+
+
Shares

‘अडियो डिस्क्रिप्सन’ नहुँदा सिनेमा हल पुगेर पनि खिन्न हुनुपर्छ दृष्टिविहीन

नेपालमा चलचित्रको स्क्रिप्ट लेख्ने, निर्देशन गर्ने वा भ्वाइस-ओभर गर्ने जनशक्तिको कमी छैन, तर अडियो डिस्क्रिप्सन तयार गर्नका निम्ति प्राविधिक ज्ञानको कमी छ ।

सुजन मगर सुजन मगर
२०८३ असार १ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा बर्सेनी ९० भन्दा बढी चलचित्र बन्ने भए तापनि हालसम्म कुनै पनि नेपाली चलचित्रमा दृष्टिविहीनका लागि उपयोगी अडियो डिस्क्रिप्सन प्रविधि प्रयोग गरिएको छैन ।
  • अडियो डिस्क्रिप्सन नहुँदा दृष्टिविहीन दर्शकहरूलाई सिनेमाको कथा बुझ्न समस्या हुने र हलसम्म पुगे पनि खिन्न भएर फर्कनुपर्ने अवस्था छ ।

हलको अँध्यारो कोठा, ठूलो पर्दा, र वरिपरि साथीहरूको ताली र उत्साह । केही समयअघि म आफ्ना नजिकका साथीहरूसँग एउटा प्रतिक्षित नेपाली फिल्म ‘ऊनको स्वीटर’ हेर्न हलमा गएको थिएँ ।

फिल्म चल्दै थियो । अकस्मात एउटा दृश्यमा हलमा सन्नाटा छायो, र लगत्तै साथीहरूले अचम्म मान्दै लामो सास फेरे । पर्दामा संवाद थिएन, केवल अभिनय, हाउभाउ र दृश्य मात्र थियो । मेरो दृष्टिको सीमितताका कारण त्यो दृश्य सोझै बुझ्न सकिनँ । छेउमा बसेको साथीको कुम हल्लाउँदै सोधेँ, ‘त्यहाँ के भयो ? के देखायो ? किन सबै जना अचानक चुपचाप भए ?’

साथीले हतार-हतार कानेखुसी गर्दै पर्दामा घटेको घटनाको बेलिविस्तार लगायो । त्यो व्याख्याले मलाई कथासँग त जोड्यो, तर मेरो दृष्टिको सीमितताले म र मेरो साथीको अनुभवमा देखियेको असमानताको विषय मनमा खेल्न थाल्यो ।

एक पटक आफैँ मनन गर्नुस् न । फिल्म हेरिरहँदा, आँखा बन्द गरेर केवल आवाज मात्रै सुनेर फिल्मको पूरा कथा बुझ्दा कस्तो अनुभव हुन्थ्यो होला ? संवाद बिनाका ती लामा दृश्यहरूमा पर्दामा के भइरहेको होला भनेर छटपटाउनु परेको अनुभव कस्तो होला ? आफ्ना वर परका मान्छेहरूले थपडी मार्दा, सुस्केरा हाल्दा, आफू भने अलमलमा पर्दा कस्तो हुन्छ होला ?

हो ! फिल्म ‘ऊनको स्वीटर’ हेर्दा मैले ठ्याक्कै यही महसुस गरेँ । साथीलाई बीचमा सोधिरहनु पर्दाको संकोच र दृश्य छुट्दाको त्यो खल्लोपनले मलाई ‘अडियो डिस्क्रिप्सन’ (दृश्य वर्णन) को गम्भीरताबारे सोच्न बाध्य बनायो ।

अडियो डिस्क्रिप्सन भनेको के हो त ?

अडियो डिस्क्रिप्सन भन्नाले दृश्य सामग्री (जस्तै: फिल्म, टेलिभिजन कार्यक्रम, नाटक आदि) मा देखाइने दृश्यहरूलाई शब्द मार्फत वर्णन गरेर सुनाइने प्रक्रिया हो । यसले दृष्टिविहीन वा न्यून दृष्टियुक्त व्यक्तिहरूलाई दृश्य सामग्री बुझ्न मद्दत गर्छ । उदाहरणका लागि, कुनै चलचित्रमा पात्रको हाउभाउ, वातावरण, दृश्य परिवर्तन वा बिना संवादका क्रियाकलापहरूलाई आवाजमार्फत वर्णन गरिन्छ, जसले गर्दा दृष्टिविहीन व्यक्तिले पनि कथाको मर्म र बहावलाई राम्रोसँग बुझ्न सक्छन् ।

यो केवल एउटा प्राविधिक शब्द मात्र होइन; यो त हामीजस्ता सिनेमा प्रेमीहरूका लागि कसैको सहारा बिना, आफ्नै स्वतन्त्रता र आत्मसम्मानका साथ कलाको आनन्द लिने आधार हो ।

किन महत्वपूर्ण छ ?

आज भोलि अडियो डिस्क्रिप्सनलाई निकै नै महत्वपूर्ण रूपमा लिइन्छ । त्यसैले हलिउडका चलचित्रहरूमा अनिवार्य रूपमा यसको प्रयोग गरेको पाइन्छ । यो प्रविधि दृष्टिविहीन व्यक्तिहरूका लागि निकै पहुँचयुक्त हुन्छ । यसले चलचित्रका दृश्यहरू, जस्तै पात्रको हाउभाउ, पोसाक, वातावरण आदिलाई शब्दमा वर्णन गर्छ । उक्त वर्णनले दृष्टिविहीन वा न्यून दृष्टि भएका व्यक्तिहरूलाई अरूसरह चलचित्रको पूर्णआनन्द लिन र कथावस्तु बुझ्न मद्दत गर्नुका साथसाथै स्वतन्त्रता र आत्मसम्मान प्रदान गर्दछ ।

जब चलचित्रमा अडियो डिस्क्रिप्सन उपलब्ध हुन्छ, दृष्टिविहीन दर्शकले अरूहरूको सहाराबिना नै फिल्म हेर्न सक्छन् । ‘अहिले के भयो ?’ भनेर छेउको मान्छेलाई सोधिरहनु पर्दैन । यसले गर्दा उनीहरूको गोपनीयता र आत्मसम्मान कायम रहने हुँदा, सूचनाको पूर्णता समेत पाउँछन् । धेरैजसो चलचित्रहरूमा संवादभन्दा दृश्यले धेरै कुरा बोलिरहेका हुन्छन् । दृश्यहरूका विवरणहरू छुट्दा कथाको मर्म नै मर्न सक्छ ।

अडियो डिस्क्रिप्सनले ती रिक्त स्थानहरू भर्ने काम गर्छ । जस्ले गर्दा सामाजिक समावेशीकरण गराउँछ । मनोरञ्जनमा सबैको समान अधिकार हुन्छ । चलचित्र हल वा डिजिटल प्लेटफर्ममा यो प्रविधिको प्रयोग गर्दा समाजका सबै वर्गलाई समेट्न सकिन्छ । त्यसबाट संज्ञानात्मक विकास र सिकाइ हुन्छ । यसले शब्द भण्डार बढाउन र नयाँ ठाउँ वा परिस्थितिको कल्पना गर्न मद्दत गर्छ । यो केवल मनोरञ्जन मात्र नभएर शैक्षिक दृष्टिकोणले पनि प्रभावकारी हुन सक्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा अडियो डिस्क्रिप्सनको अभ्यास

अडियो डिस्क्रिप्सन कसरी सुरु भयो भन्ने इतिहास निकै रोचक छ । सन १९७० को दशकताका अडियो डिस्क्रिप्सनको आधुनिक अवधारणा अमेरिकाका ग्रेगोरी फ्रेजियरले सुरु गरेका हुन् । उनले सान फ्रान्सिस्को स्टेट युनिभर्सिटीमा यसबारे अनुसन्धान गर्दै फिल्मको दृश्यलाई शब्दमा उतार्ने प्रयास गरेका थिए । सिनेमा घरहरूमा यसको प्रयोग १९९० को दशकको सुरुवातमा भयो । सुरुमा विशेष हेडफोनको सहायताले दर्शकहरूले यो सेवा लिन सक्थे ।

नीतिगत र कानुनी अनिवार्यताको कार्यान्वयनको पहिलो कदम राज्य र सरोकारवाला निकायबाटै हुनुपर्छ । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र नीतिमा अडियो डिस्क्रिप्सनलाई समेट्नुपर्छ ।

हलिउड फिल्म ‘टकर : दी म्यान एन्ड हिज ड्रिम’ अडियो डिस्क्रिप्सन उपलब्ध गराउने सुरुवाती फिल्महरू मध्ये एक मानिन्छ । अहिलेको अवस्थालाई मद्यनजर गर्दा सन् २०१० पछि डिजिटल प्रविधिको विकाससँगै सिनेमा हलहरूमा यो अनिवार्य जस्तै भयो । स्ट्रीमिङ प्लेटफर्म : नेटफ्लिक्स, एप्पल टिभी, अमेजन जस्ता प्लेटफर्महरूले यसलाई व्यापक बनाए । सन् २०१५ मा नेटफ्लिक्सले आफ्नो मौलिक सिरिज ‘डेयरडेभिल’ बाट अडियो डिस्क्रिप्सन दिन सुरु गरेको थियो।

हाम्रो छिमेकी देश भारतमा सुस्तरूपमा भए पनि अडियो डिस्क्रिप्सनको अवधारणा प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । विशेष गरी दृष्टिविहीन व्यक्तिहरूका लागि चलचित्र र सञ्चार माध्यमलाई पहुँचयुक्त बनाउन यो एक महत्त्वपूर्ण कदम सावित भएको छ।

भारतीय सिनेमामा यो प्रविधि अझै प्रारम्भिक चरणमै छ। तर केही सकारात्मक परिवर्तनहरू देखिएका छन् । जस्तै ‘दंगल’, ‘अन्धाधुन’, र ‘८३’ जस्ता ठूला फिल्महरूले अडियो डिस्क्रिप्सन सहितको संस्करण उपलब्ध गराएर उदाहरण प्रस्तुत गरिसकेका छन् ।

‘एक्सनर्भ’ र ‘बोलो’ जस्ता मोबाइल एपले गर्दा प्रयोगकर्ताहरूले सिनेमा हलमै बसेर आफ्नो फोनमार्फत अडियो डिस्क्रिप्सन सुन्न सक्ने सुविधा पाएका छन् ।

नेटफ्लिक्स, अमेजन प्राइम, नोबाफ्लिक्स, जियो सिनेमा यी अन्तर्राष्ट्रिय प्लेटफर्महरूले आफ्ना ओरिजिनल भारतीय सिरिज र फिल्महरूमा अडियो डिस्क्रिप्सन अनिवार्य जस्तै बनाएका छन् । यसले गर्दा भारतीय दर्शकले विश्वस्तरीय पहुँच प्राप्त गरिरहेका छन् ।

विश्वव्यापी रूपमा यसलाई सम्बोधन गर्ने कानुन र निर्देशिकाहरू

चलचित्रमा दृष्टिविहीन व्यक्तिहरूको पहुँच सुनिश्चित गर्न विश्वभर अडियो डिस्क्रिप्सनसम्बन्धी कानुनी व्यवस्थाहरू बलियो बनाइँदै लगिएको छ । यसले दृष्टिविहीन प्रयोगकर्ताहरूलाई चलचित्रका दृश्य, हाउभाउ, र परिवेशलाई आवाजको माध्यमबाट बुझ्न मद्दत गर्दछ ।

अमेरिकामा ट्वान्टी-फर्स्ट सेन्चुरी कम्युनिकेसन्स एन्ड भिडियो एक्सेसिबिलिटी एक्ट (सीभीएए- २०१०) अन्तर्गत भिडियो र चलचित्रहरूमा अडियो डिस्क्रिप्सनलाई अनिवार्य गरिएको छ । फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले यस कानुनमार्फत प्रमुख टेलिभिजन नेटवर्क र स्ट्रिमिङ सेवा प्रदायकहरूलाई निश्चित घण्टा अडियो डिस्क्रिप्सन सहितका सामग्री प्रसारण गर्न निर्देशन दिएको छ ।

यसबाहेक, अमेरिकन्स विथ डिसाबिलिटिज एक्ट ( एडीए) ले सार्वजनिक चलचित्र हलहरूमा पनि दृष्टिविहीनहरूका लागि यस्ता प्रविधि र सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।

यसैगरी, युरोपेली संघले युरोपियन एक्सेसिबिलिटी एक्ट (ईएए) र अडियोभिजुअल मिडिया सर्भिस डाइरेक्टिभ (एभीएमएसडी) मार्फत आफ्ना सदस्य राष्ट्रहरूमा सञ्चार माध्यम र चलचित्रहरूलाई बढी पहुँचयोग्य बनाउन कानुनी ढाँचा तयार गरेको छ । यस अन्तर्गत सञ्चार माध्यम र मनोरञ्जन प्रदायकहरूले बिस्तारै अडियो डिस्क्रिप्सन सेवा बढाउँदै लैजानुपर्ने र प्रविधिमा सबैको समान पहुँच सुनिश्चित गर्नु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

त्यसैगरी बेलायतमा कम्युनिकेसन्स एक्ट २००३ ले बेलायती प्रसारणकर्ताहरू जस्तै:- बीबीसी, आईटीभीका लागि अडियो डिस्क्रिप्सनको न्यूनतम कोटा तोकेको छ । त्यहाँका प्रमुख च्यानलहरूले आफ्ना कुल कार्यक्रमहरूको कम्तीमा १० प्रतिशत सामग्रीमा अनिवार्य रूपमा अडियो डिस्क्रिप्सन राख्नुपर्ने, जसमा चलचित्रहरू पनि समेटिने प्रावधान रहेको छ ।

सुरुवाती चरणमा निर्माताहरूका लागि अडियो डिस्क्रिप्सन थप आर्थिक भार जस्तो देखिन सक्छ । यसलाई न्यूनीकरण गर्न सरकार वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले अडियो डिस्क्रिप्सन संस्करण तयार पार्ने चलचित्रहरूलाई विशेष अनुदान, कर छुट वा हल प्रदर्शनमा सहुलियत दिन सक्छन् ।

अस्ट्रेलियामा हेर्दा डिसाबिलिटी डिस्क्रिमिनेसन एक्ट १९९२ ले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवामा विभेद गर्न नपाइने व्यवस्था गरेको छ । यसै अन्तर्गत त्यहाँका सार्वजनिक प्रसारणकर्ताहरू (जस्तै:- एबीसी र एसबीएस ) ले आफ्ना प्राइम-टाइम कार्यक्रम र चलचित्रहरूमा अडियो डिस्क्रिप्सन सेवा उपलब्ध गराउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा, संयुक्त राष्ट्र संघको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि को धारा ९ (पहुँचयुक्तता ) र धारा ३० (सांस्कृतिक जीवन, मनोरञ्जन, र खेलकुदमा सहभागिता) ले स्पष्ट रूपमा दृष्टिविहीन व्यक्तिहरूको चलचित्र, टेलिभिजन र सांस्कृतिक सामग्रीमा समान पहुँच हुनुपर्ने कुरालाई जोड दिएको छ । नेपाल लगायत यस महासन्धिका हस्ताक्षरकर्ता राष्ट्रहरूले आफ्ना स्थानीय कानुनहरूमा यसलाई समेट्नु पर्ने दायित्व रहन्छ।

यी कानुनहरूले गर्दा आजभोलि नेटफ्लिक्स, अमेजन प्राइम, र एप्पल टिभी जस्ता विश्वव्यापी ओटीटी प्लेटफर्महरूले आफ्ना धेरैजसो मौलिक चलचित्र र सिरिजहरूमा अडियो डिस्क्रिप्सन अनिवार्य रूपमा उपलब्ध गराउन थालेका छन् । त्यसैले, नेपाल पनि यसको पक्ष राष्ट्र भएकाले अन्तर्राष्ट्रिय कानुनसरह नै यसलाई पालना गर्न र स्थानीय चलचित्र उद्योगमा लागू गर्न बाध्यकारी आधार देखिन्छ ।

नेपालका विद्यमान कानुन तथा नीतिगत व्यवस्थाहरू

नेपालको संविधानले नागरिकहरूको समानता र पहुँचको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । धारा १८ (समानताको हकले) अपाङ्गता भएका नागरिकहरू लगायत कसैलाई पनि भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ । साथै, अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुन बमोजिम विशेष व्यवस्था गर्न रोक नलगाएकाले चलचित्र जस्ता मनोरञ्जनका माध्यममा अडियो डिस्क्रिप्सन अनिवार्य गर्न यो धारा बलियो आधार बन्दछ ।

धारा २७ (सूचनाको हकले) प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक छ । दृष्टिविहीन व्यक्तिहरूका लागि दृश्य माध्यममा रहेका सूचना र कथालाई अडियो डिस्क्रिप्सनमार्फत पाउनु उनीहरूको सूचनाको हक अन्तर्गत पर्छ।

त्यसका साथसाथै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४, नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने सबैभन्दा मुख्य कानुनी दस्तावेज हो । यसको दफा ६ ले अपाङ्गताका आधारमा भेदभाव गर्न नहुने भनेर उल्लेख गरेको छ । यस दफाले अपाङ्गता भएकै कारणले कसैलाई पनि कुनै पनि सेवा, सुविधा वा अवसरबाट सञ्चार वा अन्य कुनै माध्यमबाट वञ्चित गर्न नहुने उल्लेख गरेको छ ।

चलचित्रहरूमा अडियो डिस्क्रिप्सन नहुनु दृष्टिविहीनहरूका लागि मनोरञ्जन र सञ्चारको सेवामा विभेद हुनुसरह हो । त्यसैगरी दफा ३१, पहुँचयुक्तताको अधिकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि भौतिक संरचना, सञ्चार माध्यम, सूचना तथा प्रविधिमा पहुँचयुक्तता सुनिश्चित गर्ने व्यवस्था गरेको छ।

यसले चलचित्र र राष्ट्रिय मिडियाहरूलाई बिस्तारै अडियो डिस्क्रिप्सन र सांकेतिक भाषा जस्ता माध्यम अपनाउन कानुनी रूपमा निर्देशित गर्दछ । राष्ट्रिय अपाङ्गता नीति तथा कार्ययोजना र नेपाल सरकारको राष्ट्रिय नीतिहरूले सूचना, सञ्चार, कला र मनोरञ्जनका क्षेत्रलाई अपाङ्गतामैत्री बनाउने लक्ष्य राखेका छन् । यस अन्तर्गत सार्वजनिक सञ्चार माध्यम तथा मनोरञ्जनका सामग्रीहरू (जस्तै सरकारी वृत्तचित्र, चलचित्र र राष्ट्रिय प्रसारणहरू) मा अडियो डिस्क्रिप्सन र सबटायटलको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिगत प्रतिबद्धताहरू समेटिएका छन् ।

नेपाली चलचित्रमा अडियो डिस्क्रिप्सनको अवस्था

नेपालमा बर्सेनी ९० भन्दा बढी चलचित्र बन्छन्, तर अहिलेसम्म कुनै पनि नेपाली चलचित्रमा ‘अडियो डिस्क्रिप्सन’ सुरु हुन सकेको छैन । हाम्रा सिनेमा घरहरू अझै पनि अपाङ्गमैत्री हुन सकेको छैनन् । नेट टीभी, एमइसएम भिडियो, सिनेमा घरजस्ता नेपाली ओटीटीका माध्यमहरू छन् । तर यी माध्यमहरूमा नेपाली ‘अडियो डिसक्राइब’ गरेको चलचित्रहरू छैनन् । मैले केही अपाङ्गताका क्षेत्रमा काम गर्ने दृष्टिविहीन अभियान्ताहरूसँग छल्फल गर्दा उहाँहरू हलसम्म पुगे पनि दृश्य बुझ्न नपाउँदा खिन्न हुनुपरेको अनुभव सुनाउने गरेका छन् ।

यस विषयमा अपाङ्गता अधिकार अभियान्ता जल्दीप सापकोटा सिनेमाकै विद्यार्थी हुन् । दृश्यको वर्णन गरिएको अडियो नहुँदा सिनेमा घर जान खासै मन नलाग्ने गुनासो गर्छन् । ‘दृश्य नदेखिने हुदाँ त्यहाँ देखिएका पात्रसँग सहजै रूपमा महसुस बोध गर्न नपाउने र सिनेमाको कथा बुझ्न समस्या हुने भएकाले सिनेमा घर जान खासै उत्साह हुँदैन’ सापकोटा सुनाउँछन् ।

भारतमा समेत यसको अभ्यास सन्तोषजनक स्थितिमा पुगिसक्दा नेपाली चलचित्रमा यसबारे चासो नै नदिनु लाजमर्दो कुरा भएको अर्का अभियन्ता चिरञ्जीवी थापाको भनाइ छ । ‘विश्वव्यापी रूपमा अडियो डिस्क्रिप्सनको इतिहास निकै लामो भइसक्यो’ थापा भन्छन्, ‘हाम्रो नेपाली चलचित्रमा भने अहिलेसम्म अडियो डिस्क्रिप्सन एउटै चलचित्रमा समेत लागु हुन नसक्नु साह्रै लाजमर्दो कुरा हो ।’

नेपाली चलचित्रलाई पहुँचयोग्य बनाउन सकिने प्रमुख उपायहरू

नेपाली चलचित्र उद्योगमा अडियो डिस्क्रिप्सन को व्यावहारिक कार्यान्वयन गर्न नीतिगत, प्राविधिक र आर्थिक पक्षमा योजनाबद्ध सुधारको आवश्यकता छ । सुरुमा त नेपालमा अडियो डिस्क्रिप्सनको सुरुवात र प्रवर्द्धन गर्न सरकारी तथा गैर-सरकारी संस्थाहरूको नेतृत्वदायी भूमिका आवश्यक छ।

चलचित्र विकास बोर्डले चलचित्र नीतिमै अडियो डिस्क्रिप्सन समेट्ने, अडियो डिस्क्रिप्सनको संस्करण तयार पार्ने चलचित्रलाई विशेष अनुदान वा कर छुट दिने र राष्ट्रिय अवार्डहरूमा यसलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ । अपाङ्गताका क्षेत्रमा कार्यरत संस्थाहरूले चलचित्र निर्माता र सरकारसँग निरन्तर वकालत गर्नुपर्छ । साथै, चलचित्रमा सही र प्रभावकारी रूपमा दृश्यको व्याख्या गरिएको छ या छैन भनेर प्राविधिक सरसल्लाह र परीक्षणमा सहकार्य गर्नुपर्छ ।

त्यसैगरी, चलचित्रकर्मीका संघ-सङ्गठनहरू, जस्तै निर्माता, निर्देशक, र प्राविधिक संघहरूले आफ्ना सदस्यहरूमार्फत चलचित्र निर्माणकै चरणमा अडियो डिस्क्रिप्सनलाई समावेश गर्ने वातावरण बनाउनुपर्छ ।

सञ्चार माध्यमहरूले समाजमा सचेतना फैलाउन र पहुँचयुक्त सामग्रीको उपभोग बढाउन दोहोरो भूमिका खेल्न सक्छन् । नेपाल टेलिभिजन जस्ता सरकारी तथा अन्य निजी टेलिभिजन च्यानलहरूले आफ्ना राष्ट्रिय कार्यक्रम, समाचार र चलचित्र प्रसारण गर्दा अडियो डिस्क्रिप्सन सेवा सुरुवात गरेर निजी क्षेत्रलाई मार्गनिर्देश गर्नुपर्छ । स्वदेशी ओटीटी प्लेटफर्महरू आफ्ना भिडियो प्लेयरमा ‘अडियो डिस्क्रिप्सन’ को विकल्प थपेर दृष्टिविहीन दर्शकहरूलाई डिजिटल माध्यमबाट सजिलै चलचित्रको पहुँचमा पुर्‍याउनुपर्छ ।

नीतिगत र कानुनी अनिवार्यताको कार्यान्वयनको पहिलो कदम राज्य र सरोकारवाला निकायबाटै हुनुपर्छ । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र नीतिमा अडियो डिस्क्रिप्सनलाई समेट्नुपर्छ । सुरुवाती चरणमा सरकारको पूर्ण वा आंशिक लगानीमा बन्ने वृत्तचित्र, शैक्षिक सामग्री र ऐतिहासिक चलचित्रहरूमा अडियो डिस्क्रिप्सन अनिवार्य गरिनुपर्छ । व्यावसायिक चलचित्रका लागि सेन्सर बोर्ड वा चलचित्र विकास बोर्डबाट इजाजतपत्र लिँदा वा राष्ट्रिय अवार्डका लागि दर्ता हुँदा अडियो डिस्क्रिप्सनको संस्करण पनि बुझाउनुपर्ने व्यवस्था गरेमा निर्माताहरू स्वतः यसप्रति जिम्मेवार बन्नेछन् ।

डिजिटल प्रविधि र मोबाइल एप्सको प्रयोग गर्नका लागि नेपालका सबै सिनेमा हलहरूमा तुरुन्तै महँगा अडियो सिस्टमहरू जडान गर्न आर्थिक रूपमा चुनौतीपूर्ण हुन सक्छ ।

यसको उत्कृष्ट र किफायती विकल्प भनेको प्रविधिको प्रयोग हो । विश्वभर प्रचलनमा रहेका ‘ग्रेटा’ वा ‘अडियोमुभी’ जस्ता मोबाइल एप्लिकेसनहरू नेपाली चलचित्रका लागि समेत विकास गर्न सकिन्छ । दृष्टिविहीन दर्शकले सिनेमा हल वा घरमै बस्दा आफ्नो स्मार्टफोन र हेडफोनको माध्यमबाट चलचित्रको दृश्यसँगै मोबाइल एपमा बज्ने अडियो डिस्क्रिप्सन सहजै सुन्न सक्छन् ।

साथसाथै स्वदेशी ओटीटी प्लेटफर्महरूसँगको सहकार्य गर्नुपर्छ । आजभोलि नेपाली चलचित्रहरू हलमा प्रदर्शन भएपछि विभिन्न ओटीटी प्लेटफर्म र युट्युबमा सार्वजनिक हुने क्रम बढ्दो छ । ‘सिनेमाघर, कान्तिपुर सिनेमाज, डिस होम गो, नेट टिभी जस्ता प्लेटफर्महरूसँग सहकार्य गरेर भिडियो प्लेयरमा ‘अडियो डिस्क्रिप्सन : अन/अफ’ गर्ने सुविधा थप्न सकिन्छ । यसले इन्टरनेटको पहुँच भएका देशैभरका र विदेशमा रहेका दृष्टिविहीन नेपालीहरूलाई एकैसाथ चलचित्रको पहुँचमा ल्याउनेछ ।

नेपालमा चलचित्रको स्क्रिप्ट लेख्ने, निर्देशन गर्ने वा भ्वाइस-ओभर गर्ने जनशक्तिको कमी छैन, तर अडियो डिस्क्रिप्सन तयार गर्नका निम्ति प्राविधिक ज्ञानको कमी छ । त्यसैले, चलचित्र सम्बन्धी कलेजहरू (जस्तै ओस्कार कलेज) र अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थाहरूको समन्वयमा ‘अडियो डिस्क्रिप्सन स्क्रिप्ट लेखन’ र ‘भ्वाइस न्यारेसन’ सम्बन्धी विशेष कार्यशालाहरू सञ्चालन गरिनुपर्छ । चलचित्र निर्माणकै चरणमा यसलाई समेट्दा यसको गुणस्तर अझ उत्कृष्ट हुन्छ।

सुरुवाती चरणमा निर्माताहरूका लागि अडियो डिस्क्रिप्सन थप आर्थिक भार जस्तो देखिन सक्छ । यसलाई न्यूनीकरण गर्न सरकार वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले अडियो डिस्क्रिप्सन संस्करण तयार पार्ने चलचित्रहरूलाई विशेष अनुदान, कर छुट वा हल प्रदर्शनमा सहुलियत दिन सक्छन् । साथै, राष्ट्रिय चलचित्र पुरस्कारहरूमा ‘उत्कृष्ट पहुँचयोग्य चलचित्र’ जस्ता विधा थपिएमा यसले फिल्म निर्माताहरूमा सकारात्मक प्रतिस्पर्धा र उत्साह जगाउनेछ ।

जबसम्म उपभोक्ता वा सम्बन्धित संस्थाहरूले संगठित रूपमा माग गर्दैनन्, तबसम्म निर्माता वा सरकारले यसलाई प्राथमिकता दिँदैनन् । अडियो डिस्क्रिप्सन दृष्टिविहीन व्यक्तिहरूका लागि मात्र नभई एउटा समावेशी समाज निर्माणका लागि महत्त्वपूर्ण उपकरण हो । संयुक्त राष्ट्रसंघको ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि’ ले पनि सूचनामा समान पहुँच सुनिश्चित गर्न जोड दिएको छ ।

नेपालमा पनि सरकार, चलचित्र निर्माता र मिडिया क्षेत्रले सहकार्य गरी यो प्रविधि लागू गर्न ढिलाइ गर्नु हुँदैन । सबै नागरिकले समान रूपमा सूचना र मनोरञ्जन पाउने वातावरण निर्माण गर्नु हाम्रो कानुनी र नैतिक जिम्मेवारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?