+
+
Shares

रिचार्ज कार्ड बेचेको पैसा सहकारीले खाइदियो, उपचार खर्च नहुँदा बल्झियो पीडा

अहिले बेनुमाया कटुवाल अशक्त भएर बेडमा सीमित छिन् । उनीसँग अहिले न उपचार खर्च छ, न काम गर्न सक्ने अवस्था । राम्ररी बोल्न समेत नसक्ने अवस्थामा रहेकी उनले औषधि नखाएमा शरीर नचल्ने, पानी निल्न र स्वासप्रश्वास गर्न समेत मुश्किल पर्छ ।

भुवन पौडेल भुवन पौडेल
२०८३ असार २ गते १४:५९

२ असार, काठमाडौं । शारीरिक रुपमा अशक्त बेनुमाया कटुवाल अहिले सहकारीमा फसेको बचत उठाउने दौडधुपमा छिन् । दैनिक गुजारा टार्न नै अप्ठ्यारो भएपछि कटुवाल आफ्नो पैसा फिर्ता माग्न सरकारी निकायमा धाउन थालेकी हुन् ।

रिचार्ज कार्ड बिक्री गर्दा बाटोमा हिँडेकै बेला शिवशिखर बहुउद्देश्यीय सहकारीका कर्मचारीले धेरै ब्याजदर पाइने तथा मार्टमा खाद्यवस्तु खरिद गर्दा छुट हुने भन्दै विभिन्न आश्वासन दिएपछि कटुवालले बचत राख्न सुरु गरिन् ।

कटुवालको कार्ड बेच्न जाने दैनिक रुटमै सहकारी पर्दथ्यो । बचत राख्न सुरु नगर्दासम्ममा सहकारीका कर्मचारीले विभिन्न प्रलोभन देखाउने गरेको कटुवाल बताउँछिन् ।
कर्मचारीले बारम्बार भनेपछि विश्वास गरी रिचार्ज कार्ड बेचेर भएको आम्दानीलाई सहकारीमा बचत राख्न सुरु गरेको उनको भनाइ छ ।

‘आफू बेसहारा अशक्त मान्छे भएकाले कर्मचारीले गलत नियत राखेर आश्वासन दिएका होइनन् होला भन्ने बुझाइले पैसा राखेँ,’ उनले भनिन्, ‘अहिले आएर पछुतो लाग्छ, नखाई नखाई राखेको पैसा अरुले खाइदियो, अहिले न काम नै गर्न सक्छु, न त सहकारीमा राखेको बचत फिर्ता हुन्छ ।’

मैले राखेको पैसा एक लाख रुपैयाँ बराबरको रिचार्ड कार्ड बिक्री गरेपछि आउने ५ सय रुपैयाँलाई भविष्यका लागि भनेर बचत गरेकी थिएँ । सहकारीमा राख्नाले न हिजो नै पेटभरि खाइयो न त अहिले ।’

कटुवालले शिवशिखरमा ४ लाख रुपैयाँ मुद्दती बचत राखेकी थिइन् । साथै उनले गौतमश्री सहकारीमा ५ लाख रुपैयाँ बचत राखेकी थिइन् ।

अहिले उनी अशक्त भएर विस्तारामा सीमित भएकी छिन् । उनीसँग अहिले न उपचार खर्च छ, न काम गर्न सक्ने अवस्था । राम्ररी बोल्न समेत नसक्ने अवस्थामा रहेकी उनले औषधि नखाएमा शरीर नचल्ने, पानी निल्न र स्वासप्रश्वास गर्न समेत मुश्किल पर्छ । ‘औषधि नखाए शरीरका कुनै अङ्ग पनि चल्दैनन्’ उनले भनिन् ‘यस्तो समस्या भएको करिब १० वर्ष पुगिसकेको छ ।’ अविवाहित एकल महिला कटुवालसँग अहिले न पैसा छ, न सहारा दिने कोही व्यक्ति ।

अहिले विस्ताराबाट उठ्न नसक्ने अवस्थामा पुगेकी कटुवालले विगतमा दैनिक काठमाडौंको बाटोमा हिँडेर रिचार्ज कार्ड बिक्री गरी कमाएको पैसा सहकारीमा राखेकी थिइन् । सहकारीमा बचत गरेको पैसाले नै झन् अप्ठ्यारोमा पारेको उनको गुनासो छ । ‘यसै पनि बिरामी र कमजोर मान्छे, त्यो पैसा फसेपछि त झनै समस्या बढ्यो,’ उनले भनिन्, ‘अब बाच्ने इच्छा पनि सकियो ।’

आफू बेसहारा, एकल महिला भएकाले अध्ययनका क्रममा संघसंस्था, अन्य व्यक्ति तथा आफन्तको सहयोग मिलेको उनले बताइन् । ‘सोही बेलादेखि नै पढाइ खर्चका लागि आएको पैसा पनि केही बचत गरेर बैंकमा जम्मा गर्न थालेँ’ उनले भनिन्, ‘इलाम क्याम्पसमा सबैको सहयोग पाएँ, स्नातकोत्तर पढ्नको लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय गएँ, त्यहाँ पनि होस्टल व्यावस्थापनले खान बस्न निशुल्क गरिदियो ।’

पढ्नको लागि कलेज, विश्वविद्यालय अनुदान आयोगल र केही विदेशीले पनि उनलाई सहयोग गरेका थिए । उनले २०६६ मा नेपाली र समाजशास्त्रबाट स्नातकोत्तर गरिन् । ‘तर शारीरिक अशक्त र कुनै पार्टीमा नलागेको हुँदा रोजगारी नपाएपछि झोलामा रिचार्ज कार्ड बोकेर बेच्ने काम गरेँ’ उनले भनिन् ।

बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म हिँड्दा एक लाख रुपैयाँ बरारबको रिचार्ज कार्ड बिक्री गर्ने गरेको उनले सुनाइन् । यसरी एक लाख रुपैयाँ बराबरको कार्ड बिक्री गर्दा ५ सय रुपैयाँसम्म फाइदा भएको उनले बताइन् ।

उनी कार्ड बिक्रीका लागि प्रायः कीर्तिपुर पाङ्गा, ट्याङ्लाफाँट हुँदै विश्वविद्यालय गेटसम्म पुग्थिन् । त्यस्तै कुमारी क्लब बल्खु कुलेश्वरसम्म पुगेर एक दिन पूरा हुन्थ्यो । ‘दैनिक २/४ सय बचाउँदै जम्मा गरेको रकम सहकारी ठगका लागि रहेछ,’ उनले सुनाइन् ।

वि.सं. २०७२ को भूकम्पले होस्टलमा बस्न असुरक्षित महसुस भएपछि उनी कीर्तिपुर नगाउँ दोबाटोमा कोठा सरिन् । उनी बसेको घरमा शिखरदिप सहकारी आयो, जुन सहकारी पछि शिवशिखरमा मर्ज भयो ।

‘अनि त्यहीं घरमा बस्ने बहिनीहरूले सहकारी संस्थामा काम गर्न थाले, मलाई पनि मुद्दतीमा बचत गर्नु ब्याज राम्रो आउँछ भन्न थाले, मैले पनि विश्वास गरेर बैंकमा भएको र आफूले दुःखले कमाएको पैसा पनि त्यहीं सहकारीमा जम्मा गर्न थालेँ, ब्याज पनि त्यहीं थपिँदै गयो,’ उनले भनिन्, ‘शिवशिखरमा ४ लाख फसेको हो, अहिलेसम्म २५ हजार रुपैयाँ फिर्ता पाएकी छु ।’

रिचार्ज कार्ड बिक्री गर्ने शिलशिलामा उनी गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वरमा पनि दैनिक पुग्ने गर्दथिन् । त्यहाँका कर्मचारीले पनि ब्याज राम्रो छ, पैसा जम्मा गर्नु भनेपछि विश्वास गरिन् ।

‘कोरोनाले व्यापार बन्द भएपछि मसँग भएको ३ लाख रुपैयाँ व्यापारको पैसा र बागबजार फर्‍याङ बचत तथा ऋण सहकारीमा भएको २ लाख गरी ५ लाख जम्मा गरेँ’ उनले भनिन्, ‘भएको पैसा सहकारीलाई दिएर म झापाको दमक आएँ, धेरै पछि थाहा पाएँ कि दुवै सहकारीका सञ्चालक फरार भए, सहकारी समस्याग्रस्त घोषणा भइसके ।’

सहकारी समस्याग्रस्त भएको जानकारी पाएपछि कटुवालले सहकारी विभागमा निवेदन दिइन् । ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा २ पटक निवेदन दिँदा पनि कुनै बचत फिर्ताको पहल भएन’ उनले भनिन्, ‘न भोक लाग्दा खाने अन्न छ, न त घाम पानी छल्ने घर छ,’ उनले भनिन, ‘बिरामी छु, न उपचार गर्ने खर्च नै छ, सडकको भिखारी बनाए सहकारी ठगले ।’

शिवशिखरको समस्या के हो ?

सहकारीको बचत लगेर विभिन्न कम्पनीमा लगानी गर्ने तत्कालीन अध्यक्ष केदार शर्मा सहितको टोलीका कारण संस्था समस्यामा गयो । जब सर्वसाधारण बचत माग्न जाँदा पाउन सकेनन्, त्यसपछि बचकर्ताको पहलमा २०८० भदौ २५ गते संस्थालाई समस्याग्रस्त घोषणा गरियो । बचत फिर्ता नपाएका केही बचतकर्ता नेपाल प्रहरी मार्फत कानुनी उपचारमा गइसकेका थिए ।

उजुरीका आधारमा सहकारीको कारोबार र अनियमितताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिल कार्यालय भक्तपुरमार्फत शर्मालगायत सञ्चालक तथा कर्मचारीविरूद्ध १८ जेठ २०८० मा ‘सहकारी ठगी र संगठित अपराध’ को मुद्दा दर्ता गरेको छ । भक्तपुरसहित ३७ जिल्लामा यी दुई सहकारीका ठगीविरुद्ध मुद्दा चलेका छन् ।

मुद्दा चलेसँगै केदारनाथकी श्रीमती गीता शर्मा तथा सञ्चालक समिति सदस्यद्वय पुष्कर मल्ल र अमिस राजभण्डारी पक्राउ परे ।

पछि सीआईबीले शर्मालाई पक्राउ गरी अनुसन्धान गरेर पूरक प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । शर्मालाई सीआईबीले २०८० असार ११ मा भारतबाट पक्राउ गरेको थियो । उनीहरू अहिले पूर्पक्षका लागि थुनामा छन् ।

विभिन्न जिल्लामा मुद्दा चलिरहेका उनीहरूलाई प्रहरीले अदालतको आदेश अनुसार उपस्थित गराउँदै आएको छ । सञ्चालकहरू सुशील बानियाँ, भोजराज पौडेल र कुमार श्रेष्ठ फरार सूचीमा छन् ।

भक्तपुर जिल्ला अदालतमा पुगेको करिब १४ सय बचतकर्ताको जाहेरीबाट १ अर्ब ११ करोड रुपैयाँ बराबरको माग दावी गरिएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीका केन्द्रीय कार्यालयसहित देशभर ३४ शाखा थिए ।

संस्थामा हालसम्म ऋणीबाट ५४ लाख ५६ हजार रुपैयाँ बराबरको ऋण बैंक दाखिला भएको र ३ करोड ५९ लाखको ऋण बचतसँग समायोजन भई १२० ऋणीको ऋण लगत कट्टा भएको छ ।

साथै, संस्थाको ऋण तथा ब्याज यकिन गर्दा २०७६ असार मसान्तपछि ब्याजदर १६ प्रतिशत भन्दा बढी भएमा १६ प्रतिशत र सो १६ प्रतिशतभन्दा कम भएमा सोही ब्याजदरकै आधारमा ब्याज गणना गरेको समिति कार्यालयले जनाएको छ ।

उपलब्ध निक्षेपकर्ताको मागदावी र सफट्वेयरको विवरणलाई आधार मान्दा ३३ हजार २ सय ४३ जना बचतकर्ताबाट ९ अर्ब ५४ करोड २० लाख मागदाबी भएको छ ।

जसमध्ये हालसम्म ५९ जना बचतकर्ताको २ लाख २८ हजार रुपैयाँ पूर्ण बचत फिर्ता भएको छ भने ४७ करोड रुपैयाँ बिरामीले दाबी गरेको रकम फिर्ता भएको छ ।

साथै, १२० जना बचतकर्ताको ३ करोड २६ लाख ४९ हजार बराबरको बचत ऋणसँग समायोजन, ६ जना घरधनीको ४ करोड ३ लाख सामानसँग समायोजन, गार्डेन मार्टको ४७ लाखको सामान समायोजन र ८० जना बचतकर्ताको ६६ करोडको मार्टको समान समायोजन बचत कट्टा भएको छ ।

संस्थाका समस्याहरूमा ऋण पूर्ति भइसकेको तर तमसुखमा अंकित नभएको अवस्था छ । मुद्दती निक्षेपमा आधारित ऋणमा प्रमाणपत्रको अभाव, बन्धकी मूल्याङ्कन भन्दा बढी ऋण प्रवाह, पछिल्लो ऋण चुक्ता नगरी नयाँ ऋण दिएको जस्ता समस्या संस्थामा देखिएका छन् । ऋणीको प्रत्याभूतिविना नै ऋण प्रवाह र कागजात पनि अपुरो रहेको समितिको लेखापरीक्षणबाट पहिचान भएको छ ।

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार ऋणीबाट जम्मा ८२ लाख २१ हजार रुपैयाँ बैंक दाखिला भएको र एक करोड ५२ लाख ८६ हजार बराबरको ऋण बचतसँग समायोजन गरी जम्मा ६ जना ऋणीको लगत कट्टा भएको छ ।

संस्थाको ऋणको ब्याजदर यकिन गर्दा २०७६ असार मसान्तपछि ब्याजदर १६ प्रतिशत भन्दा बढि भएमा १६ प्रतिशत र १६ प्रतिशत भन्दा कम भएमा सोही ब्याजदरकै आधारमा ब्याज गणना गरेको पाइयो ।

संस्थाको सेयर पूँजी ४ करोड ११ लाख बराबरको रहेको पाइएको छ । साथै हालसम्म १३१ जना बचतकर्ताको ४९ लाख ६६ हजार बचत फिर्ता र ६ लाख ९३ हजार बराबर रकम बिरामीलाई बचत फिर्ता भएको छ ।

संस्थाको हालसम्म २०६३ जना बचतकर्ताबाट ३ अर्ब १२ करोड ९२ लाख बराबरको मागदाबी भएको छ । जसमध्ये हालसम्म १३१ जना बचतकर्ताको ४९ लाख ६६ हजार बचत फिर्ता र ६ लाख ९३ हजार बराबर रकम बिरामी बचतकर्तालाई फिर्ता भएको छ । ६ जना बचतकर्ताको १ अर्ब २३ करोड ५८ लाख ७३ हजार बराबरको बचत रकम ऋणसँग समायोजन भएको छ ।

सहकारीका अध्यक्ष रामबहादुर गौतमले सहकारीको रकम दुरुपयोग गर्न कसैको नागरिकताको प्रमाणपत्र राखेर फर्जी सञ्चालक र कर्मचारी खडा गर्ने गरेका थिए ।

संस्थामा आएको कुनै बचतकर्ताको नागरिकता प्रयोग गरी तिनलाई नक्कली सञ्चालक, लेखा समिति सदस्य तथा कर्मचारी समेत बनाउने गरेका थिए ।

नाम मात्रैको सञ्चालक समिति र लेखा समिति बनाएर गौतमले सहकारीको स्रोत दुरुपयोग गरी आफ्नो निजी कम्पनीमा लगानी गर्ने गरेका थिए । सहकारीले प्रवाह गरेको कर्जामध्ये ८० प्रतिशत गौतमले दुरुपयोग गरेको सहकारीको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदनमा ८० प्रतिशत कर्जा प्रमाणीकरण गर्ने कागजपत्र तथा कर्जा फाइल केही पनि अभिलेख नराखी प्रवाह गरिएको उल्लेख छ । सो कर्जा सञ्चालकले अपचलन गरेको लेखा परीक्षकले उल्लेख गरेका छन् ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?