+
+
Shares

कोटाभन्दा कमले पास गरे केयरगिभरको अंग्रेजी भाषा परीक्षा, अब के हुन्छ ?

विगतमा केयरगिभरले अंग्रेजी भाषा राम्रोसँग बोल्न नजान्दा समस्या भएको भन्दै इजरायलले नै अंग्रेजी भाषा स्पिकिङमा ‘बी१’ अनिवार्य गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते २०:१२

९ असार, काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार (केयरगिभर) का लागि तोकिएको कोटाभन्दा झन्डै आधा कम उम्मेदवार अंग्रेजी भाषा परीक्षामा पास भए ।

२ हजार ३ सय जनाका लागि माग गरिएकोमा १ हजार २ सय ३१ जनाले मात्रै अंग्रेजी भाषा परीक्षा (बी१) पास गरेका हुन् ।

त्यसका लागि १५ हजार ६ सय २६ जनाले परीक्षा दिएका थिए । तीमध्ये पास हुने संख्या ७.८ प्रतिशतमात्र हो ।

केयरगिभरको आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी१’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । विगतमा केयरगिभरले अंग्रेजी भाषा राम्रोसँग बोल्न नजान्दा समस्या भएको भन्दै इजरायलले नै अंग्रेजी भाषा स्पिकिङमा ‘बी१’ अनिवार्य गरेको थियो ।

आवेदन दिनेले अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्रका रूपमा इजरायलको पीबाले तोकेको त्रिपुरेश्वरमा रहेको सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनबाट लिइएको क्याम्ब्रिज अपस्किल इन्टनेसनल अंग्रेजी टेस्ट कम्तीमा रिडिङ–ए२, राइटिङ–ए१, लिसनिङ–ए२, स्पिकिङ–बी२ भएको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

तर, अंग्रेजी भाषा परीक्षा दिएकामध्ये न्यून संख्यामा मात्रै भाषा परीक्षा पास गरेपछि अब के हुन्छ भन्नेमा चासो व्यक्त भएको छ ।

वैदेशिक रोजगार विभागले भने भाषा परीक्षा पास गरेर आएकाहरूको बाँकी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

विभागका महानिर्देशक मिरा आचार्यले भाषा परीक्षा पास गरेर आवेदनका लागि योग्य भएकालाई बाँकी प्रक्रियामा समावेश गराइने बताइन् ।

पीबाले तोकेको पहिलो मापदण्ड पूरा गरेकाको कागजात प्रमाणीकरण गर्ने र सोही आधारमा अन्य प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

‘इजरायलले तोकेको पहिलो मापदण्ड पूरा गरेकाहरूको तोकिएको मापदण्डका आधारमा अरू डकुमेन्ट हामी स्क्रिन गर्छौं, स्क्रिनिङ गरिसकेपछि हामीले गर्नुपर्ने र पुर्‍याउनुपर्ने प्रक्रिया पूरा गरेर सम्बन्धित देशको निकायमा पठाइदिन्छौं, सफ्टवेयरमै काम गर्ने हो, सबै सफ्टवेयरमै जान्छ,’ महानिर्देशक आचार्यले भनिन् ।

विभागले अंग्रेजी भाषा पास गरेकाहरूको बाँकी प्रक्रिया अगाडि बढाउने छ । कोटाभन्दा कम आवेदनका लागि योग्य भएको विषयमा विभागले इजरायललाई जानकारी गराउने छ । त्यसपछि इजरायलको जवाफका आधारमा अगाडि बढ्ने तयार विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?