+
+
Shares

एमाले सुदूरपश्चिमका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा  

सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो हिस्साले नेतृत्वदेखि संगठनसम्म एमाले पुनर्गठन गर्नुपर्ने धारणा राखे ।

जनक विष्ट जनक विष्ट
२०८३ असार ७ गते ९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन् ।
  • धनगढीमा आयोजित सो कार्यक्रममा केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा जिल्ला र प्रदेश तहका नेताहरूले १३ घण्टासम्म आफ्नो धारणा राखेका थिए ।
  • कार्यक्रममा सहभागी अधिकांश केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूले वडादेखि केन्द्रसम्मकै पार्टी कमिटी पुनर्गठन गर्नुपर्ने माग राखेका छन् ।

७ असार, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन् ।

प्रदेश कमिटीले शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो हिस्साले नेतृत्वदेखि संगठनसम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका हुन् ।

पार्टी केन्द्रका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको कार्यक्रम करिब १३ घण्टा चलेको थियो ।

सुझाव संकलन कार्यक्रमअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्दै नेताहरूलाई आफ्नो धारणा निर्धक्क राख्न आग्रह गरेका थिए । सो क्रममा ओलीले अन्यत्र जस्तै ‘विभिन्न खालका मानसिकता’ बोकेर पुगेका नेताहरुलाई धेरै महत्व दिन जरुरी नभएको भन्दै आफ्ना कुरा ढुक्कले राख्न भनेका थिए । तर, ओलीको उक्त निर्देशनअनुसारकै राय दिने नेताको संख्या न्यून देखिएको कार्यक्रममा सहभागी एक नेताले बताए ।

‘उहाँ(अध्यक्ष)ले अन्य प्रदेशमा जस्तै त्यहाँ पनि केही व्यक्तिहरु विभिन्न नाममा आएका छन् । उनीहरुलाई धेरै महत्व दिन जरुरी छैन भन्दै सम्बोधन गर्नुभएको थियो,’ ती नेताले भने, ‘आफ्नो कुरा निर्धक्क राख्नुहोला भन्नुुभयो तर, उहाँको निर्देशनभन्दा ठीक उल्टो नेताहरु पार्टी पुनर्गठनको पक्षमा उभिनुभएको छ ।’

कार्यक्रममा सहभागी सबै जिल्ला र प्रदेशका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पालैपालो धारणा राखेका थिए । बैठकमा डडेल्धुरा बाहेक सबै(८) जिल्लाका अध्यक्ष सहभागी थिए ।

कैलाली अध्यक्ष यज्ञराज ढुंगानाले पार्टी अध्यक्षकै सहमतिअनुसार पुनर्गठन गर्नुपर्ने बताएका थिए । तर उनका अन्य पदाधिकारीले भने पुनर्गठनको पक्षमा उभिएर ओलीको विकल्प आवश्यक भइसकेको धारणा राखे ।

‘पार्टी पुनर्गठन गरे पनि अध्यक्ष कमरेडसँग परामर्श गरेर अघि बढ्नुुपर्छ । अहिलेको परस्थितिमा पार्टी एकताबद्ध बनाएर अघि बढ्नुुपर्छ भन्ने उहाँको धारणा थियो,’ ढुंगानाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

डोटी जिल्ला अध्यक्ष मन्जु मलासीले पनि अहिले ओलीको विकल्प खोज्नु गलत भएको दाबी गर्दै नेतृत्व गर्न सक्ने व्यक्ति अरु नभएको बताएकी थिइन् तर अन्य पदाधिकारी भने पुनर्गठनको पक्षमा बोलेका थिए । अछाम, बाजुरा र डडेल्धुरा कमिटीले पनि पार्टी पुनर्गठनबारे लिखित प्रतिवेदन बुझाएका छन् ।

सुझाव संकलनका लागि सुदूरपश्चिम पुगेको केन्द्रीय टोली ।

दार्चुला अध्यक्ष ज्ञानेन्द्र घर्तीले पार्टी एकतामा जोड दिएका छन् । पार्टी विभाजन हुने गतिविधि गर्न नहुने बताएका उनले सिंगो जिल्ला सूर्य चिह्न र एमाले भएकै ठाउँमा उभिने धारणा राखेका थिए ।

बझाङका पदाधिकारीले पनि पार्टी पुनर्गठनको पक्षमा धारणा राखे तर प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक समेत रहेका सांसद ऐनबहादुर महरले बझाङ पार्टीको संस्थागत निर्णयको पक्षमा उभिने बताएका थिए ।

कार्यक्रममा कतिपय नेताले अध्यक्ष ओली मात्र नभएर वडादेखि केन्द्रीय कमिटीसम्मै पार्टी पुुनर्गठन हुनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा लिखित प्रतिवेदन प्रस्तुत गरेका अछाम जिल्ला अध्यक्ष शिवप्रसाद उपाध्यायले वडा तहसम्मै पुनर्गठनको माग गरेका थिए ।

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीसहित अन्य पदाधिकारीले पनि पार्टी पुनर्गठनमा जोड दिएका थिए ।

अधिकांश केन्द्रीय सदस्य पनि पुनर्गठनको पक्षमा खुले

सुझाव संकलन कार्यक्रममा सुदूरपश्चिम भूगोलका केन्द्रीय सदस्यहरु पनि सहभागी थिए । उनीहरुले पनि आफ्नो धारणा राखेका छन् । अरुको तुलनामा युवा केन्द्रीय सदस्य नरेश रोकाया र गोविन्द गिरी अरु भन्दा चर्को सुनिएका थिए ।

अध्यक्ष ओली मात्र नभएर सिंगो पार्टी कमिटी नै पुनर्गठनको पक्षमा उनीहरु उभिएका थिए । ‘केपी ओलीलाई मात्र देखाएर तपाईंहरु पन्छिन पाउनुुहुन्न । महाधिवेशनमा उहाँकै टिममा लागेर पद हात पार्ने तपाईं सबै जनाले पार्टीबाट बिदा लिनुपर्छ,’ रोकायाले भने, ‘सिंगो पार्टी नै पुनर्गठन गर्नुपर्छ । अहिलेसम्मको परिणामको भागेदार तपाईंहरु सबै जना हो ।’

नेता कर्णबहादुर थापा, प्रदेश इन्चार्ज दामोदर भण्डारी, कमला ओली, सन्तोश शर्मा थापा, गौरीशंकर चौधरी लगायतका केन्द्रीय सदस्यले पनि पार्टी पुनर्गठनको पक्षमा बोलेका थिए । प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले जिल्ला अध्यक्ष घर्तीकै लाइनको कुरा गर्दै पार्टी विभाजन गर्ने कुरा राम्रो नहुने धारणा राखेका थिए ।

बाजुराका लालबहादुर थापाले भने अध्यक्षलाई दोष लगाएर अन्य पदाधिकारी उम्किन नपाउने बताएका थिए । केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसदले भने पार्टीमा अवसरमा विभेद गर्ने प्रवृत्ति बढेकोमा गुनासो गरेका थिए ।

शनिबारको कार्यक्रममा सहभागी केन्द्रीय नेताहरुले भने जिल्ला, प्रदेश र केन्द्रीय सदस्यका कुरा मात्र सुनेका थिए । उनीहरु कसैले पनि कुनै धारणा राखेनन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?