+
+
Shares

यस वर्षको प्रि-मनसुनमा ४५ वर्ष यताकै धेरै वर्षा, तोडियो १९९० को रेकर्ड

विभागको तथ्याङ्क अनुसार यसअघि सन् १९९० मा सबैभन्दा धेरै ३३१.४० मिलिमिटर पानी परेको रेकर्ड थियो। यस वर्षको वर्षाले उक्त ३६ वर्ष पुरानो रेकर्डलाई समेत पछि पार्दै नयाँ इतिहास कायम गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा यस वर्षको प्रि-मनसुन सिजनमा विगत ४५ वर्ष यताकै सबैभन्दा धेरै ३३९.७७ मिलिमिटर वर्षा भई नयाँ कीर्तिमान कायम भएको छ।
  • जल तथा मौसम विज्ञान विभागका अनुसार यसअघि सन् १९९० मा सबैभन्दा बढी ३३१.४० मिलिमिटर वर्षा भएको रेकर्ड थियो।
  • यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिए पनि जुन १८ सम्म नेपालमा मनसुन भित्रिएको छैन।

४ असार, काठमाडौं । नेपालमा यस वर्षको प्रि-मनसुन (मार्च-मे) सिजनमा विगत ४५ वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षाले विगतका सबै कीर्तिमानहरूलाई भंग गरेको हो ।

नेपालमा प्रि-मनसुन सिजनमा औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्दछ। तर, यस वर्ष (सन् २०२६) औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७७ मिलिमिटर वर्षा भएको छ। यो औसत भन्दा झण्डै डेढ गुणा बढी हो।

सन् १९९० को रेकर्ड भंग

जल तथा मौसम विज्ञान विभागले सन् १९८१ देखि देशका १२६ वटा वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि-मनसुनको विश्लेषण गर्दै आएको छ।

विभागको तथ्याङ्क अनुसार यसअघि सन् १९९० मा सबैभन्दा धेरै ३३१.४० मिलिमिटर पानी परेको रेकर्ड थियो। यस वर्षको वर्षाले उक्त ३६ वर्ष पुरानो रेकर्डलाई समेत पछि पार्दै नयाँ इतिहास कायम गरेको छ।

प्रि–मनसुन भन्नाले मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् मार्च, अप्रिल र मे महिनाको अवधिलाई बुझिन्छ । यो अवधिमा प्राय सुक्खा हुन्छ । तर यस वर्ष वैशाखसम्मै पटक–पटक पानी, असिना, हिउँ परेको छ । सक्रिय पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले यस वर्ष धेरै पानी परेको मौसमविदहरु बताउँछन् ।

जलवायु परिवर्तनको असर र वायुमण्डलीय प्रभावका कारण यस वर्ष प्रि-मनसुन समयमै सक्रिय भई औसतभन्दा बढी वर्षा भएको मौसमविद्हरूको भनाइ छ । प्रि-मनसुनमै यति धेरै वर्षा भएपछि यसले आगामी मुख्य मनसुनको समयमा पर्न सक्ने असरबारे सजग रहनुपर्ने संकेत समेत गरेको छ ।

यस वर्षको मनसुनमा देशभर सरदर भन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान छ । यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम भने कम नहुने विज्ञहरुले बताएका छन् । उनीहरूका अनुसार छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र पानीको अभावले यो वर्षको मनसुन अझ खतरनाक बन्न सक्ने आशंका छ ।

नेपालमा सामान्यतया मनसुन आगमन हुने मिति जुन १३ भन्दा ५ दिन ढिला अर्थात् आज जुन १८ भइसक्दा पनि मनसुन भित्रिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?