+
+
Shares

विश्वकप फुटबल खेल्ने देशका राष्ट्रिय चराहरू !

विश्वकप फुटबलको पर्खाइमा टोली र खेलहरूको तालिका हेर्दा दिमागमा एउटा अनौठो प्रकारको जिज्ञासा आयो– यति धेरै देश छन्, यी देशका राष्ट्रिय चराहरू कुन कुन होलान्?

अनुज घिमिरे अनुज घिमिरे
२०८३ असार १ गते ७:५३
विश्वकप खेल्ने तीन देशका चराका मस्कट ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी फुटबल विश्वकप ४८ राष्ट्र र १०४ खेलसहित ठूलो ढाँचामा आयोजना हुँदै छ ।
  • विश्वकप खेल्ने ४८ राष्ट्रमध्ये फ्रान्स मात्र एउटा यस्तो देश हो, जसको राष्ट्रिय चरा घरपालुवा कुखुरा (ग्यालिक रुस्टर) रहेको छ ।
  • अस्ट्रेलियाको 'इमु' र न्युजिल्यान्डको 'किवी' उड्न नसक्ने राष्ट्रिय चरा हुन् भने पाराग्वेको घण्टी चरा संसारकै सबैभन्दा ठूलो आवाज निकाल्ने चरा हो ।

हरेक चार वर्ष जून, जुलाईतिर सारा संसार फुटबलको माहोलमा हुन्छ। संसारमै सबैभन्दा धेरै हेरिने खेलकुदको महा-सङ्ग्राम फेरि फर्किएको छ। यसपालि भने झनै ठूलो ढाँचामा ! ४८ राष्ट्र र १०४ खेलसहित। वर्ल्डकपको माहोल नै भिन्नै मानौं केही प्रकारको चाडपर्व नै झैं लाग्ने। सबैको आफ्नो आफ्नो टिम र आफ्नो टिमले जितोस् भने इच्छा। म भने धेरै वर्षदेखि इङ्गल्यान्डको सपोर्टर सधैं जितोस् भन्दै आउँदैछु, जित्ने छाँटकाँट छैन ।

विश्वकपको पर्खाइमा टोली र खेलहरूको तालिका हेर्दा दिमागमा एउटा अनौठो प्रकारको जिज्ञासा आयो। यति धेरै देश छन्, यी देशका राष्ट्रिय चराहरू के होलान् ? आफ्नो जिन्दगी नै चरा वरपर डुल्ने भएर होला, जेजस्तो स्थितिमा पनि दिमागले चरा नै सोच्छ। त्यो सोच बोकेर खोजी गर्दै गर्दा धेरै रोचक कुरा बारे थाहा भयो। धेरै देशका राष्ट्रिय चरा रोचक र जीर्ण अवस्थामा भएका चराहरू पनि पर्ने रहेछन् । आज विश्वकपको एउटा अनौठो पाटो नियालौं।

सुरु गरौं सबैभन्दा अनौठो र शायद वर्ल्डकप हेर्ने सबैलाई थाहा भएको राष्ट्रिय चराबाट ! फ्रान्सको कुखुरा- ग्यालिक रुसटर ! यस कुखुराले फ्रान्सेली राष्ट्रिय गौरव र बहादुरीलाई मूर्तरूप दिने गरेको मानिने रहेछ। कुखुराहरूको वैज्ञानिक नाम हो ग्यालस डोमेस्टिकस, ग्यालस भन्नाले कुखुरा भनेर पनि बुझिन्छ र फ्रान्सको गउल क्षेत्रमा बस्ने बासिन्दा पनि। रोमनहरूले गउलमा बस्नेहरूलाई त्यही नामले जिस्काउने गरेको र पछि गएर उनीहरूले त्यही नाम लिएका रहेछन्।  अहिले विश्वकप खेल्ने ४८ राष्ट्रमध्ये फ्रान्स मात्र एउटा देश हो जसमा डोमेस्टिकेटेड राष्ट्रिय चरा छ। पोर्चुगलको राष्ट्रिय चरा पनि बार्सेलोस रुस्टर रहेछ तर यो भने ठ्याक्कै एउटा प्रजातिको चरा नभएर पौराणिक चरामा पर्ने रहेछ। अल्जेरियाको राष्ट्रिय चरा पनि एउटा पिउरा प्रकारको बर्बरी पार्टरिज हो।

उज्बेकिस्तानको राष्ट्रिय चरा भने हुमा भनेर मानिंदो रहेछ। यो चरा एक प्रकारको पौराणिक चरामा पर्दोरहेछ र यस चरालाई खुसी र स्वतन्त्रता-मायालु भावनाको प्रतीक पनि मानिंदोरहेछ। कता कता अनौपचारिक रूपमा उज्बेकिस्तानको राष्ट्रिय चरा फाप्रे भएको पनि लेखेको देखें। रमाइलो कुरा त यही विश्वकपमा भएका केही देशहरूको राष्ट्रिय चरा एउटै रहेछन्।

इरान र क्रोएसियाको राष्ट्रिय चरा कमन नाइटिङ्गेल रहेछ। नाइटिङ्गेलहरू अर्जुनक वा फ्लाईक्याचर परिवारमा पर्ने चराहरू हुन्। त्यसैगरी सुपर्ण महाचील वा गोल्डेन इगल स्कटल्यान्ड र मेक्सिकोको राष्ट्रिय चरामा पर्ने रहेछन्। जर्मनीको राष्ट्रिय चरा पनि गोल्डेन इगल नै भनेको भेटें तर आधिकारिक रूपमा पुष्टि गर्न सकिनँ। धेरै ठाउँमा चिल भनेर लेखिए पनि ठ्याक्कै कुन प्रजाति भनेर भेट्न गाह्रो पर्‍यो।

ट्युनिसियाको राष्ट्रिय चरा एउटा अनौठो प्रकारको वेडर चरा वा नेपालीमा धावक चरा भनिने एक प्रकारको सुड्सुडिया रहेछ। इन्डियाको पश्चिमी भेगदेखि अफ्रिकाको पश्चिमी भेगसम्म पाइने यो चरा विश्वकप टोलीहरूमा वेडरहरू मध्ये दोस्रो वेडर चरा हो। उरुग्वेको राष्ट्रिय चरा दक्षिणी हुट्टिट्याउ रहेछ। नेपालमा पाइने जुरे हुट्टिट्याउको (नर्दन ल्यापविङ्ग) दक्षिणमा पाइने संस्करणको यो चरा दक्षिण अमेरिकाको पूर्वी दक्षिण क्षेत्रमा पाइने गर्छ।

फुटबल जगतको एकदम शक्तिशाली देश ब्राजिलको राष्ट्रिय चरामा एक प्रकारको चाँचर पर्ने रहेछ। संसारमा फुटबलको जगतमा राज गरे जस्तै चराहरूको विविधतामा पनि ब्राजिलको राज नै छ भन्दा फरक पर्दैन। संसारमा पाइने करिब ११ हजार प्रजातिका चरामध्ये ब्राजिलमा १ हजार ८४७ प्रजातिका चराहरू पाइन्छन् र ब्राजिल विश्वमा ३ नम्बरमा पर्छ। एक नम्बरमा कोलम्बिया छ भने दोस्रोमा पेरु। कोलम्बियाको राष्ट्रिय चरा भने यानडिएन कनडोर हो। यो पश्चिमी भेगमा पाइने एक प्रकारको भल्चर वा गिद्ध हो। हाम्रो क्षेत्रमा पाइने गिद्धहरू पुराना विश्व गिद्ध हुन् भने दक्षिण र उत्तर अमेरिकामा पाइने गिद्धहरू नयाँ विश्व गिद्ध। यानडिएन कनडोर सबैभन्दा ठूलो शिकारी चरा वा र्‍याप्टरमा पर्छ।

  दक्षिण अमेरिकाको पनि पश्चिमी भेगमा पाइने यो सङ्कटापन्न अवस्थामा रहेको चरामा पर्छ। र्‍याप्टरकै कुरा गर्दै गर्दा अमेरिकाको राष्ट्रिय चरा पनि चिल नै हो ! बाल्ड इगल वा कहिलेकाहीं अमेरिकी बाल्ड इगल भनेर चिनिने यो चरा उत्तरी अमेरिकाको मेक्सिकोदेखि लिएर अमेरिका र क्यानडासम्म पाइन्छ।

 ठूला चिलकै कुरा हुँदै गर्दा स्पेनको राष्ट्रिय चरा पनि स्प्यानिश इम्पेरिअल इगल रहेछ। इजिप्टको राष्ट्रिय चरा गोमायु महाचील वा स्टिपी इगल हो। यो पनि अर्को सङ्कटापन्न चरामा पर्छ। त्यसैगरी पानामाको राष्ट्रिय चरा, चिलहरूमा सबैभन्दा ठूलो चिल हार्पी इगल हो। यो चराको हाइट लगभग ३ देखि ३.५ फिटसम्मको हुन्छ।

त्यसैगरी एउटै राष्ट्रिय चरा भएका अरू दुई देश हुन् कतार र साउदी अरेबिया। यी दुई देशको राष्ट्रिय चरा सकिर फ्याल्कन वा तोप बाज हुन्। यो एउटा सानो प्रकारको बाज हो। यो बाज पनि खतरामा परेको र इन्डेनजर्ड प्रजातिमा लिस्टिङ गरिएको चरामा पर्छ। त्यसैगरी बेल्जियमको राष्ट्रिय चरा कमन केस्ट्रल वा बौंडाई हो।

मोरक्कोको राष्ट्रिय चरा मुसिएर्स रेड्स्टर्ट वा एक प्रकारको जलखञ्जरी हो। यो प्रजातिको चरा पश्चिम उत्तरी अफ्रिकाको याट्लास हिमाली शृङ्खलामा मात्र पाइने चरा हो। यसरी एउटै  मात्र क्षेत्रमा पाइने चरा वा कुनै पनि जीवहरूलाई वैज्ञानिक भाषामा एण्डेमिक प्रजाति भन्ने गरिन्छ।

हाइटीको राष्ट्रिय चरा पनि त्यसरी नै क्यारिबियनको हिस्प्यानोला क्षेत्रको एण्डेमिक प्रजाति हिस्प्यानोलियन ट्रोगन वा नेपालीमा रक्तशिर भनिने चरा हो। अस्ट्रेलियाको राष्ट्रिय चरा पनि एण्डेमिक इमु हो। यो एक प्रकारको उड्न नसक्ने चरा हो। अस्ट्रेलिया र न्युजिल्यान्ड दुवै देशका राष्ट्रिय चरा उड्न नसक्ने हुन्। न्युजिल्यान्डको राष्ट्रिय चरा किवी हो। स्वीडेनको राष्ट्रिय चरा कालो झिम्पे वा इयुरेसियन ब्ल्याक बर्ड हो।

अब जाऊँ केही रोचक प्रकारका राष्ट्रिय चरा भएका देशतिर। विश्वकपको अर्को शक्तिशाली देश अर्जेन्टिनाको राष्ट्रिय चरा रुफस अर्नेरो हो। जुन धेरै जनाले सुनेको चरामा पर्दैन। चराकै संसारमा अनुसन्धानमा लागेकाहरूले पनि नसुनेको यो दक्षिण पूर्वी अमेरिकामा पाइने एक प्रकारको सानो चरा हो। यो गाजले पिट्टाको नजिकैको परिवारमा पर्ने चरा हो।

जापानको राष्ट्रिय चरा एक प्रकारको अनौठो कालिज झैं देखिने फेजेण्ट; जसको नाम ग्रिन फेजेण्ट हो। यो पनि जापानको एण्डेमिक चरामा पर्छ। फेजेण्टहरू नै राष्ट्रिय चरा हुनेमा प्रजातान्त्रिक गणराज्य कङ्गो पनि पर्छ। कङ्गोको राष्ट्रिय चरा कङ्गो मयुर हो।

पाराग्वेको राष्ट्रिय चरा भने अलि अनौठो छ। संसारकै सबैभन्दा ठूलो आवाज निकाल्न सक्ने त्यो चराको नाम हो बेर थ्रोटेड बेलबर्ड वा घण्टी चरा ! कता–कता घनले फलाममा हान्दा आउने जस्तो आवाज निकाल्ने यो चरा उसको आवाजको लागि प्रख्यात छ। पहिलो पटक विश्वकप खेलिरहेको कुर्साओको राष्ट्रिय चरा चाहिं मैले पनि अहिलेसम्म नामै नसुनेको भेनेजुएल्न ट्रोपिअल रहेछ। इक्टेरिडे परिवारमा पर्ने यो चरा नयाँ विश्व अर्थात् उत्तरी र दक्षिणी अमेरिकामा पाइन्छ। कता कता नेपालको सुनचरी झैं देखिने यो चरालाई सुनचरी वा ओरियलहरूसँग दाँज्न मिल्छ। यो चरा मध्य अमेरिका र दक्षिण अमेरिकामा पाइन्छ।

दक्षिण अफ्रिका र नाइजेरियाका पनि राष्ट्रिय चरा रोचक छन्। यी दुवै देशको राष्ट्रिय चरा सारस हुन् वा अङ्ग्रेजीमा क्रेन। दक्षिण अफ्रिकाको राष्ट्रिय चरा निलो सारस हो भने नाइजेरियाको ब्ल्याक क्राउन्ड क्रेन। यो दुवै अफ्रिकामा मात्र पाइने चरा हुन्। अस्ट्रियाको राष्ट्रिय चरा घरगौंथली हो। नेदरल्याण्डको राष्ट्रिय चरा भने ब्ल्याक-टेल्ड गड्विट वा नेपालीमा मलगुझा हो। जोर्डनको राष्ट्रिय चरा सिनाइ तितु हो, अङ्ग्रेजीमा रोजफिंच भनिने यो चराहरू तितु परिवारमा पर्छन्। केही देशहरूको भने आधिकारिक रूपमा राष्ट्रिय चरा भनेर छैन रहेछ।

लेखक
अनुज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?