उनका बाजे देवमान आङ्देम्बे २०१३ सालमै मन्त्री बनेका थिए । टंकप्रसाद आचार्य नेतृत्वको सरकारमा उनी अर्थ, मालपोत उपमन्त्री थिए ।
भीष्मराजका बुबा धनेन्द्रराज आङ्देम्बे पनि राजनीतिबाट अलग थिएनन् । उनी पाँचथर जिल्लाको साविक नवमीडाँडा गाविसका अध्यक्ष थिए ।
२०२१ सालमा नवमीडाँडा–८ मा जन्मेका भीष्मराज २०४२ सालमा सत्याग्रह आन्दोलनमा सहभागी भए बापत नौ महिना जेल परे । पटक पटक गरी करीब तीन वर्ष बन्दी जीवन बताएका उनले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति अगाडि बढाए ।
२०४९ सालमा पाँचथर जिल्ला विकास समितिको सदस्य निर्वाचित भएका उनी २०५१ सालमा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बने । २०५६ सालमा पाँचथर–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको संसदीय यात्रा २०७० मा संविधानसभा सदस्यको रूपमा सम्भव भयो ।
त्यतिबेला उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको सभापति बनेका उनी दोस्रो पटक प्रतिनिधिसभा सदस्य बनेका हुन् । आङ्देम्बेको दोस्रो ‘इनिङ्स’ सुरुआतमै देखिने र सुनिने भएको छ ।
भीष्मराज भन्छन्, ‘जिम्मेवारीले अवसरलाई गुणात्मक बनाउँदो रहेछ ।’

निर्वाचन अघिको सबैभन्दा ठूलो दल कांग्रेस २१ फागुनपछि जम्मा ३८ सिटमा खुम्चियो । २०१५ सालपछिका सबै आमनिर्वाचन लड्दै आएको कांग्रेसलाई इतिहासमै सबैभन्दा सानो दलमा सीमित भए पनि प्रमुख प्रतिपक्षी बन्ने अवसर भने जुर्यो ।
कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको नेता चयन भए, समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका ६१ वर्षीय भीष्मराज आङ्देम्बे ।
१४ वैशाखमा उनी दलको नेतामा निर्विरोध भए । त्यसको १० दिनपछि संवैधानिक परिषद्को बैठक बस्यो । २४ वैशाखमा बसेको परिषद्को बैठकमा प्रधानमन्त्री शाहले प्रधानन्यायाधीश बन्न योग्यता पुगेका ६ न्यायाधीशमध्ये चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशमा प्रस्ताव गरेपछि आङ्देम्बेले विरोध गरे ।
न्यायालयको सात दशक लामो प्रचलन कायम राख्दै पहिलो वरीयताका न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने अडान लिए । ६ सदस्यीय संवैधानिक परिषद्मा उनले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको साथ पाए ।
निर्वाचन अवधिभरिमा जम्मा २८ मिनेट भाषण गरेर प्रधानमन्त्री बनेका शाहसँग संवैधानिक परिषद् बैठकमा एक घण्टा भन्दा बढी आङ्देम्बेले सवाल–जवाफ गरे । पूर्वमेयर समेत रहेका प्रधानमन्त्री शाहसँग यति लामो दन्तबझान अरुले विरलैले गरेका होलान् ।
कांग्रेस राजनीतिलाई नजिकबाट बुझेका प्राध्यापक कृष्ण खनाल कांग्रेस संसदीय दलका नेताको सुरुआत प्रभावशाली देखिएको बताउँछन् । खनाल भन्छन्, ‘विवादमा नपरेका पुरानै नेता हुन्, आफ्नो कुरा राख्ने शैली राम्रो छ ।’
कांग्रेस संसद्मा आफ्नो अडानबाट पछि हटेकोमा भने प्राध्यापक खनाल सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘परराष्ट्र मन्त्रीको जवाफबाटै सन्तुष्ट हुनु थियो भने त्यत्रो दिन अवरोध किन गरियो ? कांग्रेस अडानबाट पछि हटेको मलाई पटक्कै चित्त बुझेको छैन ।’
प्रधानमन्त्री शाहले १७ वैशाखमा संसद्मा उभिएर नेपालले पनि भारतको सीमा मिचेको भनेर आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएपछि कांग्रेस लगायत प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका थिए । आफ्नो त्यो भनाइबारे प्रधानमन्त्रीले संसद्बाटै जवाफ दिनुपर्ने प्रतिपक्षी दलहरूको माग थियो । तर माग पूरा नहुँदै उनीहरू संसद् खुलाउन तयार भएका थिए ।
आङ्देम्बेकै गृहजिल्ला पाँचथरकी नेकपा (एमाले) नेतृ तथा सांसद भूमिका सुब्बा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको गतिविधिले गर्दा प्रतिपक्षमा रहेका नेताहरूको आवाज प्रभावशाली सुनिन थालेको बताउँछिन् । सांसद सुब्बा भन्छिन्, ‘सत्तापक्षको रवैया नै यस्तो छ खरो रूपमा प्रस्तुत हुनुको विकल्प छैन, भीष्मराजज्यूले प्रतिपक्षको आवाज बोल्नुभएको हो, त्यो एकदमै सकारात्मक छ ।’
तीन दशक भन्दा लामो संसदीय अनुभव भएका पूर्वमन्त्री हृदयेश त्रिपाठीका अनुसार अरूलाई घोचपेच नगरी आफ्नो कुरा राख्न सक्नु राम्रो सांसदको खुबी हो । उनी भन्छन्, ‘भीष्मराजजीमा मैले त्यस्तो गुण देखें । उहाँले बडो शालीनतापूर्वक आफ्नो मत संसद्मा दर्ज गर्नुभयो ।’
हिन्दुग्रन्थ महाभारतमा एक जना आदर्श पात्र छन्, भीष्म । हस्तिनापुरका राजा शन्तनु र नदी रूपी देवी गंगाका आठौं पुत्र भीष्मको वास्तविक नाम भने देवव्रत हो ।
आफ्ना पिता शन्तनुका लागि ब्रह्मचर्य पालना गर्ने र हस्तिनापुरको सिंहासनमा कहिल्यै नबस्ने भीष्म प्रतिज्ञा गरेकाले उनी देवव्रतबाट भीष्म भए ।
महाभारत युद्धमा उनी कौरव पक्षको सेनापति थिए । कौरव र पाण्डवका हजुरबुबा हुन्, उनी । हजुरबा समान व्यक्तित्व भएका र कुरुवंशका ज्येष्ठ संरक्षक भएकाले उनलाई भीष्म पितामह भनियो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ९२ सांसद प्रतिपक्षी बेन्चमा छन् । प्रतिपक्षी मध्ये सबैभन्दा ठूलो दल कांग्रेसका नेता आङ्देम्बेलाई साहित्यकार श्यामलले भने जस्तै सधैं देश र जनताको पक्षमा उभिएको हेर्न पाइएला ? पार्टी र संसदीय फाँटमा उनी भीष्मबाट भीष्म पितामह बन्लान् ? त्यो भने उनको भावी दिन नहेरी ठोकुवा गर्न सकिंदैन ।
प्रतिक्रिया 4