हिँड्नुलाई सबैभन्दा प्रभावकारी व्यायाम मध्ये एक मानिन्छ । हिँड्नुका फरक-फरक तरिका हुन्छ । तर के तपाईं कहिल्यै पछाडि हिँड्नु भएको छ वा कसैले यसरी हिँडेको देख्नुभएको छ ?
सायद यस्तो विरलै देखिन्छ, सुनिन्छ ।
केही वर्षअघि दाङका एक युवकले उल्टो हिँडेर मेची महाकाली यात्रा गरेको विषयले चर्चा पाएको थियो । ‘हिंडौं स्वस्थ रहौं’ भन्ने नारासहित आफूले यसरी सयौं किलोमिटर उल्टो यात्रा गरेको उनले बताउने गरेका थिए ।
वास्तवमा, पछाडि हिँड्नु शरीरका लागि धेरै हिसाबले फाइदाजनक छ ।
उल्टो हिँडाइले शरीरलाई कसरी फाइदा गर्छ त ?
१.खुट्टाको मांसपेशीलाई बलियो बनाउँछ
पछाडि हिँड्दा खुट्टाका विभिन्न भागका मांसपेशीहरू बढी सक्रिय हुन्छन् । यसले तिघ्रा, पिँडुला र नितम्बहरूका मांसपेशी बलियो बनाउन मद्दत गर्छ ।
२.सन्तुलन र समन्वय सुधार गर्छ
जब तपाईं पछाडि हिँड्नुहुन्छ, तपाईंको शरीरले सन्तुलन कायम राख्न कडा मेहनत गर्नुपर्छ । यसले गर्दा शरीरको सन्तुलन र समन्वय हुन्छ ।
३.धेरै क्यालोरीहरू बर्न गर्छ
सिधा तरिकाले अगाडिबाट हिँड्न जति सहज हुन्छ, पछाडि हिँड्दा त्यस्तो सजिलो हुँदैन । यही कारणले यस्तो तरिकाको हिँडाइमा शरीरले बढी ऊर्जा खर्ज गर्नुपर्ने हुन्छ । क्यालोरी बढी खर्च हुँदा अनावश्यक तौल बढ्नबाट रोक्न मद्दत पुग्छ ।
४.घुँडा मजबुत बनाउँछ
पछाडि हिँड्दा घुँडा र जोर्नीहरूमा दबाबको ढाँचा परिवर्तन हुन्छ । यसले जोर्नीहरू मजबुत बनाउन मद्दत पुग्न सक्छ । घुँडाको जोर्नीको थेरापीकै लागि कतिपय अवस्थामा पुनर्स्थापना प्रक्रियाको फिजियोथेरापिस्टहरूले उल्टो हिँड्ने अभ्यासलाई समावेश गरेका हुन्छन् ।
५.मस्तिष्कलाई सक्रिय बनाउँछ
हामी सिधा हिँड्दा अनेकौं कुरा मनमा सोच्दै पनि सहजै हिँडिरहेका हुन्छौं । तर पछाडि हिँड्दा हिँडाइमा बढी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । यसले मष्तिष्कलाई बढी सक्रिय बनाउँछ । आफूले जे गरिरहेको हो त्यसमा ध्यान केन्द्रित गर्न मद्दत पुर्याउँछ ।
सही तरिकाले कसरी हिँड्ने ?
विधिव सीमितता र बाध्यताले गर्दा अलि लामो समय यसरी उल्टो हिँड्न कठिन हुन सक्छ । सुरुमा केही मिनेट मात्रै हिँडेर सुरु गर्न पनि सकिन्छ । उल्टो हिँड्नका लागि खुल्ला ठाउँ तथा चौरको छनोट गर्नु सबैभन्दा राम्रो हुन्छ । आफू हिँड्न लागेको सहतमा कुनै अवरोध तथा धारिलो बस्तु छन्/छैन राम्रोसँग हेर्नुपर्छ । घरको छत तथा नजिकै अग्लो कान्ला भएको ठाउँमा यस खालको व्यायाम गर्न लागेको हो भने सावधानी अपनाउनुपर्छ।
हिंड्दा आफ्नो घाँटी र शरीरलाई सिधा राखेर बिस्तारै हिँड्नुपर्छ । यदि असहज महसुस हुन्छ, गर्दन तथा शरीरका कुनै भागमा दुख्छ भने उल्टो हिँड्न रोक्नुपर्छ ।
प्रतिक्रिया 4