+
+
Shares

देउवा दम्पतीले कहाँबाट लेख्दैछन् खुसुखुसु इमेल ?

अनुसन्धानमा तानिएका देउवा दम्पती बेपत्ता छन् । बेपत्ता रहेकै अवस्थामा आरजुको नामबाट इमेल आएको छ । अख्तियारले अनुसन्धान गरेपछि मात्रै होइन यसअघि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दासमेत देउवा दम्पतीले इमेल पठाएका थिए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ असार ४ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पासपोर्ट खरिद प्रकरणमा अख्तियारले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोराको इमेल पठाएकी छिन् ।
  • ई-पासपोर्ट ठेक्का भ्रष्टाचार प्रकरणमा अख्तियारले अहिलेसम्म चार जनालाई पक्राउ गरी करिब दुई दर्जन व्यक्तिसँग बयान लिइसकेको छ ।
  • सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु विगत चार महिनादेखि देश बाहिर सम्पर्कविहीन छन् ।

४ असार, काठमाडौं । पासपोर्ट खरिद प्रकरणमा भएको भ्रष्टाचार विषयमा बयान लिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवालाई म्याद तामेली गर्‍यो । त्यस लगत्तै आरजुले अख्तियारलाई इमेल लेखिन् ।

अख्तियार स्रोतका अनुसार आरजु राणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आईडीमा मेल आएको छ । जहाँ उनले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गरेकी छिन् ।

‘आरजु राणा देउवाको नामबाट इमेल आएको छ । इमेलमा अनुसन्धानलाई सहयोग गर्न तयार रहेको उल्लेख छ । तर उपचारको कारण देखाएर तत्कालै उपस्थित हुन भने नसक्ने जनाइएको छ,’ अख्तियार स्रोतले भन्यो ।

पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान अघि बढाएको अख्तियारले आरजुको बुढानीलकण्ठस्थित घरमा म्यादसमेत तामेल गर्दै बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन भनेको थियो । म्याद तामेल भएलगत्तै आरजुले अख्तियारलाई इमेल लेख्दै तत्कालै उपस्थित हुन नसक्ने बताएकी हुन् ।

तर, कहाँ, कुन देशमा, कुन रोगको उपचार गराएको भन्नेबारे आरजुले इमेलमा केही पनि उल्लेख नगरेको अख्तियार स्रोत बताउँछ ।

ई-पासपोट ठेक्कामा भएको भ्रष्टाचारबारे अख्तियारले अहिले तिव्रताका साथ अनुसन्धान अघि बढाएको छ । यो प्रकरणमा अहिलेसम्म चार जना पक्राउ परिसकेका छन् । अख्तियारले करिब दुई दर्जन व्यक्तिसँग बयानसमेत लिइसकेको छ ।

तर, अनुसन्धानमा तानिएकी आरजु भने बेपत्ता छिन् । बेपत्ता रहेकै अवस्थामा उनको नामबाट इमेल आएको छ । अहिले अख्तियारले अनुसन्धान गरेपछि मात्रै होइन यसअघि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दासमेत देउवा दम्पती (शेरबहादुर देउवा र आरजु र राणा देउवा) ले इमेल पठाएका थिए ।

कांग्रेसका पूर्वसभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर र पत्नीले आफूहरूविरुद्ध चलिरहेको सम्पती शुद्धीकरणको अनुसन्धानलाई सहयोग गर्न तयार रहेको भन्दै पक्राउ पुर्जी जारी नगर्न अनुरोध गरेका थिए ।

दुवै जनाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई संयुक्त पत्र पठाएर दुई महिनाभित्र नेपाल फर्किन तयार रहेको भन्दै नेपाल आउन कठिन हुने अवस्था नबनाइदिन आग्रह गरेका थिए ।

दुवै जनाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ, ‘हामी सदाशयतापूर्वक अनुसन्धानमा सहयोग गर्न तत्पर रहँदारहँदै हामीलाई ‘देश छाडी भागेको’, ‘अनुसन्धानमा उपस्थित नभएको’ भन्ने जस्ता भाष्य सिर्जना गरी हाम्राविरुद्ध पक्राउ पूर्जी जारी गर्ने र नेपाल प्रवेश गर्न नै कठिनाइ हुने अवस्था नबनाइयोस् भनी अनुरोध गरेका छौं ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी गर्न वा मुद्दा चलाउनु परेमा विशेष अदालत पुग्नुपर्छ । उनीहरूले आफूहरूको सम्भावित मुद्दा हेर्ने अदालतमा समेत पत्रको बोधार्थ पठाएका छन् । उनीहरूले २८ साउनभित्र आफूहरू नेपाल फर्कनेसमेत पत्रमा उल्लेख गरेका थिए ।

जेनजी आन्दोलनको दोस्रो दिन अर्थात् गत २४ भदौमा देउवा दम्पतीमाथि बुढानीलकण्ठस्थित घरमै सांघातिक आक्रमण भएको थियो । त्यतिबेला उनीहरूको घरमा नोट जलेको विषय पनि सार्वजनिक भएको थियो ।

पत्रमा उनीहरूले नियमित रूपमा सम्पत्ति विवरण बुझाएको र सम्पत्तिबारे छानबिन गर्नु परेमा अख्तियारले अनुसन्धान गर्न सक्नेसमेत उल्लेख गरेका थिए । अहिले भने आरजुमाथि अख्तियारले पासपोर्ट खरिदमा भएको भ्रष्टाचारको विषयमा अनुसन्धान अघि बढाएको छ ।

तर, देउवा दम्पती लामो समयदेखि सम्पर्कविहीन छन् । सम्पत्ति शुद्धीकरणको कसुरमा गत २४ चैतमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइयो । त्यसका लागि नेपाल प्रहरीले इन्टरपोललाई पत्रचार गर्दै रेड नोटिसका लागि आग्रह गर्‍यो ।

तर, दुई पटकसम्म इन्टरपोलले कागजात नपुगेको भन्दै थप कागजात मागेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । अहिलेसम्म उनीहरूविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छैन ।

पक्राउ पुर्जी जारी भएपछि देउवा दम्पती सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले अध्यादेशमार्फत अदालतको क्षेत्राधिकार फेरिएर विशेष अदालतमा पुगेको अवस्थामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा पक्राउको प्रयास गर्नु उचित नहुने भन्दै ११ जेठमा पक्राउ पुर्जी नै खारेज गरिदिएको थियो । त्यसपछि केही राहत महसुस गरेका उनीहरूविरुद्ध फेरि अनुसन्धान अघि बढेको छ ।

चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।

यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर फर्केका थिए ।

पछिल्लो समय १४ फागुनमा देश छाडेका उनीहरू अहिलेसम्म नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको बताइन्छ । करिब चार महिनादेखि देश बाहिरै छन् । पक्राउ पुर्जीदेखि अनुसन्धानको विषय सार्वजनिक भएपछि बेलाबेलामा देउवा दम्पतीले आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् ।

यसअघि पक्राउ पुर्जी जारी भएपछि भएपछि देउवाले २५ चैतमा वक्तव्य जारी गर्दै आफू खुला किताब भएको अभिव्यक्ति दिएका थिए ।

सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा रहेको र आफ्नो सम्पत्तिको विवरण सार्वजनिक पदमा रहँदा सरकारी निकायमा पेस गरेको उनले बताएका थिए ।

योसँगै देउवा दम्पतीका तर्फबाट चार महिनाको अवधिमा इमेल तथा वक्तव्य गरी तीन पटक धारणा सार्वजनिक भएका छन् । तर उनीहरूको अवस्था भने अहिलेसम्म पत्ता लागेको छैन । पक्राउ पुर्जीसमेत खारेज भएको अवस्थामा उनीहरूलाई अहिले आफूहरूले खोजी गर्न नमिल्ने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी बताउँछन् ।

‘पहिला पक्राउ पुर्जी जारी भएकाले इन्टरपोलमार्फत खोजीको प्रयास गरेका थियौं । अहिले पक्राउ पुर्जी नै खारेज भएको अवस्थामा हामीले खोज्न मिल्ने अवस्था रहेन,’ ती अधिकारीले भने । देउवा दम्पती हङकङमा हुनुपर्ने आकलन ती अधिकारीको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?