News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बालकुमारीमा लागूऔषध कारोबार गरिरहेका किशोर प्रसाद ओझैयालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
- पक्राउ परेका ओझैया लागूऔषध मुद्दामा ३ वर्ष कैद भुक्तान गरी ६ महिनाअघि मात्र नख्खु कारागारबाट छुटेका व्यक्ति हुन् ।
- प्रहरीले उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद गरी अन्य दुई जनालाई पनि पक्राउ गरेको छ ।
६ असार, काठमाडौं । लागूऔषध मुद्दामा तीन वर्ष कैद भुक्तान गरेर ६ महिनाअघि मात्रै छुटेका व्यक्ति पुन: लागूऔषधकै कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।
काठमाडौंको बालकुमारीस्थित पुलमुनि कारोबार गरिरहेको अवस्थामा प्रहरीले ती व्यक्तिलाई गोली हानेर पक्राउ गरेको हो ।
पर्साको पटेवा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैयालाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीसँगै कारोबारमा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा कैलालीको टिकापुर नरगपालिका ५ घर भएका २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका ३ घर भएका २० वर्षीय निरज कुमार मण्डल रहेका छन् ।
भारतबाट लागूऔषध खैरो हिरोइन ल्याइ कारोबार गरिरहेको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले जनाए अनुसार, उनीहरूलाई रोकिन भन्दै सुरुमा हवाइ फायर गरिएको थियो । उनीहरू नमानेर भाग्न थालेपछि प्रहरीले एक जनाको घुँडा मुनि गोली हानिएको जनाएको छ ।
गोली लागेर घाइते भएका ओझैयालाई ट्रमा अस्पतालमा उपचारका लागि लगिएको छ ।
उनीहरूको साथबाट तीन सय ग्राम खैरो हिरोइन, मोबाइल ४ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा गोली लागेका ओझैया यसअघि पनि लागूऔषध मुद्दामा कैद भुक्तान गरेका व्यक्ति हुन् ।
३ वर्ष कैद र एक लाख ४ हजार जरिवाना तिरेर उनी ०८२ पुस १७ गते नख्खु कारागारबाट छुटेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता दुर्गाराज रेग्मीले बताएका छन् ।
प्रतिक्रिया 4