+
+
Shares

फेस क्रिम किन्न पौने २ अर्ब विदेशियो, लिपस्टिकमा ७१ करोड

गत वर्षको तुलनामा यस वर्ष यी कस्मेटिक सामग्री आयात समग्रमा करिब १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वृद्धि भएको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १५:३५

९ असार, काठमाडौं । नेपालमा शृङ्गार सामान आयात वृद्धि भएको छ । चालु आर्थिक वर्ष ११ महिना (साउनदेखि जेठ) सम्म नेपालमा सौन्दर्य प्रसाधन (कस्मेटिक) समान आयात गत वर्षको तुलनामा उल्लेख्य बढेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार लिप मेकअपदेखि कपालमा प्रयोग हुने विभिन्न स्याहार सामग्री आयातमा मात्रै यस अवधिमा करिब १२ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ बाहिरिएको छ ।

गत आव २०८१/८२ को ११ महिना अवधिमा यी सामग्रीको कुल आयात करिब ११ अर्ब २८ करोड २७ लाख बराबर थियो ।

गत वर्षको तुलनामा यस वर्ष यी कस्मेटिक सामग्री आयात समग्रमा करिब १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वृद्धि भएको देखिन्छ ।

तथ्यांक केलाउँदा ओठको सुन्दरता बढाउन प्रयोग हुने ‘लिप मेकअप’ (लिपस्टिक लगायत) सामग्री आयातमा भारी वृद्धि भएको छ । गत वर्ष ११ महिनामा ५९ करोड ३७ लाख रुपैयाँ बराबरको लिप मेकअप आयात भएकोमा चालु आव सोही अवधिमा बढेर ७१ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी अनुहारमा लगाउने फेस क्रिम आयात पनि ह्वात्तै बढेको छ । गत वर्ष १ अर्ब १६ करोड ४७ लाख रुपैयाँको फेस क्रिम आयात भएकोमा यस वर्ष बढेर १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

बडी लोसन आयात पनि ६६ करोड ३ लाखबाट बढेर ७२ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

वर्गीकरणमा नपरेका ‘अन्य ब्युटी तथा मेकअप’ का सामग्रीमा सबैभन्दा धेरै रकम बाहिरिएको छ, जसको आयात गत वर्षको ४ अर्ब ३ करोड ५१ लाखबाट बढेर यस वर्ष ४ अर्ब ४७ करोड २ लाख पुगेको छ ।

आँखाको मेकअप सामान आयात भने २७ करोड २९ लाखबाट सामान्य बढेर २७ करोड ४२ लाख पुगेको छ । यद्यपि, अनुहारमा लगाउने पाउडर आयात भने घटेको छ । गत वर्ष ३७ करोड ८० लाखको पाउडर आएकोमा यस वर्ष २५ करोड २८ लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै हातखुट्टा र नङ स्याहारमा प्रयोग हुने सामग्री आयातमा पनि वृद्धि देखिएको छ । नेल पोलिस आयात गत वर्षको ५ करोड २३ लाखबाट बढेर ५ करोड ८८ लाख पुगेको छ भने अन्य मेनिक्योर र पेडिक्योर सामग्री आयात १ करोड ४८ लाखबाट अस्वाभाविक बढेर ५ करोड २९ लाख पुगेको छ ।

जाडोमा छाला सुरक्षाका लागि प्रयोग हुने पेट्रोलियम जेली आयात पनि २ करोड ८७ लाखबाट बढेर ७ करोड ४८ लाख पुगेको छ । आधुनिक शृङ्गार साधन आयात बढ्दा परम्परागत शृङ्गार सामग्री सिन्दुर आयात भने घटेको छ ।

गत वर्ष १ करोड ३५ लाख रुपैयाँको सिन्दूर आयात भएकोमा यस वर्ष घटेर १ करोड १४ लाखमा सीमित भएको छ ।

कपाल स्याहार सम्बन्धी सामग्री आयातमा भने मिश्रित अवस्था देखिएको छ । कपाल धुने स्याम्पु आयात गत वर्ष १ अर्ब १७ करोड ११ लाख रहेकोमा यस वर्ष सामान्य घटेर १ अर्ब १३ करोड २३ लाख कायम भएको छ ।

कपालमा लगाउने हेयर कन्डिसनर र हेयर क्रिम आयात पनि  घटेको छ । कन्डिसनर १३ करोड ७६ लाखबाट घटेर १२ करोड १३ लाख र हेयर क्रिम ६ करोड २ लाखबाट घटेर ४ करोड ३९ लाखको भित्रिएको छ ।

तर, कपालमा लगाउने तेल आयात भने ६० करोड १२ लाखबाट बढेर ६४ करोड ३४ लाख पुगेको छ । कपाल रङ्गाउने हेयर डाई आयात पनि ९६ करोड २४ लाखबाट बढेर १ अर्ब १ करोड २४ लाख पुगेको छ ।

समग्रमा सिन्दूर, पाउडर, स्याम्पु, कन्डिसनर जस्ता सीमित प्रसाधन बाहेक लिपस्टिक, फेस क्रिम, बडी लोसन, हेयर डाई लगायत अधिकांश सौन्दर्य सामग्री आयात र खपत नेपालमा बढ्दै गएको तथ्यांकले देखाउँछ ।

यो तथ्यांकले नेपाली बजारमा विदेशी कस्मेटिक सामग्री माग उच्च रहेको र यसमा हुने खर्च पनि बढ्दै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?