+
+
Shares

मनसुनका बेला इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा

मेयर थापा भन्छन्– संघीय सरकारले भौतिक पूर्वाधार पुनर्निर्माणलाई बेवास्ता गर्‍यो

गत वर्षको भारी वर्षा र पहिरोका कारण भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा वर्षातको समयमा यस वर्ष इलामको आर्थिक उत्पादन बाहिर पठाउन नसकिने र जिल्ला नै सम्पर्कविहीन हुनसक्ने खतरा बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते ११:२९
पहिरोले क्षतिग्रस्त इलामको जोगमाई क्षेत्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र पुल मर्मत नहुँदा यस वर्षको मनसुनमा इलाम जिल्ला सम्पर्कविच्छेद हुने उच्च जोखिममा परेको छ ।
  • इलाम नगरपालिकामा बाढीपहिरोबाट ४० करोड रुपैयाँ बराबरको क्षति भए पनि केन्द्र सरकारबाट पर्याप्त बजेट प्राप्त नभएको नगरप्रमुख केदार थापाले बताए ।
  • मेची राजमार्गको राजदुवाली खण्डमा निरन्तर पहिरो जाँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ भने वर्षामा सडक पूर्ण रूपमा अवरुद्ध हुने जोखिम छ ।

३१ जेठ, काठमाडौं । यस वर्षको मनसुनका बेला इलाम जिल्ला देशका अन्य भू–भागबाट कुनैपनि समयमा सम्पर्कविच्छेद हुनसक्ने उच्च जोखिममा परेको छ ।

गत वर्षको भारी वर्षा र पहिरोका कारण भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा वर्षातको समयमा यस वर्ष इलामको आर्थिक उत्पादन बाहिर पठाउन नसकिने र जिल्ला नै सम्पर्कविहीन हुनसक्ने खतरा बढेको हो ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाकाअनुसार गत वर्ष असोज १८ र १९ गतेको विनाशकारी वर्षापछिको बाढी र पहिरोबाट नगरपालिकाले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । नेपालबाट मनसुन बाहिरिने सरदर मिति (अक्टुबर २) भन्दापछि इलाममा भएको अत्यधिक वर्षाले चार वटा स्टेसनमा रेकर्ड ब्रेक गरेको थियो ।

बाढी पहिरोबाट कम्तिमा ३९ जनाको मृत्यु भएको थियो । भौतिक क्षति पनि अत्यधिक भएपछि सरकारले इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

नगरपालिकाको प्राविधिक मापन अनुसार कुल नोक्सानी ४० करोड रुपैयाँ बराबरको छ । यस प्राकृतिक विपत्तीबाट नगरपालिका क्षेत्रभित्रका करिब २०० जना पूर्णरूपमा विस्थापित अवस्थामा छन् ।

नगरप्रमुख थापाले भने, ‘हामीले केचना–कञ्चनजङ्घा सडक अन्तर्गत पर्ने पुवा खोलामा नगरपालिकाको ठूलो प्रयत्न र जोडबलमा एउटा बेलीब्रिज ल्याएका थियौँ, त्यसलाई बाढीले बगायो । त्यस्तै जोगमाई खोलामा पनि एउटा पुरानो बेलीब्रिज ल्याएर इन्स्टल गरेका थियौँ, त्यो पनि बगाइदियो । बाढीपहिरोका कारण भौतिक पूर्वाधार मात्र नभई खानेपानी, सिंचाइ, सडक सञ्जाल र कृषि उत्पादनमा समेत ठूलो परिमाणमा क्षति पुगेको छ ।’

जोखिममा मेची राजमार्ग, सामान्य वर्षामा पनि सडक अवरुद्ध 

मेची राजमार्ग अन्तर्गत इलामको माईखोला खण्डमा पर्ने राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सडक पूर्णरूपमा सुचारु गर्न कठिनाइ भइरहेको छ ।

इलाम नगरपालिकाका प्रमुख केदार थापा

उक्त खण्डमा पहिरो झरिरहने भएकाले दैनिक रूपमा गाडीहरूको लामो लाइन लाग्ने तथा कतिपय अवस्थामा गाडी सञ्चालन गर्न पनि कठिन हुँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । वर्षात शुरु भइसकेकाले यो खण्ड अझ बढी संवेदनशील र जोखिमपूर्ण बन्दै गएको छ ।

उनले भने, ‘धेरै ठूला ल्यान्डस्लाइडहरू छन् । राजमार्गहरू अस्तव्यस्त छन् । राजदुवालीमा बाटो बनाउन सकिरहेको अवस्था छैन । यात्रुहरूलाई आवागमनमा ठूलो एउटा समस्या बन्दै आइरहेको छ । गाडीहरू ताँती लाग्ने, पहिरो जाने, गाडी चढाउन नसक्ने, समस्या छ ।’

इलाम नगरपालिकाको कुल बजेट धेरै देखिए पनि अधिकांश रकम सामाजिक सुरक्षा, शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता र प्रशासनिक कार्यमै खर्च हुने गरेकाले विपद व्यवस्थापनमा अधिकतम १५ करोड रुपैयाँ मात्र परिचालन गर्न सक्ने अवस्था रहेको प्रमुख थापा बताउँछन् ।

गत वर्ष विपद्को समयमा विपद् प्राधिकरणबाट जम्मा ६० लाख रुपैयाँ मात्र बजेट प्राप्त भएको र त्यसले कुल क्षतिको शून्य दशमलव ५ प्रतिशत काम पनि धान्न नसक्ने प्रमुख थापाले बताए ।

केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आफ्ना साना र कम महत्वका योजनाहरू कटौती गरी आन्तरिक रूपमा २ करोड रुपैयाँ बराबरको आकस्मिक कोष व्यवस्थापन गरेको थियो । सोही रकमबाट अवरुद्ध बाटोहरू खोल्ने र सरकारी राहतको मापदण्डमा नपरेका पीडितहरूलाई राहत वितरण गर्ने काम गरिएको प्रमुख थापाले जानकारी दिए ।

‘वर्षात हुनासाथ के हुने हो भनेर हामी बडो संवेदनशील अवस्थामा छौँ । हामीले त विपद्को तत्कालै रेस्पोन्स हुनुपर्छ भनेर साना, अलि कम महत्व भएका योजनालाई काटेर २ करोड बराबरको हाराहारीमा पैसा म्यानेज गरेर अवरुद्ध बाटो खोल्ने, बाढीपहिरोले नोक्शानी भएका, राहत केन्द्रको मापदण्डभित्र नपरेकालाई राहत प्रदान गर्ने काम गर्‍यौं । खानेपानीदेखि लिएर सिँचाइ, त्यसपछि बाटोघाटाहरू र कृषि उत्पादनका सन्दर्भमा बालिनाली ठूलो परिमाणमा क्षति भयो । जुन सोच राखेका थियौँ, त्यो ढङ्गबाट पुनर्स्थापना हुन सकेन,’ उनले भने ।

जिल्ला नै सम्पर्कविहिन हुनसक्ने खतरा

विपद् संकटग्रस्त क्षेत्र घोषित इलामको भौतिक पूर्वाधार विकास र पुनर्निर्माणका लागि संघीय सरकारले रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् ।

इलाम जिल्ला भन्नेबित्तिकै हाई भ्यालु क्रप्स भएको जिल्ला हो । नेसनल जीडीपीमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर केन्द्रीय बजेटमा संघीय सरकारको तर्फबाट कहीँ पनि सम्बोधन भएको पाएनौँ- केदार थापा, इलाम नगरपालिका प्रमुख

इलामले चिया, अलैँची र डेरी उत्पादन लगायतले देशको कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिँदै आएको छ । तर संघीय सरकारको चालु बजेटमा इलामको कृषि उत्पादन, पूर्वाधार र अन्तरपालिका जोड्ने कृषि सडकहरूको पुनर्निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै प्रमुख थापाले आक्रोश प्रकट गरे ।

‘वर्षात शुरु भएको छ । अब लड्न लागेका, ल्याण्डस्लाइड जान लागेका, राजमार्गहरुको प्रोटेक्सन भइसकेको छैन । यसले अझै ठूलो डिजास्टर निम्त्याउँछ । यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण पनि गर्न चाहन्छु,’ थापा भन्छन् ।

‘ठूला संरचनाहरूको पुनर्निर्माण गर्ने कुरा त हाम्रो क्षमता भन्दा माथिको हो । गत वर्षको वर्षापछि क्षतिग्रस्त भएको हाइवे त अहिले बनाउन सकेको छैन संघीय सरकारले । अझ बीचमा यो वर्ष नै अवरुद्ध हुने सम्भावना धेरै छ,’ उनले भने, ‘अन्तरपालिका जोड्ने, कृषि मार्गहरूको पुनर्निर्माणको ठूलो समस्या छ । सबै कुरालाई धान्न सक्ने क्षमता हामीसँग कहाँ छ त ?’

चालिसौँ करोड बराबरको क्षति भए पनि ६० लाख रुपैयाँ विपद् प्राधिकरणबाट आएको जानकारी दिँदै उनले त्योदेखि बाहेक यो वर्ष संघीय सरकारको तर्फबाट आशा गरे अनुरूपको बजेट नआएको बताए ।

‘इलाम जिल्ला भन्ने बित्तिकै हाई भ्यालु क्रप्स भएको जिल्ला हो । नेसनल जीडीपीमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर केन्द्रीय बजेटमा संघीय सरकारको तर्फबाट कहीँ पनि सम्बोधन भएको पाएनौँ,’ उनले भने ।

‘विपद् प्राधिकरणलाई बलियो बनाउनुपर्छ’

इलाम नगरपालिका प्रमुख थापाले विपद्का ठूला घटनाहरू स्थानीय तहको स्रोत र साधनले मात्रै सम्बोधन गर्न सम्भव नहुने हुँदा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आर्थिक र प्राविधिक रूपमा मजबुत बनाउनुपर्ने बताए ।

मध्यरातमा पहिरो जाँदा एकै परिवारका ६ जनासम्मको घटनास्थलमै मृत्यु भएको स्मरण गर्दै प्रमुख थापाले ठूला विपदमा सामान्य पूर्वतयारी र तालिम मात्र पर्याप्त नहुने व्यवहारिक अनुभव सुनाए ।

नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका बनाएको छ । विपद्को समयमा तत्काल सूचना आदानप्रदान र समन्वय गर्न स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

‘लोकल लेभलबाट मात्रै सम्भव हुँदैन । यस्तो प्रकृतिको हानि–नोक्सानीलाई विपद् प्राधिकरणले सम्बोधन गर्नुपर्छ । स्थानीय सरकारको तहबाट सम्भव छैन । त्यसैले विपद् प्राधिकरणलाई आर्थिक हिसाबले मजबुत बनाउनुपर्छ,’ उनको धारणा छ ।

यद्यपि जस्तोसुकै कठिन परिस्थितिमा पनि इलाम नगरपालिकाले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको बलियो समन्वयमा मेसिन तथा जेसीबीहरू तयारी अवस्थामा राखी बाटो खुलाउने र राहत दिने कार्यमा चौबिसै घण्टा उच्च सतर्कता अपनाइरहेको जानकारी पनि उनले गराए ।

विपद् प्रभावितको पुन:स्थापना धिमा गतिमा

इलाम नगरपालिकाले विपद् व्यवस्थापन, पुनर्निर्माण र जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा आफ्नो गतिविधिलाई तीव्रता दिएको छ । नगरपालिकाले विपद् आउनुपूर्वको तयारी, विपद्पछिको पुनर्स्थापना र वातावरणीय संरक्षणका लागि नीतिगत तथा व्यावहारिक कदमहरू चालेको जनाएको छ । नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका बनाएको छ । विपद्को समयमा तत्काल सूचना आदानप्रदान र समन्वय गर्न स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

आकस्मिक सामग्रीहरू मौज्दात राखिएको छ । संकटको समयमा तत्काल परिचालन गर्न विपद् स्वयंसेवकको रोस्टर तयार पारेको नगरपालिकाले विभिन्न वडाहरूमा वडागत रूपमा विपद् प्रतिकार्य सम्बन्धी तालिम सञ्चालन गरिसकेको छ । आगलागीको जोखिमलाई मध्यनजर गर्दै दमकललाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ ।

अवरुद्ध सडकहरू तत्काल खुलाउन नगरपालिकाका २ वटा ब्याक–हु लोडर चालु अवस्थामा राखिएका छन् । विशेषगरी गत २०८२ साल असोज १८ र १९ गतेको बाढीपहिरोबाट प्रभावित भएका परिवारहरूको पुनर्स्थापना र पुनर्निर्माण कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

अस्थायी आवासतर्फ हालसम्म १ सय ३२ परिवारमध्ये ९२ परिवारले प्रथम किस्ता वापतको २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रथम किस्ता रकम बुझेकामध्ये ७५ परिवारले अस्थायी आवास निर्माण सम्पन्न गरिसकेका छन् भने ६६ परिवारले दोस्रो किस्ता वापतको २५ हजार सहित जम्मा ५० हजार रुपैयाँ अनुदान रकम बुझेका छन् । बाँकी ९ जनाको अनुदान निकासा हुन बाँकी छ ।

प्रभावितमध्ये ३६ परिवारका लागि विभिन्न संघसंस्थाहरूले अस्थायी आवास निर्माण गरिदिएका छन् भने अन्य लाभग्राहीहरूलाई विभिन्न संस्थाबाट वस्तुगत सहायता समेत उपलब्ध गराइएको नगरप्रमुख थापाले बताए ।

केही लाभग्राहीहरू भने विविध कारणले किस्ता रकम पाउन अयोग्य ठहरिएका छन् । स्थायी आवास पुनर्निर्माणतर्फ कुल १ सय ६६ घरपरिवारको विस्तृत क्षति संकलन गरिएको छ । तीमध्ये ५२ घरपरिवार लाभग्राही कायम भएका छन् ।

हालसम्म २१ परिवारसँग सम्झौता भई प्रथम किस्ता बापतको लागत साझेदारीको रकम जिल्ला प्रशासन कार्यालयको विविध खातामा जम्मा भइसकेको छ । बाँकी लाभग्राहीसँग सम्झौता हुन बाँकी छ । ४५ घरपरिवारको विवरण पुनरावलोकनका लागि पठाइएकोे छ ।

– न्यूज एजेन्सी नेपालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?