News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य परीक्षणका क्रममा व्यवसायी विक्रम न्यौपानेकी ३७ वर्षीया श्रीमती सजनामा ठूलो आन्द्राको क्यान्सर (कोलन क्यान्सर) को लक्षण फेला परेको छ।
पेसाले म व्यवसायी, बिहान ७ बजे पसलको सटर खोलेपछि राति ९ बजे भुइँमा पानी छर्केर ताला लगाउँदासम्म कुन बेला दिन ढल्कियो, पत्तै हुँदैनथ्यो । त्यही पसलको काउन्टर, ग्राहकको कचकच, बिल र पैसाको हिसाबकिताबमै मेरो दैनिकी बाँधिएको थियो । सानो आम्दानी र दुई छाक हाँसोखुसीले टर्ने हाम्रो निम्न-मध्यम वर्गीय परिवारको गुड बडो गज्जबले चलिरहेको थियो।
हामीकहाँ स्वास्थ्य सतर्कता भनेको रोगले ओछ्यान पारेपछि मात्र सुरु हुन्छ । हाम्रो यही लापरबाही र ‘टार्ने’ बानीको सानो छिद्रबाट अचानक एउटा यस्तो आँधी आयो, जसले हाम्रो जीवनको जग मात्र हल्लाएन, हाम्रा सारा योजना र भरोसाहरूलाई एकै झट्कामा भत्काइदिन खोज्यो।
‘ग्यास्ट्रिक’ को भ्रम र मेडिकलको औषधि
विगत केही महिनादेखि मेरी श्रीमतीको शरीरको तौल लगातार घटिरहेको अनुभव गरिरहेको थिएँ । गतहप्ता खाना खाएर गफ गर्दै गर्दा मैले सोधेँ, ‘तिमी अलि दुब्लाएजस्तो छौ, केही बिरामी वा समस्या छ कि ?’ उनले सहजै टारिन्, ‘छैन, केही भएको छैन।
मेडिकलबाट औषधि ल्याएर खाइरहेकी छु ।’ मेरो मनमा चिसो पस्यो, ‘के को औषधि ?’ उनले भनिन्, ‘हल्का दिसा पातलो भइरहेको थियो, त्यही स्टुलको औषधि त हो नि ।’ मैले ‘त्यसो भए दिसाँ जँचाउनुपर्छ’ भन्दा उनले भोलि जाउँला भनिन्।
शनिबार हामी नजिकैको मेडिकल पुग्यौँ र दिसा परीक्षणका लागि दियौँ । दुई दिनपछि रिपोर्ट आयो । रिपोर्टमा अरू सबै ठिक थियो, तर रगतमा हेमोग्लोबिनको मात्रा घटेर 7.9 जी/डीएलमा झरेको देखियो। मेडिकल व्यवसायीले रगत बढाउने र केही अन्य औषधि दिए । हामी पनि ‘लौ, अब ठिक हुने भयो’ भन्दै ढुक्क भएर फेरि आफ्नो दैनिकीमा फर्कियौं ।
मेडिकल सञ्चालनकले भने, ‘अस्पताल जानुस्’
समय बित्दै गयो, तर औषधिले काम गरेन । हामी फेरि त्यही मेडिकल धायौँ । धेरै पल्ट आउने-जाने गरेपछि मेडिकल सञ्चालकले हामीलाई भने, ‘औषधि मात्र खाएर हुन्न, एकपल्ट डाक्टरलाई देखाएर वृहत् अध्ययन गराउनुस् ।’
त्यो वाक्यले मेरो आँखा जुरुक्क खुल्यो । मलाई आफ्नै अज्ञानतामाथि भित्रभित्रै रिस उठ्यो– हो त नि, सल्लाह त डाक्टरको पो लिने हो ! सबै मेडिकल व्यवसायी डाक्टर त होइनन् । यो कुरा थाहा हुँदाहुँदै पनि म किन यति गहिरिन नसकेको ? म आफैँलाई गाली गर्दै मेडिकल सञ्चालकलाई धन्यवाद दिएँ र ‘हस् सर, हामी भोलि नै जान्छौँ’ भनेर फर्किएँ ।
तर, नियतिले फेरि हाम्रो बाटो छेक्यो । श्रीमती शिक्षिका भएकाले भोलिपल्ट स्कुलमा विद्यार्थीहरूको परीक्षा चलिरहेको थियो, त्यसैले जान सकिएन।
‘पर्सि जाउँला’ भन्दा मेरो कामको व्यस्तता आइलाग्यो । रोग भित्रभित्रै सल्किँदै थियो, हामी बाहिर काम र व्यावहारिक जिम्मेवारीको बहानामा अलमलिइरहेका थियौँ।
आकस्मिक प्रहार र रोगको अस्पष्ट खोजी
भोलिपल्ट बिहान म पसलमै व्यस्त थिएँ । हाम्रो पसल र बस्ने कोठा एक घर मात्र फरक भएकाले म बेलाबेलामा घर पस्ने गर्थेँ । आमालाई ‘चिया पकाउनुस्’ भन्न कोठामा जाँदा श्रीमतीलाई खाटमा छटपटिएको देखेँ । ‘लौ, आज स्कुल नगएको ?’ भनी सोध्दा उनले अत्तालिँदै भनिन्, ‘निकै गाह्रो भयो, वाकवाकी आउला जस्तो भयो, पेट पनि असाध्यै दुख्यो ।’
उनको त्यो अवस्था देख्नासाथ मेरो सातो गयो । ‘मलाई अघि नै भन्नु पर्दैन ?’ भन्दै म कराएर लुगा लगाउन भनेँ । पसलमा कुदेर गएँ, काउन्टरमा भएको पैसा झिकेँ, पसलको सटर हतार-हतार बन्द गरेर श्रीमतीलाई सिधै अस्पताल पुर्याएँ।
अस्पतालत भर्ना भयो, तर रोग पत्ता लाग्न झन्डै तीन महिना लाग्यो । त्यो तीन महिना हाम्रो लागि एउटा ठूलो मानसिक सास्ती थियो । यस क्रममा शरीर निकै कमजोर भएकाले ४ प्याकेट रगत चढाइयो । दुई पल्ट भिडियो एक्सरे, इन्डोस्कोपी, रगत, पिसाब र दिसाको अनगिन्ती परीक्षणहरू गरिए।
दोस्रो महिनामा जब सिटी स्क्यानगरियो, तब आन्द्राको एउटा साइडमा २०५ एमएल पिप जमेको रिपोर्ट आयो । डाक्टरले ‘लौ, अब रोग पत्ता लाग्यो’ भन्दा हामीलाई पनि ठूलो राहत मिल्यो । तर, रेडियोलोजी गरेर पिप निकाल्दा २०५ एमएल भनिएको ठाउँमा जम्मा ४० एमएल मात्र पानी जस्तो तरल पदार्थ निकालियो । यति गर्दा पनि उनको शरीर स्वस्थ र व्यवस्थित हुन सकेन । डिस्चार्ज भएर घर आएपछि पनि समस्या जस्ताको तस्तै रहेपछि मैले एउटा दृढ निर्णय गरेँ— ‘अब अस्पताल मात्रै होइन, डाक्टर नै परिवर्तन गर्नुपर्छ ।’
दोस्रो मत र क्यान्सरको गम्भीर मोड
हामीले नयाँ डाक्टर फेर्यौँ र पुराना सबै रिपोर्टहरू उहाँलाई देखायौँ । डाक्टरले बिरामीको गम्भीर अवस्था हेरेर त्यही दिन रगत चढाउने व्यवस्था गर्नुभयो र भोलिपल्टै कोलोनोस्कोपी गर्ने निर्णय भयो।
भोलिपल्ट जब कोलोनोस्कोपी गरियो, तब भित्रको दृश्य डरलाग्दो देखियो । आन्द्राभित्र लिम्फ नोडहरू (मासुका गिर्खाहरू) पलाएर आन्द्राको बाटो पूरै छेकिएको रहेछ, जसका कारण क्यामरा समेत भित्र छिर्न सकेन । आन्द्रा झन्डै टालिने अवस्थामा पुगिसकेको थियो ।
परीक्षणपछि डाक्टरले मलाई छुट्टै कोठामा बोलाउनुभयो र गम्भीर हुँदै भन्नुभयो, ‘बिक्रम जी, श्रीमतीको लगातार तौल घट्नु, खाना खान मन नलाग्नु, दिसा पातलो र कालो आउनु, र प्रत्येक महिना रगत कम हुनु— यी सबै कोलन क्यान्सर (ठूलो आन्द्राको क्यान्सर) का पूर्वसूचना हुन् । त्यसमाथि कोलोनोस्कोपीमा देखिएको ट्युमरले यसलाई झनै प्रष्ट पारेको छ । यद्यपि, बायोप्सी परीक्षण गरेर मात्र यसलाई प्रमाणित गर्नुपर्छ, तर मानसिक रूपमा तपाईं क्यान्सरको उपचारका लागि तयार रहनुस् ।’
‘क्यान्सर’—यो एउटा यस्तो शब्द रहेछ, जसले सुन्नेबित्तिकै मानिसको सातो लिने र जीवनमा एउटा छुट्टै किसिमको अन्धकार सिर्जना गर्ने रहेछ। डाक्टरको मुखबाट त्यो शब्द निस्किनासाथ क्षणभरका लागि मेरो वरिपरिको संसार ठप्प भयो । केही सोच्नै नसक्ने गरी आँखाअगाडि अन्धकार छायो। जम्मा ३७ वर्षकी मेरी जीवनसङ्गिनी, जसको काँधमा दुई साना छोरीहरूको भविष्य र मेरो पूरा संसार अडिएको थियो, उनी क्यान्सरको ओछ्यानमा पुगिसकेकी थिइन्।
तर, डाक्टरले मलाई विचलित हुन दिनुभएन । उहाँले एउटा नयाँ आशाको दियो बाल्दै भन्नुभयो, ‘अहिले डराएर बस्ने समय छैन । यो सुरुआती चरणको क्यान्सर जस्तो देखिन्छ । हामीले तत्काल उपचार सुरु गर्नुपर्छ, किनकि समय गुमाउनु भनेको जीवनलाई नै जोखिममा पार्नु हो।
दुई ठूला गल्ती र चेतनाको उदय
डाक्टरको त्यो कुरा सुनेपछि बल्ल मेरो चेतना खुल्यो । मैले जीवनका दुईवटा ठूला गल्तीहरू महसुस गरेँ, जुन गल्ती आज धेरै नेपाली परिवारले गरिरहेका छन्:
१. मेडिकललाई नै अस्पताल ठान्नु
हामीकहाँ सामान्य बिरामी भइयो भनेर नजिकैको मेडिकलमा देखाउँदै औषधि खाने चलन छ । यो भनेको शरीरमा रोगलाई झन् बलियो बनाउने बाटो दिनु रहेछ । केही घण्टा वा केही दिनका लागि मेडिकल ठिक होला, तर मैले त यसलाई नियम जस्तै बनाएर रोग खोज्नुपर्ने बेलामा उल्टै रोगलाई शरीरभित्र लुकेर बस्न सहयोग गरिरहेको रहेछु ।
२. ‘दोस्रो मत’ नलिनु
मैले अर्को गल्ती के गरेँ भने, सुरुमा एउटै डाक्टर र एउटै अस्पिटलको मात्र भर परेर बसेँ । यदि मैले सुरुमै अन्य केही डाक्टरहरूलाई रिपोर्ट देखाएर सत्यतथ्य जानकारी गराएको भए, ती लक्षणहरूका आधारमा क्यान्सर पहिले नै पत्ता लागिसक्थ्यो कि ! त्यसैले चिकित्सा विज्ञानमा ‘दोस्रो मत’ को असाध्यै ठूलो आवश्यकता र महत्त्व हुन्छ।
यो ४ महिनाको पीडादायी यात्रामा मलाई अर्को एउटा कुराको पनि गहिरो बोध भयो— हामीले समय-समयमा स्वास्थ्य परीक्षण गर्नै पर्छ, विशेष गरी महिलाहरूको । एउटा महिलाको शरीर पुरुषको जस्तो हुँदैन, उनीहरू गर्भवती हुन्छन्, अपरेसन हुन्छ, महिनावारीको उतारचढाव हुन्छ र जीवनका विभिन्न चरणमा उनीहरूको शरीर धेरै औषधि र हर्मोनको फेरबदलबाट गुज्रिएको हुन्छ । त्यसैले उनीहरूको स्वास्थ्यमा अझ बढी संवेदनशील हुन जरुरी छ ।
‘सम्पत्ति भनेको घर-जग्गा होइन, स्वास्थ्य हो’
जब क्यान्सरको शङ्का बलियो भयो, मैले श्रीमतीको अगाडि गएर उनको हात समातेँ । उनलाई निराशाको खाडलमा पस्न नदिन पहिले केही भूमिका बाँध्दै दृढ आवाजमा भनेँ— ‘सजना, यो संसारमा कुनै पनि कुरा असम्भव छैन । यदि कसैलाई केही कुरा असम्भव लाग्छ भने, त्यो उसको कमजोर आत्मबलको कारण मात्र हो । आत्मबल कमजोर भयो भने सम्भव भएका कुरा पनि असम्भवको टोकरीमा पुग्छन् । हुन त आधिकारिक रिपोर्ट आउन बाँकी छ, तर अनुमान अनुसार यो कोलन क्यान्सर हो, जसमा डराउनुपर्ने केही छैन । सामान्य अपरेसनबाटै यो ठिक हुन्छ ।’
धेरै मानिसहरू क्यान्सर शब्दको डर र सामाजिक त्रासका कारण रोग लुकाउँछन् । उपचार गरेर २० वर्ष राम्रोसँग बाँचेर बुढेशकालमा मर्दा पनि समाजले ‘उनलाई त क्यान्सर थियो नि’ भनेर भनिदिन्छ ।
मैले त्यही रात निर्णय गरेँ– अब म सबैभन्दा पहिले क्यान्सरको उत्कृष्ट उपचार र सबै सेवा एकै ठाउँमा पाइने अस्पतालको अनुसन्धान गर्नेछु । पसल चलाउनका लागि स्टाफ र व्यवस्थापन मिलाउनेछु र हाम्रो पूरा ध्यान केवल उपचारमा मात्र केन्द्रित गर्नेछु ।
मैले श्रीमतीको आँखामा हेरेर भनेँ, ‘तिमी कत्ति पनि नआत्तिनु, एउटा स्पष्ट र खुला दिमागले निर्णय लिऔँ । यदि नेपालमा उपचार सम्भव भएन भने पनि म तिमीलाई विदेश लैजानेछु । किनकि यो जीवनमा हाम्रो वास्तविक सम्पत्ति भनेको घर, जग्गा, गाडी वा सुनचाँदी होइन, हाम्रो वास्तविक सम्पत्ति त यो शरीर र स्वास्थ्य हो । हामीले जुनसुकै मूल्यमा पनि हाम्रो यो सम्पत्ति जोगाउनु छ ।’
(विक्रम न्यौपानेको डायरीको यो यात्रा र अस्पतालको वास्तविक अनुभव आगामी अङ्कमा क्रमशः जारी रहनेछ…)
प्रतिक्रिया 4