काठमाडौं । अभिनेत्री पूजना प्रधान आगामी फिल्म ‘महाराजधिराज’मा अनुबन्धित भएकी छन् । सोमबार ३३ औं दिनको छायांकन चलिरहेको बेला निर्माताले प्रधानलाई कास्ट गरेका हुन् ।
प्रस्तुकर्ता विराज विष्टले आफूहरू अब्बल कलाकारको खोजीमा रहेको बेला पूजनालाई अनुबन्धित गराइएको बताए । उनको प्रवेशले समूह थप बलियो बनेको उनी बताउँछन् ।
पूजना पछिल्लो पटक सन् २०२२ मा रिलिज भएको फिल्म ‘नालापानी’मा देखिएकी थिइन् । चारवर्ष उनी फिल्म अभिनयमा फर्किएकी हुन् । त्यसअघि बाह्रमासे, चकलेट, चिहान, तिम्रो कसमसहित दुई दर्जन फिल्ममा उनी देखिएकी छन् ।
सन् २००४ को फिल्म ‘कर्मको फल’बाट उनले फिल्ममा डेब्यू गरेकी थिइन् ।
‘महाराजधिराज’को कुरा गर्दा, अहिले यो फिल्म काठमाडौं उपत्यकाका विभिन्न थलोमा छायांकन भैरहेको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु छायांकन भक्तपुर हुँदै काठमाडौंमा गरिएको हो । ७० दिनसम्म छायांकन तालिका छ ।
परिच्छेद सेनले निर्देशन गरिरहेको फिल्मको छायांकारमा नवराज थापा छन् । यसलाई पिरियोडिक ड्रामा बताइएको छ ।
फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, सुशील सिटौला लगायतको अभिनय छ ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्मातामा रवि खड्का र टोपेन्द्र विष्ट छन् ।
प्रतिक्रिया 4