+
+
Shares

देवनगरमा ‘टाइगर स्याङ्चरी’ बनाउने सरकारको योजना, मन्त्रीले गरिन् स्थलगत निरीक्षण

सरकारले देवनगरको करिब ५० हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ बनाउने योजना अघि सारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १९:०८

८ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रको स्थलगत अवलोकन गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र जैविक विविधता संरक्षणमा सरकार गम्भीर रहेको बताएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन क्रममा चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणलाई निकुञ्जका विभिन्न संरक्षण केन्द्र, प्रस्तावित आयोजना र अनुसन्धान प्रयोगशाला निरीक्षण गरेकी हुन् ।

भ्रमण क्रममा मन्त्री चौधरीले देवनगरमा प्रस्तावित ‘टाइगर स्याङ्चरी’ (बाघ संरक्षण केन्द्र) निर्माणस्थल अवलोकन गरिन् । देशभरि समस्याग्रस्त अवस्थामा उद्धार गरिएका करिब एक दर्जनभन्दा बढी बाघलाई खोर (इन्क्लोजर) मा राख्दा व्यवस्थापन अत्यन्तै खर्चिलो र चुनौतीपूर्ण बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरको करिब ५० हेक्टर क्षेत्रफलमा ‘टाइगर स्याङ्चरी’ बनाउने योजना अघि सारेको छ ।

सोही अवसरमा मन्त्री चौधरीले मानव र वन्यजन्तुको सहअस्तित्व कायम गर्न सरकार दृढ रहेको बताइन् । ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्व कायम गर्नु हाम्रो उच्च प्राथमिकता हो,’ मन्त्री चौधरीले भनिन्, ‘देवनगरमा टाइगर स्याङ्चरी निर्माण भए साँघुरा खोरमा थुनिएका समस्याग्रस्त र घाइते बाघले प्राकृतिक वातावरण मात्र पाउने छैनन्, यसले चितवनको पर्यापर्यटनमा पनि नयाँ आयाम थप्दै ठूलो टेवा पुर्‍याउने छ ।’

यसका लागि आवश्यक पर्ने गुरुयोजना र बजेटका विषयमा उनले निकुञ्ज प्रशासनसँग विस्तृत छलफल समेत गरेकी छिन् ।

यस्तै मन्त्री चौधरीले खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र निकुञ्ज कार्यालय परिसरमा रहेको घडियाल प्रजनन केन्द्र पनि निरीक्षण गरिन् ।

स्थापनाको ३३ वर्षमा ६८ वटा छावा जन्माएर हात्ती संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको खोरसोर केन्द्रमा माउ तथा छावाको स्वास्थ्य, आहार व्यवस्थापन र कार्यक्षेत्रका चुनौतीबारे उनले अधिकारीहरूसँग जानकारी लिइन् ।

घडियाल गोही संरक्षण र संख्या वृद्धिका कार्यक्रमले नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारमा ठूलो भूमिका खेल्ने उनको भनाइ थियो ।

पर्यापर्यटन र संरक्षण उद्देश्य सहित चितवन टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन (रत्ननगर क्षेत्र) मा कृष्णसार ल्याउन भइरहेको अन्तिम तयारीको पनि मन्त्रालयको टोलीले निरीक्षण गरेको छ ।

मन्त्री चौधरीले कृष्णसारको सुरक्षित बसोबास सुनिश्चित गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिइन् । उनले टिकौलीमै रहेको सशस्त्र वनरक्षक तालिम केन्द्रको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार निर्माण र वन्यजन्तु अपराध नियन्त्रणका लागि तालिमको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिइन् ।

संरक्षणमा अनुसन्धान र प्रविधिको पाटो नियाल्दै मन्त्री चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अत्याधुनिक वन्यजन्तु ‘जेनोमिक ल्याब’ समेत भ्रमण गरिन् ।

वन्यजन्तुको आनुवांशिक अध्ययन र वैज्ञानिक अनुसन्धानबारे जानकारी लिँदै उनले तथ्य र विज्ञानमा आधारित संरक्षण नीति निर्माण गर्न यो प्रयोगशाला कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् ।

भ्रमण टोलीमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन), डिभिजन वन कार्यालय चितवनका प्रमुख र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव लगायत अधिकारीहरूको सहभागिता थियो ।

स्थानीय समुदायसँगको अन्तर्क्रियामा मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व घटाउन राहत, उद्धार र दीर्घकालीन पूर्वाधार निर्माणका कामलाई सरकारले प्राथमिकता साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?