News Summary
Generated by OK AI. Editorially reviewed.- लियोनल मेसीको पहिलो विश्वकप ह्याट्रिकको मद्दतमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
- कप्तान केलिएन एमबाप्पेको दुई गोलको सहयोगमा साविक उपवियेता फ्रान्सले सेनेगललाई ३-१ ले हराउँदै विजयी सुरुवात गरेको छ ।
- २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले एर्लिङ हालान्डको दुई गोलको मद्दतमा इराकलाई ४-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना, साविक उपविजेता फ्रान्स र २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेले फिफा विश्वकप २०२६ को पहिलो खेलमा प्रभावशाली जितसहित सुखद सुरुवात गरे ।
उत्तर अमेरिकाको तीन राष्ट्रमा संयुक्त रुपमा आयोजना भइरहेको २३औं संस्करणको विश्वकपले नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ भने विश्व फुटबलको ध्यान नै अहिले त्यतैतर्फ छ ।
तीनै टिममा रहेका स्टार खेलाडीहरु लियोनल मेसी, केलिएन एमबाप्पे र एर्लिङ हालान्डले पनि पहिलो खेलमै शानदार प्रदर्शन गर्दै एक भन्दा बढी गोल गरे ।
पहिलो खेलको जितको लयलाई निरन्तरता दिँदै तीनै टोली दोस्रो जितसहित नकआउट चरणमा स्थान सुरक्षित गर्न चाहन्छन् । विश्वभरका फुटबल समर्थकहरुको नजर भने तीन फरक पुस्ताका सुपरस्टार मेसी, एमबाप्पे र हालान्डमा केन्द्रित हुनेछ ।

कीर्तिमानी मेसीले विश्वकप इतिहासमै आफ्नो पहिलो ह्याट्रिक गर्दा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हरायो । मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे ।
यस्तै कप्तान एमबाप्पेको दुई गोलमा फ्रान्सले सेनेगललाई ३-१ ले हरायो । यस खेलमा एमबाप्पेले फ्रान्सका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउँदै ओलिभर जिरुडलाई पछि पारे । साथै एमबाप्पेले विश्वकपमा गोलसंख्या १४ पुर्याए ।

अर्कोतर्फ विश्व फुटबलकै घातक स्ट्राइकर हालान्डले विश्वकपमा डेब्युमै दुई गोल गर्दै त्यसलाई सुखद बनाए । उनकै दुई गोलमा नर्वेले इराकलाई ४-१ ले हराउँदै पहिलो जित हात पार्यो ।
अब अर्जेन्टिना, फ्रान्स र नर्वेले दोस्रो खेल खेलिरहँदा पहिलो खेलकै लय कायम राख्दै लगातार दोस्रो जित हात पार्ने र नकआउट चरणमा स्थान बनाउने तर्फ छ ।
समूह जे मा रहेको अर्जेन्टिनाले सोमबार राती पौने ११ बजे अस्ट्रियासँग खेल्नेछ । अस्ट्रियाले पनि पहिलो खेलमा जोर्डनलाई ३-१ ले पराजित गरेर विजयी सुरुवात गरिसकेको छ ।
यस्तै समूह एफमा रहेको फ्रान्सले इराकसँग खेल्नेछ । यो खेल मंगलबार बिहान पौने ३ बजे सुरु हुनेछ । यही समूहको अर्को खेलमा नर्वेले सेनेगलसँग खेल्नेछ । यो खेल मंगलबार बिहान पौने ६ बजे सुरु हुनेछ । २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे यो खेल जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । पछिल्लो पटक १९९८ मा विश्वकप खेल्दा नर्वे नकआउट चरणमा पुगेको थियो तर इटलीसँग १-० ले पराजित हुँदै बाहिरिएको थियो ।
तीन टोलीको तीन खेलको चर्चासँगै स्टार खेलाडीहरुको चर्चा पनि उस्तै हो । पहिलो खेलमै मल्टिपल गोल गर्दै गोल्डेन बुट अवार्डमा समेत आफ्नो दाबेदारी पेश गरिसकेका छन् ।
त्यसैले दोस्रो खेलमा पनि विश्वभरका फुटबलसमर्थकको नजर यी तीन स्टार खेलाडीमै हुनेछ ।
चार वर्षअघि अर्जेन्टिनालाई कतारमा आफ्नै कप्तानीमा विश्वकप उपाधि जिताएर करियर पूर्ण बनाइसकेका ३८ वर्षीय मेसी उस्तै जोशका साथ खेलिरहेका छन् । उनले विश्वकपमा कीर्तिमान माथि कीर्तिमान थपिरहेका छन् र करिब एक दर्जन कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् ।
अब अस्ट्रिया विरुद्ध एक गोल मात्र गरेपनि मेसी फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् । सर्वाधिक ६ पटक विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान देखि विश्वकपमा सर्वाधिक खेल (२७) खेल्ने कीर्तिमान मेसीकै नाममा छ ।
अब मेसीको लक्ष्य अर्जेन्टिनालाई लगातार दोस्रो पटक उपाधि दिलाउनेतर्फ छ । मेसीले विश्वकपमा लगातार पाँच खेलमा गोल गरेका छन् । यस्तो उपलब्धी हासिल गर्ने उनी पहिलो अर्जेन्टाइन खेलाडी हुन् । विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फोन्टेन (१९५८) र ब्राजिलका जर्जिन्हो (१९७०) को नाममा छ । यदी मेसीले अस्ट्रिया विरुद्ध गोल गरेमा यो कीर्तिमान बराबरी गर्नेछन् ।
यस्तै मेसीको विरुद्ध चार वर्षअघि फाइनल खेलेका एमबाप्पे मेसी र क्रिस्टियानो रोनाल्डोपछि विश्वकप फुटबलको नयाँ स्टारको रुपमा छन् । उनले अर्जेन्टिना विरुद्ध फाइनलमै ह्याट्रिक गरेका थिए ।
फ्रान्सलाई लगातार तेस्रो पटक फाइनल पुर्याउने र तेस्रो पटक च्याम्पियन बनाउने लक्ष्यमा एमबाप्पे र उनको टोली छ ।
एमबाप्पे पनि विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने लाइनमा अगाडि छन् । पहिलो खेलमा दुई गोल गर्दै १४ गोल पुर्याएका उनी संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

यस्तै नर्वेका २५ वर्षीय फरवार्ड हालान्ड अहिले विश्वकप फुटबलमा गोल मेसिनको रुपमा छन् । म्यानचेस्टर सिटीबाट लगातार प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका उनले नर्वेका लागि ५१ खेलमा ५७ गोल गरिसकेका छन् । राष्ट्रिय टिममा उनको गोल औषत हरेक खेलमा १ भन्दा बढी हुन्छ । जुन विश्व फुटबलमा दुर्लभ मानिन्छ ।
तीन ठूला टिमको खेल अनी तीन स्टार खेलाडी मैदानमा उत्रिँदा विश्वकपको रौनक नै बेग्लै हुनेछ र समर्थकहरु फेरि पनि तीनै स्टारको खेल हेर्ने प्रतिक्षामा छन् ।
प्रतिक्रिया 4