News Summary
Generated by OK AI. Editorially reviewed.- उद्यमी सीता पौडेलले काठमाडौंको दरबारमार्गमा दिगो फेसन प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रि लभ लक्स बाइ सोराया’ नामक थ्रिफ्ट स्टोर सञ्चालन गरेकी छिन् ।
- उनले सोरायाको नाफा र प्रिलभको दानबाट १६ वर्षमुनिका बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउन ‘अरोरा फाउन्डेसन’ सञ्चालन गरेकी छिन् ।
काठमाडौंको दरबारमार्गमा तपाईंले एउटा आउटलेट देख्नुहुनेछ, प्रि लभ्ड लक्स बाइ सोराया ।
जब तपाईं यसको साजसज्जा देख्नुहुनेछ वा यसमा सजाइएका लत्ताकपडा देख्नुहुनेछ, तपाईंलाई लाग्न सक्छ यो कुनै ब्रान्डेड सप हो । तर तपाईंको अनुमान यहाँ फेल खान्छ । किनभने यो ‘थ्रिफ्ट स्टोर’ हो । अर्थात पुराना वा सेकेन्ड ह्यान्ड सामानको आउटलेट ।
हो, यहाँ रहेका अधिकांश सामान पहिले कसैको दराजमा थिए, प्रयोग भइसकेका थिए । तर यी सामाग्री अझै प्रयोग योग्य अवस्थामा छन् र तिनै सामानलाई नयाँ मूल्य र नयाँ प्रयोगकर्तासम्म पुर्याउने काम गरिरहेको छ ‘प्रि लभ्ड लक्स बाइ सोराया’ले ।
नेपालमा थ्रिफ्टिङको अवधारणा नयाँ होइन । प्रयोग भएका थ्रिफ्ट सामाग्री सामाजिक सञ्जालमार्फत बिक्री गर्ने अभ्यास केही वर्षयता बढ्दो छ । तर ब्रान्डेड फेसन सामग्रीलाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय ढंगले पुनःबजारमा ल्याउने प्रयास भने सीमित छन् ।
यही खाली ठाउँ पहिचान गरेर उद्यमी सीता पौडेलले ‘प्रिलभ्ड लक्स बाइ सोराया’ सुरु गरेकी हुन् ।
उनका अनुसार प्रिलभ केवल व्यापारिक प्लेटफर्म होइन, दिगो फेसन र जिम्मेवार उपभोग संस्कृतिको अभियान पनि हो । ‘हामीले किनिरहेका, प्रयोग गरिरहेका र फालिरहेका सामानहरूले वातावरणमा प्रत्यक्ष असर पारिरहेका छन् । अझै प्रयोग गर्न मिल्ने सामान पुनः प्रयोगमा ल्याउन सकियो भने वातावरणीय भार कम गर्न सकिन्छ,’ उनी भन्छिन् ।
प्रिलभको विशेषता यसको गुणस्तर नियन्त्रण प्रणाली हो । यहाँ सामान ल्याउन चाहने व्यक्तिले ब्रान्डेड र मौलिक सामान ल्याउनुपर्छ । सामान राम्रो अवस्थामा हुनुपर्छ । अत्यधिक प्रयोग भएका वस्तुहरू स्वीकार गरिँदैनन् । प्रत्येक सामान रूपमा जाँच गरिन्छ । धेरै अवस्थामा स्वयं सीताले राति समय निकालेर सामान निरीक्षण गर्छिन् ।

‘मानिसहरूले हामीलाई विश्वास गरेर आफ्ना लाखौं रुपैयाँ पर्ने सामान जिम्मा दिनुहुन्छ । ग्राहकले पनि हामीलाई विश्वास गरेर किन्नुहुन्छ । त्यसैले विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो’ उनी भन्छिन् ।
हाल प्रिलभमा जारा, एच एन्ड एम, कोच, माइकल कोर्स, टोरी बर्च लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका सामान पाइन्छन् । केही वस्तु हजार रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुन्छन् भने केही लक्जरी सामानको मूल्य ५० हजारदेखि ८० हजार रुपैयाँसम्म पुग्छ ।
सीताका अनुसार प्रिलभको सफलता केवल व्यापारमा सीमित छैन । यो मोडलले चार पक्षलाई एकैपटक लाभ पुर्याइरहेको छ । पहिलो, प्रयोग नगरिएका सामान बेच्ने व्यक्तिले आर्थिक लाभ प्राप्त गर्छन् । दोस्रो, ग्राहकले सस्तो मूल्यमा गुणस्तरीय ब्रन्डेड सामान पाउँछन् । तेस्रो, व्यवसाय सञ्चालन गर्ने टोलीले रोजगारी र आम्दानी पाउँछ । चौथो, पुनः प्रयोगको संस्कृतिले वातावरण संरक्षणमा योगदान पुग्छ ।
‘मलाई सबैभन्दा खुसी लाग्ने कुरा यही हो कि यहाँ सबै पक्ष जितको अवस्थामा छन्’ उनी भन्छिन् ।
आज प्रिलभ्डलाई हेर्दा यो एउटा सफल अवधारणा जस्तो देखिन्छ । तर यसको पछाडि लामो संघर्ष, अध्ययन, मातृत्व, व्यवसायिक अनुभव र निरन्तर सिकाइको कथा लुकेको छ ।
व्यापारिक परिवारमा हुर्किएको बाल्यकाल
सीताको जन्म बागलुङको एक व्यापारिक परिवारमा भएको हो । उनका बुबाआमा गाउँमा चिनिएका व्यापारी थिए । यही कारण सीताले सानैदेखि व्यापारको वातावरण नजिकबाट देखिन् ।
उनका अनुसार व्यापारको पहिलो पाठ उनले आफ्नी आमाबाट सिकिन् । बुबा सामान जुटाउन बाहिर जान्थे भने आमा व्यापार सञ्चालन गर्थिन् । ग्राहकसँग व्यवहार गर्ने, समस्या समाधान गर्ने र सीमित स्रोतबाट अवसर सिर्जना गर्ने क्षमता उनले आफ्नी आमामा देखिन् ।
‘मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणा मेरी आमा हुनुहुन्छ’ उनी भन्छिन्, ‘उहाँले महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने कुरा व्यवहारमै देखाउनुभयो ।’
उनमा सानै उमेरदेखि व्यापारप्रतिको रुचि पनि देखिन थालेको थियो । विद्यालयमा पढ्दा उनी र दिदी मिलेर घरको पसलबाट मिठाई किनेर लगेर बिक्री गर्थे । ३० रुपैयाँमा किनेको सामान ३५ रुपैयाँमा बेचेर पाँच रुपैयाँ नाफा कमाउने त्यो अनुभवले नै उनलाई व्यवसायको आधारभूत ज्ञान दिएको थियो ।

व्यपारकै सिलसिलामा सीताको परिवार बागलुङबाट कपिलवस्तु सर्यो । कपिलवस्तुबाट एसएलसी पूरा गरेपछि उनको परिवार काठमाडौं आयो । त्यतिबेलासम्म उनले व्यवसायबारे धेरै कुरा सिकिसकेकी थिइन् । तर आफ्नो करिअरका लागि कुन बाटो रोज्ने भन्ने प्रश्न भने अझै बाँकी थियो ।
अन्ततः उनले होटल म्यानेजमेन्ट अध्ययन गर्ने निर्णय गरिन् र अध्ययन सुरु गरिन् । ‘मलाई हस्पिटालिटी क्षेत्र निकै आकर्षक लाग्थ्यो’ उनी भन्छिन्, ‘मानिससँग काम गर्ने, व्यवस्थापन गर्ने र सेवा उद्योगको हिस्सा बन्ने इच्छा थियो ।’
अध्ययनका क्रममा उनले होटल उद्योगको व्यवस्थापन पक्षलाई नजिकबाट बुझ्ने अवसर पाइन् ।
इन्टर्नसिप र कामको अनुभवहरूले पनि उनलाई व्यवसाय सञ्चालनका धेरै पक्ष सिकाए । तर अध्ययन सकिँदै गर्दा उनले नेपालमा होटल म्यानेजमेन्टप्रति रहेको सीमित बुझाइको सामना गर्नुपर्यो ।
‘होटल म्यानेजमेन्ट पढेको मान्छेलाई सबैले खाना पकाउने मान्छे जस्तो मात्र बुझ्थे’ उनी हाँस्दै भन्छिन्, ‘होटलभित्र फ्रन्ट अफिस, व्यवस्थापन, हाउसकिपिङ, फुड एण्ड बेभरेज, मार्केटिङ जस्ता धेरै क्षेत्र हुन्छन् भन्ने धेरैलाई थाहा नै थिएन ।’
केही समय होटल क्षेत्रमा काम गरेपछि उनलाई आफूले खोजेको सिर्जनात्मकता र नेतृत्वको अवसर त्यहाँ पर्याप्त नभएको महसुस भयो । यही बीचमा उनको जीवनले अर्को मोड लियो ।
विवाह र मातृत्वको सुरुवात
होटल म्यानेजमेन्ट अध्ययनको अन्तिम चरणतिर उनको विवाह भयो । उनका श्रीमान् एमबीबीएस सकेर सरकारी सेवामा कार्यरत चिकित्सक थिए । विवाहपछि दुवै आ–आफ्नो करिअर निर्माणको चरणमा थिए । विवाह भएको करिब डेढ वर्षमै उनी गर्भवती भइन् । यो योजना बनाएर आएको अवस्था थिएन । उनी अझै अध्ययन र करिअरका धेरै योजना बुन्दै थिइन् ।
‘त्यो बेला मलाई निकै तनाव भएको थियो’ उनी सम्झिन्छिन्, ‘म अझै धेरै पढ्न चाहन्थेँ, केही गर्न चाहन्थेँ । अचानक गर्भवती भएपछि सबै सपना रोकिएजस्तो लाग्यो ।’
श्रीमान् धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यरत थिए । त्यसैले उनी पनि धरान पुगिन् । नयाँ ठाउँ, नयाँ परिवार, गर्भावस्थाको शारीरिक र मानसिक परिवर्तन तथा श्रीमानको अत्यन्त व्यस्त कार्यतालिकाले उनलाई चुनौतीपूर्ण अवस्थाबाट गुज्रनु पर्यो ।
‘म एक्लै खाना बनाउँथेँ, एक्लै बस्थेँ, श्रीमान् ड्युटीमा व्यस्त हुन्थे’ उनी सुनाउँछिन्, ‘कहिलेकाहीँ तीन दिनसम्म पनि घर नआउने अवस्था हुन्थ्यो । त्यो समय उनले मानसिक दबाब, एक्लोपन र भविष्यप्रतिको चिन्तासँग संघर्ष गरिन् । तर छोरी जन्मिएपछि विस्तारै उनको आत्मविश्वास फर्किन थाल्यो।
बच्चालाई काखमा राखेर एमबीए
छोरी हुर्किदै गएपछि सीताले आफ्नो पुरानो सपना पुनः सम्झिइन् उच्च शिक्षा । उनको लक्ष्य स्पष्ट थियो, काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट जस्तो प्रतिष्ठित संस्थामा एमबीए पढ्ने ।
समस्या के थियो भने गणित उनको प्रिय विषय थिएन । जिम्याट परीक्षाको तयारीका लागि अधिकांश विद्यार्थी कोचिङ सेन्टर धाउँथे । तर उनीसँग समय पनि कम थियो र सानो बच्चाको जिम्मेवारी पनि ।

‘म छोरीलाई स्तनपान गराउँदै ल्यापटप अगाडि राखेर पढ्थेँ’ उनी सम्झिन्छिन्, ‘राति बच्चा सुतेपछि फेरि पढ्थेँ । अथक मेहनतपछि पहिलो प्रयासमै उनको नाम निस्कियो ।
एमबीए अध्ययनका क्रममा पनि चुनौती कम थिएनन् । होटल म्यानेजमेन्ट पृष्ठभूमिबाट आएकी उनलाई वित्त, अर्थशास्त्र, लेखा र व्यवस्थापनका कतिपय विषय नयाँ थिए । ‘धेरै साथीहरू भन्थे, यो त हामीले बीबीएमा पढिसकेका हौँ । म भने पहिलो पटक सुन्दै थिएँ’ उनी भन्छिन् । तर हार नमानी निरन्तर मेहनत गरिन् । अन्ततः उनले छात्रवृत्तिमै एमबीए पूरा गरिन् ।
उनका अनुसार एमबीए उनको जीवनको सबैभन्दा महत्वपूर्ण मोडमध्ये एक हो । ‘आज म जे छु, त्यसमा एमबीएको धेरै ठूलो योगदान छ’ उनी भन्छिन्, ‘त्यहाँबाट मैले रणनीति, व्यवस्थापन, नेतृत्व, प्रणाली निर्माण र व्यवसायलाई दीर्घकालीन रूपमा सोच्ने दृष्टिकोण पाएँ ।’
‘सोराया’को जन्म
एमबीएपछि सीताले पूर्ण रूपमा उद्यमशीलताको बाटो रोजिन् । उनको ध्यान सौन्दर्य सामग्रीको क्षेत्रमा गयो । यो रुचि पनि नयाँ थिएन । अमेरिकामा बस्ने दाइले सानैदेखि उनलाई विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका कस्मेटिक्स, ब्याग र फेसन सामग्री पठाइरहन्थे ।
नेपालमा पाइने र विदेशबाट आउने उत्पादनबीचको गुणस्तरीय अन्तर उनले धेरै पहिल्यै अनुभव गरिसकेकी थिइन् । ‘म जहिले पनि सोच्थेँ, किन नेपालमा यस्ता गुणस्तरीय उत्पादन सहज रूपमा पाइँदैनन् ?’ उनी भन्छिन् ।
यही सोचबाट ‘सोराया’ को सुरुवात भयो । छोरीको नामबाट प्रेरित भएर राखिएको यो ब्रान्डले अन्तर्राष्ट्रिय स्तरका प्रिमियम कस्मेटिक्स नेपाली बजारमा उपलब्ध गराउने लक्ष्य राख्यो ।
सुरुदेखि नै उनले स्पष्ट रणनीति अपनाइन्, गुणस्तरमा सम्झौता नगर्ने । ‘गुणस्तर खोज्ने ग्राहकलाई सेवा दिने मेरो लक्ष्य थियो’ उनी भन्छिन् । समयसँगै सोरायाले बजारमा विश्वास कमाउँदै गयो । धरानमा सानो स्टोरबाट सुरु भएको व्यवसाय आज हजारौँ ग्राहकसम्म पुगेको छ । अहिले धरान, पोखरा र काठमाडौँ गरी तीन सहरमा सोरायाको स्टोर छ ।
सोरायाबाट प्रिलभसम्म
सोराया सञ्चालनकै क्रममा सीता बारम्बार विदेश यात्रा गर्थिन् । विशेषगरी दुबई उनको मनपर्ने गन्तव्य थियो । त्यहाँका थ्रिफ्ट स्टोर, रिसेल मार्केट र सस्टेनेबल फेसन संस्कृतिले उनलाई गहिरो प्रभाव पार्यो । मानिसहरूले प्रयोग गरिसकेका ब्रान्डेड सामानहरू व्यवस्थित रूपमा किनबेच गरिरहेको उनले देखिन् । ‘त्यहाँ यो सामान्य कुरा थियो, तर नेपालमा यस्तो व्यवस्थित अवधारणा थिएन’ सीता भन्छिन् ।
त्यसपछि उनले अध्ययन सुरु गरिन् । बजार बुझिन् । नेपालका थ्रिफ्ट व्यवसायहरू अवलोकन गरिन् । तर धेरै ठाउँमा उनले गुणस्तर, प्रस्तुति र विश्वासको कमी देखिन् । यदि यो काम गर्ने हो भने व्यवस्थित रूपमा गर्नुपर्छ भन्ने धारणा उनले बनाइन् । त्यही सोचबाट ‘प्रि लभ लक्स बाइ सोराया’ को जन्म भयो ।
प्रिलभ्डको फरक पहिचान
सीताका अनुसार प्रिलभ्ड केवल थ्रिफ्ट स्टोर होइन । यो सस्टेनेबल फेसनको अभियान हो । यहाँ बिक्रीका लागि आउने प्रत्येक सामान व्यक्तिगत रूपमा जाँच गरिन्छ । जेन्युइन, राम्रो अवस्था र प्रयोगयोग्य सामान मात्र स्वीकार गरिन्छ ।
‘कसैले पैसा तिरेर सामान किन्छ भने उसले सम्मानजनक गुणस्तर पाउनुपर्छ,’ उनी भन्छिन् । प्रिलभ्डमा अहिले जारा, एचएण्डएम, कोच, माइकल कोर्स, टोरी बर्च लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका सामान उपलब्ध छन् ।
यो व्यवसायले धेरै पक्षलाई फाइदा पुग्नु सबैभन्दा खुसीको विषय भएको सीता सुनाउँछिन् ।

‘मलाई सबैभन्दा सन्तुष्टि दिने कुरा भनेकै यही हो,’ उनी भन्छिन्, ‘कसैले प्रयोग नगरेको सामान अर्को व्यक्तिको काम लाग्छ, वातावरणमा फोहोर कम हुन्छ, ग्राहकले राम्रो सामान सस्तोमा पाउँछ र व्यवसाय पनि चल्छ ।’
उनका लागि प्रिलभ्ड केवल व्यापार मात्र नभई दिगो उपभोग संस्कृतितर्फको सामाजिक अभियान हो । अहिले उनले ४ जनालाई रोगजारी दिइरहेकी छिन् ।
सोरायाको नाफा र प्रिलभ्ड डोनेसन अरोरा फाउन्डेसनमा
प्रिलभ्ड सँगै सीताले ‘अरोरा फाउन्डेसन’ पनि सञ्चालन गरिरहेकी छन्, जसको नाम उनकी कान्छी छोरी अरोराको नामबाट राखिएको हो । सोरायाका विभिन्न व्यवसायबाट प्राप्त हुने नाफाको ०.३ प्रतिशत स्वतः अरोरा फाउन्डेसनमा जाने व्यवस्था गरिएको छ । साथै, प्रिलभमार्फत संकलित हुने सम्पूर्ण डोनेसन पनि सोही फाउन्डेसनमै जम्मा गरिनेछ ।
यसरी संकलित रकम १६ वर्षमुनिका बालबालिकाको स्वास्थ्य र शिक्षामा प्रयोग गरिनेछ । भविष्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, बालबालिकाको नियमित स्वास्थ्य परीक्षण गर्ने र आवश्यक सहयोग पुर्याउने उनको लक्ष्य रहेको छ ।
प्रतिक्रिया 4